18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘सिरेटोले छुदै छुन्न’ मार्फत मुरलीधरसँगको सामीप्यता

संस्मरण/स्‍मृति डा. दामोदर रेग्मी April 17, 2024, 3:03 pm
डा. दामोदर रेग्मी
डा. दामोदर रेग्मी

मुरलीधर नेपाली कलाक्षेत्रमा चिनाइरहनुपर्ने नाम भने होइन । व्यक्ति एक तर प्रतिभामा विविधताका धनी । गायक, सङ्गीतकार, लेखक, निर्देशकको अलावा उनी कलाका थुप्रै विधामा पोख्त छन् । मैले मुरलीधरलाई आफू एउटा दर्शक र श्रोताको रुपमा मात्र चिनेको थिएं । नेपाली चलचित्र सम्झनामा नकारात्मक भूमिकामा उनी थिए तर अभिनय सम्झन लायकको थियो । यसको अतिरिक्त अन्य नेपाली तथा हिन्दी सिनेमामा उनलाई देख्न पाइन्थ्यो ।यसै गरि ‘उडायो सपना सबै हुरीले...’ उनको काजजयी गीत थियो ।यो गीतवाट उनलाई नचिन्ने कुरै भएन । यी चिनाइहरु या त सिनेमा हलको पर्दामा मैले एकतर्फी रुपमा देख्ने वा रेडियोको आवाज एकतर्फी रुपमा सुन्नेमा मात्र सीमित थियो ।

गीत नलेखेपनि मलाई अरुका गीत सुन्न भने खुवै इच्छा थियो ।धेरै गीतहरु मध्ये मुरलीधरको गीत पनि साह्रै मन पर्ने गर्दथ्यो जुन अहिले सम्म पनि कायमै छ । त्यति वेला आफूले चाहेको गीत सुन्न रेडियो नेपालमा गीत फरमाइस गर्ने गर्नु पर्दथ्यो यसै कारणले बेलाबखत रेडियो नेपालमा गीत फरमाइस गर्ने पनि गरिन्थ्यो ।मुरलीधरको यो गीत पनि मैले पटक पटक फरमाइस गरेको थिएं ।यो समय मेरो स्कुले जीवनको थियो ।

स्कुले जीवनमा म पनि एकाध कविता र निबन्ध लेख्ने गर्दथें । स्कूलमा पढ्दा शुक्रवार नियमित रुपमा हुने कविता वादविवाद निबन्ध लगायतका अतिरिक्त क्रियाकलापहरुमा भाग लिने जांगरले मलाई लेखन कार्य तर्फ प्रेरित गराएको थियो । यसै जांगरलाई थप सार्वजनिक गर्ने क्रममा रेडियो नेपालको बाल कार्यक्रममा कविता र निबन्धहरु पनि प्रशारित भए । विद्यालयका ती दिनहरुमा भविष्यमा कुनै साहित्यकार गीतकार कवि वा लेखक बनुंला भन्ने कुनै पूर्व निर्धारित उद्देश्य अनुसार लेख्ने कार्य गरिएको पनि थिएन ।तथापि लेख्ने काम भैरहेकै थियो । विद्यालयको पढाइ सकेपछि कलेज जीवन शुरु संगै कविता लेख्न चटक्कै छोडियो । तर लेख लेख्ने र प्रकाशन गराउने काम भने धीमा गतिमा बढ्दै गयो ।पछिल्लो समयमा यो लेखाइले तीव्र गति समाउन पुग्यो ।

पछि कुनै घटना विशेषले गीत लेख्न थालियो । अलि पछि केही गीतहरु समेटेर सिरेटोले छुदै छुन्न नामक गीति संग्रह पनि तयार हुन पुग्यो ।"एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ अबोध निश्चल त्यो नयनमा समाइदेउ, फूलैफूलको बाटिकामा प्रेमवर्षा गराइदेउ" वोलको गीत सुप्रसिध्द गायक ले आनन्द कार्कीको स्वर र वरिष्ठ संगीतकार किरण कडेलको सुमधुर संगीतमा रेकर्डिंग भयो । यसको अलि पछि "अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला" बोलरहेको गीत प्रताप दास र अनु चौधरीको स्वर र डि वि लामाको संगीतमा रेकर्डिंग भयो ।

यी दुई गीत र यसका म्यूजिक भिडियोले अव मेरो पहिचान गीतकारको रुपमा समेत हुन थालेको थियो । म संग सिरेटोले छुदै छुन्न नामक गीति संग्रह पनि साथमा थियो तर उक्त गीति संग्रहका अन्य गीतहरु कसको स्वर र संगीतमा अघि लैजाने भन्ने म संग स्पष्ट कार्ययोजना भने थिएन ।

एकदिन हिजो मैले एकतर्फी रुपमा चिनेको र रुचाएको कलाकार मुरलीधर, जो गायन, संगीत र अभिनय क्षेत्रमा नाम कमाउनु भएको थियो, संग भेट हुने अवसर प्राप्त भयो । सिनेमा र टि भि को पर्दा र आवाज संग मात्र परिचित मेरो मुरलीधर संग प्रत्यक्ष भेट हुने भयो त्यो पनि मेरो गीतमा उहांले संगीत भर्ने र स्वर पनि दिने प्रयोजनका लागि । जहिले पनि नेपाल आउदा केही नेपाली गीतहरु गाएरै जाने मुरलीधरको वानी रहेछ । यसपटक उहांले गाउने गीतका लागि सम्भाव्य गीतकारमा मेरो नाम समेत रहेछ । उहांले शव्दमा समेत गीत गाउने चाहना गर्नु भएको जानकारी प्राप्त भयो ।मेरा एकाध गीतका शव्दहरु उहांले म संग भेट हुनुपूर्व हेरि सक्नु भएको रहेछ ।गीतमा प्रयोग भएका नेपाली जनजीवन संग प्रत्यक्ष सम्बन्धित शव्दहरु उहांलाई मन परेका रहेछन् । तैपनि मैले पूरै गीतिसंग्रह उहालाई थमाएं । गीतिसंग्रहको पाना पल्टाउदै उहां त त्यहि नै मेरा गीत हेर्दै गुन्गुनाउन पो थाल्नु भयो । विभिन्न शीर्षकका गीत हेर्दै यो गीत यो रुपमा आउनु पर्दछ यो गीत यो रुपमा आउनु पर्दछ भन्दै जानु भयो।मानौ म एउटा चिकित्सकको अगाडी छु जसले मेरो गीतको होलवडी चेक अप गरिरहेको छ । मलाइ पनि उहांसंगको यो वातावरण रमाइलो नै लाग्यो । हामी चाडै नै घुलमिल भयौं र अन्तरंग कुराकानी गर्न सफल भयौं । तैपनि पहिलो वसाइमै कुन गीत गाउने भन्ने निधो गर्न हामी दुवैलाई सजिलो थिएन ।मेरा गीतहरु मैले उहांलाई थमाइदिएं । केही दिन भित्र मुरलीधरले दुइ तीन वटा गीतको डमि तयार गर्नु भयो ।डमीहरुसवै राम्रा थिए किनकी त्यसमा मुरलीधरको स्वर थियो। भिन्न धार र भिन्न भावका हरेक शव्दलाई कसरी स्वरमा रुपान्तरण गर्ने र त्यसलाई संगीतले कसरी सुसज्जित गर्ने बेजोड कला उहांसंग रहेछ । पर्दा र आवाजमा मात्र मैले चिनेको र मैले अनुमान गरेको मुरलीधरलाई यो प्रत्यक्ष भेटमा धेरै माथिको कोटीमा उहांलाई पाएं । डमीहरुसवै राम्रा थिए तर राम्रो हुदैमा सवै गीतहरु एकै पटक ल्याउन संभव थिएन । ती डमीहरुमध्ये मेरो विशेष अनुरोधमा सिरेटोले छुदै छुन्न वोलको गीत गाउने कुरा तय भयो । मेरो गीति संग्रहको नाम पनि यसै गीतवाट रहेकोले यो गीत मुरलीधर जस्तो लोकप्रिय संगीतकार र गायकले गाइदिनु पर्छ भन्ने मेरो भनाइमा उहां सहमत हुनुभयो । एउटा क्षमतालेयुक्त कलाकार मात्र होइन असल मित्रको परिचय छोड्न समेत उहांले विर्सनु भएन । मुरलीधरले एउटा राम्रो संगीत र स्वर तयार गरिदिनु भयो ।म्यूजिक नेपालमा गीत रेकर्डिंग भयो । उहां स्टुडियोमा गाइरहनु भएको थियो हामी वाहिरवाट सुनिरहेका थियौ । गीत साह्रै नै कर्णप्रिय र सुनिरहुं लाग्ने बनिरहेको थियो ।रेकर्डिंग र मिक्सिंगका प्रक्रियाहरु पूरा गरे पश्चात गीत सार्वजनिक भएपछि सकारात्मक प्रतिक्रियाहरु आउन थाले । गीतका सवै शव्द र हरफहरुले प्रशंसा पाए यस मध्ये "साहस त जुटाउंला खेर जान दिने छैन, तिम्रो जीवनको यात्रा नटुटोस कुनै दिन" भन्ने हरफमा धेरै जनाबाट प्रशंसा आयो र गीतमा रहेको "सिरेटोले छुदै छुन्न" शव्दको आलापले धेरै प्रशंसा पायो ।गीत समग्रतामा विरह भावमा रहेको भएतापनि गीतको यो हरफले आशावादिताको सन्देश प्रवाह गरिरहेको थियो शायद यसैले पनि धेरैले रुचाउनु भयो ।केही एफ एमहरुले महिनाको कलाकार अन्तरगत मुरलीधरका गीतहरु वजाउने क्रममा "सिरेटोले छुदै छुन्न" शव्दको गीतले पटक पटक बज्ने मौका पायो ।अन्य कार्यक्रमहरुमा पनि यो गीतले बज्ने राम्रै अवसरहरु पाइरहेको छ ।

नेपाली कलाक्षेत्रका बेजोड बादशाह मुरलीधर संग सिरेटोले छुदै छुन्न मार्फत मुरलीधर संगको सामीप्यता मेरो जीवनको अर्को एउटा अप्रत्यासित सकारात्मक मोड त हो नै यसको अतिरिक्त गीत संगीतका क्षेत्रमा उहांसंगको सहकार्यले गीत मार्फत आशावादिता र सकारात्मकताको सन्देश प्रवाह एउटा भिन्न धार कायम गर्न समेत सफलता मिलेको छ । भविष्यमा कुनै साहित्यकार गीतकार कवि वा लेखक बनुलां भन्ने कुनै पूर्व निर्धारित उद्देश्य अनुसार लेख्ने कार्य नगरिएको भए पनि अहिले कुनै न कुनै रुपमा सो भूमिकामा रहन पाउंदा र नेपाली कलाक्षेत्रका सफल तथा चर्चित कलाकर्मी संगको यो सहकार्य पक्कै पनि एउटा कोशेढुंगा बन्ने नै छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।