तिम्रो मौनताभित्र
कहिँ कतै
भित्रभित्रै म
सवाल जवाफ गरिरहेकीछु
तिमीसङ्गको यो आत्मिक सम्वार्ता
कहिले नसकियोस्
कहिले नरित्तियोस्
हाम्रा सपना
अनि मायाका कुराहरू
हाम्रा विश्वास अनि उन्मादका कुराहरू
पुगिने गन्तव्य भलै अन्जान होस्
जिन्दगीका प्राप्तिहरु भलै केही नहुन्
मलाई हिंड्नु छ तिमीसङ्ग
एउटा लामो यात्रा
अन्तिमसम्म
हात समातेर !
यात्राभरी भरी
तिम्रा हेराइहरुले अनि
आँखाले बोलेका ती शब्दहरुले
चुमिरहेका छन् मलाई
अव्यक्त तिम्रा भावहरूलाई
मैले पढिरहेकीछु
एउटा पहाड नाघेपछि
जब अर्को पहाड देखिन्छ
समाधी बसेको लाटाे पहाड
र तिमी उस्तै उस्तै लाग्छ मलाई
ओ मेरो प्रीय पुरुष !
हाम्रो यात्रा यसैगरी
नीलगिरीको ओछ्यानसम्म
अन्नपूर्णको फेदीसम्म
माछापुच्छ्रेको आँगनसम्म
हाम्रो सपनाको हिमाल
उत्फुल्ल बाँचिरहेको होस्
जहाँ हुनेछौं हामी एकसाथ
फूल छ
जुन छ
आकाश छ
माद छ
उन्माद छ
त्यसैले त मलाई
तिमी केवल मेरो मात्रै हौ भन्ने
सम्पुर्णताको आभास हुन्छ
तिम्रा शब्द-शब्दले तान्छ
अनि
मलाई यो पनि थाहा छ की
तिमी मेरो आधा मुटु हौ
तिमी आधा र म आधा मिलेर बनेको
यो पूर्ण जिन्दगी नै
हाम्रो प्रेमको यात्रा हो
हामी हिमाली साम्राज्यको
देवचुलीमा पुगेर
यो यात्रालाई बिट मारौंला
र अनन्तताको हिम आँगनीमा
बिसर्जन गरुँला
सपनाका ती अनेक
उन्माद, तिर्खा र
मुटुका सम्वेग आँधीहरुलाई
तिमी चुपचाप मेरो काखमा
स्खलित होऊ
धरा हूँ म
थाम्न सक्छु तिम्रा
प्रेमका ललित लाभाहरुलाई
अनि एउटा सफलिभूत
प्रेम यात्राको समापन गरौंला ।
अमेरिका