17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पुस्तक समीक्षा र असमका डम्बर दाहाल

कृति/समीक्षा नवीन पौड्याल February 15, 2024, 11:51 pm
नवीन पौड्याल
नवीन पौड्याल

१. विषय प्रवेश-
साहित्य लेखन र अध्ययन प्रक्रिया अझै तीब्र रूपमा बढिरहेको छ। यसका नयाँ नयाँ शिल्प प्रविधि अघि बढिरहेका छन्। साहित्य लेखनको मूल आधार कल्पना, समाज सुधारको चाहना, सकारात्मक परिवर्तनप्रति आकांक्षा, रचनात्मक शिल्पप्रति, सौन्दर्य चेतना आदि हुन्। लेखकमा भएको ज्ञान, जीवन अनुभव, बुद्धि विलास, तार्किकता, अभिमत, विचार आदिलाई आफ्नो लेखनमा हालेको हुन्छ। उपर्युल्लिखित काँचा वस्तुहरूलाई लेखकभित्र भएको सौन्दर्य चेतनासँग मिलाएर प्रस्तुत गर्दा सिर्जनात्मक कृति बन्दछ। साहित्यमा लालित्यमय शब्दको चयन गरिएको हुन्छ भने अर्थ पनि विशिष्ट हुन्छ। सिर्जनात्मक साहित्यलाई आलोकित पार्ने, पाठकलाई राम्रो परिचय दिने, यसका गुण दोष केलाउने, सौन्दर्य चेतना देखाउने आदि काम समालोचनाले गर्दछ।
२. पुस्तक समीक्षा-
समालोचनाका विभिन्न शाखा उपशाखाहरू फैलिँदो अवस्थामा छ। समालोचनाका केही रूप देखा पर्दछन्। समालोचनाको कोटीमा पर्ने एउटा ठुलो फाँट हो पुस्तक समीक्षा हो। पुस्तक समीक्षा पनि मूलतः दुई किसिमका हुन्छन् एउटा हो कुनै शोधकार्यका क्रममा आउने पुस्तक समीक्षा र अर्को हुन्छ सामान्य पुस्तकबारे समीक्षा। कुनै पनि पुस्तक पढेर त्यसबाट उब्जेका प्रतिक्रिया र प्रभाव। यस्तोमा कुनै एउटा पुस्तकको समग्र रूपमा छानबीन गरिन्छ। समीक्षकले पाठकलाई पुस्तकबारे परिचय दिँदछ। पुस्तकको लेखक, वस्तु, शिल्प, शैली, प्रकाशन स्तर आदि कुरामा प्रकाश पार्दछ। यसका साथै समीक्षकले समग्र रूपमा पुस्तकको आलोचनात्मक मूल्याङ्कन गर्दछ। यसले पुस्तकलाई विभिन्न कोणबाट हेरर त्यसको निचोडमूलक जानकारी प्रस्तुत गर्दछ। समीक्षक डा. देवी नेपालका अनुसार पुस्तकका तीन प्रयोजन हुन्छन्- लेखन सूचना, व्यापारिक र पठन संस्कृतिको विकास। यसका चारवटा अङ्ग हुन्छन्- सहयोगी प्रसङ्ग, सारांश लेखन, आलोचनात्मक विश्लेषण र निष्कर्ष लेखन। (देवी नेपाल, लेखन शिल्प, पृष्ठ)। यसमा सम्बन्धित लेखकका कृतिहरू पढेर तिनबारे पाठक प्रतिक्रियाका रूपमा लेखिएको पाइन्छ। यसरी समीक्षाका क्रममा कृति आफैंको स्तर र विचारअनुसारको व्याख्या विश्लेषण र मूल्याङ्कन गरिन्छ। अधिकांश रूपमा आफुले चिनेजानेका लेखकका कृतिको समीक्षा गरिन्छ। यद्यपि लेखक जोसुकै भए पनि आफुलाई अधिक सम्प्रेषण भएको कृतिको समीक्षा गरिन्छ। जुन कृति पढ्दा आफुलाई त्यसभित्रको वस्तु र शिल्प आकर्षक लागे समीक्षकको चेतनाले समालोचना-समीक्षा स्वतः लेख्न लगाउँछ। कृति पढेर त्यसका गुण दोष केलाउने, प्रभाव, प्रवृत्ति निर्धारण, मूल्याङ्कन, विश्लेषण, समीक्षण आदिको लेखाजोखा गर्दछ।
नेपाली साहित्यको सन्दर्भमा हेर्दा अहिलेको समयमा चारैतिरबाट पुस्तकहरू प्रकाशनको क्रम बढ्दो छ। नेपाल भारत, अन्य देशतिरबाट निरन्तर पुस्तक प्रकाशन बढ्दो छ। एकापट्टि पुस्तक प्रकाशन बढ्दो छ भने अर्कापट्टि पुस्तक पठन संस्कृतिको खस्किँदो अवस्था छ। सिर्जनात्मक साहित्यका केही पठन कायम रहेको छ। कथा, उपन्यास र कविताका पुस्तक केही मात्रामा अझैसम्म बिक्री भैरहेका छन् तर समालोचनात्मक पुस्तक आम पाठकले किन्ने गर्दैनन्। पुस्तकको सम्यक् समीक्षा, पाठक प्रतिक्रिया, निरूपण, विश्लेषण गरिनु आवश्यकता पर्दछ। पुस्तकको गुण पक्ष र दोष पक्ष पनि अङ्कन गर्नु आवश्यक्ता छ।
अब पुस्तक समीक्षाका रूपमा नै समालोचना झ्याँगिएको लाग्छ। अहिले सैद्धान्तिकभन्दा बढी पुस्तकीय समीक्षाले बढी स्थान लिएको पाइन्छ। चारैतिरबाट प्रकाशित साहित्यिक पुस्तकहरूको निरूपण र समीक्षाहरू प्रकाशित हुन्छन्। पुस्तकको लोकार्पण, समाचारपत्र, साहित्यिक पत्रिका, अनलाईन पत्रिका आदिमा यस किसिमका समीक्षाहरू देख्न पाइन्छन्। यद्यपि पुस्तक समीक्षाले समालोचनालाई कतिको धान्न सक्छ, त्यो हेर्नुपर्ने देखिन्छ। समालोचनाको सम्यक् पक्षलाई पुस्तकीय समीक्षाले पूरा गर्न सक्छ वा सक्दैन त्यो समीक्षकको अध्ययन, मनन र दृष्टिकोणमा निर्भर हुन्छ। पुस्तकीय समीक्षाका नाममा हल्का-फुल्का, सतही, पुस्तकले भन्न चाहेको आशयभन्दा भिन्दै किसिमको अर्थ दिने प्रयास, अपव्याख्या-अल्पव्याख्या, व्याख्याताको व्यक्तिगत रूचि र मतको पक्ष लिएको आदि समस्या देखा पर्दछन्। यस्ता कमजोरीहरूबाट पुस्तकको सही समीक्षा भएको हुँदैन। कृति समीक्षाका नाममा कृतिकारबारे समीक्षकको व्यक्तिगत पूर्वाग्रह, दुराग्रह आदिले पनि प्रभावित हुन सक्छ।
३. डम्बर दाहाल एक परिचय-
नेपाली साहित्यमा डम्बर दाहालको नाम पनि अङ्कित भइसकेको छ। डम्बर दाहालको जन्म १५ जनवरी, १९५८ मा कागे बस्ती कालिम्पोङमा भएको हो। उनका बाबुआमाको नाम छविलाल दाहाल र चन्द्रमाया दाहाल हो। जन्म कालिम्पोङमा भए पनि उनको जीवनको अधिकांश भाग असमस्थित कार्वी आङ्लाङ, हवाइपुरमा बिताउँदैछन्। उनी एक कवि, कथाकार, निबन्धकार र एक कुशल अनुवादक हुन्। हालसम्म उनका सोह्रवटा मौलिक पुस्तक प्रकाशन भइसकेका छन्। उनका ‘आविष्कार’ (लघुकथासङ्ग्रह, १९८६), ‘यात्राक्रममा’ (कथासङ्ग्रह, २००८), ‘हाम्रा केही मार्गदर्शकहरू’ (निबन्ध सङ्ग्रह, २००८), ‘उकुस-मुकुस’ (२००९), ‘अतीतका पाइलाहरू’ (कवितासङ्ग्रह, २०१२), ‘निबन्ध सम्भार’ (निबन्धसङ्ग्रह, २०१३), ‘विगत तीन वर्षलाई फर्केर हेर्दा’ (निबन्ध, २०१६), ‘शुभेच्छा सम्भार’ (२०१६), ‘स्मृति प्रवाह’ (२०१८, संस्मरण), ‘निबन्ध पुष्प (२०२१)’, ‘सिर्जना सन्दर्भ (२०२१)’, ‘व्यक्ति सान्निध्य’ (अन्तर्वार्ता, २०२१), ‘स्मृतिप्रवाह-२’ (संस्मरण, (२०२१)), ‘हाइकु प्रवाह’ (हाइकुकवितासङ्ग्रह, २०२१), ‘मनका पाहुना’ (युग्मक कवितासङ्ग्रह, २०२१), ‘गाउँदै जाऔं सिक्दै जाऔं’ (बालसाहित्य, २०२१) प्रमुख देखिन्छन्। यसै गरी उनका अनूदित कृतिहरूमा ‘वीरभद्र कार्कीढोलीर निर्वाचित कविता’ (असमीय अनुवाद, २००९), ‘भानुभक्त नेपाली संस्कृति आरू अन्यान्य’ (असमीय निबन्धसङ्ग्रह, २००९), ‘बाहुनीचरी’ (असमियबाट अनूदित कवितासङ्ग्रह, २०१९), ‘अस्तित्वर समय का चयनित कविता’ (कवितासङ्ग्रह, २०२१)। यीबाहेक उनका लेखादि असमतिर विभिन्न पत्रिकामा देखा पर्छन्। उनीद्वारा सम्पादित केही पत्रिका पुस्तकहरूमा हाम्रो आँट (साहित्यिक पत्रिका १.११ अङ्कसम्म), हस्ताक्षर (कवितासङ्ग्रह, २००४), स्मृतिग्रन्थ (१९८८), चारचिम (असमिय स्मृति ग्रन्थ), माध्यमिक नेपाली साहित्य-भाग १ (दशौं श्रेणीको पाठ्यपुस्तक), माध्यमिक नेपाली साहित्य भाग-२, सभा संवाद (अनेसासको बुलेटिन ९ अङ्कसम्म), सभा पत्रिका, नेपाली साहित्य सुधा भाग १ र भाग २, नवौं र दशौमा श्रेणीको पाठ्यपुस्तक)। यसबाहेक डम्बर दाहाल एक कुशल साहित्य- सङ्गठक, कर्मठ सदस्य, चिन्तक हुन्। असमका दुई अलग अलग साहित्यिक सङ्गठन नेपाली साहित्य परिषद र नेपाली साहित्य सभालाई एकीकरण गरेर असम नेपाली साहित्य सभा गठन गरी त्यसका प्रथम सभापति भएका हुन्।
२०२१ मा डम्बर दाहालका एकैदिनमा आठवटा पुस्तक लोकार्पित भए। असमको नेपाली साहित्यका सन्दर्भमा यो प्रथम सुअवसर हुनुपर्छ। दार्जिलिङमा भने डा. जीवन नामदुङका एकैचोटि चौधवटा पुस्तक लोकार्फण गरिएको रेकर्ड रहेको छ। असमका डम्बर दाहाल पनि एक जाँगरिला लेखक हुन्। उनी कहिले स्मृति-संस्मरण लिएर, कहिले फुटकर, हाइकु कविता लिएर, कहिलो निबन्ध लिएर, कहिले कथा लिएर साहित्य देखा परिरहेका छन्। अझ असमको दक्षिणी खण्डका एक प्रतिनिधि नेपाली साहित्यकार र एक संरक्षकका रूपमा परिचित छन्। फेसबुकमा आफ्ना संस्मरणहरूलाई पस्कँदै आएका छन् र तिनलाई दुई खण्डमा पुस्तकका रूपमा प्रकाशित गरिसकेका छन्। साहित्यिक चर्या परिचर्चा, गर्नु, नेपाली साहित्यलाई सांगठनिक रूपमा उत्थान गर्नु, पुस्तक अध्ययन गर्नु, तिनको चर्चा गर्नु आदि नित्य कार्यका रूपमा राखेका छन्। उनले असमेली भित्री समाजका समस्या, मानसिकता र परिवेश देखे-भोगेका र बुझेका छन्। तिनलाई कलात्मक स्वर दिएर नेपाली साहित्यलाई प्रज्ज्वलित पारेका छन्।
४. समीक्षकका रूपमा डम्बर दाहाल-
डम्बर दाहाल एक समीक्षकका रूपमा पनि देखिन्छन्। उनका समीक्षाहरू कुनै पुस्तक समीक्षाका रूपमा, कुनै साहित्यिक सर्वेक्षण, कुनै साहित्येतिहासपरक समीक्षा, कुनै साहित्यिक जीवनीमूलक समीक्षा, कुनै प्रवृत्तिपरक समीक्षा प्रकाशित छन्। समीक्षाको क्रममा उनका निबन्ध सम्भार, व्यक्ति सानिध्य, सिर्जना सन्दर्भ आदि जस्ता पुस्तकहरू समीक्षामूलक रहेका छन्। उनी एक पुस्तक अध्येता हुन्। कुनै कृति पढेर त्यसबारे उब्जेका विभिन्न पक्ष र प्रवृत्तिलाई उनले समीक्षण गर्दछन्। उनी विशेषगरी असमतिरबाट प्रकाशित नेपाली पुस्तकको समीक्षा गर्दछन्। असममा नमनेपाली समालोचनाको केही खटकिँदा अवस्थाले सिर्जना भएको उनको हुट्हुटी, राम्रा राम्रा कृति ओझेलमा परेको अवस्था, लेखकको आग्रह आदि देखेर उनले समीक्षामा हात हालेका हुन्। उनका केही पुस्तकमा धेरै नेपाली कृति समीक्षित भएको पाइन्छ।
उनको निबन्ध सम्भार निबन्धङ्ग्रहभित्र रहेका केही लेखहरू समीक्षापरक छन् भने उनको सिर्जना सन्दर्भ पुस्तक समीक्षात्मक पुस्तक प्रकाशित भएको पाइन्छ। ‘सिर्जनामा बाँचिरहेका पूर्वाञ्चलका दिवङ्गत कविहरू’, ‘गोविन्द शान्डिल्यको फूल-फिलिङ्गाहरू सित रम्दै’, ‘बद्रीप्रसाद पाण्डेयको हो वैचारिक क्रान्ति चाहिन्छ’, ‘गोर्खाल्याण्ड ल्याउन हतारिएको एउटा खण्डकाव्य’, ‘नेपाली संस्कृति सुधा अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सुफल’, ‘छविलाल उपाध्यायको भाषा कविता’, ‘तेजपुरेली तीन कवियत्री-का काव्यकृति पढ्दा,’ ‘विष्णु शर्माको स्नेह तीर्थ दर्शन गर्दा’, ‘विचित्रकै कवि हुन् कवि विचन्द्र,’ ‘भानु पत्रिकाको कवि हरिभक्त कटुवाल विशेषाङ्क’, ‘मेरो प्रिय उपन्यास शरणार्थी’, ‘ममताको लकडाउन लाई छेउबाट चिहाउँदा’, ‘सम्झनालाई सम्झेर ल्याउँदा’, ‘नरबहादुर छेत्रीका सदिच्छाका हरफहरू’। यस सूचिबाट हेरदा उनले असम, दार्जिलिङ, नेपालका केही कृतिका समीक्षा गरेका छन्।
उनको ‘निबन्ध सम्भार’ (२०१३) पुस्तकमा केही समीक्षापरक लेखहरू पनि समावेश छन्। यसमा ‘तसलीमा नसरिनको ‘लज्जा’ उपन्यास’, ‘कृष्ण धरावासीको ‘शरणार्थी’ उपन्यास’, ‘असमेली नेपाली लेखकहरूको लहलहाउँदो अनुवाद खेती’ लेखमा भन्ने लेखमा भारतका अन्य प्रान्तमा भन्दा असममा अनुवाद कला सबैभन्दा बढी उर्वर रहेको तथ्य प्रस्तुत गरेका छन्। यस लेखमा अविभक्त असमबाट अनूदित नेपाली र अन्य कृतिहरूको लामो सूची नै प्रस्तुत गरेका छन्। त्यसै गरी डा. वीरेन्द्रकुमार भट्टाचार्यको असमीय उपन्यास ‘मृत्युञ्जय’ मा नेपाली जनजीवन पनि प्रतिबिम्बित भएको कुरामाथि केन्द्रित रही समीक्षा गरिएको छ। ‘लज्जा’ उपन्यासमा मुस्लिम धर्मको विरोध नभएर वास्तविकता दर्साइ मानवतावादी धारणा व्यक्त गरिएको हो भन्ने आशय रहेको छ। लज्जा उपन्यासको कथावस्तुबारे संक्षिप्तमा भए पनि प्रकाश पारिएको छ। यसका साथै ‘एक शरणार्थी यात्रा’ भन्ने लेखमा कृष्ण धरावासीको ‘शरणार्थी’ उपन्यासको पनि परिचयात्मक टिप्पणी लेखेका छन्। यसमा भएको वास्तविक पात्रको रचनाविधानले पाठकका निम्ति अनौठो लाग्छ। एउटा जिउँदो पात्र हरि खनालले मेरो कथा लेखिदियो भनेर लेखकलाई पैसासमेत माग्न आएको प्रसङ्ग ल्याइएको छ। यसका साथै केही समीक्षकहरूको शरणार्थी उपन्यासबारे समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका छन्।
असमेली नेपाली लेखकहरूको लहलहाउँदो अनुवाद खेती भन्ने लेखमा भारतका अन्य प्रान्तमा भन्दा असममा अनुवाद कला सबैभन्दा बढी उर्वर रहेको तथ्य प्रस्तुत गरेका छन्। यस लेखमा अविभक्त असमबाट अनूदित नेपाली र अन्य कृतिहरूको लामो सूची नै प्रस्तुत गरेका छन्। असमका उत्कृष्ट असमीय कृतिहरू नेपालीमा अनुवाद र नेपालीका उत्कृष्ठ कृतिहरू असमीयमा अनुवाद गर्न त्यहाँका लेखकहरू अग्रसर देखिन्छन् । आजसम्म साहित्य एकाडमी, नयाँ दिल्लीबाट नेपाली अनुवाद साहित्यको निम्ति असमका साहित्यकारहरूले सबैभन्दा बढी मात्रामा पुरस्कार पाएका छन्। लेखकले असमका साहित्यकारहरूको अनुवाद कार्यको लेखाजोखा र मूल्याङ्कन गरेका छन्। त्यसैगरी डा वीरेन्द्र कुमार भट्टाचार्यको असमीय उपन्यास मृत्युञ्जय मा नेपाली जनजीवन पनि प्रतिबिम्बित भएको कुरामाथि केन्द्रित रही समीक्षा गरिएको छ। सन् १९४२ सालको असमको गणविप्लवमा असमीय नेपाली जनगोष्ठीको प्रत्यक्ष र परोक्ष दुवै खालको योगदान थियो। क्रान्तिकारीहरूको दलमा समावेश भएर, उनीहरूलाई आर्थिक, सामरिक, नैतिक समर्थन दिएर स्वञ्त्रता आदोलनलाई सहयोग गरेको तथ्य यस मृत्युञ्जय उपन्यासमा पाइन्छ। अन्य कतिपय उपन्यासहरूले यस तथ्यलाई उल्लेख नगरे पनि डा विरेन्द्र कमार भट्टाचार्यले भने खुलेर प्रस्तुत गरेका छन्। उपन्यासको एउटा पात्र बलबहादुरलाई एउटा निर्भीक, इमानदार, सहयोगी, क्रान्तिकारी र देशप्रेमी पुरूषको रूपमा चरित्रचित्रण गरिएको कुरा उल्लेख गरिएको छ।
मृत्युअघिअघि कविता लेख्ने देश भन्ने लेखमा जापानमा कतिपय कविहरू आफ्न म़ृत्युअघि जिसेइ भन्ने कविता लेख्ने गर्छन्। उक्त जिसेइमा आफ्नो मृत्युको आभास दिएको हुन्छ भन्ने कुरा उल्लेख पाइन्छ। यसका साथै हाइकु र ताङ्का शैलीका मुक्तकीय कवितामा पनि मृत्यु आभास हालिएको हुन्छ। त्यस्ता कवितामा थोरैमा धेरै भाव अँटाउन सक्ने सामर्थ्य हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ।
डम्बर दाहाल ठुला समालोचक अवश्य होइनन्, यद्यपि कृति पढेर त्यसका उब्जेका कुरालाई समीक्षात्मक तवरले टिप्पणी लेख्छन्। यो उनको इमानदारिता हो। अनुभव ज्ञान र सुझबुझका अनुसार विवेकमूलक समीक्षा गरेका छन्। दाहाल मूलतः वस्तु तथ्यात्मक, जीवनीमूलक, कृति र कृतिकार परिचयमूलक र प्रभाववादी समालोचनामा सक्रिय देखिन्छन्। गोविन्द शाण्डिल्य, बद्रीप्रसाद पाण्डेय, विष्णु शर्मा, वसुन्धरा शर्मा, नरबहादुर छेत्री, छविलाल उपाध्याय, एन पी मुक्तान (मोक्तान?), लावण्य देवी, कमला देवी भट्टराई आदिका कृतिहरूको सम्यक् चर्चा गरिएको छ। त्यसबाहेक कृष्ण धरावासी, स्वामी स्वदेशानन्द कनकधारावालेका एकेक कृतिको समीक्षा गरेका छन्। उनले निबन्ध सम्भार र सिर्जना सन्दर्भ दुवै पुस्तकमा कृष्ण धरावासीको शरणार्थी उपन्यासको समीक्षा गरिएको पाइन्छ। यसमा रहेको पहिलो लेख- सिर्जनामा बाँचिरहेका पूर्वाञ्चलका दिवङ्गत कविहरू मा सर्जकहरू साहित्य लेखर नै बाँचेका हुन्छन् भन्ने तथ्य प्स्तुत गरिएको छ। यस सत्यतालाई समीक्षक दाहालले पनि असम र पूर्वाञ्चलका केही अमर नेपाली साहित्य सर्जकहरूको नामोल्लेख गरिएको छ। तीमझ्ये तुलाचन आले, गोकुलप्रसाद जोशी, धनवीर भँडारी, आत्मराम मगर, कृष्णबहादुर उदास, गजवीर रामना, हरिनारायण उपाध्याय विद्याभूषण, महानन्द सापकोटा पद्मप्रसाद ढुङ्गाना, रत्नबहादुर कार्की, नित्यानन्द तिम्सिना, भीष्मप्रसाद उपाध्याय, जगन्नाथ गुरागाइँ, पुष्पलाल उपाध्याय, हरिभक्त कटुवाल, तेजुराम बस्नेत, कृष्णप्रसाद ज्ञवाली, चन्द्रेश्वर दुबे, हरिप्रसाद गोर्खा राई, गोपीनारायण प्रधान, अनुराग प्रधान, मोतीसिंह क्षेत्री, चोकबहादुर थापा, दिलबहादुर नेवार, प्रेमसिंह सुवेदी, कृष्णप्रसाद काफ्ले, दीनमणि शास्त्री, लक्ष्मीप्रसाद पराजुली, बलराम उपाध्याय, छविलाल दाहाल आदिका बारेमा आंशिक र सांकेतिक रूपमा भए पनि मूल्याङ्कन गरेका छन्। असम क्षेत्र पनि नेपाली साहित्यको विकासका निम्ति कटिबद्ध छ, यहाँको ठुलो योगदान रहेको छ। यहाँबाट नाली साहित्य लेखनको इतिहास सय वर्षभन्दा बढी भइसकेको छ। सवाइ र लहरी काव्यहरू प्रकाशित भएदेखि यता धेरै काव्यहरू लेखिसकिएका छन्। प्रस्तुत लेखमा पूर्वाञ्चलको नेपाली साहित्य लेखनको एक सर्को सर्वेक्षण र मूल्याङ्कन गर्ने प्रयास गरिएको छ।
गोविन्द शाण्डियल्यको पूल- फिलिङ्गाहरूसित रम्दै भन्ने लेखमा जापानी हाइकु कविताको सामान्य परिचय दिँदै जापानमा यसको परम्पराबारे संक्षिप्त रूपमा भए पनि सोदाहरण सर्वेक्षण गरिएको छ। यसका साथै समबाट पनि प्रकाशित केही हाइकुकारहरूमा गोविन्द शाण्डिल्य, नारायण उपाध्याय आदि मुख्य रूपमा हुन्। यसा गोविन्द शाण्डिल्यको फूल-फिलिङ्गा हाइकुसङ्ग्रह विषयवस्तु र शिल्पविधानको चर्चा गरिएको छ। उनका हाइकुमा मानिस, पशुपक्षी, खोलानाला, देश विदेश, रूखपात आदिलाई साङ्केतिक रूपमा पात्रीकरण गरिएको छ भन्ने तथ्य प्रस्तुत गरिएको छ। हाइकु लेखनमा शाण्डिल्य सिद्धहस्त छन् भनेर मूल्याङ्कन गरेका छन्।
बद्रीप्रसाद पाण्डेयको ‘हो वैचारिक क्रान्ति चाहिन्छ’ भन्ने कवितासङ्ग्रहको विवेचना गरिएको छ। यसमा रहेको क्रान्ति चेतना, सुधारवादी भावनालाई समीक्षकले सन्धान गरेका छन्। समीक्षकले पाण्डेयका कविहरूलाई अस्तित्ववादी, प्रकृतिवादी, संस्कारवादी, यथार्थवादी आदर्शवादी गरी पाँचवटा प्रवृत्ति खुट्याएका छन्। गोर्खाल्याण्ड ल्याउन हतारिएको एउटा खण्डकाव्य भन्ने लेखमा कनकधारावालेको खण्डकाव्य टिस्टा रङ्गीतको किनारका स्वरहरू को समीक्षा गरिएको छ। कनकधारावालेको छन्दोबद्ध खण्डकाव्यमा गोर्खाहरूको राजनैतिक अधिकारका निम्ति जोस भर्ने खालको भावलाई अघि सारिएको छ। भारतमा बसेर नै विदेशीको संज्ञा पाएकामा कवि विक्षोभ व्यक्त गर्दछन्। समीक्षकले कविको जातिय चेतनालाई पहिल्याएका छन्।
नेपाली संस्कृति सुधा अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सुफल भन्ने लेखमा 3१ जनवरी र १ फरवरी, २०१5 मा मिलनज्योति उत्सव समिति, गमिरि, समको आयोजनामा रहेको नेपाली संस्कृति विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठीको अवलोकन र समीक्षकीय रिपोर्टिङ गरिएको छ। यस किसिमको सङ्गोष्ठीले हाम्रा संस्कृतिक पक्षहरूलाई चिनाउने, नयाँ पुस्तालाई चिनाउने काम गर्दछ। यसमा शोधपत्रहरूको प्रस्तुत, तिनको टिप्पणी आदिबारे प्रकाश पारिएको छ। उक्त सङ्गोष्ठीमा पठिक शोधपत्रहरूको संकलनको पनि समय्क समीक्षा गरिएको छ।
‘छविलाल उपाध्यायको भाषा कविता’ भन्ने लेखमा असमका वयोवृद्ध कवि छविलाल उपाध्यायको भाषा भन्ने एउटा सिङ्गो कवितामा निहित भाषाप्रतिको सचेतता, भाषाको महत्त्व र प्रेमलाई चिनाउने काम गरिएको छ। तेजपुरेली तीन कवयित्रीका काव्यकृति पढ्दा लेखमा भने असम तेजपुरका तीन नारी कविहरू बसुन्धरा शर्माको प्रेरणा, कमलादेवी भट्टराईको मेरो अभिमान र लावण्य देवीको उर्मिला काव्यको तुलनात्मक, वस्तुविवेचनात्मक समीक्षा गरिएको छ। यी तीन कविहरूको कवितामा पाइने विभिन्न स्वर र चेतनालाई खोतल्ने प्रयास गरिएको छ। विष्णु शर्माको स्नेह तीर्थ दर्शन गर्दा भन्ने लेखमा विष्णु शर्माको स्नेह तीर्थ भन्ने कथासङ्ग्रहको समीक्षा गरिएको पाइन्छ। उदालगढी असमका विष्णु शर्मा न्यौपानेका अहिल्ले चारवटा कथासङ्ग्रह प्रकाशित भइसकेको जानकारी दिन्छन्। स्नेह तीर्थ मा जम्मा सोह्रवटा कथाहरूमा मातृप्रेम, प्रकृतिप्रेम, नैतिकता, मानवता, स्नवावलम्बन आदि मानवीय पक्षहरू टडकारो रूपमा झल्किएको पाइन्छ। अचेलका मान्छेका औडाहाहरू, भोगवादी बन्दै बन्दै गएका, कर्तव्यपरायण आदि घरेलु एवम् सामाजिक विसङ्गतिहरूलाई कथा शिल्पका माध्यमबाट समाजलाई दृष्टिगोचर गराउने गरेको पाइन्छ।
विचित्रकै कवि हुन् कवि विचन्द्र मा दारिजिलिङका कवि विचन्द्र प्रधानको कविताकारितामाथि समीक्षात्मक प्रकाश पारिएको छ। विचन्द्र जन्मजात कवि हुन्। विचन्द्रको बसगाडीमा यात्रा भन्ने कवितासङ्ग्रहभित्रका कविताहरूबाट उनको रोमान्सेली, रहस्यवादी प्रवृत्तिलाई केलाउने प्रयास गरिएको छ। यसमा विचन्द्रको कविताका बारेमा तसलीमा नसरिन, रजानारायण प्रधान, असित राई, ईश्वरवल्लभका मन्तव्य पनि प्रस्तुत गरिएको छ। यसमा विचन्द्रको कवित्वबारे सोदाहरण चर्चा गरिएको छ। भानु पत्रिकाको कवि हरिभक्त कटुवाल विशेषाङ्क र केही महत्त्वपूर्ण अभिव्यक्तिहरू-मा भानु पत्रिकको हरिभक्त कटुवाल विशेषाङ्कभित्र रहेका हरिभक्त कटुवालको व्यक्तित्व र कृतित्व विभिन्न पाटहरूबारे प्रकाश पारिएको छ। कटुवालबारे केदारमान व्यथित, जगदीश घिमिरे, रमेश शुभेच्छु, नगेन्द्रराज शर्मा, अभि सुवेदी, अम्बर गुरूङ, केशवप्रसाद उपाध्याय, लीलबहादुर छेत्री, कृष्णप्रसाद पराजुली, कृष्णचन्द्रसिंह प्रधान, अविनाश श्रेष्ठ, हरिप्रसाद गोर्खा राई, विष्णुविभू घिमिरे र रमण घिमिरेका अभिमत र मन्त्व्यलाई अघि सारिएको छ भने समीक्षकको आफ्नो मत पनि पाइन्छ। मेरो एउटा प्रिय उपन्यास- शरणार्थी भन्ने लेखमा कृष्ण धरावासीको शरमार्थी उपन्यासमा रहेका विषयवस्तु, अन्य आख्यान कृतिहरूको अन्तर्मिश्रण, लीलालेखनको प्रयोग आदि कुरालाई अघि सारिएको छ। यसका साथै यस उपन्यासबारे दुवसु छेत्री, विश्वराज भण्डारी, बैरागी काइँला, तारानाथ शर्मा, लीलबहादुर छेत्रीका मन्त्वयलाई पनि अघि सरिएको छ।
ममताको लकडाउनलाई छेउबाट चिहाउँदा- मा बसुन्धरा शर्माको ममताको लकडाउन भन्ने कथासङ्ग्रहको सामान्य चर्चा गरिएको छ। यसमा कथावस्तु र चरित्रचित्रणका आधारमा समीत्रा गरिएको छ। घर परिवारमा गुम्सिरहेका पारिवारिक विघटन, सामाजिक बोगाइका प्रतिविम्ब आदि पाइन्छ। यसमा सङ्ग्रहका बीसैवटा कथाहरूको सम्यक् चर्चा गरी मूल्याङ्कन गर्ने प्रयास गरिएको छ। ‘सम्झना लाई सम्झेर ल्याउँदा’- मा बिहाली असमका एन पी मुक्तानको सम्झना नामको आत्मजीवनी पस्तकको समीक्षा गरिएको छ। बिहालीका नरपति मुक्तान एकजना लब्धप्रतिष्ठित व्यवसायी थिए। यसमा एन पी मुक्तानले आफु जीवित हुँदा नै लेखेर छाडेको तथ्य पाइन्छ। यसमा उनको वाल्यकाल, अध्ययन व्यवसाय, तत्त्कालीन असमको सामाजिक राजनैतिक भौगोलिक स्थिति, सांस्कृतिक परिवेश व्यवसायिक परिवेश आदिबारे केही तथ्य प्रस्तुत गरेका छन्। पुस्तकमा दोस्रो विश्वयुद्धको प्रभाव आदि पनिबारे पनि प्रकाश पारिएको संकेत पाइन्छ। ‘नरबहादुर छेत्रीको सदिच्छाका हरफहरू- मा दुलियाजान असमका नरबहादुर छेत्रीको ‘सदिच्छाका हरफहरू’ कवितासङ्ग्रहका भावहरू खोतल्ने प्यास गरिएको छ।
२०२१ मा प्रकाशित भएको समीक्षात्मक लेखसङ्ग्रह सिर्जना सन्दर्भ मा पनि जम्मा चौधवटा लेखहरू रहेका छन्। यसमा रहेका चौधवटा लेखहरू अध्ययन गर्दा उनले असमका केही नयाँ पुराना, प्रवीण र नवीन लेखकहरूका कृतिहरूको चर्चा गरी तिनको वस्तु केलाइ मूल्याङ्कन गर्ने प्रयास गरेका छन्। माथिका पुस्तकीय समीक्षाका आधारमा अध्ययन गर्दा डम्बर दाहाल एक कुशल समीक्षक हुन्। माथिका लेखहरूमा उनी कविता विधाको समीक्षामा बढी अग्रसर देखिन्छन्। यद्यपि उनका समीक्षाहरू पढ्दा सैद्धान्तिक समालोचनाभन्दा प्रभाववादी बढी पाइन्छ। कृति पढेर त्यसबाट मनमा उब्जेका कुरालाई अघि सारिएको छ। कृतिको गुण पक्ष बढी देखाइएको छ। यसमा लेखकसित उनको व्यक्तिगत परिचयले पनि समीक्षामा प्रभाव पारेको लाग्दछ। आग्रहलाई टार्नका लागि पनि केही समीक्षा लेखिएको लाग्छ।
५. मूल्याङ्कन र उपसंहार
यसरी हेर्दा डम्बर दाहाल एक गहन अध्येता, एक दक्ष समीक्षक हुन् भन्ने कुरा प्रमाणित हुन्छ। उनका समीक्षाहरूलाई प्रभाववादी नै मान्न सकिन्छ। यसमा जीवनीमूलकता, कृतिकार मूल्याङ्कन, कृतिको भावपक्षको केलाइ आदि गुण पाइन्छन्। यसबाट अध्ययन गर्दा दाहाल आफैं नैं एक सर्जक हुनाले उनले सिर्जना पढेर आफुलाई लागेका कुरालाई समीक्षाका रूपमा प्रस्तुत गरेका छन्। पुस्तकीय समीक्षाका क्रममा डम्बर दाहाल एक सफल समीक्षकका रूपमा देखा पर्दछन्य़ यद्यपि उनको समीक्षामा केही कमजोरी पक्ष नपाइने होइन। यसमा सैद्धान्तिकभन्दा कृति पढेर त्यसबाट उब्जेको प्रभावलाई देखाउने काम गरेका छन्।
कालिम्पोङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।