१. विषय प्रवेशः परिचयन-
प्रस्तुत कार्यपत्रमा समग्र नेपाली आख्यानलाई समेट्न खोजिएको छैन। त्यसो गर्न यो सानो कार्यपत्रमा सम्भव पनि छैन। यसैले अध्ययन सुविधाको निम्ति आधुनिक भारतीय नेपाली गद्याख्यान क्षेत्रलाई सकेसम्म सर्वेक्षणात्मक अध्ययन गरिएको छ। प्रदत्त कार्यपत्रको विषय र समयसीमालाई ध्यानमा राखेर आख्यानकार शिवकुमार राई, लैनसिंह वाङदेल, इन्द्र सुन्दास, हायमनदास राई किरात, इन्द्रबहादुर राई, लीलबहादुर क्षत्री, सानु लामा, खडकबहादुर कौशिक, जयप्रसाद दाहाल र युवा बरालसम्मका केही गद्याख्यान कृतिहरूलाई प्रतिनिधि स्वरूप लिइएको छ। अतः प्रस्तुत कार्यपत्रलाई जतिसक्दो छोटो-छरितो र अध्ययनपूर्ण बनाउन खोजेको छु। यी दस आख्यानकारका अतिरिक्त अन्य ख्यानकारका आख्यानकृतिहरूमा लोकभाषाको प्रयोग अर्थात् लोकभाषिक सन्दर्भहरूको उल्लेख छैन, उनीहरूको लेखनमा यस किसिमको भाषिक विशेषता ठ्याम्मै पाइँदैन भन्न खोजिएको किमार्थ होइन। यस चयन प्रक्रियामा दार्जीलिङ नगराञ्चलदेखि लिएर टिस्टा पारी सिक्किम र ब्रह्मपुत्र नाघेर असम पूर्वाञ्चल तथा तराई-डुर्वस क्षेत्रलाई समेत सकेसम्म समेट्न खोजिएको छ। यसका साथै उमेर समूहका दृष्टिले पनि दिवङ्गत आख्यानकारदेखिलिएर वयोवृद्ध तथा लेखनमा उत्तरार्द्धमा पुगेका प्रतिभावान युवा सर्जकहरूलाई पनि समेट्ने भरमग्दुर कोसिस गरेको छु।
२.लोकभाषा, लोकशब्द तथा लोकतात्विक प्रायोगिक सन्दर्भः
लोक-को अर्थ जन अर्थात् ग्राम, ग्राम्य, ग्रामीण जनजीवन हो भन्ने बुझिन्छ। लोकको अर्थ र क्षेत्र सीमित होइन तर असीमित छ। लोक शब्द जति प्राचीन छ, त्यति नै अर्वाचीन पनि छ। जति जीवन्त छ त्यति नै अनन्त पनि छ। लोक शब्द आफैमा एउटा बिम्ब र मानस चेतना पनि हो। लोकशब्द मानिस समूदायका विभिन्न जात-जाति तिनीहरूको निश्चित बसोबासो गर्ने भूभाग, तिनीहरूको विविध प्रकृति र प्रवृत्तिको द्योतक हो। लोक शब्दले उच्च वा सभ्य नगर सभ्यतादेखि टाढा रहने असभ्य, अनपढ, ग्रामीण वलर्गका मानिसहरूको समूह मात्र बुझाउँदैन। असभ्यपन, अशिक्षा, निरक्षरता मात्र लोकको सीमा निर्धारण गर्ने लक्षण होइनन्। लोक भन्ने अर्थ बुझ्नका निम्ति स्थानीय बोलचाल तथा, जाति-उपजातिका धार्मिक आस्था-विश्वास, आचार-विचार, धारणा र मूल्य-मान्यता, रीति-रिवाज, संस्कार-संस्कृति, परम्परा र आचरण आदि पनि उत्तिकै महत्वका विषय हुन्।
मौलिकता नै लोक-भाषा (भाका)-को मूल प्रकृति, प्रवृत्ति र स्वरूप हो। लोक-भाका मुखमुखै सम्प्रेषित हुँदै जान्छ। यो मानिसको मुखैमा जन्मिन्छ, मुखैमा मौलाउँछ, मुखैमा हुर्किन्छ। लोक-ज्ञानमा लोक-मानसको सहज एवम् स्वाभाविक अभिव्यक्तिले प्रश्रय पाउने हुनाले यसमा परिष्कृत, लिखित व्याकरणगत नियमहरू तथा साहित्य परिमार्जित भाषाको अपेक्षा सहज, सरस अनि प्राकृत स्वाभाविक बोलीको प्रयोग हुने हुन्छ। अतः लोकभाषा भनेको लौकिक अर्थात् बोलचालको साधारण भाषा-बोली हो। यस्ता भाषा वा शब्दको प्रयोगमा ओजन हुन्छ तर दुर्बोध्य र गह्रौंपन हुँदैन। भाषिक अर्थ भावपूर्ण र गाम्भीर्य प्रकृतिको हुन्छ तर बुझ्नमा कुनै किसिमको बोझिलो र कठिन हुँदैन। संवाद-शैली लचकदार र श्रुतिमधुर हुन्छ तर झर्कोलाग्दो र भद्दा किसिमको हुँदैन। लोक-भाषामा प्रयुक्त शब्दहरू श्लीलृ-अश्लील दुवै हुन सक्छन् तर लज्जास्पद, घृणास्पद लाग्ने भने हुँदैन। लोक-भाषाको प्रयोगमा कतै-कतै चोटिलो व्यङ्ग्य-विनोद हुन्छ तर त्यसमा पीडाबोध भने हुँदैन। अतः कुनै भाषा वैज्ञानिक र व्याकरणगत शास्त्रीय नियमले नबाँधिएको हुनाले लोकभाषा जीवित हुन्छ।
नेपाली ग्रामीण जनजीवन राम्ररी हेर्ने, बुझ्ने वा चिन्ने हो भने लोकभाषामा अभिव्यक्त यस्ता अजस्र स्रोतहरू स्पष्ट देखिन आउँछ। संस्कृत भाषाबाट प्रणित लोक शब्दले मानिस, मान्छेको, मानिसको समूह, जन वा जनता, संसार, दुनियाँ, स्वर्ग-पृथ्वी, मानस-संस्कृति, समुदाय, क्षेत्र-इलाका आदि जस्ता अर्थ बोध गराएको पाइन्छ। लोक शब्दका निम्ति दिइएका पूर्वीय अर्थहरू झैं पश्मिमी जगतमा पनि फोक(Folk) शब्दले एउटै विचार र भावना भएका मानिसहरूको विशेष समूहलाई बोध गर्दछ। लोक शब्दले कुनै पनि समाजको र जातिको वा मानिसको कुनै त्यस्तो समूहको द्योतन हुन सक्छ, जो एउटा साझा निम्नतम थोकहरूमा बाँधिएका हुन्छन्। विभिन्न समुदायका मानिसहरूको आ-आफ्नै किसिमका जातिगत परम्परा र विश्वास, भाषा र धर्म, पेशा भए पनि त्यस ठाउँमा प्रयुक्त लोक भाषाले योजक सूत्रको काम गरेको देखिन्छ। हाम्रो लोक परम्परा-विश्वाससँग जोडिएका आदिम कालदेखि गाँसिएर आएका सृजन समूह नै लोक हुन् भन्ने स्पष्ट बुझिन्छ। यस अर्थमा लोक भनेको विशेषवर्गका जनसमूह हुन्, जो अकृत्रिम, अपरिष्कृत तथा मौखिक परम्पराका सम्वाहक हुन्। परापूर्वकालदेखि आफ्ना व्यवहार, सामाजिक-सांस्कृतिक-धार्मिक मूल्य-मान्यता, आस्था-विश्वास, रीति-रिवाज, कला-कौशल, लोकाचार-कुलाचार तिनीहरूमा स्वतः संरक्षित रहेका हुन्छन्।
लोकशब्द वा लोकभाषाको अध्ययन-अनुशीलन जनसाहित्य तथा लोकवार्ताभित्र पर्ने गर्दछ। जनसाहित्य वा लोकसाहित्यलाई अङ्ग्रेजी भाषाकै Folk Literature शब्दको पर्यायको रूप मानिन्छ। मौखिक साहित्य वा जनसाहित्य, लोकवार्ता, लोकज्ञान आदिका पर्याय रूपमा फोकलोर (Folklore) शब्द व्यवहारमा आएको देखिन्छ। लोकवार्ता (Folklore) शब्दले लोकसाहित्य (Folk Literature)- ले भन्दा धेरै व्यापक अर्थ बोकेको देखिन्छ। लोकवार्ताले व्यापक र विस्तृत अर्थ प्रदान गर्दछ। लोकवार्ताले साहित्यका अतिरिक्त लोक-विश्वास, अन्धविश्वास, जादु-टुनामुना, बोक्सी-डाइनी, लागो-भागो, लोक-व्यवहार, लोक-औषधोपचार, लोक-कला कौशल, लोक-परम्परा, लोक-संस्कार संस्कति, लोक-गीत, लोक-सङ्गीत, लोक-नृत्य, लोक-नाट्य, लोक-भाका अर्थात् लोक-भाषा, लोक-धारणा, लोक-दृष्टि, लोक-मनोरञ्जन, लोक-अभिव्यक्ति, लोक-कथा, लोक-गाथा यस्ता लोक-शब्दसित सम्बन्धित सयौं विषय र क्षेत्रहरू यसभित्र समेटिएका पाइन्छन्। यसैले कतिपय अध्येताहरूले फोकलोरलाई फोक-लर्निङ (Folk Learning) अर्थात् लोक-ज्ञानका रूपमा समेत व्याख्या गरेका छन्। अतः लोकभाकामा अभिव्यक्त सबै मौलिक स्वरूपहरू फोकलोर (लोकवार्ता) अर्थात् लोक-ज्ञानअन्तर्गत पर्दछन्। यसबाट के स्पष्ट हुन्छ भने लोक-संस्कृति वा लोकवार्ता एउटा विशाल भण्डार हो भने लोक-साहित्य त्यसैको एउटा अङ्ग मात्र हो। मानवले आफ्नो जीवन बाँच्ने क्रममा जे भोगेको, सिकेको तथा अनुभव गरेको हुन्छ, त्यसैको सञ्चित कोश नै लोकज्ञान हो।
क)दुई, तीन र चार पदमा आवद्ध लघु भाषिक संरचनायुक्त उखानहरूमा-
नासो पासो(अर्काको नासो-गलाको पासो), हाँस्यो- नास्यो, मरेपछि ओखती, सर्पलाई दूध, बाँदरलाई लिस्नु,
मरेपछि कात्रो, भुक्ने कुकुरले टोक्दैन, भुसुनाले हात्तीलाई रूवाउँछ, मामाको घोडा मेरो हिहि, आज कताबाट घाम झुल्क्यो, खोला तर्यो लौरो बिस्यो, भतुवा पाली घरको छेद, अमिलो जाँडको धेर निगार, असारको पैंचो असारमै तिरूँला आदि।
ख) वृहत्तम भाषिक संरचनायुक्त उखानको स्वरूप-
जुन गोरूको सिङ छैन उसैको नाम तिखे, साँप पनि मरोस् लौरो पनि नभाँचियोस्, खान साँची अर्कालाई, काम साँची आफूलाई, भदौमा आँखा फुटेको गोरूले सधैँ हरियो मात्र देख्छ, गरीबकी छोरीलाई आँप ताछ्न लाउनू, धनीकी छोरीलाई उखु ताछ्न लाउनू, फूपुको श्राद्ध गर्नुभन्दा सीधा पुर्याउनु गाह्रो, इन्साफ हराए गोर्खा जानू, विद्या हराए काशी जानू (विद्या. धर्म हराए काशी जानू, न्याय हराए गोर्खा जानू)
एक दिनको पाहुना(बाहुन)-मीठो मीठो खा, दुई दिनको पाहुना जसो-तसो खा, तीन दिनको पाहुना जतासुकै जा,
ग) सरल वाक्य र मिश्र वाक्यमा संरचित उखानको स्वरूप-
बाँस फुले मासिन्छ, रहर गर्नेको गोठको बहर जान्छ, मह काढ्नेले हात चाट्छ, अर्ती र ओखती मीठो हुँदैन, आफू नाँच्न जान्दैन आँगन टेडो, रातको काम खोलाको गीत, जसले गर्छ रहर, उसकै जान्छ गोठको बहर, जसले मह काढ्छ, उसैले हात चाढ्छ, अलिनू पनि नखाऊँ, नूनको ढिको पनि नफोरूँ, अदुवा खाई सभा बस्नू, मूला खाई बन पस्नू, आफ्नो छोरो मर्नुभन्दा बरू मीतको छोरो मरोस्, बाँच्नका लागि खानू, खानका लागि नबाँच्नू,
घ) भिन्न-भिन्न प्रान्त वा भाषिक क्षेत्रमा प्रयोग-प्रचलनमा रहेका उखानको स्वरूप-
घोडालाई कोडा, फिरन्तालाई गोडा, जागिरेलाई तोडा, तरूणीलाई जोडा,
जोगीलाई फुक्का, भोगीलाई हुक्का, गफीलाई टुक्का र जफ्तीलाई मुक्का,
आउसे गोठाले, जाउसे बुहारी, रौसे हली काम लाग्दैन, पाहीको शूली चढ्नू, अपाहीको घोडा नचढ्नू,
जाइ कटक नगर्नू, आइ कटक गर्नू (जाइ नलाग्नु- आइ लाग्नेलाई नछोड्नु)
मुकुन्दसेनले मुलुक मार्न नजानेको र तँ फुस्राले खान नजानेको एकै, आदि।
जन-मानसमा प्रचलित उखानकै केही दृष्टान्त हुन् तर यी उखानको भाषिक स्वरूपले उद्धेश्यपरक, विघानार्थक, निषेधार्थक, आज्ञार्थक, प्रश्नार्थक, संवादात्मक, सन्देहार्थक, अनुप्रासात्मक, सङ्केतार्थक, इच्छाबोधक, सम्भावनार्थक, सादृश्यात्मक, विरोधमूलक, लोकन्यायमूलक, दृष्टान्तमूलक, कलात्मकता, लयात्मकता आदिलाई सङ्केत गरेको स्पष्ट देखिन्छ। यसप्रकार लोकोक्ति वा उखान अभिधामूलकभन्दा लक्षणामूलक र व्यञ्जनामूलक बढी मानिन्छ।
लोकोक्तिले वाक्यसमूहलाई द्योतन गर्छ भने तुक्काले पद र पद समूहलाई मात्र बोध गर्छ। एउटा उखानलाई टुक्राएर तुक्का वा टुक्का बनाउन सकिँदैन। तुक्काको आफ्नै किसिमको भाषिक स्वरूप हुन्छ। दृष्टान्तका रूपमा औंला दिँदा डुँडुलो निल्नु- भन्ने उखानलाई औंला दिनु वा दिँदा र डँडुलो निल्नु वा निल्दा दुई टुक्रा बनाएर तुक्का बनाउन सकिँदैन। तर आँखाको तारा अर्थात् आँखाको तारा हुनु, आँखाको छारो हुनु चाहीँ टुक्का हो। वाक्यमा नमिलेसम्म टुक्काको अस्तित्व रहँदैन, यो अपूर्णै रहन्छ तर उखानको भने अलग सत्ता हुन्छ। अर्थको दृष्टिले पनि उखान पूर्ण हुन्छ। लामो हात गर्नु, हात गह्रौं पार्नु, मुटु चिसो हुनु, आङमा घाम लाग्नु, पानी-पानी हुनु, धोती न टोपी हुनु- यी सबै टुक्का (तुक्का) का सफल दृष्टान्त हुन्।
लोकप्रसिद्ध उक्ति नै लोकोक्ति हो, जो वाक्यमा प्रयोग नभए पनि स्पष्ट चिनिन्छन्। लोकोक्ति अर्थात् उखान वा सूक्ति, तुक्का वा टुक्का, अड्को, गाउँ खाने कथा अर्थात् प्रहेलिका (हिन्दी-पहेली) आदिको प्रयोगले भाषिक मिठास आउँछ। हाम्रो दैनिक चलन-चल्तीमा प्रयुक्त यस्ता लोक-प्रयुक्तिहरूको स्वरूप-संरचनाअनुसार एक शब्दीय, क्रियापदीय, पद र पद-समूह विभिन्न किसिमका हुन्छन्। लोक-प्रयुक्तिमा हाम्रो प्राचीन इतिहास, आचार-विचार, धर्म-नीति, आस्था-विश्वास, चाल-चलन, रीति-थितिको समेत प्रतिबिम्बन पाइन्छ।
३.भारतीय नेपाली गद्याख्यानमा प्रयुक्त लोकभाषा वा लोकशब्दः
प्रस्तुत सङ्गोष्ठी पत्रमा प्रदत्त विषय र क्षेत्र, समय र सीमालाई ध्यानमा राख्दै जतिसक्दो कार्यपत्रलाई सहज र संक्षेप बनाउन खोजेको छु। यसका निम्ति भारतेली नेपाली गद्याख्यानका सर्वश्रेष्ठ मानिने सर्जकहरूमध्ये शिवकुमार राई, इन्द्र सुन्दास, लैनसिंह बाङ्देल, हायमनदास राई किरात, इन्द्रबहादुर राई, लीलबहादुर क्षत्री, सानु लामा, खड्कबहादुर कौशिक, जयप्रसाद दाहाल र युवा बरालका केही आख्यान कृतिहरू दृष्टान्त प्रस्तुत गर्नाका निम्ति चयन गरेको छु। यी आख्यानकारका कृतिमा प्रयुक्त लोक-संस्कार संस्कृतिसँग सम्बन्धित प्रसङ्गहरूको उल्लेख गर्दै त्यहाँ प्रयोग भएका लोक-भाषा वा लोकशब्दहरूको अति संक्षेपमा उल्लेख मात्र गर्न खोजिएको छ।
शिवकुमार राईका डाकबङ्गला, फ्रण्टियर, खहरे, यात्री, बडा-डिनर, शिवकुमार राईका सात कथामा स्थानीय कथ्यबोली, झर्रा वा ठेट शब्द, लोकोक्ति र सूक्तिहरू प्रशस्त प्रयोग गरेका हुनाले उनको भाषा निकै रोचक, प्रभावकारी र स्वाभाविक बन्न पुगेको छ। उनका कथाहरूमा प्रयुक्त नेपाली ठेट वा झर्रा शब्दहरूमा- बुँइगल, नीलडाम, दर्के पानी, कटेरो, लछेप्रै, दस मोहर, गोब्रे दह, धिरी, झुत्ता, पिँढी, सुकुल, कराँसो, ओखल, आग्लो, फलैँचा, जजमान, कङ्कलास्वर, कोदालो, जुठ्यान, झ्याइँकुटी, सुइँको, जम्लेहात, रछ्यान, कञ्चट, माखो-मुन्द्रो, कुलेलम, लाम्टा, फाँचो, सुतीखेती, पछ्यौरा, भूँग्रो, साधवी, पानस, भञ्जाङ, थाप्लो, बरियो, धराप, पोथ्रा, भान्सा, दुच्छरनी, मयलपोस, थेगोपेडो, कन्पट, छाप्रो, फाँको, पोल्टा, कुलो, घुर्यान, कात्रो, अर्थी, कन्तुर, करूवा, बलो, विष्टा, त्यान्द्रो, साइपाटो, पखेरो, घचारो, कोहोलो, सुराही, मनगढन्त, पुलिन्दा, गाँठी, चर्पी, थुम्को, अगुल्ठो, टाटनो, बलेंसी, चौका, दाम्लो, निक्खुर, ज्यूनार आदिलाई दृष्टान्तका रूपमा लिन सकिन्छ।
सोहीक्रममा लोक-प्रचलित कथ्य शब्दहरू पनि कथाकार राईले यथेष्ट प्रयोग गरेका छन्। कथामा प्रयुक्त लोक-प्रचलित कथ्यबोली वा शब्दहरूमा- बित्था, भुब्रो, फारस, चोख्याउनु, जण्ड, हुण्डरी, नाङ्लो, थुन्से, जुवारी, भाकल, गोडा तीसेक, विँयालो, मोसो, अपुताली, डाहा, ठेला, विख, फिट्टो, आँत मरूवा, मदानी, पैँचो, धपेडी, पटुका, छुमन्तर, अगेना, खास्टो, कुइरे, मुगलान, तिरबेनी, मुजेत्रो, छाउनी, बेसाहा, दुनेलो, कुँडो, कुम्लो, गलबन्दी, झिटीमिटी, आसिक, हाटबजार, मदिसे, जोइटिङ्ग्रे, अस्कोट, नम्बरी नोट, फलेक्टो, गुलमाल, हुटेल, पुल्ठो, तुरियो, जाँतो, बखत, दोबर, फुट, कचौरा, फरियाय, पाखे, काठा, पल्टने, लाठसाहेब, सुवेदारी, जस्केलो, अमिथ्या, बिमारी, शतूर, तुरिनु, घस्यौटा, मालमत्ता, फिस्सु, ढुङरो, विखालु, अछेता, बर्खा, सिपालो, दस्तुर, थुतुनो, च्याँखे, लक्कु, पाकेट, सन्तोक, पुर्ने, कुमेटी, लघार्नु, रूग्नु, घरेटी, ठहर्नुपर्यो, ठाना, बन्दर, पिछे, अधब्रेस्रो आदि शब्दहरूलाई सफल दृष्टान्तका रूपमा लिन सकिन्छ।
आख्यानकार इन्द्र सुन्दासले आफ्नो मङ्गली र नियति उपन्यासमा विशेषतः नेपाली लोकजीवनका वहुविध समस्या, ग्रामाञ्चलका जनसाधारणका हर्ष-विषादात्मक विविध सन्दर्भलाई उखान-तुक्का, लोकझाँकीको माध्यमबाट अभिव्यक्त गर्न खोजेका छन्। दृष्टान्त-
१)सिलगढीबाट रेलगाडी आयो, घुम्तीमा लेट भयो, कहाँको तिमी कहाँको हामी, ढ्वाङ तान्दा भेट भयो।
मदेसै ज्यानको धानको खेतमा सुकेको पराल छ सुदिनले होकि, कुदिनले होकि मन मेरो बराल्छ। (मङ्गली, पृ.३०)
२) जातपातको कसले पो खोजी गर्छ यो मुगलानमा।(मङ्गली, पृ.३५)
३) जयवीरले धामीलाई घरमा एकरात चिन्ता बसाउन डाके। धामी पगरी, घण्टी, मुर्दाको हाड़का मालामा सजेर उसले ढ्याङ्ग्रो ठोक्न र फलाक्न थाल्यो। उ कहिले आँगनमा निस्केर नाच्थ्यो, कहिले पर डाँडासम्म साइसाइ र सुइसुइ गर्दै ढ्याङ्ग्रो जोरसित ठोक्दै पुग्थ्यो अनि घरभित्र बनाएको थानका छेउमा घएर पलेटी कस्थ्यो।(मङ्गली, पृ.३७)
४) निम्जा फारस बस्तीको बूढो लाप्चे वैद्य हो। उ ओखतीमूलो गर्नु सिपालु थियो। पहाड़का झार-पात, फलफूल, कन्दमूल, रूखपात, लहराको बोक्रा, ढुङ्गामाटो इत्यादि उसले नचिनेको केही थिएन। धेरैलाई धेरै किसिमका रोगबाट उसले जाती पारेको थियो। (नियति, पृ.११५)
५) त्यो जाड़ोको रात सियाल(स्याल-राज) कराउनुसम्म करायो, हाप्सिलो पनि करायो, बिहानीपख बदनसिंहको घरको पाङरे कुकुर रोएको सुनियो।(नियति, पृ.१२१)
६) तामाङ खाल डम्फू बजाएर गीत गाउँदै नाच्दै रमाइलो मनाउँदै थिए। मारूनी नाच भएको, टाड़ा ठाउँबाट मादल बजेको र गीत गाएको आवाज हावाले उड़ाएर ल्याएको सुनिन्थ्यो। (नियति, पृ.१३६)
उपरोक्त छवटा दृष्टान्तहरूमा अन्धविश्वासले ग्रस्त बनाएको हाम्रो समाजमा सानोठूलो जातको भेद भाव र त्यसले उप्जाएको सामाजिक-मानसिक त्रास, छुवाछुतले ग्रसित बनाएको समाज, धार्मिक अन्धविश्वासको भावना, रूढिवादी विचारधारा व्याप्त भएको हाम्रो ग्रामीण समाजको यर्थाथ चित्रण प्रस्तुत गरिएको भेटिन्छ। यसका साथै दशैँ-तिहारमा मारूनी नाच, डम्फू, मादल बजेको सन्दर्भले लोक-संस्कृतिलाई सङ्केत गरेको छ।
लैनसिंह वाङ्देलका आख्यानकृतिहरूमा पनि लोक-प्रचलित कथ्य शब्दका नेपाली ग्रामीण ठेट शब्दहरू पनि प्रशस्त मात्रामा प्रयोग भएको भेटिन्छ। उनको मुलुक बाहिर, माइतघर र लङ्डाको साथी उपन्यास तथा केही उपलब्ध फुटकर रूपमा प्रकाशित कथाहरूमा तिरबेनी, दोरलिङ, ठीका, परमेसुर, संतोक, अँगेठी, बढा, भाकल, बिहा, देवल, लहना, आछापिछा, लम्बर लोकभाकाका शब्द प्रयोगका साथ साथै डाँडा पारीको घाम, सुखले दुःख खोज्छ-दुःखले काल खोज्छ, पालेको चराले एकदिन आफैलाई ठुङ्छ, मरेपछि डुमै राजा जस्ता लोक-प्रचलित उखानहरू पनि प्रयोग गरिएको पाइन्छ।
कथा-उपन्यासकार हायमनदास राई किरातका (चौकीदार, आँधी-बेहेरी, विनय, बटुवा, तह नमिलेका रेखाहरू, अभागिनीको साथी, टुडाल) अधिकांश कथाहरूमा लोकभाषिक सन्दर्भको अवलोकन गर्न सकिन्छ। किरातका कथामा ग्राम्य र लोकजीवनका विविध झाँकी र लोकभाषिक सन्दर्भका प्रस्तुतिले उनको आख्यान कृतिहरू पाठकमैत्री बन्न पुगेको छ। कथाकार किरातका चौकीदार, अभागिनीको साथी, सात माइलको खुट्टी, बिनायो, धिताल बाजे, फेरि उ मुसुक्क हाँसी, बह, यायावर, आँधी-बेहरी... प्रभृति शीर्षक कथाहरूलाई सफल दृष्टान्तका रूपमा लिन सकिन्छ। लोकोक्ति वा उखान प्रयोगले उज्यालो बनेका केही उदाहरणहरू कथाबाटै टिपौं-
१)जन छैन भने धनको के काम (सात माइलको खुट्टी),
२)आयुको छोरालाई वायुले के गर्छ, बडासँग लागे गुवा पान, छोटासँग लागे नाककान (फेरि उ मुसुक्क हाँसी),
३)मनको बह कसैलाई नकह (बह),
४)आयो गयो माया मोह आएन गएन को हो को हो,(यायावर) आदि जस्ता लोक-प्रचलित उखानहरू तथा चक्का, थेत्तर, कुटी, लौरो, थैलो, चुरा, सिकुवा, चिनो-चपेटो, टुकी, पनेरो, जुठो, तिहुन, मालिङ्गो, धत्तेरी, कप्टेरो, कोरी, अर्घेलो, अगेनु, पोथ्रा, नकच्चरी, निर्माया, सुसेल्यो, जाबो, जोइटिङ्ग्रे, लोलो-पोतो आदि जस्ता नेपाली ठेट शब्दको प्रयोगले उनको भाषिक स्वरूपमा सौन्दर्य बढेको देखिन्छ। यसका अतिरिक्त केमेरा, हस्पिटल, सियाल, दिनोस्, फोटोवाला, सर्नोस, राख्नोस्, हिँड्नोस्, यल्लाई, नाख(नाक), बोक्नोस्, हेर्नोस्, गहारो, गुन्टा, ल्याउनोस्, मारोस्, सोध्नोस्, इस्कूल, कोहरू, तँहरू, तिनारू, तिनेरू, यिनेरको, चढ्नोस्, जानोस्. गर्नुस्, हेर्नोस्, तिमेरू, तिमारू, नतान्नोस्, भरै, होलिस्, होलास्, थाकेस्, पर्नगो आदि जस्ता कथ्य शब्दहरूको प्रयोगले स्थानीय व्यक्ति-बोलीलाई सङ्केत गरेको देखिन्छ।
किरातका कथामा लोक-संस्कार, लोकरीति, लोक-विश्वास, रूढि-संस्कार, लोकभाका जस्ता कुराहरूलाई विशेष स्थान र महत्व दिइएको छ। किरातको मेरी घरकी कथा लोकविश्वासमा आधारित एउटा सफल कथा हो। लोकविश्वासले समाजमा सकरात्मक र नकारात्मक दुवै किसिमका प्रभावहरू पारेको हुन्छ भन्ने कुरो कथाले देखाउन खोजेको छ। जुनेली, सुख, आँधी बेह्री, साँध, संस्कार शीर्षक कथाले अन्धविश्वास र सामाजिक रूढिवादी संस्कारले ग्रस्त तुल्याएको ग्रामीण नेपाली समाजको सग्लो चित्रण उतारेको छ। अतः कथाकार किरातका कथा लेखनमा नोपाली लोक परम्परा, लोकजीवन, लोकपर्वका विराट सन्दर्भ उल्लेख भएको पाइन्छ। किरातका कथामा ग्राम्य जनबोली, लोकबोली अर्थात् लोकभाका तथा लोकोक्ति वा उखान-तुक्का, वाग्धारा प्रयोग गरी संवाद बोल्ने पात्रहरू प्रशस्त भेटिन्छन्।
आख्यानकार इन्द्रबहादुर राईका आज रमिता छ, विपना कतिपय, कथास्था र कठपुतलीको मनका कथाहरूमा प्रयुक्त नेपाली ठेट शब्द र लोक-प्रचलित कथ्य शब्दहरू प्रशस्त मात्रमा प्रयोग भएको भेटिन्छ। राईका उपन्यास र कथाहरूमा प्रयुक्त यस्ता लोक-प्रचलित शब्दहरूमा बैनी, केइ, यल्ले, आजु, कैले, मत्तै, तेस्तो, तिमार्ले, एति, चैँ, एस्तै, भन्नोस्, खाको, इनेरको, उभेको, जवाब, रूपे, उइले, रैछ, सौ, आइमे, साम्ने, तेस्को, पूर्ने, हैन, कैले, फसेला, बेस्से, घिच्रो, लछिमी, फिर्ने, रिन, जान्दुङना, तेसो, वाँ, गरिप, पैरो, उडाइदेको, लाइदिएर, याँ, तिमारलाई, हाँ, भाको, बोजु, पञ्चेत, बेञ्ची, गाकोथ्यौ, पैले, बसिराको, सुठीसाह्रै, यिनारू, तेसपछि, बित्थैमा, साँच्ची नै, मैना, यै, मो, चैँ, केइ, भन्दौन, पिन्सिन, खै, भन्दरैछ, गैरहेको, उभिराको, ल्याउनदेको, चियै, सोर्नु, तिनेरूले, बडाइ, तख्ता, दबाई, मौवा, ऐले, उकालो, भङ्जाहा, झुल्केको, कनर्चिन, बल्डेग्रा, भस्मे, फेदाङमा, खोची, चुंगी, पेरूङ्गो आदि शब्दहरूलाई सफल दृष्टान्तका रूपमा लिन सकिन्छ।
असम पूर्वाञ्चल क्षेत्रका आख्यानकार लीलबहादुर क्षत्रीका बसाईँ, ब्रह्मपुत्रको छेउछाउ, लीलबहादुर क्षत्रीका प्रतिनिधि कथाहरू, कहिल्यै नफुक्ने गाँठो शीर्षक कथा र उपन्यासहरूमा लोक- संस्कार संस्कृति, लोक-भाकाका विविध सन्दर्भहरू केलाउन सकिन्छ। क्षत्रीको आख्यानलेखनमा नेपाली लोकोक्ति, उखान-टुक्का तथा ठेट शब्दहरूले भने रोचकता, भाव सम्प्रेषणमा रमणीयता छरेको स्पष्ट देखिन्छ। दृष्टान्तका रूपमा केही लोकशब्द र लोकसन्दर्भहरू उनका कृतिबाट टिपौं- नाम त जस खरानी घस, सबै कुकुर काशी गए गए गुहु केले खाने जस्ता उखानका साथै खञ्जुरा, गुइँठे, उलाऊ, खासखुस, खुटी, छपडी, जिरनी, गडा लाग्नु, भाङ्नु, दोरख लाउनु, भराल, गाखीर, बैठा आदि जस्ता तुक्का,वाग्धराको प्रयोगले लोकभाषाचेती आख्यानकारका रूपमा उनलाई उभ्याउन सकिन्छ।
कथाकार जयप्रसाद दाहालको पछिल्लो कथा सङ्ग्रह उखानको बखानमा नौवटा कथाहरू सङ्कलित छन्। नौवटै कथाहरू उखानमा आधारित छन् भने कथाको शीर्षक पनि उखानमै यसप्रकार राखेका छन्- लगनको बेला हगन, म ताक्छु मुँढो बञ्चरो ताक्छ घुँडो, आकाशको फल आँखा तरी मर, मनको बह कसैलाई नकह, भलाको सङ्गत गुवा पान खराबको सह्गत नाक कान, हतारमा बिहे गर्यो फुर्सदमा पछ्तायो, बनको बाघले भेट्न कता हो कता मनको बाघले खायो, आफ्नो थैलीको मुख बलियो बाँध्नु साथीलाई चोर नलाउनु, के खोज्छस् कानो आँखो प्रभृति शीर्षकहरू छन्। दाहालको उक्त नौवटा कथान्तर्गत कसैलाई के को धन्धा, कसैलाई के को धन्धा, घर ज्वाईँलाई भने खानुको धन्धा, तितोतो पातै नछुने औ मिठोको जरै नराख्ने, राँडीलाई लान्छु नभन्नु, लाटा-लाटीलाई दिन्छु नभन्नु, हुने हुनामी टर्दैन, गँइहाले छात्ती देख्दैन, लोग्ने मान्छेले चिताए वर्ष दिन औ आइमाइले चिताए एकैक्षण आदि जस्ता उखानहरूको प्रयोग भएको भेटिन्छ।
कथाकार सानु लामाका कथा सम्पद्, मृगतृष्णा, खडकबहादुर कौशिकका रिमाल्नी घाट र हेङदाङ तथा युवा कथाकार युवा बरालका जिउनी र छिचिमिराभित्र समेटिएका कथाहरूमा पनि नेपाली झर्रा अर्थात् ठेट नेपाली शब्दहरूको प्रयोगका साथसाथै ग्राम्य जीवनमा प्रचलित लोकशब्द, कथ्यबोलीका केही दृष्टान्त प्रस्तुत गर्न सकिन्छ। उनीहरूका विविध कृतिमा यसप्रकार- कुम्लो, पोरसाल, दलान, अगेनो, कान्ला, गुन्द्री, डबका, भकारो, ढुङ्गो, रूप्ये, बाँखुरे, भकारो, लिस्नो, पर्ताप, चुरोट, सन्दुक, धार्नी, खल्ती, हाँडी, पाथी, मानापाथी, च्याँखे, अबेर, मदानी, सोली, राडी, डबका, अँखोरा, धपेडी, कक्कड, तिलचामले, हम्मेसी, ट्याम्को, पनेरो, बिखालु, ठाम, निम्तालु, दोबर, थुन्से, ऐँचोपैँचो, बेस्से, मेन्दो, धिब्री, भुसुण्डी, लट्ठक, बाँउटो, चोथाले, कठालो, मनग्गे, बुर्कुसी, मनसुबा, भुच्चड, तानधिङ, भेजो, जनापा, दोहोलो, बर्याम, भैँतिर, अँठ्याएर, जात्रु, खुस्केको, दमसैलो, फाल्तु, हिज, कुकुरको मुत (रक्सी), नरम चाना (सुङ्गुरको मासु), पिरा, सटक, ओढ़ार, च्यापला, जोखाना, ढेक्ची, हापेन, सानु, खोल्चा, लौटाएन, बारन, कैँया, फजीति, हैरान, छानु, झिक्रा, खोस्टा, झुस्ले, डिम्मा, परार, झ्याङ, चुकुल, चमचा, बेलायत, पुत्ला, गुड़िया, रूँगाई, विच्चामा, टुमौटे, खिचोला आदि जस्ता आञ्चलिक लोकशब्दहरूको यथेष्ट प्रयोग भएको देखिन्छ।
४. निष्कर्षःउपसंहार-
लोक-जीवनको दैनन्दिन व्यवहार, बोलीचाली, बस-उठ, आँशु-हाँसो, हर्ष-अमर्ष, क्रिडाविनोदका समयमा प्रयुक्त हुने अनुभवसिद्ध लोक-ज्ञानका सूत्रहरू नै वास्तवमा लोक-प्रयुक्ति हुन्। आकार-प्रकारका दृष्टिले यस्ता भाषिक लोक-प्रयुक्तिहरू लघु-स्वरूपका हुन्छन्, तथापि अर्थका दृष्टिले भने लक्षणा र व्यञ्जनार्थी प्रकृतिका हुन्छन्। लोकोक्ति भनेको लोकको उक्ति हो, लोक प्रचलित विशिष्ट उक्तिमात्र लोकोक्ति हुन सक्छन्। लोक अनुभवद्वारा निष्पन्न सारगर्भित उक्ति हुन्छ। उखानको सन्दर्भमा भन्ने हो भने शब्द शक्तिको दृष्टिले उखान अभिधामूलक थोरै तर व्यञ्जनामूलक धेरै हुन्छ। प्रयोगका दृष्टिले यस्ता लोकोक्ति वा उखानहरू स्वतन्त्र हुन्छन्। बोलचालको क्रममा पनि लोकोक्ति वा उखानहरू कुनै कथनलाई पुष्टि दिन वा विरोध गर्नमा प्रयोग गर्न सकिन्छ। लोक-जीवनसँग सम्बन्धित समग्र क्रियाकलाप नै लोकोक्ति वा उखानका विषय वा आधार स्रोत बन्न सक्छन्। हिन्दीको पहेलीको रूपमा चिनिने नेपालीमा प्रहेलिका निम्ति अड्को वा अत्तो तथा गाउँ खाने कथा शब्द प्रचलित छन्। यसमा जनजीवनको निम्ति मनोविनोदका साथसाथै बौद्धिक क्रीडा तथा मानसिक व्यायाम पनि अन्तर्निहित हुन्छ। सामान्य बोलचालको भाषाभन्दा उखानको संरचना केही फरक, मनोविनोदपूर्ण, व्यङ्ग्यात्मक, गेयात्मक, कवितात्मक, लयात्मक किसिमको हुन्छ।
लोक-जीवनमा हाम्रा पूर्वजहरूले युगौंअघिदेखि मानी ल्याएका लोक-विश्वास, लोक-धारणा र मूल्य-मान्यताहरूले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। लोक-विश्वासमा जन-मानसमा शुभ-अशुभ सम्बन्धी धारणा तथा अन्धविश्वासहरू पनि यसैसँग गाँसिएर आएका हुन्छन्। लोकोक्ति वा सूक्ति लोक भाषा प्रयोगको निम्ति महत्वपूर्ण अङ्ग भए जस्तै तुक्का (टुक्का) वा वाक्यांश पनि लोक-प्रयुक्तिका प्रमुख अङ्ग हुन्। लोकभाषामा जातिको सामूहिक तथा व्यक्ति विशेषको भाव, आचार-विचार, ज्ञान-सीप तथा मूल्य-मान्यताहरू
समेटिएको हुन्छ। एक व्यक्तिदेखि अर्को अर्को व्यक्ति गर्दै सर्दै सर्दै जान्छ। यसैले यो लिखित विवरणमा भन्दा पनि स्मृति तथा प्रथा-प्रचलनमा, लोक-परम्परामा सदा बाँचिरहन्छ। यो लोक-मानसको सहज-स्वाभाविक अभिव्यक्ति हो, जुन अलिखित रहेर लोक-कण्ठमा सदा जीवित रहन्छ। लोक-जीवनका प्रत्येक स्पन्दन, आशा-निराशा, हर्ष-विषाद, जीवन-मरण, सुख-दुख आदिको अभिव्यञ्जना लोकवार्तामा हुन्छ। यसर्थ लोकले जन भन्ने अर्थ बोध गर्छ। जन शब्दले तेरो, मरो वा फलानोको भन्ने अर्थ नराखी हाम्रो वा समूहको भन्ने अर्थबोध गर्दछ। लोकले बोल्ने भाका (वा भाषा) कुनै एक व्यक्तिले रचेको, सिर्जना गरेको, प्रयोग गरेको नभई समुदायमा रचिएको, मानव समुदायमा प्रयुक्त, समुदायमै जीवित रहने अनि समुदायमै विकसित हुने वस्तु हो।
*********** ************ *********** *********** **********
प्रमुख सन्दर्भ विवरण-
सुवेदी, हंसपुरे (वि. सं. २०५५)- नेपाली लोकजीवनः लोकविश्वास, काठमाडौः साझा प्रकाशन
बन्धु, चूडामणि (वि.सं.२०५८)-नेपाली लोकसाहित्य, काठमाडौः एकता बुक्स् प्रा. लि.
पौड्याल, शिवप्रसाद (वि.सं. २०६०)-नेपाली उखानको विषयात्मक अध्ययन, काठमाडौः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
भट्टराई, गङ्गाप्रसाद (सन् २०१७)-लोकायन, खरसाङः शिवकुमार राई स्मृति अकादमी
पौड्याल, शिवप्रसाद (वि. सं. २०६८)-नेपाली टुक्का कोश, प्रकाशक- कोशकार स्वयम्
घतानी, कृष्णराज (सन् २०१५)-आधार अनि अवधारणा, सिलगढ़ीः नेपाली साहित्य प्रचार समिति
सापकोटा,माधवप्रसाद (वि.सं.२०६६)-लोकसाहित्यको परिचय र लोककथाको समाज...,काठमाडौः सुजाता प्रकाशन
प्रधान, दिलकुमार (सन् २०२१)-नेपाली र बङ्गला आञ्चलिक उपन्यास, सिलगढ़ीः एकता बुक हाउस
छेत्री, राजकुमार (सन् २००९)- सिर्जनाको समावलोकन, दार्जीलिङः गामा प्रकाशन
छेत्री, राजकुमार (सन् २०१४)- कृति आलोकन, दार्जीलिङः मनमाया प्रकाशन
भट्टराई, गङ्गाप्रसाद (सन् २०१७)-केही अध्ययनः केही विश्लेषण, खरसाङः शिवकुमार राई स्मृति अकादमी
नामदुङ, जीवन र अन्य. सम्पा.(सन् २०२२)- भारतीय नेपाली भाषामा वर्तनीको मानकीकरण, दार्जीलिङः ने.सा.स.
भट्टराई, गङ्गाप्रसाद (सन् २०१७)-लोकवार्ताःतुलनीय केही पक्षहरू, खरसाङः शिवकुमार राई स्मृति अकादमी
शर्मा, खगेन (सम्पा.)-(सन्२०१६)- साहित्यकार लीलबहादुर क्षत्रीः व्यक्तित्व र कृतित्व, असमः नेपाली प्रकाशन परिषद
प्रधान, महेश (सन् २०२१)-इन्द्र सुन्दासः व्यक्ति र कृति, सिलगढ़ीः एकता बुक हाउस
रेग्मी, चूडामणि (वि. सं. २०५७,)- नेपाली टुक्काहरूको अध्ययन, दो, सं, चन्द्रगढीः जुही प्रकाशन
गुरूङ, प्रदीप, सम्पा.(सन् २०१४)-हायमनदास राई किरात अभिनन्दन ग्रन्थ, दार्जिलिङः श्याम ब्रदर्श प्रकाशन
सह-प्राध्यापक, स्नातकोत्तर नेपाली विभाग
दार्जीलिङ सरकारी महाविद्यालय, दार्जीलिङ।