17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘भारतीय नेपाली गीत सञ्चयन’ बारे

कृति/समीक्षा नवीन पौड्याल March 12, 2024, 1:09 am
नवीन पौड्याल
नवीन पौड्याल

नेपाली साहित्यमा कमल रेग्मी एक प्रखर गीतकारका रूपमा चर्चित छन्। हालसम्म उनका पाँचवटा गीतसङ्ग्रह- ‘काँडाफूल’ (२००७), ‘हिउँको आगो’ (२०१२), ‘घामपानी’ (२०१८), ‘कन्फ्लुन्स’ (उनका गीतको श्रद्धामणि प्रधानद्वारा अङ्ग्रेजी अनुवाद, २०१८) र ‘बालुवामा’ (२०२३) प्रकाशित भइसकेका छन्। उनी गीतमा समर्पित सर्जक व्यक्तित्व बनेका छन्। उनले आफ्नो गीत सिर्जनाबाहेक अरूका गीतको समीक्षा र सङ्कलन जस्तो कार्य पनि गर्दछन्। २०२३ मा उनको भारतीय नेपाली गीत सञ्चयन नामक गीत सङ्कलन प्रकाशित भएर बाहिर आयो। यद्यपि कमल रेग्मीसित मेरो भेटघाटमा यस पंक्तिका लेखकलाई ‘मैले साहित्य एकाडमीबाट भारतीय नेपाली गीत सञ्चयनको अनुबन्द पाएको छु, त्यसबारे सहयोग गरिदिनु होला’। बढीमा बीस पृष्ठको भूमिका र किताबचाहिँ जम्मा तीन सय पेजभन्दा बेसी हुनुहुँदैन अरे’ भनेका थिए। आफुले पनि केही चिने-जानेका र सूचना पाएअनुसार सूचना र पुस्तकादि दिएको थिएँ। पछि भेट्दा मैले साहित्य एकाडमीलाई पठाइसकेँ, अब छापिएर आउँछ पनि भन्दै थिए। साहित्य एककाजडमी जस्तो गरिमामय शीर्ष साहित्यिक संस्थानबाट प्रकाशित भएर आउनु चानचुने कुरा होइन। कुरा यतिकैमा सकिएको थियो र धेरै वर्ष चालचुल थिएन, आफुले पनि त्यो प्रसङ्ग बिर्सिसकेको थिएँ।
एक्कासी २०२३ मा मात्र भारतीय नेपाली गीतकार सङ्घको पहिलो प्रकाशनको रूपमा ‘भारतीय नेपाली गीत सञ्चयन (भाग - १)’ भन्ने पुस्तक देख्दा छक्क पनि लाग्यो हर्ष पनि लाग्यो। साहित्य एकाडेमीले किन छापेन, के भयो, के पुगेन, त्यो त थाह भएन। उनले मेहनत गरेकै थिए। पृष्ठ बेसी कम्ती भएर वा कुनै सानातिना कुरामा काम अह्राएर पछि खुट्टा झिकिदिनु भनेको एउटा सर्जक-लेखकका निम्ति निराशाजनक कुरा हो। तत्कालीन साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिले कमल रेग्मीको यति गहकिलो र महत्त्वपूर्ण ग्रन्थ किन प्रकाशित गरिदिएन, कुरा बुझ्न सकिएन। जे भए पनि ढिलै भए पनि, जहाँबाट भए पनि भारतका प्रमुख गीतकारका गीतहरू समावेश गरी यसरी प्रकाशित हुनु बडो हर्षको कुरा हो। गीतभन्दा गायक कलाकार र सङ्गीतकारको मात्र बढी चर्चा र नाम हुन्छ तर गीतकार भने ओझेल पर्ने चलन छ। गीतकारले पनि आफ्नो भावनालाई कोमल भाव र शब्दमा अभिव्यक्त गरी सिर्जना गर्नु पनि लरतरो कुरा होइन। यसमा स्रोताहरू गीतकारबारे अनभिज्ञ हुन्छन्। कमल रेग्मीले गीतकारहरूलाई न्याय दिनका निम्ति यो कदम उठाएको हुनुपर्छ। आफैं एक कुशल गीतकार भएर अन्य गीतकारलाई चिनाउन अघि आएको हुनुपर्छ। अझ उल्लेखनीय कुरा के भने यस ग्रन्थलाई भाग-१ भनिएको छ। यसको अर्थ दोस्रो भाग पनि आउने छ। पहिलो भागमा छुटेका गीतकारहरूलाई दोस्रो भागमा अवश्य समावेश गरिनेछन् भन्ने कुराको सङ्केत पाइन्छ। हुन पनि सबै गीतकारलाई एकै ग्रन्थमा समावेश गर्नु हो भने ग्रन्थ अवश्य नै विशालकाय बन्ने सम्भावना हुन्छ।
यस पुस्तकको भूमिकामा कमल रेग्मीले ‘कैरन-भारतीय नेपाली गीत प्रकाशन’ मा गीतको सैद्धान्तिक परिचय दिएर भारतीय नेपाली गीत लेखनको विकास परम्परालाई मुख्यगरी दुई भागमा विभाजन गरेका छन्- स्वातन्त्र्यपूर्व र स्वातन्त्र्योत्तर। स्वातन्त्र्योत्तरलाई पनि पहिलो चरण दोस्रो चरण र तेस्रो चरण यसमा हाजिरमान राईको ‘मिठा मिठा नेपाली गीत’ प्रकाशनलाई मूल आधार वर्ष सन् १९०० देखि १९४६ सम्म अघिल्लो र सन् १९४७ देखि अहिलेसम्म गरी जम्मामा एक सय बाइस वर्ष जतिको अध्ययन गरिएको छ। पुस्तकीय परिचयका क्रममा अजित बस्नेतले गीतका संवेदनशील पक्षबारे सम्यक् टिप्पणी गरेका छन्। गीतकार पूरण गिरीले भने संस्थागत गतिविधिमाथि केही प्रकाश पारेका छन्।
यस पुस्तकमा अकारादि क्रममा एकसय उनासी जनाका दुईदेखि चार पंक्तिको परिचय र एकेकवटा गीतका नमुना प्स्तुत गरिएका छन्। यसमा मुख्य गरी दार्जिलिङ र सिक्किम तथा असम पूर्वाञ्चल र पश्चिमाञ्चल भारतका गीतकारलाई समेटिएको छ। असमका केही गीतकार अझै हुनुपर्छ। आकाशवाणी गुवाहाटीबाट पनि नेपाली गीत उत्पादन र प्रशारण हुँदा त्यहाँका केही गीतकार अझै हुनुपर्छ। यद्यपि यसमा जतिसक्दो भेटेजति सुनेजति, थाहा पाएजतिको गीतहरू समावेश गरिएको छन्। यद्यपि कतिजना छुटे त्यो अझै अथाह नै छ। यसै कारण भाग १ भनिएकाले अब भाग-२ पनि प्रकाशित गर्ने बाटो राखिएको सङ्केत पाइन्छ। यसमा हामी पाठकको पनि उनलाई कोही अन्य गीतकार छुटेकाहरूको नाम पुस्तकको नाम, गीत आदिबारे सूचना पठाउदिने दायित्व रहन्छ।
यसमा मूल रूपमा गीतसङ्ग्रह पुस्तक प्राकाशित गर्नेहरूलाई आधार लिएको पाइन्छ। यद्यपि गीतसङ्ग्रह प्रकाशित नभए पनि केही गीति अल्बमका गीतकार, कोही रेडियो गीतकार आदिलाई पनि थाहा पाए जति हाल्ने प्रयास गरिएको छ। यसमा दुई चरणका एक सय बीसवटा जति गीतसङ्ग्रह र स्वातन्त्रतापूर्व कालका तीसजना र स्वातन्त्र्योत्तरकालका अढाइसय भन्दा बढी गीतकारहरूको सूची दिइएको छ। यसमा रेग्मीको मेहनत र अनुसन्धान प्रवृत्तिले निकै काम गरेको पाइन्छ। गीतकारका गीतसङ्ग्रह, कुनाकाप्चाका गीतकारको सूची तयार पार्नु, तिनका गीत खोज्नु, गीतकारका प्रव़ृत्ति आदि केलाउने प्रयास गरिएको छ। उनका अनुसार प्रथम चरणका भारतीय नेपाली गीतहरूमा भाषिक सौन्दर्य, व्याकरणिक पक्ष, भाव र विषय पक्षका चेतना थोरै पाइए तापनि यी गीतहरू सन्देशमूलक हुन्थे। सामाजिक जागृतिका कुरा, जातिगत उन्नतिका सन्देश, तत्कालीन समाजका सरोकारका विभिन्न पक्षहरू हुन्छन्। देशभक्त, नैतिकता, अध्यात्म, आदर्श ईश्वरभक्ति यी गीतका मूल स्वर हुन्थे। उक्त चरणका गीतको विषयवस्तु फाँटिलो र व्यापकता देखिन्छ। फलस्वरूप नेपाली साहित्यका अन्य विधा झैं नेपाली गीत पनि उन्नतशील बन्दै गयो। स्वातन्त्र्योत्तर नेपाली गीतहरूका अध्ययन गर्दा जातीयता आध्यात्मिकता, राष्ट्रिय चेत, सामाजिक जागरणको सन्देश, देशभक्ति, नैतिकता, नैराश्य, प्रेमपीडा, अनुराग, मानवता, आञ्चलिकता विश्वप्रेम, प्रकृति प्रेम, सांस्कृतिक चेतना, जातीय गौरव गान, राजनैतिक-सामाजिक विच्युति र विसङ्गतिप्रति तीखो व्यङ्ग्य, सौन्दर्यचेत, जीवनका विविध दृष्टिकोण, पर्यावरण चेतना, मानवमूल्य, जीवन र जगत्‌का यावत् भोगाईहरू यथार्थता, विद्रोह, सांस्कृतिक मूल्य र मान्यताका कुराहरू, जीवन भोगाइका विभिन्न तह आदि जस्ता कुराहरू स्पष्ट रूपमा पाइन्छन्। गीत लेखनका यस क्रममा नेपाली गीतले नयाँ र विविधता भाव, शैली, धारा, उपधारासँग प्रस्तुतिको नौलोपन, प्रतीक बिम्बहरूका समायोजन, भाषिक सरलता, सरसता, सुललितता, शब्दहरूका मितव्ययिता आदि पालन गर्दै आजको मोड़सम्म आइपुगेको छ।
यो सञ्चयन तयारी गर्दा सम्पादक कमल रेग्मीले निकै खिप्ती गरेका प्रतीत हुन्छ। एक दुई गीत लेख्नेलाई गीतकारको उपाधि दिइहाल्न सकिन्न। गीतमा हुनपर्ने गुण र लक्षण भएका गुणात्मकताका साथै मात्रात्मक रूपमा गीत लेख्ने चयन गर्नु कठिन काम हो। कतिको गीतसङ्ग्रह भएर पनि खुबै कमजोर गीतजस्ता आकृतिका रचना पनि प्रकाशित भएका हुन्छन्। तीमध्येबाट चयन गर्नु सजिलो छैन। यसमा पुराना र नयाँ, पूर्वाञ्चल र पश्चिमाञ्चल भारतका, गीतसङ्ग्रह भएका र नभएका, गीत रेकर्ड गराइएका र नगराइएका, नाम चलेका र नचलेका, प्रवीण-नवीन सबै किसिमका गीतकारका गीतहरूको सञ्चयन गरिएका छन्। यति विशाल देश भारतका सर्वत्र नेपालीहरू बसोबास गर्छन्। कतिजना त नेपाल र भारत दुवैतिरका पनि गनिन्छन्। जस्तै अम्बर गुरूङ, गोपाल योञ्जनहरू पनि समावेश छन्। यताका उता उताका यता आदि गरी मान्छे बसाइँ सरिबस्छन्। जहाँ जहाँ बस्ता पनि गीत लेख्नेहरू हुन्छन् नै। तिनलाई समेट्नु प्रायः असम्भव हुन्छ।
यसको भूमिकामा सम्पादकले भारतमा नेपाली गीतसङ्ग्रहका निम्ति निकै गीतकारका गीतको खोजी गरेका छन्। यसका साथै प्रत्येक गीतकारको दुई-चार पंक्तिको परिचय दिएका छन्। तीमध्ये पनि यदि प्रकाशित छ भने तिनका गीतसङ्ग्रहको नामोल्लेख पनि पाइन्छ। यसमा गरिएको अध्ययन र सङ्कलन हेर्दा भारतमा पनि प्रशस्त मात्रामा नेपाली गीत लेखिएका, गाइएका र सङ्ग्रह प्रकाशित भएका छन्। यताबाट पनि प्रशस्त मात्रामा नै नेपाली गीतबारे समीक्षा गरिएको छ। जस योञ्जन प्यासी, जे के बराइली, नवीन पौड्याल आदिले पुस्तकाकार रूपमा नै गीतबारे सम्यक् समीक्षा प्रकाशित गरेका छन्।
सम्पादक कमल रेग्मीले मौखिक रूपमा दिएको सूचनाअनुसार उनी भारतीय नेपाली गीत सञ्चयनको दोस्रो भागका निम्ति पनि तयारी गरिरहेका छन् र यसमा पनि एकसय सत्तरीजना जति थप गीतकारका सूची पाएका छन्। पहिलोमा छुटेका गीतकारलाई दोस्रो भागमा अवश्य नै समावेश गर्नेछन्। यदि उनको दोस्रो भागको सूचीमा अझै कोही गीतकार छुटे उनी मात्रै होइनन् तर हामी पनि उत्तिकै दोषको भागीदार बन्नेछौं किनकि उनले त आफुले सूचना पाए जसति कसैलाई छाडेका छैनन तर हामी सचेत पाठकले उनलाई सल्लाह थप नाम सुझाव दिएका हुँदैनौं। यद्यपि गीतकारका नाम पाए जति जम्मैलाई समावेश गर्दा सोहोरसार जो पाए त्यहीले गीतकारको दर्जा पाउने सम्भावना हुन्छ र यो विशेषणको दुरूपयोग हुन्छ।
नेपाली गीतको उन्नति गर्न कमल रेग्मी अग्रसर छन्। उनी गीत लेखनका साथै गीत अध्ययन समीक्षण र मूल्याङ्कन गर्न निकै अघि छन्। उनको कुशल सम्पादनमा प्रकाशित भारतीय नेपाली गीत सञ्चयनले भारतमा नेपाली गीतको अवस्था र दिशालाई सङ्केत गरिएको छ। भारतीय नेपाली गीतको सन्दर्भमा यो पुस्तक प्रकाशन हुनु एउटा ठोस काम भएको छ। अझ भाग-१,भाग-२, भाग-३ जस्ता अझै भागहरू हुँदै भारतीय नेपाली गीतहरू र गीतकारहरू उत्तरोत्तर जोडिँदै, थपिँदै, समावेश हुँदै, प्रज्ज्वलित हुँदै जाउन् भन्ने मेरो कामना गर्दछु। भारतीय नेपाली गीत अध्ययनमा यो पुस्तक अति उपयोगी र सङ्ग्रहयोग्य छ।

कालिम्पोङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।