हिजोआज शहर बस्तीतिर गाई, सुङ्गुर पाल्न छोड़िसकेका छन् प्रायःले । किनभने मान्छे मोडर्न, एरिस्टोकेट हुन चाहन्छन् । गाईबस्तु पालेर झ्याउला बढ़ाउनुभन्दा बरू कुकुर पालेर आफूलाई शौखिन,आलिशान देखाउन प्रायः मानिसहरू मातिएका छन् । हुन पनि हो, कसको घरमा कुकुर देखिँदैन । उसले दामी कुकुर ल्याएका छन् भने म पनि के कम्ति र ? उसको भन्दा महङ्गो अनि उसको कुकुरको जातभन्दा जातमा फेमोस कुकुर पालेर देखाउँछु भन्ने धारणा विचारले मान्छेको गिदीलाई उचालिरहेछ ।
यसकारण हिजोआज प्रत्यकले कुकुर पाल्नैपर्छ । नत्र गाउँ-घरमा प्रेष्टिज पङ्कचर हुन्छ । अझ टिनको च्याप्लामा “कुकुरदेखि सावधान....BEWARE OF DOGS” लेखिएको प्लेट गेट बाहिर झुण्ड्याउनु पाए संसारै फाँड़े जस्तो ठान्नेहरू पनि थोर छैनन् । यसर्थ कुकुर हुनैपर्छ । कुकुर नभए उनीहरूको जीवन यहाँ घरिघरि साटिने झण्डी झैं हुन्छ ।
घरमा श्रीमान थला परुन्, लालाबाल थलो परुन् औषधि ल्याइदिने कुनै आग्रह देखिन्न तर घरमा पालेको कुकुर अलिकति पनि बिसञ्चो भएको थाहा पाए कुकुरमाताश्री तुरुन्तै पशु डाक्टरकहाँ पुग्छिन् । घरपति बाबै भन्दा घरपतिनी आमै कुकुरलाई धेर स्याहार्छिन् । सके आफ्ना श्रीमानलाई आफ्नो खाटबाट निष्कासित गरी आफूले पालेकी डगीलाई सँगै मात्र होइन त्यो पनि च्याप्पै अँगालो हालेर सुताउँछिन् । कुकुरलाई के के सिकाएकी छन् । घरमा कोही आए कि कुकुरलाई यसरी बोलाउँछिन्, ज्याक...कम हियर ।
ज्याक पनि के कम्ति र मालिकनीको सुरिलो स्वार सुन्ने बित्तिकै पूच्छर हल्लाउँदै मालिकनीको काखैमा चढ़ी उनको गाला ल्याप ल्याप चाट्न थाल्छ । मालिकनी दङ्गाउँदै भन्छिन्. डण्ट डु बेबी यार । सो नट्टी हौ...गो...। वफादारी कुकुर खल्लो मान्दै मालिकनीको काखबाट जम्प गरेर सोफाको छेउमा बस्छ । अनि फेरि भन्छिन्, ज्याक...गो एण्ड किस अङ्कल । मालिकनीको आदेश सुन्ने बित्तिकै ज्याक अतिथिको काखमा दुइवटै खुट्टा राखेर जिब्रो निकाल्न थाल्छ । मालिकनीको आदेश, से हल्लो...ज्याक...बेबी कमन...से हल्लो ।
विशाल भालु जस्तै कुकुरको दुइटै पञ्जाले अतिथिको काख थिच्दा अतिथि डरले प्राण पर्छन् । मालिकनी बोल्छिन्, नडराउनुहोस्....यसले केही गर्दैन...।
अतिथि कातर स्वरमा बोल्छन्, होइन डर त लाग्दैन कि म्याम् । तर तपाईले पो मलाई चिन्नुहुन्छ तर तपाईको ज्याकले मलाई चिन्दैन नि । भरै...
कुरा काट्दै, ज्याक....कम हियर बेबी । फेरि मालिकनीको काखमाथि ।
ज्याकको जीउ मुसार्दै भन्छिन्, हाम्रो ज्याकले कसैलाई केही गर्दैन हगि ।
अतिथिको कातर स्वर, होइन कत्रो डँड़ाक रहेछ यो अन्त ।
कुकुरलाई म्वाइँ खाँदै बोल्छिन्, हजूर मेरो ज्याक सो हेण्डसम हगि । सबले तिमीलाई भालु भन्छ हगि । हुन पनि तिमी भालु जस्तै नै छौ हई माई नटी । सर यस्को भुकाइ कति डरलाग्दो छ सुन्नुभो होला नि । भुक्नु पनि कस्तो भुक्छ हई माई नटी....फेरि च्वाँक्क म्वाइँ । मालिकनीको म्वाइँले ज्याक फुरुक्कै । यसको भुकाइले त कोही बेला मेरै सातोपुत्लो उड़्छ । यहाँ भुकेको उ...पर गैरी गाउँसम्म थर्किन्छ अन्त । सो लाउड वार्किङ हगि मेरो राजाको ....फेरि च्वाँक्क म्वाइँ ।
अतिथिको उत्तर, हो नि म्याम...यसको भुकाइले त उस्तैहरू यो घरमा पस्ने आँट गर्दैन ।
अनि हजुरलाई डर लागेन ?
अतिथि – कुकर देख्दा पनि कसलाई डर लाग्दैन ? फेरि मलाई त भतुवा कुकुरले टोकेको नि म्याम । चौधवटा सुइँको पीर मलाई मात्रै थाहा छ । बाहिर कुकुरदेखि सावधान र बिवेर अफ डगको प्लेट देखेर एकपल्ट मरिगएँ डरले । तर यो ज्याक यस्तो भुक्यो...अन्त मैले बुझेँ भुक्ने कुकुरले टाक्दैन भनेर र त चूपोलागि सिँड़ी चढ़ेर माथि आई कलिङ्ग बेल बजाको त ।
मालिकनी कुकुरको मुखैमा ओँठ जोड़्दै, मेरो राजाले टोक्दैन नि हगि बाबु ! होस हवास उड़ाउने मात्रै भुक्छ हगि । नट्टी !
अतिथि- भुक्ने कुकुरले टोक्दैन भन्ने उखान सानैमा सुनेकोले ढुक्क भए । हिजोआज कुनै पनि कुकुर भुक्दैछ भने लमक लमक हिँड़िदिन्छु । फेरि कुकुर भुक्दै गर्छ हात्ती लम्किँदै गर्छ भन्ने उखान सुनेको पनि युगौं बितिसक्यो । तर म्याम यो तपाईको राम्रो न राम्रो कुकुर गाँवै थर्काउने गरी भुकेको सुनेर मलाई यहाँको नेताहरूको झलझली याद आयो ।
मालिकनी खुसी हुँदै बोलिन्, ए हो र ? फेरि कुकुरको गालामा गाला राख्दै, तिमी नेता हौ बाबु ! अङ्कलले हेर तिमीलाई नेता बनाउनुभयो ।
अतिथि- हो नि म्याम्...हाम्रो नेताहरू पनि कम्ति त भुक्दैनन् । कोही भन्छन् हामीलाई नचलाओ ....कुन दिन गिदीमा रगत पुगेको बेला शोक सम्वेदना चढ़ाउने मान्छे पनि पाउँदैनौ ।
कोही भन्छन्, हामी कसैलाई केही भन्दैनौ तर भन्नु परे गाउँबाट भाग्ने चान्स पाउँदैनौ ।
कोही भन्छन्, महाकाल बाबाको कसम ! यो पाली सबै हुन्छ । नगरोस् त सालाहरूको छाला काढ़्छु ।
हजारौं दर्शक अघि भुक्नुसम्म भुक्छन्...तर जनसभापछि त्यो भुकाइ पेपरमा मात्र देखिन्छ । अन्त यो कुकुर...तपाईको ज्याकभन्दा यी नेताहरूमाझ फरक र डिफरेन्स के रह्यो र ? तपाईको ज्याकलाई भुक्ने कुकुरले टोक्दैन भन्ने उखान के थाहा ? फेरि यो कुकुर जातिलाई यस्ता उखानबारे ड्याम केयर । तर जनसभामा कुकुर ज्सतै भुकेर बिग टक गरी जनताको आँखामा धूलो हाल्ने नेताहरू त पढ़ेको होला नि हो ....लु पढ़ेका नहोला...तर सुनेको त होला नि भुक्ने कुकुरले टोक्दैन भन्ने । खै...यसकारण म हिँड़दा जुन कुकुरले क्र्याप्पै पारुँला जस्तै भुक्छ नि ढुङ्गाले टिपेर हान्दिनँ नि...भुक्ने कुकुरको भुकाइमा हाम्रै नेताको अनुहार क्लियर देख्छु ।
फेरि ज्याकलाई बाहुपाशमा राखी मालिकनीको रुपी स्वर, हामलो ज्याक नेता होइन नि हगि ! मेरो लादा हो नि !
तर एउटा रिक्वेष्ट गर्छु म्याम् , तपाईको ज्याक जति भुक्छ भुकोस् कुनै दिन नेता तपाईको घरमा के के माग्नु, नमस्ते गर्नु आयो भने कुनै हालतमा पनि तपाईको ज्याकले नेतालाई नटोकोस् है...
मालिकनीको प्रश्न, किन होला नि ?
किन र म्याम ! कुकुरले मान्छेलाई टोके चौधवटा इञ्जेक्सन भुँड़ीभरि लाउनुपर्छ । धेर भन्दा धेर रेबिसले भेट्छ । तर नेताले बाइचान्स कुकुरलाई उल्टो टोक्यो भने कुकुर नेता भएर झण्डी समात्ने मात्र होइन तर बातैपिछे झण्डी साट्ने हुन्छ । बी केयरफुल !
फेरि कुकुरलाई अङ्कमाल गर्दै, मेलो लादा नेता किन हुने...बाबु नेताहरूसित जोगिनु ल...मेरो राजा । जुनै पार्टीको नेता आए पनि भुक्नु चाहिँ भुक्नू तर नटोकिदेऊ ल राजा । भरे तिमी पनि झण्डी मात्रै बोक्ने र झण्डी साटने भयो भने....हगि राजा । (अविराम म्वाइँ खाँदै भुक्ने कुकुरले टोक्दैन नि ....नेताहरूलाई त झन् टोक्दै टोक्दैन ।
सिलगढ़ी भारत