हिजोआज विभिन्न विषयमा डिप्लोमा ट्रेनिङको चलन चलेको छ। कम्प्यूटरदेखि पार्लर, ब्यूटिशियन, सफ्ट वेयर, हार्डवेयर डिप्लोमा, कुकिङ डिप्लोमा आदि आदि। ती डिप्लोमाको आरिस गरेर मैले पनि भर्खरै चियाउने ट्रेनिङ डिप्लोमा शुरु गरेको छु। चियाउनुको अर्थ कुनै पनि गोप्य कुरा वा आफूलाई गुप्ति चालले वा छलेर विशेष दृष्टि लगाउनु चियो गर्नु वा चेक गर्नु हो। हुन त यो चियाउने बानी हामीलाई सानैदेखि लागेको हो। यहाँ नचियाउने को होला र! चियाउनु मज्जा आउँछ। परीक्षाको समयमा आफ्नो पछिल्तिर बस्ने साथीले अघिल्लो सिटमा बसेका साथीको खाता चियाएर सार्ने, गाउँमा देखिने प्रेमि-प्रेमिका लुकेर बात मारेको दृश्य साथीहरू मिली चियाएर लुकेर हेर्नुको मज्जा नै अर्कै हुन्छ। कतै केही पो देखिहाल्छ कि भन्ने मूर्ख जिज्ञासा।
हिजोआज फेस बुक प्रोफाइल चियाएर हेर्ने देशानले धेरैलाई भेटेको देखिन्छ। पूर्व प्रेमिकाले पूर्व प्रेमिकाको प्रोफाइल चियाउने कुरा नयाँ होइन। प्रोफाइल अनलक्ड छ भने चियाउनुको अर्थ सार्थक हुन्छ...तर प्रोफाइल लक्ड छ भने फिटिफिटि पर्दा हुन् पूर्व प्रेमिका वा पूर्व प्रेमि। फेरि कतिले थात्रे, घटिया साथीहरूलाई अनफ्रेण्ड गरेको पनि देखिन्छ। अऩफ्रेण्ड हुनेले (प्रोफाइल लक्ड छैन भने) अर्का अनफ्रेण्ड साथीको प्रोफाइल सजिलैसित हेर्न सक्दोरहेछ। अनफ्रेण्डलाई पनि प्रोफाइल चियाउने बानी लागेको हुन्छ। तिनको उन्नति र प्रगति देखे किन चाउरिस मरिच आफ्नै रागले भनेजस्तो रिस, आह्रिस र टर्चरको शिकारले चाउरिनु स्वाभाविकै हो।
यसरी प्रोफाइल चियाउनेहरूलाई अझ एक्सपर्ट चियाउने बनाउनको निम्ति मैले उनीहरूको वितृष्णा, दुःख, पीरलाई सान्तवना दिनको निम्ति चियाउने ट्रेनिङ डिप्लोमा आरम्भ गरेकी छु। यसमा अरुको प्रोफाइल चियाउने कला सिकाइन्छ । मात्रै तीन महिनाको कोर्श हो यो डिप्लोमा।
यसरी अर्काको प्रोफाइल चियाउने बानी अवश्यै राम्रो होइन। सिग्रेट, खैनी, गुटखामा स्टेटुरी वार्निङ दिएको हुन्छ...इज इन्जुरियर्स फर हेल्थ। मेरो यस चियाउने ट्रेनिङमा भर्ना भएपछि हामी पनि कसैको केही पनि चियाउनु उचित होइन भनी पहिल्यै जानकारी गराउँछौं। नत्र यो चियाउने बानीको किटाणु एकपल्ट गिदीमा पसेपछि तिनले के के चियाउँछन् चियाउँछन्। भन्नु उसो होइन हामीलाई चियाउने बानीले ग्रसित पारेको छ। राजनीति पनि चियाएर चियाएर लाटाको धोतीजस्तो भइसकेको छ। कसले झण्डा समात्यो, कसले झण्डा साट्यो, को कोसित सल्कियो त्यो चियाएर चियाएर झण्डालाई चूल्हा पुछ्ने थाङ्ना जस्तो बनाइसकेको छ।
विशेष, मेरो यस चियाउने ट्रेनिङ डिप्लोमा मेरी मुटुकै टुक्रे साथी छलिमायालाई सर्वप्रथम सामेल गरेर निःशुल्क डिप्लोमा प्रदान गर्ने निर्णय लिएकी छु। छलिमाया कसैको कुरा चियाउनु वा चेक गर्नु मात्र होइन कसैको उन्नति हेर्न नसक्ने अचम्भकी प्राणी हुन्। उनको ब्लड ग्रुप के हो थाहा भएन मलाई तर उनको रगत रगतमा चियाउने वा अरुको चेक गर्ने भाइरस पसेको छ भन्ने मलाई पक्कै याद छ। कसैको राम्रो सहँदैन मेरी छलिमाया सखी। आफू भने बिजुलीको खम्बा जस्तै उभिएकी छिन् अरु एक कदम अगाड़ि बढ़ेको देख्यो वा सुन्यो कि उनको आह्रिसको प्रेशर बढ़ेर के के हुन्छ हुन्छ। म मेरी प्यारी सखीलाई भन्छु, आँ...होस् न है...अरुले के गऱ्यो वा गरेन तलाईँ के को मतलब। सक्छेस् भने तँ पनि गरेर देखा न। उनको एउटै उत्तर हुन्छ, होइन हौ त्यस्तो।
म मनमनै भन्छु, अन्त कस्तो त?
एउटै कुरा दसपल्ट दोहोऱ्याउने उनको खराब बानी छ। आफूलाई मनपरेकोलाई आँखाकै नानीमा राख्ने अनि आफूभन्दा धेर उन्नति गरेकोलाई आफ्नै प्रोफाइलमा किसिम लेखी आफ्नो प्रेसर डाउन गराएर आफै भयङ्कर भई आफूले लेखेको स्ट्याटस् दिनमा तीसपल्ट भन्दा धेर पढ़ेर आफै श्यावासी लुट्छन्। उनको स्ट्याटस् फेरि अरुले पढ़िदेवोस् न है। दुइ वा तीन जनाभन्दा धेरले लाइक गरोस् न फेरि। टाढ़ा किन जानु? मेरै स्ट्याटस् सय जनाभन्दा धेर साथीहरूले लाइक वा कमेण्टस् गरेका देखेर ऊ भन्छे, खै हामीलाई त कल्ले लाइक कमेण्टस गरिदिन्छन् र। लाइक कमेण्टस् पाउनुलाई ता ब्यूटी हुनुपर्दोरहेछ, सबैसित छिल्लिने हुनुपर्दोरहेछ।
मेरी आँतका साथी छलिमायाको कुरा सुनेर मलाई रिस उठ्दैन हाँस उठ्छ। उनको सेटायरमा मेरो कुनै कुरासित पनि सन्तुष्ट छैनन् भन्ने बुझ्न मलाई गाह्रो पर्दैन। आफूले केही गर्न सकेकै छैन मेरी छलिमाया सखीले र नै अरुको कुरो चियाएर चियाएर आफैलाई चियाउन भुलिसकेकी छिन्।
यसैकारण छलिमायाकै निम्ति यो चियाउने ट्रेनिङ डिप्लोमा खोलेकी मैले। तपाईको तिर पनि मेरी छलिमाया टाइपका चियाउने सक्ने छलिमायाहरू छन् मेरो चियाउने डिप्लोमा ट्रेनिङ सेण्टरमा पठाइदिनुहोला भनी नम्र निवेदन गर्छु। चियाउने उम्मेद्वारको निम्ति तपाईलाई मोटो कमिशनको पनि व्यवस्था छ।
सिट लिमिटेड छ। फर्स्ट कम फर्स्ट सर्भ।
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)