18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रशासकबाट लेखक हुँदै गीतकारको भूमिकामा आउँदाको अनुभूति

संस्मरण/स्‍मृति डा. दामोदर रेग्मी February 26, 2024, 11:37 pm
डा. दामोदर रेग्मी
डा. दामोदर रेग्मी

प्रशासनिक हृदयमा साहित्यको वास हुँदा थप जिम्मेवार भइँदो रहेछ प्रशासक र साहित्यको वीचमा कसरी सन्तुलन कायम गरिरहनु भएको छ भनी मलाइ अत्यधिक रुपमा सोधिने प्रश्नको मैले सधै दिने उत्तर हो यो । प्रशासक वाट लेखक हुदै गीतकारको भूमिकामा आएपछि प्रशासक र लेखकको अन्तरसम्बन्ध वारे सोधखोज हुनु स्वभाविकै हो ।एउटा प्रशासक पनि यही समाजको एउटा व्यक्ति हो। समाजका विभिन्न घटनाक्रमहरूप्रति हर व्यक्ति उत्तिकै प्रभावित हुन्छन् प्रशासकले यसलाई सेवा प्रवाहवाट सम्वोधन गर्ने गर्दछन् भने कवि वा गीतकारले सो परिवेशलाई शव्दव्दारा अभिव्यक्त गर्ने गर्दछन् । सिर्जना भनेको समाजमा घटेका विभिन्न घटनाक्रमको प्रभावबाट जन्मने चिज हो। समाजका विभिन्न चिजबाट जतिखेर हृदय प्रभावित हुन्छ, त्यतिबेलै सिर्जनाको जन्म हुने हो। बाटोमा हिँड्दा राम्रो फुल देखियो, एउटा सुन्दर दृष्य देखियो वा सुखद वा दुखद जुनसुकै परिवेश देखिएपनि त्यो शव्दमा अभिव्यक्त भयो भने साहित्य सिर्जना हुनसक्छ। त्यसलाई टपक्क टिपेर हृदयमा राखिन्छ। ती तर्कना वा अनुभूति साहित्यकारका शव्दहरुवाट अभिव्यक्त हुने गर्दछन् । गीतकारहरु कहिलेकाहीँ त्यो घटनाको पात्र मै हुँ कि भन्ने अनुभूतिका साथ गीत सिर्जना गर्ने गर्दछन्। यति उत्तर दिइरहदा जीवनको उत्तरार्ध्दमा म कसरी गीतकार भएं भन्ने प्रश्न पनि उठ्ने गर्दछ । गीतकार कुनै एउटा घटना विशेषवाट प्रभावित भएर मात्र भइएको होइन यसका सानातिना पूर्वाधार त पहिले तयार भैसकेका रहेछन्। तर कुनै घटना विशेषले गीतकारको भूमिकामा आउने वातावरण भने बनेको रहेछ।

स्कूलमा पढ्दा शुक्रवार नियमित रुपमा हुने कविता वादविवाद निबन्ध लगायतका अतिरिक्त क्रियाकलापहरुमा भाग लिने जांगरले मलाई लेखन कार्य तर्फ प्रेरित गरायो । विद्यालयका ती दिनहरुमा भविष्यमा कुनै साहित्यकार गीतकार कवि वा लेखक बनुलां भन्ने कुनै पूर्व निर्धारित उद्देश्य अनुसार लेख्ने कार्य गरिएको पनि थिएन । विद्यालयको शुक्रवारे अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउने उद्देश्य मात्र थियो । यी कार्यक्रमहरुमा सहभागिता जनउदा प्राप्त भएका प्रमाणपत्रहरु म संग अझै सुरक्षित नै छन् । त्यतिवेला भविष्यमा कुनै परिकल्पना नगरेको विषयमा प्राप्त ती प्रमाणपत्रहरु देख्दा अहिले साह्रै खुशीको महशुस हुने गरेको छ ।
आज ती प्रमाणपत्रहरु नियाल्दा विद्यालयमा जनाउने गरेका यी सहभागिताहरुले मेरो पढाइमा भने सहयोग गरेको रहेछ, विचारमा सिर्जनशीलता, भावनात्मकता र आकर्षकपना ल्याउने काममा ती कार्यक्रमहरु सहयोगी बनेका रहेछन् भन्ने अनुभूति भैरहेको छ । विद्यालयको पढाइ सकेपछि कलेज जीवन शुरु भयो । कविता लेख्न छोडियो, जांगर नचलेर हो वा सृजनशीलता समाप्त भएर हो यसको कारण र सही उत्तर म संग अहिले सम्म पनि छैन । तर हिंजो निवन्ध लेख्ने गरेकोले होला लेख लेख्ने काम भने धीमा गतिमा बढ्दै गयो । अहिले सम्म आइपुग्दा प्रशासन व्यवस्थापन राजस्व प्रशासन वित्त व्यवस्थापन संघीय शासन प्रणालीका परिवेशमा रहेर पन्ध्र सय जति लेख लेखिएछ एक दर्जन भन्दा वढी पुस्तकहरुपनि यिनै परिवेशलाई समेटेर लेखिएछ । यी लेख र पुस्तकहरु आउनुमा स्कूलका ती कार्यक्रमहरुको त्यो देन महत्वपूर्ण रह्यो ।
गीत नलेखेपनि मलाई अरुका गीत सुन्न भने खुवै इच्छा थियो । शुरुमा लोकगीत रुचाउने गरेकोमा पछि गएर केही सीमित आधुनिक गीतहरु पनि मन पर्न थाले ।बेलाबखत रेडियो नेपालमा गीत फरमाइस गर्ने पनि गरिन्थ्यो ।फरमाइस लोकप्रिय गीतमा गरिन्थ्यो गीत बज्नुपूर्व फरमाइसकर्ताको नाम लिनेगरिदा संचालकले आफ्नो नाम बोल्दा खुव खुशी लाग्थ्यो र अरु कसैले कुनै दिन भेट्दा रेडियोमा तपाइको नाम आएको थियो राम्रो गीत फरमाइस गर्नु भएको रहेछ भन्ने सुन्दा खुशीको सीमा रहदैनथियो । रेडियो नेपालको बाल कार्यक्रममा केही कविता र निबन्ध पठाइयो केही प्रशारित पनि भए ।सुप्रसिध्द गीतकार तथा कार्यक्रम संचालक किरण खरेलले रेडियो नेपालमा चलाउनु भएको एउटा कार्यक्रममा पूरै कार्यक्रमका गीतहरु मेरो कथामा आधारित भएर बजेको थियो त्यो धेरै जनाले सुन्नु पनि भएको रहेछ ।
यसको धेरै पछि अर्थात तीन वर्ष अगाडी कोभिडको समय थियो कतै काम विशेषले यात्रा गरिरहेको थिएं । यात्रा गर्दा गाडीमा गीत बज्नु र सुन्नु स्वभाविक र नियमित प्रक्रिया नै हो ।राम्रा गीत बज्दा आनन्द लिएर सुन्नु आफूले सुनिरहेको गीत भए गीतको आवाजसंगै मनमनै वा आवाज निकालेरै गीतका लाइनहरु भन्दै जानु यो पनि स्वभाविक प्रक्रिया हो । त्यो दिन पनि गाडीमा कुनै गीत बजिरहेको थियो । गाडीमा बजेको त्यो गीत मैले सुनिरहेको गीत थिएन । तर त्यो गीतको संगीत र स्वर भन्दा शव्द तिर मेरो मन आकर्षित भयो । गीतका ती शव्दहरुलाई मैले कविताको रुपमा हेरें, लाग्यो गीत त कविताकै विस्तारित स्वरुप रहेछ शव्द हुदा कविता बन्दो रहेछ संगीत र स्वर मिल्यो भने गीत बन्दो रहेछ भन्ने भावना मनमा भित्रियो। त्यो दिन किन त्यस्तो भयो मैले भन्न सक्दिन । अव जुनसुकै वेला गीत सुन्दा यहि सोचाइ दोहोरिन थाल्यो । लाग्यो स्कूले जीवनमा त म पनि सानो तिनो स्कुले कवि त थिएं । यी गीतका शव्द र मेरा कविताका शव्द त उस्तै छन् म पनि गीतकार बन्न सक्छु कि भन्ने मनमा आयो ।
जानी नजानी गीतहरु लेख्ने क्रम शुरु भयो । यसै क्रममा एउटा गीत सिरेटोले छुदै छुन्न शीर्षकमा बन्यो पछि पूरै गीत संग्रहको नाम नै सिरेटोले छुदै छुन्न राखें । गीत लेखियो गीतको सानो संग्रह पनि तयार भयो । जसरी कविता सुनाउन धेरै अनुरोध गरेपछि मात्र घरकै श्रोता तयार हुन्छन मैले मेरो गीतमा घरकै श्रोता तयार गर्न पनि धेरै मेहनत र अनुरोध गर्नु पर्यो । यो क्षणमा आइ पुग्दा मेरा घरायसी श्रोताहरुले मेरो शव्द पनि हेर्न थाल्नु भयो, गीतको भाव राम्रो छ गीतलाई यो भाव तिर पनि लैजाने कि भन्ने आदि सुझावहरु आउन थाले मलाई खुशीको अनुभव हुन थाल्यो किनकी घरकै श्रोतावाटै भए पनि गीतकारको अघोषित मान्यता मलाई प्राप्त भएको थियो ।संगीतकार र गायक गायिकालाई गीत देखाउदा उहाहरुले रुचाउने नरुचाउने के हो र गीत नै मिलेको छ छैन, कस्तो प्रतिक्रिया आउने हो, मनमा डर रहेकै थियो ।

एकदिन कामविशेषको क्रममा गीतकार गोविन्द कुइकेल मार्फत गायक आनन्द कार्की संग भेट हुन पुग्यो ।मेरा गीतको वारेमा छलफल भयो । मैले मेरो पूरै गीति संग्रह उहांलाई थमाएं । मेरै अगाडी उहांले मेरा मेरा गीतहरु हेर्नु भयो धेरै जसो गीतका शव्दहरु उहांलाई पनि मन परे । मेरो गीति संग्रह हेर्दै आफूलाई मनपरेका शव्दहरु उहांले उच्चारण गर्दै जादा गर्दा खुशी पनि लाग्यो । अन्तत एउटा लोकप्रिय र सदावहार गायक आनन्द कार्कीले मेरो शव्दमा गीत गाउन तयार हुनु भयो तर कुन गीतलाई गायनमा लग्ने निर्णय गर्न सकेनौं । मैले आनन्द कार्कीलाई तपाइ यी सवै गीत लगेर हेर्नोस जुन उपयुक्त लाग्छ त्यसमा गाउनु होला भने उहां पनि यसमा सहमत हुनु भयो । केही दिन पछि खवर आयो "एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ" वोल रहेको शव्दले आवाज पाउने भयो यसमा संगीत वरिष्ठ संगीतकार किरण कडेलले दिने हुनुभयो ।गीतमा प्रयोग भएको सन्दुक शव्दवाट आनन्द कार्की प्रभावित हुनु भयो । यस्तो शव्दहरु प्राय गीतमा प्रयोग भएको पाइदैन भन्ने उहांको भनाइ थियो । संगीतकार किरण कडेलको प्रज्ञा स्टुडियोमा गीत रेकर्ड भयो ।गीतका पूरै शव्द र लाइन हुबहु गायनमा गयो । मैले सुन्ने गरेको थिए शव्द गायक र संगीतकारमा पुगेपछि उहांहरुको चाहना अनुसार र लयको माग बमोजिम परिवर्तन हुन्छ तर मेरो गीतमा त्यस्तो भएन।उहाहरु दुवैले कुशल गायक र संगीतकारको अमिट छाप छोड्नु भयो । संगीतकार किरण कडेलको संगीत र आनन्द कार्कीको मनमोहक स्वरले मेरा हरेक शव्द र भावलाई पूर्ण न्याय गर्दै गीत तयार भयो । पछि यसलाई भिडियो बनाउने समेत कुरा भयो मित्र रामहरि खड्का, जो अति राम्रा भिडियोहरु बनाउनुहुन्छ र अभिनय समेत गर्नुहुन्छ, संगको सल्लाह बमोजिम सियोन श्रेष्ठको निर्देशन आरुष के सी र सोनी ढुंगानाको अभिनयमा म्यूजिक भिडियो समेत तयार भयो । यसमा मेरो र आनन्द कार्कीको समेत सानो रोल रहेको छ । म्यूजिक भिडियोमा सानै भए पनि अभिनय मेरो लागि नयां अनुभव नै रह्यो । म्यूजिक भिडियो मात्र भनेर के गर्नु प्रक्रिया चलचित्रको जस्तै रहेछ । यसरी एउटा गीत आयो त्यो पनि वरिष्ठ गायक र संगीतकारसंगको सहकार्यमा । यसै वीचमा युवा संगीतकार डि. बि. लामा संग भेट भयो उही मेरा गीतकार मित्र गोविन्द कुइकेल मार्फत । संगीतकार डि. बि. लामा संगको छलफल पछि "अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला" वोलको गीत प्रताप दास र अनु चौधरीको स्वरमा ल्याउने निधो भयो ।यो गीत मैले लेखेका गीतहरुमध्ये अधिक मन पर्ने गीत थियो । प्रताप दास र अनु चौधरी दुवै सफलता र चर्चाको शिखरमा रहेका नवोदित गायक गायिका- मेरो लागि यो राम्रो अवसर जुर्यो । गोविन्द कुइकेल र डि. बि. लामाको यो निर्णय अति नै ठीक ठहरियो । मैले सोचे भन्दा गीत धेरै राम्रो बन्यो ।यसकारण यसमा संगीतकार डि. बि. लामाको संगीतको जति प्रशंसा गरेर पनि पुग्दैन त्यस्तै गायक गायिका प्रताप दास र अनु चौधरी लगायत संलग्न सवै समूहको पनि । यसको पनि म्यूजिक भिडियो बनाउने क्रममा मित्र रामहरि खड्का संगको सल्लाहमा नितिन चन्दको निर्देशन तथा मित्र रामहरि खड्का (आर आर खड्का) सृष्टि खड्का अभिनय रहेको म्यूजिक भिडियो तयार भयो । फेरी मैले पनि सानो अभिनय गर्ने मौका पाएं । यी दुवै गीतका हजारौं टिकटक बने धेरै स्टोरीमा पनि यस गीतले ठाउं पायो।
यी दुइ गीतले मलाई गीतकारको रुपमा बाहिर पनि चिनाउन थाल्यो । टेलिभिजन, रेडियो, एफ एम, र पत्रिकाहरुमा यसवारेमा समाचार र अन्तरवार्ताहरु आउन थाले गीतहरु बज्न थाले । श्रोता दर्शक र पाठकवाट बधाइ प्राप्त हुन थाले ।
शुरुवाती चरणका दुवै गीतहरु सवै किसिमले सफल रहे । आनन्द कार्की संगको भेट बढ्दै गैरहेको थियो । कैयन कार्यक्रमहरुमा संगै जाने पनि गर्दथ्यौं ।एक दिन गायक आनन्द कार्कीको फोन आयो "मुरलीधर नेपाल आउनु भएको छ भेट्ने कि" भनेर । आनन्द कार्कीको यो भनाइ सुनेर म छक्क परें । फोनमा कुरा गर्दै जादा "मुरलीधर नेपाल आउदा जहिले पनि केही गीत गाएरै जाने गर्नुहुन्छ यसपटक तपाइको शव्दमा समेत गीत गाउने चाहना गर्नु भएको छ" आनन्द कार्कीले बताउनु भयो । मुरलीधरसंग यसपूर्व मेरो कुनै चिनजान थिएन। एउटा सुप्रसिध्द कलाकार, गायक र संगीतकारको रुपमा मैले उहांलाई नचिन्ने कुरा भएन । समय मिलाएर मुरलीधरसंग भेट भयो । मैले आनन्द कार्की लाई दिएका गीतहरु मुरलीधरले आनन्द कार्की मार्फत मेरा अन्य गीतहरु हेर्नु भएको रहेछ हेर्दै जांदा शव्दहरु उहांलाइ मन परेको र नयां गीतकारको शव्दमा पनि गीत गाउं भन्ने चाहना राख्नु भएको रहेछ। फेरी समस्या रह्यो कुन गीत गाउने । जसरी हुनमानले बूटी खोजेर ल्याउ भन्दा पूरै पहाड ल्याएका थिए मैले पनि सोही गरें पूरै गीतिसंग्रह उहालाई थमाएं । मेरा गीत हेर्दै गाउनपो थाल्नु भयो । तैपनि पहिलो वसाइमै कुन गीत गाउने भन्ने निधो गर्न हामी दुवैलाई सजिलो थिएन । गीतिसंग्रह रुपी पहाडवाट कुन गीत छान्ने जिम्मा उहालाई नै दिइयो तर भित्र भित्र मेरो चाहना गीतिसंग्रहको मूल शीर्षक सिरेटोले छुदै छुन्न वोलको गीतमा गाइदिए हुन्थ्यो भन्ने चाहना रहेको उहांलाई बताएं ।केही दिन भित्र मुरलीधरले दुइ तीन वटा गीतको डमि तयार गर्नु भयो ।डमीहरुसवै राम्रा थिए । ती डमीहरुमध्ये मेरो विशेष अनुरोधमा सिरेटोले छुदै छुन्न वोलको गीत गाउने कुरा तय भयो । मेरो गीति संग्रहको नाम पनि यसै गीतवाट रहेकोले यो गीत मुरलीधर जस्तो लोकप्रिय संगीतकार र गायकले गाइदिनु पर्छ भन्ने मेरो भनाइमा उहां सहमत हुनुभयो । उक्त गीत साह्रै नै कर्णप्रिय बन्यो मुरलीधरले एउटा राम्रो गीत तयार गरिदिनु भयो । गीत सार्वजनिक भएपछि सकारात्मक प्रतिक्रियाहरु आउन थाले ।
यता संगीतकार डि वि लामा संग मेरो अन्तरंग सम्बन्ध स्थापित भैसकेको थियो । उहांको संगीत र उहां मार्फत भएको एरेन्ज तथा गीतलाई अतिनै सुमधुर बनाउने कला उहांसंग रहेको कुरा "अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला" वोलको गीतवाटै मैले थाहा पाइसकेको थिएं । अर्को गीत ल्याउन हामी दुवै सहमत भयौं ।मैले तीनवटा गीतको शव्द उहांलाई दिएं ।यसमध्ये "डाँडापारी घाम डुव्यो तिमी किन आएनौ, चराहरु बास वसिसके तिमी अझै आएनौ" वोल रहेको गीत अहिले ल्याउं भनी डमि समेत तयार गरि पठाउनु भयो । महिला स्वरको लागि तयार गरिएको सो गीत पुरुष स्वर त्यो पनि डमी अवस्थामै अति आकर्षक बनेको थियो । तर गायिका को राख्ने हामीले निधो गरेका थिएनौं ।केही गायिकाहरु वारे छलफल भयो अन्तत समीक्षा अधिकारीको स्वरमा "डाँडापारी घाम डुव्यो तिमी किन आएनौ, चराहरु बास वसिसके तिमी अझै आएनौ" वोल रहेको गीत ल्याउने निधोमा हामी पुग्यौं ।
गीतले एउटा विरह गाथा बोकेको थियो ।डि वि लामाले यहांपनि जादु चलाउनु भयो समीक्षा अधिकारीको कर्णप्रिय आवाजमा सुन्दर गीत तयार भयो ।अलंकार डिजिटलमा रेकर्ड भएको यो गीतमा समीक्षा अधिकारी र डि वि लामाको योगदान महत्वपूर्ण रह्यो । जव यो गीत सार्वजनिक भयो शव्द, संगीत र स्वरले धेरै प्रशंसा पायो ।
फेरी केही समय व्यतीत भैसकेको थियो । काम विशेषले डि वि लामा संग भेट हुदा अर्को गीत ल्याउने तयारी हामीले गर्यौ । नयां गायक गायिकाको स्वरमा गीत ल्याउने हामी दुवैको चाहना बमोजिम उपलब्ध धेरै विकल्पहरु मध्ये सुरेश लामा र दीपा लामाको स्वरमा यो मनको चाहना अल्झियो कसरी तिमीसँगै "हरपल तिम्रै कल्पनामा भुलायौ कसरी, तिम्रै समीपमा रहन मलाई मन हुन्छ यसरी, मन एउटै भएर होला दुई मुटु मिलेर होला" गीतको स्वरांकन भयो। डि वि को क्षमता यहां पनि अव्वल रह्यो गायक गायिकाको स्वर धेरै प्रशंसनीय रह्यो ।
लामो समय पेशाले प्रशासकको भूमिकामा रहदा प्रशासनका विविध अन्तरवस्तुहरुको परिवेशमै रहेर लेखक बन्ने अवसर प्राप्त भयो ।यी लेखहरु धेरैजसो अनलाइनमा प्रकाशित भएका छन् भने मुद्रित रुपमा पनि धेरै लेखहरु प्रकाशन गर्ने अवसर जुर्यो । श्रष्टाका लेख कविता वा अन्य कुनै रचनामा पाठकको शीघ्र पहुंच हुनु पर्दछ । यसैले मेरा अधिकांश लेख रचनाहरु सामजिक सञ्जालबाट सीधै पाठक समक्ष पुग्ने गर्दछ । पाठक श्रोता वा दर्शकसंग कायम भएको यो अन्तरंग सम्बन्ध अझ कसिलो बनाउन पाउंदा अति नै आनन्दको अनुभूति हुने गर्दछ । यसै सन्दर्भमा मेरो वारेमा यसरी समाचार पनि आएको थियो "उनका सवै सामाजिक सञ्जालहरु पुस्तकालय सरह छन् जहां धेरै जसो विषयका लेखहरु हेर्न र पढ्न सकिन्छ चाहेका विषयहरु खोज्न पनि सकिन्छ । आफ्ना लेखहरु सामाजिक सञ्जालमा राख्दा पाठकहरुले लेखमा सहज पहुंच प्राप्त गर्ने र सोही माध्यमवाट नियमित रुपमा पृष्ठपोषण पनि प्राप्त हुने कारणले उनी यसवाट रमाइलो अनुभव भैरहेको पनि वताउंछन्। धेरैले सन्दर्भ सामग्रीको रुपमा यी लेखहरुलाई प्रयोग गर्ने गरेको र यस्ता लेखको लागि आफ्नो सामाजिक सञ्जाललाई श्रोत वनाएको उनी वताउंछन् ।" गीत पनि यसरी नै श्रोता वा दर्शकसम्म पुग्नु आवश्यक हुन्छ । यो दायित्व पनि यसरी नै पूरा गरिरहने छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।