आँखाका परेलीहरु टक्टकाएर
बिहानीको पातबाट शीत भएर
निँद धर्तीभरि छरिएका छन् ।
ओभानो आकाश छ
ताराहरु सवै झरेका छन्,
कलिला वैशाखी मूनाहरु
तिम्रो सुर्योदयहरु
कहीं कतै विपनाहरू बैंशमा उमेर चढेका छन्,
बादलको सिरानीमा टाउको अड्याएर
हत्केलाले आँखा छोप्दै,
पातालको जिन्दगी कुँद्ने मनबाट
विपना हरायो भन्दै
कहाँ दगुर्छौ तिमी आज पनि ?
परेला वैशाखी पात न हुन्
कोल्टे परेपछि
सप्तपर्णबाट शीतका थोपाहरु त झर्ने गर्छन्
आँखाबाट
परेलीबाट
निँद टक्टकाएर।
आँखाबाट सल्वलाएर निँद झरेपछि
घामका
कोमल स्निग्ध स्पर्शले
तिमीलाई धर्ती दिने छ,
तिम्रो धर्ती दिने छ तिमीलाई।
निँद त रातहरुलाई न हो
हरेशबाट
थकाइबाट
अधमरा भएकाहरुलाई न हो।
नर्वे