18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अमुमुक्षु

कविता शिबु ढकाल March 12, 2024, 1:04 am
शिबु ढकाल
शिबु ढकाल

हिमाल र छालको माझमा
हरेक बिहान अनि साँझमा
खण्डित घाम र खोटी जून नै सही
देखिरहन पाइयोस्, हेरिरहन पाइयोस्
यो सुन्दर धर्ती, यी विविध भूस्वरूप
सुन्दर प्रकृति, ईश्वरको सृष्टि
हरेक प्राणीको यो शरिरले काया लियोस्
जन्मजन्मान्तर जन्ममरणको चक्रमा
घुमिरहन पाइयोस्, आइरहन पाइयोस्
चौरासी लाखै चोला फेर्न पाइयोस् ।

यो सुन्दर धर्ती, यो सुन्दर जीवन
सृष्टिभरिका प्राणीको दृष्टिले देख्न पाइयोस्
मानवमात्रको चोला फेरेर
पुरै चक्र नघुमी ब्रह्माण्डको
ब्रह्ममा लीन हुने मन छैन कत्ति पनि
मुक्ति, मोक्ष, निर्वाण जे जे भन
महाअन्धकारको बाटो देखाउँदै
ईश्वरीय अधिकारबाट बञ्चित नगर मलाई
त्यस्तो कुनै ठाउँ छैन कतै
अक्षरहरू र ऋचाहरूले प्रमाण दिए जस्तो
अपरा ज्ञान नै सही, अतुरीय अवस्था नै काफी
मलाई सम्पूर्ण जीवधारीलाई प्रेम गर्न पाए पुग्छ
प्रत्येक जीवको लौकिक मुक्ति गर्न सकियोस्
यो सुन्दर र सुखमय संसारमा
मानिसले आफै उब्जाएको दुःखलाई चिर्दै
म यहीँ रमाउन चाहन्छु, सुखसयलमा
हिमाल र छालको माझमा
हरेक बिहान अनि साँझमा ।

पोखरा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।