18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आनन्द आश्रममा आनन्द

नियात्रा रचना शर्मा. February 21, 2024, 8:04 am
रचना शर्मा.
रचना शर्मा.

आँपटारीदेखि मुग्लिनसम्म:
"हेल्लो बहिनी ! हामी टाँडीबाट आँपटाँडी आइसकिम् , तिमी आउनी कैले हो ?"


२०८० साल माघ २५ गते बिहीबारका दिन, साँझ ७:२५ मा विष्णुप्रसाद अपरिचित दाजुले मोबाइल मार्फत कल गरेर जानकारी दिनुभयो । यात्राको लागि तयार रहेकी म भान्जाबाबुको मोटरसाइकल चढेर ५ मिनेटमै नारायणगढबाट आँपटारी पुगें । त्यहाँ पुग्दा नारायण निर्भय दाजु र अपरिचित दाजुलाई मात्र देखेर सोधें, "खै त तुल्सी सर ?" अपरिचित दाजुले तुलसी पण्डित सरलाई तुरुन्त फोन गर्नु भयो । तुलसी सरले आउँदै छु भनेर जानकारी गराउनुभयो । चम्पानगरबाट मोटरसाइकलमा आउनुभएका तुलसी सर उक्त साधन क्षेत्रपुरस्थित आफन्तको घरमा राखेर लमक लमक पाइला चालेर १० मिनेट भित्रै आँपटारी प्रतीक्षालयमा आइपुग्नुभयो ।


सृष्टिकर्ता एउटी अनि विष्णु, नारायण र तुलसी ३ जना पालनकर्ताको साथमा मुग्लिनमा झर्ने भनेर ७:४५ मा पोखरा जाने गाडीमा चढ्यौं । चढेको एक घन्टा नपुग्दै गाडी रोकियो । "बिग्र्‍यो क्या हो यो बस ?" मेरो प्रश्न भुइँमा खस्न नपाउँदै निर्भय दाजुले भन्नुभयो, "के को बिग्रनु ?मुग्लिन आइसक्यो झर अब !"


८:४० मै मुग्लिन झर्यौं ।


"काठमाडौंमा भएका साथीहरू ८ या ८.३० भित्र हिँड्नुहुन्छ १२ या १२:३० भित्रमा पक्कै आउनुहुन्छ । २,३ घन्टा साहित्यिक गफगाफ गरौंला, भन्ने बित्तिकै गाडी नपाइन पनि सक्ला" भन्ने हिसाबले हामी घरबाट अलिकति छिटै हिँडेका थियौं। त्यसैले काठमाडौंबाट चढेका साथीहरू मुग्लिन नआउन्जेल एउटा होटलमा गएर बस्यौं। केही समय साहित्य सम्बन्धि रमाइलो गफ चल्यो । घरी चियाको चुस्की लिँदै, घरी सेल्फी खिच्दै, घरी तिनै फोटामा मुक्तक लेख्दै हामीले १२:०० बजायौं । हामी चढ्ने बस यतिबेला कहाँ आयो होला भन्ने सोचेर सम्पर्कको लागि दिइएको नंबरमा फोन लगायौं । त्यसका बाजे! १२:३० मा त काठमाडौंबाट आएको बस बल्ल मलेखुमा आएर खाना खान थालेको रहेछ । खाना खान पक्कै एक घन्टा लगाउँछन् भन्ने पक्कापक्की भयो, त्यसपछि फेरि चुपचाप प्रतीक्षातिर लागियो । प्रतीक्षाको घडीको सुई निकै ढिलो घुम्दो रहेछ । एक घन्टा बित्न पनि मोटे घन्टा सुईलाई करीब ३ घन्टा लागे झैँ लाग्थ्यो ।


कुरेर होटलमा बसिरहेको बेला होटलमा खाना खान आएका भैयाहरूबीच केही कुरा नमिलेर चर्काचर्की भएको थियो । अरु बेलामा यस्ता कुरामा चासो नदिने म त्यसबेलाको चर्काचर्की सुनेर पनि रमाइलो लागेको थियो । कुर्दाकुर्दै, लागेको निन्द्रा पनि भगाइदिएको थियो । तिनीहरूको हल्लाले केही क्षणको समयलाई सजिलै छिचोल्यो । जति समय कट्यो उति हावाको चिसो स्याँठले स्पर्श गर्दै थियो । प्रतीक्षा गर्न सकस भएपनि धैर्यको फल मीठो हुन्छ भन्ने सम्झँदै रातिको १:०, २:० अनि ३:० बजाइयो । बाटोमा आएका गाडीतिर नजर लगाइयो । "जुन जोगी आएपनि कानै चिरेका" भनेजस्तै भयो हामीलाई । टाढैबाट पिलिक पिलिक बत्ती बलेको गाडी देखेर "यो त हाम्रै गाडी होला" भन्थ्यौं, नजिक आएपछि खिन्न हुन्थ्यौं । अन्ततः ३:३० तिर उताबाट फोन आयो, "हेल्लो ! ल हामी पुलनिर आइपुग्यौं यतै आउनुहोस् ।"


हामीले प्रतीक्षा गरेको होटलबाट कटेर बस अलि परै पुगेछ। कसैले पुस्तकले भरिएको गह्रुङो कार्टुन बोकेर त कसैले आफ्नै गह्रुङो झोला बोकेर लुखुर लुखुर हिंडियो पुलको मुखसम्म ।
हाम्रा साहित्यिक साथीहरूलाई लिएर काठमाडौंबाट २ वटा बस हिंडेका थिए। जुन बसमा हाम्रो लागि भनेर सिट राखिएको थियो त्यो बस भने अझैसम्म आइपुगेको रहेनछ । फोन गर्दा बस बिग्रेर मर्मत हुँदैछ भन्ने खबर सुन्नमा आयो । रातभरीको प्रतीक्षाले हामी चारलाई अचार जस्तै अमिलो बनाइसकेको थियो । अझ आधाएक घन्टा फेरि कुर्नु पर्ने भयो । रोकिएको बसमा कोही चिनेका साथीहरू हुनुहुन्छ कि भनेर सुटुक्क हेरें । डा. पुष्करराज भट्ट लगायत धेरैजना घ्वार् घ्वार् घुरिरहनु भएको थियो । त्यो बसमा रहनुभएका २,३ जनालाई मात्र चिन्न सकें । अँध्यारो भएकोले धेरैलाई चिन्न सकिन।


केहीछिनको प्रतीक्षापछि मर्मत भएर हाम्रो लागि सिट राखिदिएको बस आइपुग्यो । हामी चारैजना स्याङ्जा प्रस्थानको लागि काठमाडौंबाट आएको बसमा पालैपालो चढ्न थाल्यौं । सधैं फेसबुकमा मात्र देखिएका स्रस्टाहरू अब प्रत्यक्ष देख्न पाउनेभएँ भन्ने कुराले मलाई भित्रभित्र खुब रमाइलो लागिरहेको थियो । निधार छोपिनेगरी टोपी र नाक, मुख अनि गाला छोपिनेगरी मास्क लगाएकि मलाई कसैले नचिन्नेगरी बसभित्र छिरें। "तपाईं रचना शर्मा ! मास्क खोले हुन्छ आँखाले मात्र पनि चिन्छौं हामी ।" रमेश सुवेदी सरको यो आवाजले प्रसन्न भएँ तैपनि चुपचाप रहें । यो रचना नै होइन भन्ने पार्न केही बोलिन । अगाडि खालीसिट छ कि भनेर हेरें , बमिट हुने भएकोले सम्बन्धित व्यक्तिलाई एउटा अगाडिको सिट मेरोलागि राख्दिन भनेकी थिएँ तर खाली नदेखेपछि लास्टै सिटतिर भएपनि लागें। चितवनका चारैजना अन्तिम सिटतिर गएर बस्यौं। २५ गते बेलुका ८:४० देखि प्रतीक्षामा बसेका हामी २६ गते बिहान ४:४५ मा बल्ल मुग्लिनलाई बाई बाई गरेर अगाडि बढ्यौं ।


मुग्लिनदेखि पोखरा हुँदै आनन्द आश्रमको दर्शन


मुग्लिनबाट पोखरातर्फ जानलाई बस गुडेको मात्र के थियो बाटो धेरै बिग्रेको हुनाले अनि लास्ट सिटमा भएको हुनाले गाडी भन्दा बढी म उफ्रीन पुगें । सायद पेटमा अलिअलि मुसा दौडिएकोले पनि होला आन्द्राभुँडीसँग मुसाको कुस्ती चलिरहेको थियो। मुखबाटै आन्द्राभुँडी निस्किने हो कि जस्तो गरेर बसले उफारेकोले घरीघरी पेटलाई हातले थिचेर बसें । गाडी गुडेपछि एकछिन भएपनि निदाउँला भनेको निद नै हराम पारिदियो उफारेर ।


केही छिनपछि बस तुरतुरे भन्ने ठाउँमा एउटा होटल अगाडि रोक्यो । एकएक गर्दै प्राय सबैजना ओर्लियौं । दुईटै बसबाट ओर्लिएका साथीहरूसँग एकछिनका लागि एकै ठाउँमा भेट भैयो । एकआपसमा खुसी व्यक्त गर्दै चिया पिउन थालियो। फेसबुकमा मात्र चिनेको, यसरी पहिलोचोटि प्रत्यक्ष भेट हुन पाउँदा निकै रमाइलो लाग्यो । यतिबेला साथीहरूसँगको भेटघाट र चिनापर्चीले मुग्लिनमा खेपेको प्रतीक्षाको नैरास्यतालाई पलभरमै गायब बनाइदियो । सबैभन्दा खुसी मधुसूदनप्रसाद घिमिले सर हुनुभयो । उमेरले बुवाभन्दा पाका व्यक्ति मधुसूदन सरले मलाई "हाम्री बुढीआमा आउनु भो, बुढीआमाको दर्शन गर्न पाइयो" भनेर निकै प्रसन्न हुनुभयो । हरेक साहित्यिक स्रस्टाहरूको प्रेमिलपनाले कठ्याङ्रिदै गएको चिसो बिहानीमा पनि न्यानो अनुभूत गराएको थियो। चिया पिएपछि हामीहरू बसभित्र आयौं ।"अब बस पोखरामा शुभ शर्माको लागि रोकिन्छ।" भनेर शेखरकुमार श्रेष्ठ सरले जानकारी गराउनुभयो। अहिलेभने म पछिल्लो सिटमा नबसी श्रीओम श्रेष्ठ रोदन सर र अश्विनी कोइराला सरको नजिकै अगाडितिरै एउटा सामानको कार्टुनमाथि बसें ।


लगभग ९ बजे हामीहरू चढेको बस पोखरामा शुभ शर्माको पसल अगाडि रोकियो , अर्को बस भने नरोकिकनै स्याङ्जातर्फ लागेछ।


फेसबुकमा मात्र देखिनुभएकी साहित्यकार शुभ शर्मालाई पोखरामा पहिलोचोटि प्रत्यक्ष भेट्न पाउँदा निकै खुसी लाग्यो । हाम्रो स्वागतको लागि ठूलो भाँडामा चिया बनाइरहनुभएको रहेछ। सबैले चियाको चुस्की लिँदै, रमाउँदै, फोटो खिच्दै केही समय बितायौं । १०:० बजिसकेकोले अबको हाम्रो यात्रा सिधै फापरथुम, स्याङ्जा, आनन्द आश्रमको थियो । अब भने मलाई सामान राखेको कुनै कार्टुनमाथी बस्न परेन न त लास्टको सिटमा नै । सत्या अधिकारी मेडम र शान्ता तिम्सिना मेडमको काखमा पालैपालो बसेर आँधिखोलाको गीत जुराउँदै आनन्द आश्रमतिर मोडियौं । हामी गन्तब्यतिर मोडियौं । आनन्द आश्रममा नपुग्दै त्यहाँको वातावरणले हामीलाई सुवास छरेर स्वागत गरिरहेको थियो। करिब मध्याह्न ११:३० तिर हामीहरू फेदिखोला हुँदै आँधिखोला, फापरथुममा पुग्यौं। बाटो साँघुरो भएकोले बस छिर्न सकेन अनि रमाउँदै अलिकति पैदल हिँडेर आनन्द आश्रममा रहेको स्वागत गेट छिचोल्दै, गुरु आनन्दमणिको शालिकको दर्शन गरि आश्रम भवनको आँगनमा भेला भयौं । त्यहाँ हामीहरू भन्दा अगाडि नै बुटवल, भैरहवा, पाल्पा, तनहुँ, स्याङ्जा, बैतडी, इलाम, झापा लगायत विभिन्न स्थानबाट पाल्नुभएका साहित्यिक स्रस्टाहरूको जमघट भैरहेको थियो । सबैलाई देख्न पाउँदा मेरो खुसीले सीमा नाघेको थियो । वरिपरि आँखा डुलाउँदै थिएँ, त्रिलोचन सरमा मेरा लोचनले दृष्टि पुर्याए। अडिन सकिन, खुरुर्र दौडिएर उहाँको दिव्य शरीरसँग साक्षात्कार भएँ । नेपालभरिका यति धेरै साहित्यकारहरूलाई एकैपटक निम्तो दिएर जुटाउने आँट गर्नुभएका आँटिला शिखर पुरुषसँगको दिव्य दर्शन मेरा लागि चानचुने कुरै थिएन । हामीहरू धन्य भएका थियौं ।


एकातिर आनन्द आश्रमको हलभित्र काव्य गोष्ठी शुरु हुँदै थियो भने अर्कोतिर खानाको व्यवस्थापन हुँदै थियो । भोकाएका हामीहरू झोलाको भारी आश्रममा बिसाएर पेटपूजातिर लाग्यौं । खाना खाए लगत्तै हामीहरू काव्य गोष्ठीतिर सहभागी हुन आश्रम हलभित्र प्रवेश गर्यौं ।


व्यक्ति व्यक्ति सृजनाकार, घर घर साहित्यकार
अन्तरहृदयलाई नै छुन सफल यो नारा आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानद्वारा आयोजित आनन्द आश्रम ज्ञान केन्द्रको सभाहलमा ठूल्ठूला अक्षरमा लेखिएको थियो । यही नाराले मलाई एकछिन मौन बनाएको थियो।


गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यमा आश्रमभित्र विभिन्न कार्यक्रमहरू सम्पन्न भए।


कार्यक्रमको शुभारम्भ सँगसँगै पूर्व कृषि मन्त्री रहनु भएका साहित्यकार त्रिलोचन ढकालद्वारा लिखित लघुकथा 'पेच' एवम् साहित्यकार प्रेमराज लुइँटेल तथा डा. सुस्मिता ढकालद्वारा सम्पादित 'आनन्द आश्रम' पुस्तकको विमोचन तथा सार्वजनीकरण गरेर उद्घाटन सत्र सम्पन्न भयो । यसपछि म घरी ग्रुप फोटो खिच्न, घरी ससाना भिडियो क्लिप खिच्नतिर लागें ।


वातावरण मनमोहक थियो । एकैठाउँ रहन मेरो चञ्चल मनले पटक्कै दिएन । कार्यक्रमका विचविचमा सुटुक्क सुटुक्क यता र उता डुलिरहन मन लाग्यो । प्रा. डा कपिल लामिछाने, खगेन्द्र बस्याल, कल्याण पन्त, श्रीओम श्रेष्ठ रोदन, अश्विनी कोइराला, दीपक लोहनी, रामकुमार पण्डित, शिव खनाल, इन्दिरा देवकोटा, लगायत धेरै आत्मीय मनहरूसँग छिनछिनमा भलाकुसारी गर्ने मौका पनि पाइयो।


केही क्षणपछि आश्रम कविमय बन्न पुग्यो। काव्यगाेष्ठीमा कविताको सिर्जना सम्बन्धी कार्यपत्रका साथै ७० भन्दा बढी कविहरूले आफ्ना कविता वाचन गर्नुभयो। अन्य सांस्कृतिक कार्यक्रमहरू , स्वागत गान आदि पनि यथावत नै थिए, हामी फेरि भोजन कक्षतिर लाग्यौं। भोजन पश्चात पहिलो दिन अर्थात् २६ गतेको कार्यक्रमलाई बिट मार्दै राती ११:० बजेतिर हामीहरू आआफ्नो नाम लेखाएर ५,६ जनाको समूह बनाइ किसानका घरतिर सुत्न गयौं । हाम्रो ग्रुपमा भने शुभ शर्मा, एन्जल निलु र म गरेर ३ जना थियौं । बसमा आउँदाको अनिन्द्रा, हल्का थकाइले होला सायद बिस्ताराको स्पर्श हुनेबित्तिकै निन्द्रादेवीले छम्छमाउन आइन् र आँखा टालिदिइन् ।


सतौंकोट मन्दिर अवलोकन एवम् लघुकथा गोष्ठी
५:० बजे ब्युँझदा २७ गतेको शुभविहानी भैसकेको थियो । म उठेको थाहा पाएर एन्जल निलु पनि उठ्नुभयो । हामी दुइटी हातमुख धोएर तयार भएर आउँदा पनि शुभ शर्मा उठ्नुभएको थिएन । "उठ्ने बेला भएन र अझै ? हामीभन्दा छिटो सुत्ने, रातभरि घुरेर हाम्लाई डिस्टब गर्ने अनि अझैसम्म नउठ्ने !" मैले हाँसो गर्दै भनें।


"घुरिथें र ? भन्नुपर्दैन त मलाई? म त थाहै पाइन !" भन्दै उहाँ उठ्नुभयो । "ट्वालेट कता छ ?, कस्तो छ?" भनेर सोध्नुभयो । मैले हाँस्दै वास्तविकता बताउँदै भनें, "अँध्यारै छ बाहिर । टर्च बाल्नलाई मोबाइल लिएर जानुस् अनि टर्च अफ गरेर डोरी तानेर बस्नुस् !" यो सुनेर सबैलाई हाँसो लाग्यो । हाँस्नु स्वास्थ्यको लागि लाभदायी पनि थियो, बिहान बिहानै खुब हाँसियो । उहाँ पनि एकैछिनमा हातमुख धोइ फ्रेस भएर आउनुभयो । बास बसेको घरकी दिदीले ३ जनाको लागि कफि बनाएर ल्याउनुभयो । स्वादिलो कफि पिएर बाहिर निस्किन लाग्दा दुईचार ओटा तस्वीर खिच्न थाल्यौं । माथी तलामा चढ्नको लागि एउटा त्यहाँ एउटा चिटिक्क परेको लिस्नो ठड्याएको देखें र सोधें, "यो लिस्नो किन राख्नुभएको नि ? माथी जाने तला त देखिन्न नि?"


घरकि दिदीले सिलिङतिर देखाउँदै भन्नू भो, "छ नि ! यो ढोका खोलेपछि माथी जान मिल्छ ।" यसरी सिलिङको ढोका खोलेपछि माथी जाने मिल्ने कुरा सुन्दा मलाई रमाइलो लाग्यो। उक्त लिस्नो चढेको एउटा फोटो खिच्न निलुलाई अह्राएँ । ३ खुट्किलो माथी चढ्दैथिएँ, यतिबेला सम्म हाम्रा गफ सुनिरहेकी त्यस घरकी अपांग नानीले ठूलो स्वर गरेर भनिन् ,"उत्तौली !" उनको निर्दोष आवाज निकै मीठो लाग्यो र सबैजनाले हाँसोको मुस्लो छोड्यौं ।


"हत्तेरिका म त साँच्चै नै उत्ताउली देखिएँ की क्या हो !" भन्दै लिस्नोबाट झरें । आश्रमतिर लाग्ने बेला भएकोले हिंड्ने बेलामा ती नानी, उनकी आमा र हामीहरू बसेर एउटा ग्रुप फोटो खिच्यौं । नानीलाई केही चक्लेट दिएर हामी बासस्थानबाट बिदा भएर आनन्द आश्रमतिर लाग्यौं।


नास्ता खाइओरी ७:३० तिर हामी ऐतिहासिक महत्त्व बोकेको सताैंकाेटकाे मन्दिर प्रस्थानको लागि गाडीमा बस्यौं । प्रकृतिको रमणीय वातावरणसँग लुकामारी खेल्दै हामीहरू गन्तव्य स्थलको फेदीमा पुग्यौं । "श्री सतौं चण्डीकालिका पशुपतिनाथ"को प्रवेशद्वारमा उभिएर फोटाहरू खिच्दै मुख्य मन्दिर दर्शनको लागि अलिकति उकालो लाग्यौं । "ए बुढी आमै! खै त लठ्ठी ?" मधुसूदन सरले उकालोमा हस्याङ फस्याङ गर्दै हिंडेको देखेर जिस्काउँदै भन्नुभयो । म पनि ठट्टैठट्टामा एक किसानको घर अगाडि तेर्स्याएर राखेको लठ्ठी थुतें र टेक्दैटेक्दै हिँडेँ। अलिकती उकालो भएपनि रमाउँदै हिँडेकाले थकाइको महसुस मलाई कत्तिपनि भएन । केहीछिनमै सतौंकोट मन्दिर पुगियो । माथीबाट उभिएर तल नियाल्दा सत्या अधिकारी मेडम, शुभ शर्मा मेडम, श्रीओम सर, कपिल सरहरू लगायत अरु थुप्रैजना लुखुर लुखुर उकालो चढेर माथी आउँदै गरेको देखियो । छिटोछिटो आउने हामीहरू भने आराम गरेर थकाइ मारिसकेका थियौं । सतौंकोटबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमालको अवलोकन गर्दै, विभिन्न तस्वीर र भिडियोहरू खिच्दै पुनः आनद आश्रममा फर्कियौं।


आनद आश्रममा आउनासाथ दोस्रो दिनको महत्त्वपूर्ण कार्यक्रम 'लघुकथा गोष्ठी' शुरु हुन थाल्यो । यस कार्यक्रममा सभाध्यक्ष जस्तो गरिमामय भुमिका बहन गर्ने अवसर दिनुभएकोमा आयोजक त्रिलोचन सरप्रति अत्यन्तै आभारी भएँ ।


लघुकथा सम्बन्धी कार्यपत्रका साथै ४० भन्दा बढी लघुकथा वाचन गरेर । लघुकथा गोष्ठी सम्पन्न भयो। त्यसपछि लगत्तै साहित्यिक सांस्कृतिक बहस पनि सम्पन्न भयो । सम्मेलनको अन्त्यमा सम्मानित व्यक्तिहरूलाई आनन्दमणि टुल्की नन्दकला स्मृति पुरस्कार पनि प्रदान गरियो । यसरी नेपालभित्रका सबै प्रदेश गरेर दुई सयभन्दा बढी साहित्यकारहरूको बृहत एवम् बौद्धिक सम्मेलन निकै भव्य, सभ्य र ऐतिहासिक बनेको महशुस गरियो। लगभग ११:३० मा सबै कार्यक्रमहरू समाप्त भयो । त्यसपछि सबैजना आनन्द आश्रमबाट बिदाबादी भएर घर फर्क अभियानमा जुटियो ।


यसरी समग्रमा भन्नुपर्दा पण्डित आनन्दमणि टुल्की - नन्दकला स्मृति प्रतिष्ठान एवम् आनन्द आश्रम ज्ञान केन्द्रका कुशल व्यस्थापक , भूतपूर्व कृषिमन्त्री एवम् वरिष्ठ साहित्यकार त्रिलोचन ढकाल ज्युले गर्नुभएको यो सम्मेलन म लगायत सबैका लागि निकै अर्थपूर्ण रह्यो ।

चितवन, नारायणगढ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।