17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ढकढक

लघुकथा ईगम खालिङ April 11, 2024, 4:50 pm
ईगम खालिङ
ईगम खालिङ

ढोका भित्रैबाट बन्द छ । यो त्यही घरको त्यही बन्द ढोका हो । यो तड्पाइ यतिमा नै अन्त गरिदिन्छु भन्ठानेर ऊ ढोकाअघि उभिन्छ । तर ढोकामा एउटा ठूलो ताला लागेको छ । त्यो ढोका ढकढक्याउने इच्छा धेरै पुरानो हो । बल्ल उसले यतिखेर आँट गर्छ ।

उसले ढोका ढकढक्याउनलाई हात बढाउँछ । तर ढोका त पहिल्यै खुल्लै रहेछ । त्यसरी ढोका ढकढक्याउन नपाउँदा ऊ आफ्नो कोठामा आएर छट्पटिरहन्छ । उसलाई त्यही बन्द ढोका ढकढक्याउनु छ । एकछिनपछि यसरी तड्पिरहनु हुँदैन भन्ने विचारले उसको हृदय परिवर्तन गर्छ । धेरै समयपछि मात्र उसलाई अन्तर्बोध हुन्छ कि उसले ढकढक्याउनुपर्ने त्यो बन्द ढोका आफ्नै ढोका रहेछ ।

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।