18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उत्तरसंरचनावादी समालोचनाको विकासक्रम, मान्यता र प्रभाव

विचार नारायण मरासिनी April 22, 2024, 12:03 am
नारायण मरासिनी
नारायण मरासिनी

लेखसार
प्रस्तुत लेखमा नित्सेको वैचारिक पृष्ठभूमिमा उत्तरसंरचनावादी समालोचनाको विकासक्रमलाई सङ्क्षेपमा उल्लेख गरिएको छ । उत्तरसंरचनावादका प्रमुख मान्यताहरुको निर्क्योल गर्दै उत्तरवर्ती साहित्य सिर्जनामा यसले पारेको प्रभावको अध्ययन यस लेखमा गरिएको छ । फ्रेडरिक नित्सेको दार्शनिक चिन्तनका आधारमा उत्तरसंरचनावादी समालोचनाको विकास, मान्यता र उत्तरवर्ती साहित्यमा यसले पारेको प्रभावको अध्ययन तथा विश्लेषण गर्नु यस लेखको उद्देश्य रहेको छ । लेखमा पुस्तकालयीय अध्ययन पद्धतिका आधारमा सामग्री-तथ्यहरु सङ्कलन गरी सङ्कलित सामग्री-तथ्यहरुको विश्लेषण गरिएको छ । नित्सेको निराशावाद-शून्यवाद, ईश्वरको मृत्यु र महामानवको घोषणालाई आधार मानेर भाषाचिन्तक सस्युरको संरचनावादका विरूद्धमा विकसित उत्तरसंरचनावादका सैद्धान्तिक मान्यताहरुलाई यसमा प्रस्तुत गरिएको छ । मुख्य गरी रोलाँ बार्थ, ज्याक डेरिडा, फ्र्यान्कोज ल्योतार, ज्याक लकान, मिसेल फुकोका दार्शनिक चिन्तनको अध्ययन–विश्लेषण गर्ने काम यसमा गरिएको छ । नेपाली बुद्धिजीवी, साहित्यकार, समालोचकहरुका अभिव्यक्तिमा यसले पारेको प्रभावको सङ्क्षेपमा अध्ययन–विश्लेषण गरिएको छ । सन् १९६० पछि क्रमशः विकसित त्तरसंरचनावादको सम्बन्ध उत्तरआधुनिकतासँग पनि गाँसिएको तथ्यलाई विभिन्न साक्ष्यहरुका साथ प्रस्तुत गरी अन्त्यमा मानवीय मूल्यमान्यताका विपरीत साइबर संस्कृतिबाट प्रभावित यस सिद्धान्तले मानवीय संवेदनामाथि नै प्रहार गरेको निष्कर्ष निकालिएको छ ।
विषय परिचय
जर्मन दार्शनिक, कवि तथा सांस्कृतिक समालोचक फ्रेडरिक नित्से (सन् १८४४–१९००) समकालीन सांस्कृतिक क्षेत्रका मौलिक चिन्तक हुन् । नित्सेको निराशावाद, ईश्वर मृत्युको घोषणा र शक्तिको चाहनाका कारण महामानवको घोषणा नै उत्तरसंरचनावादी चिन्तनको मुख्य स्रोत हो । उत्तरसंरचनावाद संरचनावादभन्दा पछाडि देखापरेको साहित्य सिद्धान्त हो । सन् १९६० को दशकदेखि प्रचलनमा आएको उत्तरसंरचनावादले उत्तरआधुनिकतावादको सैद्धान्तिक पक्षलाई अभिव्यक्त गर्दछ । उत्तरआधुनिक उपन्यास, कविता, चित्र र भवनहरु ‘झन् आधुनिक’ संस्कृतिका नयाँ प्रयोग हुन् भने ‘विनिर्माण’ तथा लकानियन मनोविश्लेषण जस्ता उत्तरसंरचनावादी अवधारणा ती कलात्मक प्रयोगका सैद्धान्तिक मेरूदण्ड हुन् (उप्रेती, २०६९, पृ. ३९) । १९७० को दशकमा संरचनावादको स्थान उत्तरसंरचनावादले लिन थाल्यो भने साहित्य र सांस्कृतिक अध्ययनका क्षेत्रमा यसको प्रभाव १९८० को दशकपछि पर्न थालेको हो (भट्टराई, २०७०, पृ.३५४) । संरचनावादको आलोचना गर्दै डेरिडाले सन् १९६६ मा ‘स्ट्रक्चर, साइन एण्ड प्ले इन दि डिस्कोर्स अफ दि ह्युमन साइन्सेस’ नामक लेख लेखे । यही लेखलाई नै संरचनावादबाट उत्तरसंरचनालाई भिन्न गर्ने प्रथम आधिकारिक दस्तावेजका रुपमा स्वीकार गरिएको पाइन्छ (भट्टराई, २०७०, पृ.९०) । यसबाट प्रस्ट हुन्छ– संरचनावादको पृष्ठभूमिमा सन् १९६० को दसकको अन्त्यतिरबाट उत्तरसंरचनावादी बहसले गति लिएको हो र डेरिडाले विनिर्माणको बहसको थालनी गरेका हुन् ।
उत्तरसंरचनावादमा नित्सेको सतही लेखन र चिन्तनको प्रभाव पाइन्छ । भाषालाई नै सर्वस्व मान्ने उत्तरआधुनिकतावादी मान्यता यिनीबाटै प्राप्त मान्यता हो । आत्मबोधको अभावसम्बन्धी यिनको मान्यताबाट नै भाषामा नै सबैथोक छ भन्ने उत्तरसंरचनावादी–उत्तरआधुनिकतावादी मान्यताले प्रश्रय पाएको हो । विनिर्माणमा डेरिडाको शब्दकेन्द्रवादको मान्यता पनि नित्सेबाटै प्राप्त अवधारणा हो । रोलाँ बार्थ लगायतले गरेको लेखकको मृत्युको घोषणा पनि नित्सेकै ईश्वर मृत्युको घोषणाबाट आएको हो । नित्सेद्वारा घोषित ईश्वरको मृत्यु, नैतिकताको शुभ र अशुभ तथा सत्यको सन्दर्भलाई डेरिडाले भाषाको खेल अर्थात् अर्थको अनिश्चयतासँग जोडेर हेरेका हुन् । अपरम्परित शैली, साहित्य र दर्शनको भञ्जन, विधाभञ्जन र विधामिश्रण जस्ता कुरा उत्तरसंरचनावादले नित्सेबाटै लिएर सैद्धान्तिकीकरण गरेको हो । सत्य भनेको भाषा मात्रै हो भन्ने मान्यता नित्सेको हो र उत्तरसंरचनावादी डेरिडा, फुको लगायतका चिन्तकहरुले यिनकै प्रभावका कारण भाषालाई नै सर्वस्व मानी पाठ र विमर्शमा जोड दिएका हुन् । पश्चिमी जगत्मा झ्याङ्गिएको यस चिन्तन परम्परालाई नेपाली भाषा, साहित्य तथा समालोचनाका क्षेत्रमा भित्र्याएर मलजल पुर्‍याउने काम इन्द्रबहादुर राई, कृष्ण गौतम, डा. गोविन्दराज भट्टराई, कृष्ण धरावासी लगायतबाट भएको पाइन्छ । नित्सेको वैचारिक पृष्ठभूमिमा विकसित उत्तरसंरचनावादी समालोचनाको विकासक्रमका साथै यसका प्रमुख मान्यताहरु निक्र्योल गर्दै साहित्य सिर्जनामा यसले पारेको प्रभावको अध्ययन गर्नुलाई यस लेखको मुख्य विषय बनाइएको छ ।
नित्सेको निराशावादी चिन्तनबाट प्रभावित उत्तरसंरचनावादी समालोचना कुन रुपमा विकसित हुँदै आयो ? उत्तरसंरचनावादका प्रमुख मान्यताहरु के के हुन् र यसले उत्तरवर्ती साहित्य सिर्जनामा कस्तो प्रभाव पारेको छ ? भनेर अध्ययन गर्नु यस लेखको समस्या हो भने उत्तरसंरचनावादी समालोचनाको विकासक्रम सङ्क्षिप्तमा उल्लेख गर्दै यसका प्रमुख मान्यताहरु निक्र्योल गरी उत्तरवर्ती साहित्य सिर्जनामा यसले पारेको प्रभावका बारेमा अध्ययन–विश्लेषण गर्नु यस लेखको उद्देश्य हो । लेखमा सामग्री सङ्कलनको प्रमुख आधार पुस्तकालयीय पद्धतिलाई बनाइएको छ । पुस्तकालयमा गएर उत्तरसंरचनावादसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका, लेख–रचना एवम् यस सम्बन्धमा सैद्धान्तिक व्याख्या गरिएका पुस्तकहरुको सङ्कलन गरिएको छ । यसका अतिरिक्त विद्युतीय स्रोतबाट प्राप्त सामग्रीहरु पनि सङ्कलन गरिएका छन् । नित्सेको दार्शनिक चिन्तनका आधारमा मुख्य गरी रोलाँ बार्थ, डेरिडा र फुकोको विचारलाई सङ्कलित सामग्रीको अध्ययनपछि विश्लेषण गर्ने काम गरिएको छ । विषयवस्तुको विश्लेषण वर्णनात्मक शैलीमा गरिएको छ । विश्लेषण गुणात्मक प्रकृतिको रहेको छ । विश्लेषणका क्रममा विभिन्न उपशीर्षकहरुको योजना गरिएको छ । अध्ययन–विश्लेषणलाई उत्तरसंरचनावादी–उत्तरआधुनिकतावादी चिन्तनमा सीमित गरिएको छ । यो लेख उत्तरसंरचनावाद तथा उत्तरआधुनिकतावादसँग सम्बन्धित अध्ययन–अनुसन्धान गर्न चाहने अध्येताहरुका लागि उपयोगी तथा सहयोगी हुने विश्वास गरिएको छ ।
उत्तरसंरचनावादी समालोचनाको विकासक्रम, यसका प्रमुख मान्यता र उत्तरवर्ती साहित्य सिर्जनामा यसले पारेको प्रभाव
फ्रेडरिक नित्सेको दार्शनिक चिन्तनलाई आधार बनाएर सन् १९६० को दसकको अन्त्यतिरबाट क्रमशः गति लिएको उत्तरसंरचनावादी बहसको विकासक्रम, यसका मुख्य–मुख्य प्रवृत्ति एवम् उत्तरवर्ती साहित्य सिर्जनामा यसले पारेको प्रभावलाई निम्न उपशीर्षकमा विश्लेषण गरिएको छः
उत्तर संरचनावादको पृष्ठभूमिमा फ्रेडरिक नित्सेको चिन्तन
जर्मनेली दार्शनिक, कवि तथा सांस्कृतिक समालोचक फ्रेडरिक नित्से निराशावादी चिन्तक हुन् । उनी धर्म, नैतिकता, समकालीन संस्कृति, दर्शन र विज्ञानका क्षेत्रमा मौलिक व्याख्याताका रुपमा परिचित छन् । नित्सेका विचारमा कुनै पनि कुरा पूर्ण सत्य हुन्न र पूर्ण मूल्यको पनि हुँदैन । उनले परम्परादेखि चलिआएको आस्थाको केन्द्रमाथि प्रहार गर्दै ईश्वरको मृत्युको घोषणा गरेर सार्वभौम मूल्यका बारेमा प्रश्न उठाएका छन् । परम्परित चिन्तनलाई भताभुङ्ग गराएर मान्छेलाई निराशामा धकेल्ने काम उनीबाट भएको छ । सार्वभौमिकता र सार्वजनीनता हराएपछि वैयक्तिक मूल्यले प्रश्रय पाउनु स्वाभाविक छ । विज्ञान र प्रविधिका कारण मान्छे वैयक्तिक रुपमा शक्तिशाली बनेको छ । ईश्वरको मृत्युको कारण अनिर्णयात्मकता, अबौद्धिकताले स्थान पाएको छ फलस्वरुप मानवीय संवेदना र नैतिकतामा ह्रास आउनु स्वाभाविक छ ।
शक्तिको चाहनाका कारण मान्छेले आफूलाई महामानवको रुपमा लिन थाल्छ । शक्तिको आकाङ्क्षाका कारण मान्छे शासनका लागि सक्षम भयो र समाजको व्यवस्थापनको नेतृत्व गर्न सफल भयो । शक्तिको चाहना अर्थात् शक्तिशाली मान्छे नै महामानव हो । हरेक मान्छे शक्तिशाली हुन चाहन्छन् । समाज, राज्य सञ्चालनका लागि पनि शक्तिकै आवश्यकता पर्दछ । नित्सेका अनुसार शक्ति प्राप्त गर्ने मानिस नै महामानव हो (गौतम, २०७१, पृ.२८) । यसरी निराशावाद, ईश्वरमृत्युको घोषणा र शक्तिको चाहना अर्थात् महामानवको घोषणा नै नित्सेको चिन्तनको मुख्य विषय हो ।
उत्तरसंरचनावादी समालोचनाको विकासक्रम
उत्तरसंरचनावाद संरचनावादका विरुद्धमा आएको एक साहित्यिक सिद्धान्त हो । यो फर्डिनान्ड डि सस्युरको भाषिक चिन्तनका जगमा रोलाँ बार्थ, डेरिडा, फुको आदिबाट विकसित र विस्तारित सिद्धान्त हो । भाषाले आफ्नो विषय आफै निर्माण गर्छ । शब्दहरु आफ्नो अर्थ आफै बनाउँछन् । भाषिक संरचनाद्वारा अर्थ निष्पादन हुने हुँदा सङ्केत र सङ्केतक प्रणालीका अध्ययनबाट समाजसम्म पुग्न सकिन्छ भन्ने मान्यता सस्युरको रहेको छ । अर्थ उत्पादनका सन्दर्भमा संरचनावादले पाठलाई महत्व दियो र भाषाका माध्यमबाट उत्पादन हुने अर्थको स्थिरता, साहित्यिक वा सामाजिक सङ्केत र सांस्कृतिक सङ्केतहरुका आधारमा पाठ वा कृतिको सांस्कृतिक विश्लेषण गर्ने काम ग¥यो (भट्टराई, २०७७, पृ.३७) । यही आधारमा लिखित पाठहरु मात्र नभई दृश्य सामग्री, भाषण आदिको पनि विश्लेषण हुन थाल्यो ।
उत्तरसंरचनावाद संरचनावादको वस्तुगत र बोधगम्यताका विरूद्ध कृतिको अर्थ अस्थिर र खण्डित हुन्छ भन्ने मान्यता राख्ने सिद्धान्त हो । यसले भाषालाई भिन्नतामा आधारित मान्छ र भाषाले व्यक्त गर्ने मुख्य कुरा अनुपस्थितिलाई ठान्छ । उत्तरसंरचनावाद अर्थहीनता निर्माण गर्ने क्रियाकलाप हो र यही अर्थमा यो संरचनावादभन्दा भिन्न छ । यसले पाठको भाषिक चिह्न भित्रैबाट सुनिश्चित सत्य खोज्ने संरचनावादलाई चुनौती दिन्छ र साहित्य एवम् समीक्षा दुवैलाई सिर्जना मान्छ । यसमा भाषाले दिने अर्थ अनिश्चित र छिद्रयुक्त हुने हुँदा पाठहरु प्रश्न र अन्तर्विरोधले भरिएका हुन्छन् भनेर अथ्र्याउनका लागि पाठकलाई स्वतन्त्र छोडिदिन्छ । पाठक, लेखक वा समीक्षक पाठसँग खेल्न थाल्छन् र नयाँ अर्थहरु निकाल्दै त्यसबाट अनेक पाठहरु सिर्जना गर्न सक्छन् ।
उत्तरसंरचनावादलाई रोलाँ बार्थ, डेरिडा, लकान, ल्योतार, क्रिस्टिभा, फुको लगायतका चिन्तकहरुले अगाडि बढाएका हुन् । कृति वा पाठको अर्थ बहुल हुन्छ । पाठ खुला पठन हो र यसलाई स्वतन्त्र रुपमा अर्थ लगाउन छुट हुन्छ भन्ने धारणा रोलाँ बार्थको रहेको छ । क्रिस्टिभाको द्विचर विरोधप्रतिको विरोधले पनि उत्तरसंरचनावादी मान्यतालाई थप प्रस्ट पारेको छ । उत्तरसंरचनावादले परम्परादेखि चलिआएको विचार, प्रक्रिया तथा सिद्धान्तलाई चुनौती दिने काम गरेको छ । विनिर्माण उत्तरसंरचनाकै प्रयोग हो । उत्तरसंरचनावाद, उत्तरआधुनिकतावाद तथा विसङ्घटनले सब अनिश्चयमा लैजान्छन् । यिनीहरु सार्वभौम नियमको विरोध गर्छन् (गौतम, २०६४, पृ.९९) । उत्तरसंरचना जीवनविरोधी चिन्तन भएको उल्लेख गर्ने बरालका अनुसार साम्राज्यवादीहरुले यसको प्रयोगको भूमण्डलीकरण गरिरहेका छन् । यो अवधारणा शून्यमा आधारित छ, इतिहास र मानवमूल्यका विरूद्धमा छ (बराल, २०६७, पृ.२०४) । उत्तरसंरचनावाद÷उत्तरआधुनिकतावाद र विनिर्माणका केही विशेषता समान छन् । विनिर्माण पठन सिद्धान्तसँग सम्बन्धित छ भने उत्तरसंरचनावाद दर्शन र भाषा विज्ञानसँग सम्बन्धित छ । उत्तरसंरचनावाद उत्तरआधुनिकतावाद जत्तिकै विस्तृत छैन यद्यपि केही मात्रामा यी दुई उस्तै प्रकृतिका छन् (पौड्याल, २०७०, पृ.१००) । यी दुई बिच केही साझा विशेषता छन्, केही आफ्नै पृथक् पहिचान पनि छन् ।
रोलाँ बार्थले सस्युरकै मान्यतालाई अगाडि बढाउँदै पाठको व्याकरण र व्याकरणको सांस्कृतिक सन्दर्भबाट कसरी अर्थहरुमा भिन्नता देखिन्छ भन्ने कुरालाई प्रस्ट पार्दै सांस्कृतिक विश्लेषणका लागि पाठ विधि तयार पारे । भाषिक संरचना नै सांस्कृतिक अर्थ हुने भएकाले पाठ र अर्थका बिचको सम्बन्धका आधारमा सांस्कृतिक विश्लेषणको ढाँचा तयार पार्ने काम लेभि स्त्रासबाट भयो र यही पृष्ठभूमिमा उत्तरसंरचनावादको उदय हुन पुगेको हो । संरचनावादको अर्थको स्थिरता, स्पष्टता र वर्णनात्मकताप्रति उत्तरसंरचनावादको विरोध रह्यो । पाठमा एउटै अर्थ रहेन, अर्थहरु क्रमशः अन्यार्थमा बदलिन थाले र अन्तर्पाठीयताको विकास भयो । डेरिडाको अर्थसम्बन्धी मान्यताले उत्तरसंरचनावादको विस्तार गर्न पुग्यो । डेरिडापछि फुको, लकान लगायतबाट उत्तरसंरचनावादलाई क्रमशः विकसित तुल्याउँदै अगाडि बढाउने काम भयो (भट्टराई, २०७७, पृ.३८) ।
नित्सेकै निराशावादी पृष्ठभूमिमा उत्तरसंरचनावादको सैद्धान्तिक आधार तयार पार्ने काम डेरिडाबाट भएको हो । डेरिडाले यसअन्तर्गत विनिर्माणलाई प्रस्तुत गरी भाषामा शब्द र अर्थ बिचको सम्बन्धको पहिचान गरेका छन् । अर्थको केन्द्रविहीन अवस्था नै डेरिडाको विनिर्माणको मूल मर्म हो । भाषामा अर्थहरुको उत्पत्तिको खेल निर्माण हुने, अर्थको अस्थिरताका कारण भिन्नता, विभेद र स्थगनको अवस्था उत्पन्न हुने, अर्थको उपस्थितिअनुरुप अनुपस्थिति पनि रहने अवस्था विनिर्माण हो । डेरिडाको शब्दकेन्द्रवाद अर्थको उपस्थितिको अवधारणामा केन्द्रित छ । डेरिडाले परम्परागत धारणाले प्रदान गर्ने अर्थ सही नभएको उल्लेख गर्दै ध्वनिकेन्द्रवादको धारणा प्रस्तुत गरेका छन् । उनको विखण्डनले कुनै निश्चित, निर्धारित वा पूर्वनिर्मित अर्थलाई विस्थापन गर्दछ । उनका अनुसार परम्परागत अर्थक्रममा शब्दयुग्मको क्रमलाई विखण्डनले उल्ट्याउँछ (भट्टराई, २०७७, पृ.३८–३९) ।
उत्तरसंरचनावादी अर्का चिन्तक फुकोले विमर्श निर्माणसम्बन्धी धारणा प्रस्तुत गर्दै यसलाई भाषिक व्यवहारका सन्दर्भबाट अध्ययन गरेका छन् । उनका दृष्टिमा भाषाको विकास र अर्थको उत्पादन निश्चित ऐतिहासिक अवस्थामा आधारित हुन्छ र केही निश्चित÷निर्धारित ऐतिहासिक अवस्थामा निश्चित प्रकारको विमर्शको निर्माण हुन्छ । फुको आधुनिक संरचनावादको सार्वभौमिक नियमसम्बन्धी मान्यताका विरोधी छन् । सामाजिक सम्बन्धका दृष्टिले कुनै पनि प्रकारको सार्वभौमिक बौद्धिक नियम पत्ता नलाग्ने हुँदा सांस्कृतिक नियम र उपनियमको उत्पत्ति पनि सार्वभौमिक नभएर स्थानीय हुन्छ । उनी आधुनिकतामा आधारित बुद्धि सत्यलाई अस्वीकार गर्छन् र सत्य भन्ने कुरा एक प्रकारको मिथक मात्र भएको बताउँछन् । सत्यको स्वरुप सदैव आंशिक, स्थानीय र परिवर्तनशील हुन्छ भन्ने फुकोको विमर्शको सार रहेको छ । फुकोले ज्ञान र सत्ताको सम्बन्धलाई स्थानीयताका आधारमा विश्लेषण गरेका छन् । उनले ज्ञान, विमर्श र सत्तालाई आधुनिक समाज निर्माणको आधारभूत पक्ष मानेका छन् (भट्टराई, २०७७, पृ.४०) । उत्तरआधुनिक समाजको ज्ञान र सत्ताको स्वरुप विकेन्द्रित छ । उनका दृष्टिमा ज्ञान वस्तुनिष्ठ नभई व्यक्तिनिष्ठ हुन्छ । उनले सत्ता राज्यसँग मात्रै नभएर हरेक स्थानीय तह र निकायमा हुने उल्लेख गरेका छन् । ज्ञानजस्तै सत्ताको स्वरुप पनि सार्वभौम नभएर स्थानीय हुन्छ । उनका दृष्टिमा सत्ता परम्पराभन्दा भिन्न छ र ज्ञान नै सत्ता हो । सत्ता राज्यसँग नभएर व्यक्तिसँग हुन्छ । सत्ता तलबाट निर्माण हुन्छ । सत्तालाई वर्ग, राज्य र सङ्घसंस्थाभन्दा भिन्न दृष्टिले हेर्ने फुकोको यो चिन्तन माक्र्सवादविरोधी चिन्तन हो, जुन परम्परागत मान्यताभन्दा भिन्न छ ।
उत्तरसंरचनावाद-उत्तरआधुनिकतावाद मानवीय आस्था, स्वतन्त्रता, न्याय र समानताको दर्शनको विपरीत मान्यतालाई अँगाल्दछ । ल्योतारको महान् आख्यानको विरोध सारमा सामाजिक आस्था र मूल्यमान्यतालाई भताभुङ्ग पार्नु हो । पुराण, पुराकथा, महावृत्तान्त, सिद्धान्त सबैको अन्त्य चाहने ल्योतार पनि भाषिक खेलमै रमाउन चाहन्छन् । सूचना साम्राज्य र प्रविधिको ज्ञानमा रमाउनु उत्तरसंरचनाको विशेषता बनेको छ । ल्योतार मानवीय संवेदनाका विरुद्धमा उभिएका छन्, सामाजिक व्यवहार, रीतिरिवाज र परम्पराकै विरूद्धमा उभिएका छन् (भट्टराई, २०६७, पृ.१०८) । उनी मान्छेप्रति नै सकारात्मक छैनन्, मान्छेका सम्पूर्ण सपनाहरुको हत्या गरेर मानवीय अस्मितालाई नै सिध्याउन चाहन्छन् ।
अर्का चिन्तक लकानले फ्रायडको मनोविश्लेषण सिद्धान्तको पुनर्पठन गरी उत्तरसंरचनावादी विश्लेषण गरेका छन् । उनले फ्रायडको संरचनात्मक विकास र पुनःसंयोजनलाई संरचनावादी मान्यताका आधारमा आलोचनात्मक पठन गरी संरचनावादी सिद्धान्त तयार गरेका छन् । उनका अनुसार हामी ‘अभाव’को अवस्थामा जन्मन्छौँ र हाम्रो जीवनको सिङ्गो अवधि यही अभावलाई पूरा गर्न खर्चन्छौँ (भट्टराई, २०७०, पृ.३५७) अभावमा पर्नुभन्दा अगाडिको आमासँगको एकात्मकता एउटा परिपूर्ण अवस्था थियो । परिपूर्ण अवस्थाको खोजीमा रमाउँदा–रमाउँदा मानिस अन्त्यहीन अवस्थाबाट गुज्रन्छ । यसैलाई लकानले अपूर्ण अवस्था मानेका छन् ।
साहित्यमा रोलाँ बार्थ, डेरिडा, ल्योतार लगायतले उत्तरसंरचनालाई गति दिए भने मनोविज्ञानमा लकान, समाजशास्त्रीय चिन्तनमा फुको, नारीवादी चिन्तनमा क्रिस्टिभा लगायतले यसको विस्तारमा विशेष योगदान गरेको पाइन्छ । यही परम्परालाई पछ्याउँदै नेपाली भाषा–साहित्यका क्षेत्रमा पनि पछिल्लो समय सानो समूहमा केही स्रष्टा–द्रष्टाहरुले विचारविमर्श गर्न थालेको पाइन्छ । यद्यपि नेपाली द्रष्टाहरुको विमर्शमा एकरुपता भने पाइँदैन ।
उत्तरसंरचनावादका प्रमुख मान्यता
उत्तरसंरचनावादका प्रमुख मान्यताका रुपमा सार्वभौमिकताको विरोध, पाठको अर्थ बहुलता, विखण्डन, सङ्केतितभन्दा सङ्केतलाई महत्व, लेखकको मृत्युको अवधारणा, ससाना सामाजिक श्रेणीहरुलाई महत्व, अनिश्चयताको पुर्पक्ष, इतिहास र केन्द्रको अस्वीकृति, ज्ञान र शक्तिको सङ्कथन, बहुल अस्मिताको समर्थन, विनिर्माण आदि रहेका छन् (गिरी, २०७०, पृ.३९) । मुक्तता, प्रतिआख्यानात्मकता, अराजकता, सतही लेखन÷चिन्तन, स्थानीयता आदि पनि यसका मान्यतामा पर्दछन् ।
डेरिडा परम्परागत बुद्धिवादी मान्यतामा प्रश्नचिह्न लगाएर पाठको विमर्शको खोजी गर्दै एउटा विमर्श र अर्को विमर्शका बिचमा हुने अर्थगत भिन्नताको खोजी गर्छन् र लेखनको प्रवृत्ति केन्द्रीकृत नभएर विकेन्द्रित हुन्छ भन्ने मान्यता प्रस्तुत गर्छन् । उनी भाषाका शब्द तथा अर्थको खोजी गर्दै अर्थ कसरी एक पाठबाट अर्को पाठसम्म सर्दै जान्छ भन्ने कुराको विश्लेषण गर्छन् । अर्थको अनिश्चितता नै उत्तरसंरचनावादको सर्वप्रमुख अवधारणा हो र यसबाट सिङ्गो उत्तरआधुनिकताको पहिचान पनि प्राप्त गर्न सकिन्छ (पाण्डेय, २०७३, पृ.११७) । डेरिडा संरचनावादले ल्याएको अर्थको स्थिरताको सिद्धान्तको विपक्षमा छन् र शब्दहरुले पाठमा कसरी खेल्छन् भन्ने कुराको खोजीमा छन् । डेरिडाको विनिर्माण शब्दयुग्मलाई मान्दैन, तिनलाई भत्काउनुपर्ने मान्यता राख्छ । डेरिडा यस्ता युग्मकका कारण सामाजिक र सांस्कृतिक विभेद जन्मेका हुन् भन्ने मान्छन् र यसलाई विखण्डन गर्नुपर्ने मान्यता अघि सार्छन् । यिनलाई उल्ट्याउँदा पनि अर्को द्विचरको सिर्जना भई त्यसले पनि सोपानक्रमलाई नै देखाउने हुँदा यसको सीमाभञ्जन हुनुपर्ने मान्यता राख्छन् । उनी लेखनको शब्दकेन्द्रवादी मान्यताका विरोधी रहेका छन् । उनका दृष्टिमा लेखनको प्रवृत्ति केन्द्रीकृत नभएर विकेन्द्रित हुन्छ । विखण्डनको यस प्रकृयामा मूल पाठका अतिरिक्त अन्य अव्यक्त÷अस्पष्ट विषय पनि लेखनमा हुन्छ, जसको व्याख्या तर्कमा नभएर अन्य पाठमा सर्ने अर्थका सन्दर्भबाट हुन्छ । एउटै शब्दका अनेक अर्थ हुन्छन् भन्ने आधारमा डेरिडाले भाषाको अप्रदर्शित, अस्थिर र अनेक वा अनन्त अर्थका सम्भावनाको व्याख्या गरेका हुन् । उनका दृष्टिमा बुद्धिका आधारमा जुन अवधारणा निर्माण गरिन्छ ती सबै अवधारणालाई नष्ट गरिदिनुपर्छ । यसरी डेरिडाले पाश्चात्य समाजमा प्रचलित तर्कपद्धति र परम्परागत विचारधाराको खण्डन गरेका छन् । विखण्डनले तत्वमीमांसाको विरोध गर्दछ । डेरिडाका अनुसार वास्तविक ज्ञान वा यथार्थको बोध त भाषाबाट हुन्छ र भाषाको भेदको अध्ययनबाट नै सत्य वा यथार्थको नजिक पुगिन्छ । यसका लागि उनले भाषिक भेदको अध्ययन गरेका छन् । शब्दको अर्थमा सदैव भिन्नता हुन्छ र कुनै पनि शब्दले स्थायी अर्थ नबोकी भिन्न अर्थ बोक्छ भन्ने मान्यता डेरिडाको छ । अर्थभेदकै कारण शब्दको अर्थ परिस्थितिअनुसार सर्दै जान्छ र विभेदको अवस्था सिर्जना हुन्छ ।
फ्रान्सेली दार्शनिक फुकोले विमर्श र ज्ञानलाई ऐतिहासिक सन्दर्भबाट विश्लेषण गरेका छन् । विमर्शभित्र ज्ञान लुकेको हुन्छ र यसलाई उत्खनन् गर्नुपर्छ भन्ने उनको मान्यता छ । उनका अनुसार भाषिक एकाइको एकीकृत रुप विमर्श भएकाले यसबाट ज्ञानको पुरातŒव बुझ्न सकिन्छ । विमर्शले ज्ञानलाई स्थापित र नियन्त्रित गर्छ । फुकोका दृष्टिमा इतिहास र आनुवंशिकता तथ्याङ्कीय र निश्चित हुँदैन, यो निरन्तर परिवर्तनशील कथन प्रक्रिया हो । फुकोले इतिहासको आनुवंशिकतालाई शक्तिको इतिहाससँग जोडेर हेरेका छन् । शक्ति केन्द्रीकृत नभई समय, परिस्थिति र स्थानअनुसार भिन्न–भिन्न भेषमा प्रस्तुत हुन्छ । शक्ति र विषय सधैँ ठुलासँग मात्र नभई सर्दै र प्रभावित हुँदै जान्छ । दमन सीमासम्म मात्र सम्भव हुन्छ, असह्य भएपछि आक्रोश पैदा हुन्छ र दोस्रो शक्ति अस्तित्वमा आउँछ । फुकोले शक्ति, ज्ञान र नैतिकताबिच सम्बन्ध देखाएका छन् । नैतिकवान् बन्न राजनीतिक, कानुनी, यौनिक, धार्मिक, व्यवहारमा समेत असल आचरण हुनुपर्ने फुकोको धारणा छ । व्यक्तिले आफूलाई सकारात्मक रुपमा रुपान्तरण गर्न सक्नु स्वनैतिकता हो । शासकीयताका सम्बन्धमा माथिबाट तलतिर नभई तलबाट माथितिर जाने नेतृत्व राम्रो हुन्छ भन्ने यिनको मान्यता छ ।
फुको विमर्श, ज्ञान र शक्ति बिचको सम्बन्धमा जोड दिन्छन् । डेरिडा भाषा खेलमा विश्वास गरेर भाषामै रुमल्लिएका छन् तर फुको भाषाबाट विमर्शतिर आएका छन् । फुकोका दृष्टिमा पाठात्मकता मात्रै सबै थोक होइन, विश्व शक्तिको खेलमा अडिएको छ र शक्ति विमर्शरुपी ज्ञानबाट प्राप्त हुन्छ । त्यसैले पाठ केवल टेक्स्ट नभई विमर्श हो । विभिन्न दृष्टिकोणलाई मिलाएर जब समान धारणा बनाइन्छ; यस्ता धारणाहरु व्यक्ति विशेषका नभई समाजका साझा बन्दछन्, यही नै विमर्श हो । विमर्श कथ्य वा लेख्य माध्यमबाट प्रकट हुन्छ । विमर्श भाषा र व्यवहार दुवैको समष्टि हो । इतिहासमा भाषा र व्यवहारलाई छुट्याएर हेर्ने काम भयो, विमर्शले त्यसलाई उल्ट्याउन चाहन्छ । विमर्शले नै ज्ञानको उत्पादन गर्छ । फुकोले विमर्श, प्रतिनिधित्व, ज्ञान र सत्यलाई ऐतिहासिक रुपमा हेर्छन् अर्थात् कुनै घटना, विषय, ज्ञान सबै कालखण्डमा उही रुपमा रहँदैन । एउटा विमर्शात्मक संरचनादेखि अर्को विमर्शात्मक संरचनामा ज्ञान भिन्न हुन्छ; पूर्ववर्ती ज्ञानको निरन्तरता रहँदैन, तोडिन्छ । इतिहास खण्डित, टुक्रे, स्थानिक हुन्छ; त्यसको निर्माण मार्क्सवादले भनेजस्तै उत्पादन सङ्घर्ष वा वर्ग सङ्घर्षबाट हुने होइन, बरू विमर्शात्मक संरचनाबाट हुन्छ भन्ने फुकोको धारणा छ ।
फुकोका विचारमा शक्ति विमर्शरुपी ज्ञानबाट प्राप्त हुन्छ । शक्तिका आधारमा घरपरिवार, समाज र राष्ट्रका शक्ति–सञ्जालहरु निर्माण भएका हुन्छन् । फुकोको शक्तिको प्रयोग अल्थुसरको विचारधारामा आधारित छ । माक्र्सले भनेझैँ शक्ति राज्य, पुलिस–आर्मीमा मात्र केन्द्रित हुँदैन, यो समाजका विभिन्न सङ्घसंस्था, व्यक्ति, ससाना एकाइमा विकेन्द्रित भएको हुन्छ र त्यही अन्तर्सम्बन्धका आधारमा शक्तिको अन्तर्संवाद हुन्छ अनि श्रेणीबद्धता स्थापित हुन्छ । समय र परिवेशअनुसार सम्बन्ध लचिलो र परिवर्तन पनि हुँदै जान्छ (खरेल, २०७०, पृ.६४–६५) ।
फुकोका अनुसार जहाँ शक्तिको अभ्यास हुन्छ, त्यहाँ प्रतिकारको सम्भावना पनि मौलाउँछ । अतः शक्तिको अभ्यास र प्रतिरोध एउटै प्रव्रिmयाका दुई भाग हुन् (उप्रेती, २०६९, पृ.४२–४३) । शक्ति समयसापेक्ष परिवर्तनशील, शक्तिशाली र दमित हुन्छ । भाषिक विमर्श सत्तासँग जोडिएको हुन्छ । फुकोले आनुवंशिकताको विश्लेषणका क्रममा विमर्श र सत्ताको सम्बन्धका बारेमा चर्चा गर्दै कतिपय विचारको समर्थन हुन्छ भने अन्य विचारको उपेक्षा हुन्छ भन्ने सन्दर्भलाई स्पष्ट पारेका छन् । समाजका अभियन्ताहरुका आफ्नै विमर्श छन्; जसद्वारा आआफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् । विमर्श एउटा केन्द्रमा मात्र सीमित नभई बहुकेन्द्रमा विस्तारित हुन्छ । नित्सेको दृष्टिकोणबाट प्रभावित भई फुको भन्छन्– विमर्शरुपी ज्ञानले सत्ताको हतियारका रुपमा काम गर्छ । फुकोको मुख्य उद्देश्य नै मानिसले कसरी अरूलाई र आफूलाई शासन गर्ने सत्यको उत्पादन गर्छ भन्ने कुराको खोजी हो (भट्टराई, २०७०, पृ.३५७) । फुकोको विमर्श र सत्तासम्बन्धी मान्यता सांस्कृतिक अध्ययनका क्षेत्रहरुमा लैङ्गिकताको प्रश्नलाई जोड्ने क्रममा उपयोगी मानिन्छ । दलित, उत्पीडित, महिला, जात–जातिगत अध्ययन लगायतका क्षेत्रको अध्ययनमा फुकोको सिद्धान्त उपयोगी देखिन्छ ।
उत्तरसंरचनावादका प्रमुख मान्यतालाई सारमा पद–पदावलीगत-बुँदागत रूपमा निम्नबमोजिम उल्लेख गर्न सकिन्छः
– केन्द्रविरोधी
– अर्थबहुलता
– विनिर्माण-विखण्डन
– भाषिक खेल
– अन्तर्पाठात्मकता
– विधाभञ्जन
– विधामिश्रण
– अर्थको अनिश्चितता
– द्विचरविभेद
– अर्थभिन्नता
– शब्दकेन्द्रवाद
– ध्वनिकेन्द्रवाद
– लेख्य केन्द्रवाद
– शब्दयुग्म
– प्रतिआख्यानात्मकता
– लेखकीय मृत्यु
– प्रगतिहीनता
– आलङ्कारिकता
– लेखकीय स्वतन्त्रता
– व्यक्तिपरकता
– विचलन
– अराजकता
– सार्वभौमिकताको विरोध
– विज्ञान र वस्तुवादको विपरीत चिन्तन
– गहिराइ र तत्वको विरोध
– सतही चिन्तन
– विधाहीनताको अवस्था
– मूल पाठमा सन्देह
– प्रश्नचिह्न
– अनुपस्थितिको खोजी
– अन्तिम सत्य केही पनि नहुनु
– बहुकेन्द्र
– सबैलाई समान मूल्य प्रदान,
– प्रत्येक विमर्शहरु भाषिक खेल हुनु
– सामाजिक सिद्धान्तको अन्त्य
– प्राचीनतालाई भत्काउनु
– सत्ता र शक्तिको विमर्श
– शक्तिको नयाँ अवधारणा
– नवइतिहास
– पछाडि परेका वर्गलाई प्रश्रय
– पछाडि परेका लिङ्ग, जातिलाई प्रश्रय
– महाआख्यानको अन्त्य
– इतिहासको अन्त्य
– मानवीय संवेदनशीलताको अन्त्य
– भूमण्डलीकरण
– प्राविधिक साइबर संस्कृतिमा जोड, आदि ।
उत्तरवर्ती साहित्य सिर्जनामा उत्तरसंरचनावादको प्रभाव
उत्तरसंरचनावाद संरचनावादको विपक्षमा देखिएको नवीन प्रयोगवादी चिन्तन हो । यसको सम्बन्ध उत्तरआधुनिकतावादसँग पनि छ । दोस्रो विश्वयुद्धपछि भाषा, साहित्य, कला, राजनीति, समाजशास्त्र लगायतका क्षेत्रमा देखिएका भिन्न मूल्य–मान्यता र दृष्टिकोणसँगै उत्तरआधुनिकतावादी दर्शन देखापरेको हो । यही उत्तरआधुनिकतावादी दर्शनको समानान्तर दर्शनका रुपमा भाषा, साहित्य र पाठमा केन्द्रित चिन्तनका रुपमा उत्तरसंरचनावादलाई लिएको पाइन्छ । पश्चिममा मूलतः रोलाँ बार्थ, डेरिडा, लकान, फुको लगायतद्वारा स्थापित र विकसित चिन्तनको प्रभाव विश्वका विभिन्न देशहरुमा परेका सन्दर्भमा नेपाल पनि त्यसबाट भिन्न छैन । नेपालमा पनि सानो समूहमा केही स्रष्टा–द्रष्टा तथा बुद्धिजीवीहरुबाट उत्तरसंरचनावाद र उत्तरआधुनिकतावादसँग सम्बन्धित विमर्शहरु हुन थालेका छन् । यहाँ केही लेखक–बुद्धिजीवीहरु यसका पक्षमा छन् भने केही विपक्षमा छन् । विशेष गरी माक्र्सवादी बुद्धिजीवी तथा लेखकहरुले यसका विरुद्धमा कलम चलाएका छन् । डा. दुर्गा भण्डारी यसको विरोध गर्छन् र तारानाथ शर्मा पनि यसलाई रूचाउँदैनन् । डा. अभि सुवेदी र डा. सञ्जीव उप्रेती यसप्रति आलोचनात्मक दृष्टि राख्छन् भने लीलालेखनमा रमाउने इन्द्रबहादुर राईहरुमा यसको प्रभाव बढी छ । चैतन्य, निनु चापागाईं, डा. ऋषिराज बराल, डा. रमेशप्रसाद भट्टराई, डा. अमर गिरी, डा. नेत्र एटमहरुले यसका विपक्षमा कलम चलाएका छन् । डा. ताराकान्त पाण्डेयले यसलाई भ्रान्त चेतनाको संज्ञा दिएका छन् भने घनश्याम ढकाल, युग पाठक लगायतका स्रष्टा–द्रष्टाहरुले पनि यसका विपक्षमा सिर्जनात्मक तथा समालोचनात्मक अभिव्यक्ति दिएको पाइन्छ ।
डा. वासुदेव त्रिपाठीले उत्तरसंरचना÷उत्तरआधुनिकतालाई पुँजीवादी युगको साहित्यिक चिन्तनका रुपमा लिएका छन् भने डा. लक्ष्मणप्रसाद गौतम यसलाई स्वाभाविक आन्दोलन मान्दछन् । कृष्ण गौतम, डा. गोविन्दराज भट्टराई, डा. ध्रुवचन्द्र गौतम, कृष्ण धरावासी, कृष्ण बराल लगायतका केही स्रष्टा–द्रष्टाहरु यसैको समर्थनमा कलम चलाइरहेका छन् (भट्टराई, २०६७, पृ.११७–११८) । कृष्ण धरावासीको ‘शरणार्थी’ उपन्यासमा कथा, उपन्यास, राजनीति, इतिहास, पत्रकारिता जस्ता विषयको मिश्रण पाइन्छ । यसमा साहित्य र साहित्येतर दुवै विषयको मिश्रण छ । यो उत्तरआधुनिकताको विधामिश्रण अन्तर्गतको एउटा उदाहरण हो । इन्द्रबहादुर राईका साहित्य र समालोचना, मोहन कोइरालाका कविता, मोहनराज शर्माका उपन्यास र समालोचना, कृष्ण गौतम, डा. लक्ष्मणप्रसाद गौतम लगायतका समालोचना, ध्रुवचन्द्र गौतमका उपन्यासलगायत कृतिहरुमा उत्तरसंरचनावादी चिन्तन पाइन्छ । उत्तरआधुनिकतावादी मान्यताका नारीवाद तथा विभिन्न वर्ग, क्षेत्र, सम्प्रदायका व्यक्तिहरु आफूलाई पछि पारिएको भन्ने बोधका साथ गरिएको विद्रोहमा समेत सहभागी भई यसले फरक र विस्तार ढङ्गले देखाउँदै आएको (भट्टराई, २०६१, पृ.११३) भन्ने डा. गोविन्दराज भट्टराई यस सिद्धान्तका समर्थक हुन् । यिनीहरु आफ्ना सिर्जनामा डेरिडाको अर्थको अनिश्चिततालाई स्वीकार गर्दै विधाभञ्जन र विधामिश्रण गरेर लेखिरहेका छन् ।
उपसंहार
नित्सेको निराशावाद, ईश्वर मृत्युको घोषणा र शक्तिको चाहनाका कारण महामानवको घोषणा नै उत्तरसंरचनावादी चिन्तनको मुख्य स्रोत हो । यो संरचनावादका विरुद्धमा आएको आएको साहित्य सिद्धान्त हो । सन् १९६० को दशकदेखि प्रचलनमा आएको उत्तरसंरचनावादको विकासमा रोलाँ बार्थ, डेरिडा, फुको, लकान, ल्योतार, क्रिस्टिभा लगायतका चिन्तकहरुको भूमिका विशेष महत्वको रहेको छ । अर्थको अनिश्चितता, विनिर्मिति, सार्वभौमिकताको विरोध, केन्द्रविरोधी धारणा, बहुकेन्द्रमा जोड, महाआख्यानको अन्त्य, विचारधाराको अन्त्य, प्रगतिहीनता, व्यक्तिपरकता, अराजकता, अन्तर्पाठात्मकता, सतही लेखन-चिन्तन, विधा भञ्जन–विधा मिश्रण, साइबर संस्कृतिलाई महत्व, प्रत्येक विमर्शलाई भाषिक खेलका रुपमा हेर्नु आदि उत्तरसंरचनावादका मूल प्रवृत्ति तथा मान्यताहरु हुन् । जातीय, लिङ्गीय तथा सीमान्तकृत वर्गका पक्षमा केही मात्रामा आवाज उठाए पनि सारमा यस सिद्धान्तले मानवीय संवेदनामाथि नै प्रहार गरेको छ । यो जीवनविरोधी चिन्तनका रुपमा फैलिरहेको छ । मुख्य गरी मार्क्सवादका विरूद्धमा यो सिद्धान्त जोडतोडका साथ अगाडि बढेको छ । साइबर संस्कृतिलाई प्रश्रय दिँदै यसले सामाजिक र सामूहिक अस्तित्वलाई नै ध्वस्त पार्न चाहेको देखिन्छ । उत्तरसंरचना-उत्तरआधुनिकताको नेपालमा पनि केही प्रभाव पाइन्छ । नेपाली भाषा–साहित्य तथा संस्कृतिका क्षेत्रमा यहाँका केही लेखक, बुद्धिजीवीहरु जस्तैः इन्द्रबहादुर राई, डा. गोविन्दराज भट्टराई, कृष्ण गौतम, कृष्ण धरावासी लगायतले यसको समर्थनमा कलम चलाएको पाइन्छ भने चैतन्य÷किरण, निनु चापागाईं, डा. ऋषिराज बराल, डा. ताराकान्त पाण्डेय, डा. रमेशप्रसाद भट्टराई लगायतका सौन्दर्य चिन्तक तथा समीक्षकहरुबाट भने यसका विरूद्धमा कलम चलाएको पाइन्छ । अन्त्यमा, उत्तरसंरचनावाद÷ उत्तरआधुनिकतावाद क्रान्ति, मुक्ति र परिवर्तनको विरोधी चिन्तन हो । नित्सेको निराशावादी चिन्तनलाई बोकेर हिँडेको यस सिद्धान्तले सामूहिकताको रक्षा र मानवीय अस्मिता-अस्तित्वको सम्मान गर्न सक्दैन ।
सन्दर्भ सामग्रीसूची
उप्रेती, सञ्जीव (२०६९). सिद्धान्तका कुरा. दोस्रो संस्करण. काठमाडौँः अक्षर क्रिएसन्स ।
खरेल, एमपी (२०७०). संरचनावाद, उत्तरसंरचनावाद र सांस्कृतिक अध्ययन. भृकुटी (भाग– १९). सम्पादकः लिखत पाण्डे र अन्य. पृ.५९–७४ ।
गिरी, अमर (२०७०). सांस्कृतिक अध्ययनका सैद्धान्तिक आधार र अवधारणा. भृकुटी (भाग– १९). सम्पादकः लिखत पाण्डे र अन्य. पृ. ११–४६ ।
गौतम, कृष्ण (२०६४). उत्तरआधुनिक जिज्ञासा. काठमाडौँः भृकुटी एकेडेमिक पब्लिकेशन्स् ।
गौतम, कृष्ण (२०७१). उत्तरसिद्धान्तः अद्यतन चिन्तनका महान् पाश्चात्य प्रणेता. काठमाडौँः भृकुटी एकेडेमिक पब्लिकेशन्स् ।
पाण्डेय, ताराकान्त (२०७३). मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र. ललितपुरः साझा प्रकाशन ।
पौड्याल, एकनारायण (२०७०). समालोचनाको स्वरुप र पद्धति. चितवनः विमर्श नेपाल ।
बराल, ऋषिराज. (२०६७). मार्क्सवाद र उत्तरआधुनिकतावाद. दोस्रो संस्करण. काठमाडौँः साझा प्रकाशन ।
भट्टराई, गोविन्दराज. (२०६१). पश्चिमी बलेँसीका बाछिटा. काठमाडौँः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
भट्टराई, रमेशप्रसाद (२०६७). उत्तरआधुनिकतावाद र नेपाली परिवेश. मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्य. सम्पादकः घनश्याम ढकाल र अन्य. काठमाडौँः अखिल नेपाल लेखक सङ्घ. पृ.१०१–१२८ ।
भट्टराई, रमेशप्रसाद (२०७०). उत्तरआधुनिकतावाद र सांस्कृतिक सिद्धान्त. काठमाडौँः भृकुटी एकेडेमिक पब्लिकेशन्स् ।
भट्टराई, रमेशप्रसाद (२०७०). सांस्कृतिक अध्ययनका मूलभूत सिद्धान्तहरु. भृकुटी (भाग– १९). सम्पादकः लिखत पाण्डे र अन्य. पृ.३३४–३६४ ।
भट्टराई, रमेशप्रसाद (२०७७). सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ. काठमाडौँः भुँडीपुराण प्रकाशन ।
ज्याग्दीखोला, स्याङ्जा
हालः पोखरा– १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।