18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्वीकार छ

कविता डा. बच्चु कैलाश कैनी February 9, 2024, 4:23 pm
डा. बच्चु कैलाश कैनी
डा. बच्चु कैलाश कैनी

उसले तर्के आँखाले हेर्दै भनि
म कसैसँग ठुस्केको छैन
तिमीदेखि बेखुस छैन
मैले तिमीलाई दोष दिएको छैन
केवल तिम्रो हेर्न नजर दोषी छ।

उसले फेरी चर्को स्वरमा भनि
म किन झर्कने ?
म किन रिसाउने ?
मैले तिमीलाई नराम्रो ठानेको छैन
केवल तिम्रो हेर्ने नजर नराम्रो छ।

त्यो तर्कको आँखा
झर्केको स्वर
बोलीको उतारचढाव
नबुझ्ने कुरै भएन
म त्यति बेलासम्म चुप रहनेछु
जबसम्म उसको मन शान्त हुने छैन
जबसम्म उ स्वभाविक हुने छैन ।

मैले आँफैलाई सान्त्वना दिंदै
मन्द मुस्कान हाँस्दै
आफैंले आफ्नो मुल्यांकन गरें
र सोचें, पत्थरको जवाफ पत्थरले दिए
मन दुख्नेछ
सम्बन्ध टुट्नेछ
तिम्रो र मेरो बीच पर्खाल खडा हुनेछ
पर्खने छु म
मन नपग्लेसम्म
तिमीले फेरी उस्तै मुस्कान नदिएसम्म
मसँग आत्मियता नदेखाएसम्म।

सम्बन्ध जोड्नु र जोडिनुमा
मनसँग मन मिल्नु र मिलाउनुमा
हाँसी खुसी जीवन जिउनुमा
एक अर्कोको अस्तित्व स्वीकार गर्नुमा
मैले र तिमीले सँगै हातेमालो गर्नुमा
जीवन सार्थक बनाउनुमा
मैले आफ्नो सार्थकता देखेकोछु।

जे भन म स्वीकार गर्नेछु
तिम्रो त्यो मुस्कानको प्रतीक्षा गर्नेछु
तिम्रो हातमा हात मिलाउन
म सँधै ब्याकुल छु।

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।