“कसैको बाउको करेसाबारी फाडेको थिइनँ; किन यस्तो वेदनाको पगरी भिराइस् ?” उषाको लाली छरिन अत्तोपत्तो नै नभएको क्षणमा मन्दिरबाट मान्छेको यस्तो आवाज आयो । र; थपिँदै गयो–
– आज म एकएक हिसाब चुक्ता गरेर छाड्छु ।
– तँ बैरी हुन्छस् भने म तेरा विरूद्ध खनिँदा पाप लाग्दैन ।
– मैले जीवनभर तेरो गुलामी गरेँ, अहिले ७९ नाघेपछि आँसु पिएर जिउन वाध्य पारिस् ?
– तँ धोकेवाज होस्, तँ कृतघ्न होस्, तँ विश्वासघाती र अधर्मी होस् ।
यसरी नानाथरी फलाकेको आवाज आइरह्यो । मान्छे गाली गरेर थाक्यो । हर आशाको दैलो बन्द भएपछि मुड्कीले मूर्तिको नाकमुखमा हान्न थाल्यो ।
“हान, जतिसक्दो हान । तिम्रै घैलामैला बटुल्न कुरेर बसेको छु ।” भगवान् बोले । र; थपेँ–
– मलाई यस कुनामा थुपारेर उल्टै अन्याय गर्यौ ।
– मेरो अमनचयन खोसेर मलाई गुफाबासी तुल्यायौ ।
– मेरा मुद्दाका सारा फाइल बन्द गरी शिरमा बसायौ र बेलाबेलामा तलबाट सुइराले घोच्न थाल्यौ ।
मान्छेको होस् फर्कियो । हात जोड्दै बिन्ती बिसायो– “मैले भुलले तपाईँ माथि हात छाडेँ । म सारा बोली फिर्ता लिन्छु । बदलामा मलाई क्यान्सरले गुम्न लागेको जीवन फर्काइदिनुस् ।”
भगवान् बोले, “यस अमृतबेलामा चिच्याउने बानी त्याग । आफूभित्रको घण्टी बजाउने नयाँ बानी रोज ।”