दिन भरी छोरा आउने बाटो हेरेर बसेका थिए बाबु । बुहारी ले बेला बेलामा आएर ‘किन यसरी बाहिर एक्लै बस्नु भएको ‘भनेर पनि सोध्थी ।
#
साझँपख छोरा अफिसबाट घर आयो । छोरा बाबुलाई देखेर पनि नदेखे जस्तो गरी आफ्नो कोठा भित्र छिर्यो । बाबुले सोचे बिचरा दिन भरी काम गर्नु पर्छ, थाक्यो होला ! ‘आउनेबित्तिकै के कुरा गर्नु ? आ ‘ बेलुका खाना खाने बेलामा भन्नु पर्ला ‘ भनेर बेलुका भन्ने निर्णय गरे ।
##
बेलुका सबै खाना खाने बेलामा बाबुले छोरासँग भने -
‘छोरा चिसो निकै बढी रहेछ । धेरै बर्ष देखी यही पुरानो सुइटरले काम चलाई रहेको छु । तर फिटिक्कै न्यानो हुँदैन । एउटा न्यानो सुइटर किनेर ल्याईदेउ न ।’
छोराले बुवाको अनुहार तिर हेर्यो र भन्यो -
‘हुन्छ, भोलि म आफिसबाट चाँडै आउँछु तयार भएर बस्नु होला सँगै बजार जाउँला ।’
फेरी छोराले श्रीमतीको अनुहारतिर हेर्दैभन्यो -
‘भोली बुवालाई तयार पारेर राख्नु । ‘
‘तयार पार्ने रे ?‘ श्रीमतीले छक्क पर्दै सोधी ।
‘बुढा भएको मान्छेलाई पनि कसरी तयार पार्ने होला र‘ श्रीमतीले जिस्किदै हाँस्दै भनी ।
‘तयार पार्ने भनेपछि तयार बनाउने हो ।
बुढा बुढी हुँदैमा तयार नहुने भन्ने हुन्छ र ? बुवा लाई नुहाई धुवाइ गरी देउ । राम्रो सफा कपडा लगाई देउ । त्यही त हो नि तयार हुने भनेको । ‘ - छोराले रातो अनुहार लगाएर भन्यो । बुवा भने मन्मनै फुरुङ भए , भोलि त पक्कै छोराले बजार लगेर नयाँ सुइटर किनिदिने भयो भनेर ।
###
भोलिपल्ट छोरा चाँडै नै घरमा आयो र बाबुलाई लिएर बजार तिर लाग्यो ।
‘छोरा, सुइटर सस्तो भए पनि हुन्छ । धेरै महँगो पर्ने किनेर के गर्नु ? घरले जा जा, कालले आ आ भन्ने बेलामा । उनी आफुले लगाएको पुरानो सुइटर तिर हेर्दै भन्दै थिए -
‘यो लगाएको सुइटर तेरी आमाले मेरो जन्म दिन पारेर किनेर ल्याई दिएकी थी । उसलाई त सामान छान्न पनि निकै आउँथ्यो । मेरा सबै कपडाहरु उसैले किनेर ल्याईदिन्थि । म त यसरी कपडा किन्न कहिल्लै अाईन बजार ।’
छोराले सुनिमात्र रहयो ।
####
केहीबेर हिंडेपछि उनिहरु एउटा घरभित्र छिरे ।
‘छोरा यो त पसल जस्तो त छैन त ?’- बाबुले यता उता हेर्दै सोधे ।
‘हो बुवा,यो पसल होइन । तर यहाँ बस्ने मान्छेहरुलाई सरकारले राम्रा राम्रा कपडाहरु दिन्छ रे । हरेक बर्ष नयाँ सुइटर पनि दिन्छ रे । ‘- छोराले भन्यो ।
‘यसरी सित्तैमा कपडा बाड्ने कस्तो ठाउँ हो त छोरा यो ?' बाबुले जिज्ञासा राखे ।
‘यो तपाईंहरु जस्तै बुढाबुढीहरु बस्ने ठाउँ हो बुवा । अब तपाईंपनि आज देखी यहीँ बस्ने । ‘
छोराले यति भनी बाबुलाई त्यही छोडेर गयो । बाबुलाई आकाशले थिचे जस्तो भयो । र सम्झिए नेपाली उखान “ बाबुआमाको मन छोराछोरी माथि छोराछोरीको मन ढुङ्गा मुडा माथि !”