समय चक्रका डोबसंगै पोखिन्छन
कहिले शब्द बनेर,
कहिले वाक्य बनेर,
कहिले संग्रह बनेर,
मसिका रंगमा सजिएर भोगाइका
घाउहरु श्वेत पन्नामा सुन्दर अक्षर बनेर ।।
स्मृतिको पन्नामा पोखिन्छन अक्षरहरु,
तमाम नाट्य श्रृङ्खला बनेर,
रंग हिन आँशुका थोपा बनेर,
आवाज बिहिनका शब्द बनेर,
सत्यलाई छोपिएको अँध्यारोको
चम्किलो ज्योति बनेर ।।
निल गगनमा चम्किन्छन अक्षरहरु
जुनेली किरण बनेर,
दुसित तलाउमा समेत फकृन्छन
सुन्दर कमल बनेर,
काँडाहरु बिच पनि फुलिदिन्छन,
सुन्दर आकर्षक फुल बनेर ।।
उषाको पहिलो लालिमा पोखिन्छन,
सुनौलो पर्या बनेर,
प्रकृतिको पनि माध्यम
बन्छन अक्षरहरु
कहिले कहिँ शितको थोपा बनेर ।।
तिता मिठा जिवनका अनुभवका
पोकाहरु जब मन भरी हुन्छन,
अनि चारै तिर छरीन पुग्छन
अक्षरहरु,
मीठो संगितका धुन बनेर,
सुमधुर गीत बनेर ।।
जब संगालिन्छन अक्षरहरु,
बिछोड, चोट र पिडाहरुबाट,
तब फैलिन थाल्छन ,
संसारभरी सद्मार्गिका अदम्य साहसिक पाइला एवम
दिव्य ज्ञान बनेर ।।
जब असफलता भोग्छन अक्षरहरुले,
तब चम्किन्छन मार्गनिर्देशक बनेर!!
जब लम्किन्छन सफलता तर्फ
तब शान्तिको धुन बजाउँछन
दिव्य दिप बनेर ।।