भारतीय नेपाली साहित्य जगतमा फ्रायडीय मनोविश्लेषणमाथि आधार गरी कलम चलाउने आख्यानकारका रुपमा परिचित साहित्यकार प्रेम प्रधान प्रख्यात कथाकार एवं उपन्यासकार हुनका साथै एक असल कवि, निबन्धकार, समीक्षक तथा अनुवादक पनि हुन्। उनले अहिले सम्म दुई वटा कथा सङ्ग्रह, तीन वटा उपन्यास, एउटा समीक्षात्मक लेख सङ्ग्रह, दुई वटा जीवनी, एउटा विद्यार्थी उपयोगी साहित्येतर कृति र दुई वटा अनुवाद कृतिहरू नेपाली साहित्यको ढुकुटीमा चढ़ाइसकेका छन्।
दार्जीलिङ जिल्लाको मिरिक खण्ड अन्तर्गत सौरेनी बजारमा 1 जून 1948 मा जन्म ग्रहण गरेका प्रेम प्रधानका पिताको नाम स्व. बाबुलाल प्रधान र माताको नाम स्व. गङ्गादेवी प्रधान हो। परिवारमा दुई छोरा र एउटी छोरीमध्ये उनी ज्येष्ट थिए। पिता दार्जीलिङको सरकारी कलेजमा प्राध्यापक अनि वरिष्ठ साहित्यकार पनि रहेका हुनाले त्यसको राम्रो प्रभाव उनका ज्येष्ट पुत्र प्रेम प्रधानमाथि पर्नु स्वभाविक नै थियो। बाल्यकालमा उनको प्रारम्भिक शिक्षा सौरेनी प्राथमिक पाठशालाबाट शुरूआत भएर माध्यमिक शिक्षा दार्जीलिङको सेन्ट रोबर्ट्स स्कुलमा सातौं श्रेणीदेखि दशौँसम्म भएको हो। सन् 1963 मा स्कुल फाइनल उतिर्ण गरेपश्चात् उनी दार्जीलिङको सरकारी कलेजमा भर्ना भए। त्यहाँबाट सन् 1964 मा प्री-युनिभर्सिटी उतिर्ण गरेपछि सन् 1967 मा वनस्पति विज्ञान (Botany)-मा बी.एस्सी. अनर्स अनि सन् 1969 मा एम.एस्सी. उतिर्ण गरे। त्यसपछि उनले रामकृष्ण बी.टी. कलेज, दार्जीलिङबाट सन् 1975 मा बी.एड. गरे।
उनको बिहे सन् 1971 मा नेपालको धरान निवासी सिंहमान श्रेष्ठकी सुपुत्री पियुष श्रेष्ठसित भएको थियो। उनका सन्तानमा एक जना छोरा र दुई छोरीहरू छन्। उनको पेशागत संलग्नता हेर्दा सन् 1970 देखि 1974 सम्म लगभग पाँच वर्ष उनी दार्जीलिङको सरकारी कलेज र सेन्ट जोसेफ कलेजमा अस्थायी रुपमा विज्ञान विषयका प्राध्यापक रहेका थिए। सन् 1975 देखि उनी दार्जीलिङ सरकारी उच्च विद्यालयमा स्थायी रुपले विज्ञानका शिक्षकका रुपमा कार्य गर्न थाले। त्यही अवधिमा माध्यमिक विद्यालयमा पढ़ाइने विज्ञान विषयका पाठ्य-पुस्तकहरूको अभाव देखेर विज्ञानका पाठ्य-पुस्तकहरूको लेखनतिर पनि उनले आफ्नो योग्यताको उपयोग गरे। त्यसबेला पाँचौं श्रेणीदेखि दशौँ श्रेणीसम्म पढ़ाइने साधारण विज्ञान र जीव विज्ञान परिचय जस्ता उनका दर्जनौं पाठ्य-पुस्तकहरू साझा पुस्तक प्रकाशन र श्याम ब्रदर्श प्रकाशन, दार्जीलिङ, भारती भवन,पटना एवं क्यामरिज बुक हाउस, कोलकाताबाट प्रकाशित भएका थिए। सन् 2006 मा उनी सह-प्रधानाध्यापकका रुपमा कालिम्पोङ सरकारी उच्च विद्यालयमा स्थानातरित भए अनि दुई वर्षपछि प्रधानाध्यापकको पदोन्नति प्राप्त गरी पुन: दार्जीलिङ सरकारी उच्च विद्यालयमा फर्किए र त्यहीँबाट सन् 2008 मा शिक्षण पेशाबाट अवकाश ग्रहण गरे। उनका पिता प्रा. बाबुलाल प्रधानको 15 अगस्त 2007 मा देहान्त भएको थियो। त्यसभन्दा तीन-चार वर्षअघि नै माता गङ्गादेवी प्रधान पनि बितिसक्नु भएको थियो। उनको सौरेनी बजारको पुस्तैनी घर अझसम्म रहेको छ। दार्जीलिङमा निजी निवास र तराइको नक्सलबारीमा पनि घर र जग्गा-जमीन छ। उनी आर्थिक रुपमा सम्पन्न नै रहेका छन्।
सन् 1968 देखि नै उनी नेपाली साहित्य सम्मेलन, दार्जीलिङका एक कर्मठ सदस्यका रुपमा जोड़िएका थिए। सन् 1970 मा उनी यस संस्थाका कार्यकारिणी समितिमा उप-मंत्रीका रुपमा चयनित भए। त्यसपछि सन् 1980 मा सह-सचिव हुँदै सन् 1983 देखि सन् 1987 सम्म अनि सन् 1989 देखि सन् 1993 सम्म दुईपल्ट उनी यस संस्थाका मूल सचिव रहेका थिए भने सन् 2002 देखि सन् 2006 सम्म संस्थाका अध्यक्ष रहेर नेपाली साहित्य सम्मेलन जस्तो प्रतिष्ठित संस्थाको नेतृत्व गरेका थिए। सन् 2003 देखि 2007 सम्म उनी नेपाली भाषा परामर्श समिति, साहित्य अकादेमी, नयाँ दिल्लीका सदस्य रहेका थिए भने सन् 2013 देखि 2017 सम्म यस समितिका संयोजक रहेर भारतीय नेपाली भाषा र साहित्यको संवर्धन र विकासमा राष्ट्रिय स्तरमै आफ्नो भरपुर योगदान पुर्याएका थिए। उनी नेपाली अकादेमी, नेपाली भाषा अनुसन्धान केन्द्र, जी.टी.ए. -का सदस्य पनि हुन्।
उनको पहिलो प्रकाशित रचना ‘बिन्दुली’ शीर्षकको कथा दार्जीलिङबाट जगत छेत्रीको सम्पादनमा निस्किने पत्रिका ‘जनदूत’-मा सन् 1964 मा प्रकाशित भएको थियो। त्यसपछि उनका अनेकौं कथा र विविध विषयमा लेखिएका लेख-निबन्धहरू नेपाल र भारतका विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भए। उनका केही कथाहरू अङ्ग्रेजी, हिन्दी, मलायलम, तेलेगु आदि भाषाहरूमा पनि अनुवाद भएका छन्। उनको उत्कृष्ट कथा ‘कालो सर्प’-को हिन्दी अनुवाद ‘काला सर्प’ डुवर्सका कितापसिंह राईले गरेका थिए जो साहित्य अकादेमीको पत्रिका समकालीन भारतीय साहित्य वर्ष 15 अङ्क 57 जुलाई-सितम्बर 1994 मा प्रकाशित भएको थियो। यसको अङ्ग्रेजी अनुवाद ‘Black Serpent’ शारदा छेत्रीद्वारा गरिएको छ जो उनको अनुवाद कृति Colours of Kunchenjanga’ मा सङ्कलित छ। यसै कथाको शीर्षक दिएर सन् 1995 मा प्रकाशित उनको पहिलो कथा सङ्ग्रह ‘कालो सर्प’ मा उनका बीसवटा कथाहरू सङ्कलित छन्। यस पुस्तकको भूमिकामा ‘प्रेम प्रधान : कथाको नयाँ क्षितिज’ शीर्षक अन्तर्गत वरिष्ठ साहित्यकार शिव प्रधान लेख्छन् – “नेपाली साहित्यमा फ्रायडलाई अङ्गालेर मनोविश्लेषणात्मक आधारमा मानसिक जटिलताको अध्ययन – विश्लेषण बी.पी. कोइरालाले स्थापित गरेका हुन्, तर भारतीय नेपाली साहित्यको परिप्रेक्ष्यमा हेर्दा यस सिद्धान्तलाई प्रतिपादन गर्दै प्रयोग गर्नेहरुमा प्रेम प्रधान निकै अघि बढेका छन् भन्दा अत्युक्ति नहोला। तिनले यौन प्रधान एवं मनोविश्लेषणात्मक कथा लेखेर एक छुट्टै स्थान ओगटेको कुरा कसैले नकार्न सक्दैन।” यसरी पहिलो कथाकृतिको प्रकाशनपछि नै उनी आफ्नो अलग पहचान बनाउन सफल बनेका थिए। वनस्पति विज्ञानमा स्नातकोत्तर उतिर्ण गरेपश्चात् शिक्षण पेशामा संलग्न रहेका प्रेम प्रधानको ‘हाम्रा केही उपयोगी वनस्पतिहरू’ विद्यार्थी उपयोगी साहित्येत्तर कृतिको रुपमा सन् 1995 मै प्रकाशित भएको पाउछौं।
त्यसपछि सन् 1999 मा उनको प्रथम औपन्यासिक कृति ‘उदासीन रूखहरू’ प्रकाशित हुन्छ। त्यसबेला यस उपन्यासले साहित्यका विद्वत मण्डलीमा निकै चर्चा पाएको थियो। यस कृतिका निम्ति सन् 2002 मा उनलाई साहित्य अकादेमी पुरस्कारले सम्मानित गरिएको थियो। उपन्यासको भूमिका “मनोविश्लेषणात्मक भावभूमिमा उभेका ‘उदासीन रुखहरु’” शीर्षकमा डा. जीवन नामदुंग लेख्छन् - “पाश्चात्य साहित्यका औपन्यासिक प्रवृत्ति सम्मत चेतना प्रवाहमा लेखिएका प्रयोगात्मक, प्रतीकात्मक केही राम्रा उपन्यासहरुको क्रममा ‘उदासीन रुखहरु’-को मौलिक ठाउँ थपना छ। आत्म कथात्मक परिपाटीमा प्रारम्भ र अन्त भएको यस उपन्यासको औपन्यासिक संरचना विस्तारणले औपन्यासिक परम्परा र प्रवृत्तिमा देखा परेका यथार्थवादी, अति यथार्थवादी, प्रगतिवादी तथा स्वच्छन्दतावादी जस्ता विकास क्रमका घुम्तीहरु पार गर्दै मनोविश्लेषणात्मक प्रवृत्ति अन्तर्गत फ्रायडीय मनोविश्लेषण पूर्वाभास र पद्धतिलाई एकातिर अँगालेको देखिन्छ भने, अर्कोतिर दोस्रो विश्वयुद्धपछि खासगरी युरोपका दुईजना साहित्यकार जिनपर्ल सार्त्रे र अल्वेयर कामुका अस्तित्ववादी चिन्तन र जीवन दर्शनका चस्काहरु यदा कदा प्रतिविम्बित भएको पाइन्छ।‘ भारतीय नेपाली साहित्यमा बहुचर्चित यस कृतिको अहिलेसम्म 6 वटा भाषामा अनुवाद भइसकेको जानकारी पाइन्छ जो निम्न प्रकार रहेको छ-:-
मैथिली : मौला गेल गाछ्सब ( सन् 2009, अनुवादक – कमलकान्त झा, साहित्य अकादेमी
नयाँ दिल्लीबाट प्रकाशित)
हिन्दी : मुर्झाए वृक्ष (सन् 2015, अनुवादक – ओमनारायण गुप्त, साहित्य अकादेमी नयाँ
दिल्लीबाट प्रकाशित)
असमिया : उदासीन वृक्ष (सन् 2018, अनुवादक – खगेन्द्र दाहाल, बिन्दु प्रकाशन, लामडिङ,
असमबाट प्रकाशित)
अङ्ग्रेजी: फर्लन ट्रीस (सन् 2020, अनुवादिका - सृजना सुब्बा, साहित्य अकादेमी नयाँ
दिल्लीबाट प्रकाशित)
डोगरी : दुआसक रुक्ख (सन् 2021, अनुवादक – श्यामलाल रैना, साहित्य अकादेमी नयाँ
दिल्लीबाट प्रकाशित)
बङ्गला : विसन्न बानानी (सन् 2023, अनुवादक – मुक्तिप्रसाद उपाध्याय, साहित्य अकादेमी
नयाँ दिल्लीबाट प्रकाशित)
उनको दोस्रो औपोन्यासिक कृति ‘प्रयोगको मेसिन’ सन् 2009 मा श्याम ब्रदर्श प्रकाशन, दार्जीलिङबाट प्रकाशित भयो। मनोवैज्ञानिक पृष्ठभूमिमा लेखिएको ‘प्रयोगको मेसिन’ उनको अघिल्लो कृति ‘उदासीन रुखहरु’ कै परिपाटी बोकेर पाठक समक्ष देखा परेको छ। नेपाली साहित्यका समालोचक डा. मोहन पी. दाहाल यस पुस्तकमाथि आफ्नो मन्तव्य यसरी पोख्छन् - “वर्तमान युगमा मानिसलाई, प्रयोगको मेसिन तुल्याइएको कुरो सत्यको एक पक्ष हो भने नवाविष्कृत मेसिनहरुको प्रयोगद्वारा मानिसले ज्ञानको नवीन क्षितिज कोरेको कुरो त्यसको अर्को पक्ष हो। आज विज्ञानको अभूतपूर्व विकास अघि मानव नतमस्तक छ। आध्यात्मिकताले मानिसलाई महात्मा बनायो, विज्ञानले महामानव। ... साहित्य ज्ञान-विज्ञान, धर्म-आध्यात्म वा दर्शनको दास होइन तर तिनैका कतिपय तात्विक तन्तुहरु भने साहित्यका सुक्त वा प्राविधिक प्रक्षेप भएका छन्।” यसरी नै समालोचक दलसिंह अकेलाले पनि यस उपन्यासमा विज्ञान विषयक गद्याख्यानको प्रयोग भएको उल्लेख गरेका छन्। यस उपन्यासमा फ्रायडेली यौन-मनोविश्लेषण, निस्सारता र अस्तित्ववादको दर्शनलाई आत्मसात् गरिएको छ।
सन् 2009 मै उनको ‘केही अध्ययन : केही विवेचना” (समीक्षात्मक लेखहरूको सङ्कलन) साझा पुस्तक प्रकाशन, दार्जीलिङबाट प्रकाशित भएको थियो। यस कृतिले उनलाई एक समालोचक एवं गम्भीर अध्येताको रुपमा पनि स्थापित गरेको छ। त्यसपछि सन् 2010 मा ‘शिव प्रधान’ (मनोग्राफ) र सन् 2015 मा गोपीनारायण प्रधान (मोनोग्राफ) भारतीय साहित्यका निर्माताका रुपमा परिचय दिने क्रममा साहित्य अकादेमी दिल्लीको अनुबन्धमा प्रकाशित कृतिले उनलाई एक जीवनीकारको रुपमा पनि चिनाएको छ। उनका लगभग 35-40 वटा कविताहरू पनि विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन्। ती कविताहरूलाई पनि सङ्कलन गरी एउटा काव्य-कृतिको रुपमा प्रकाशमा ल्याउन सकिन्छ। उनको दोस्रो कथा सङ्ग्रह ‘उमेरको घाउ’ सन् 2019 मा श्री रत्न प्रकाशन, मल्ली, सिक्किमबाट प्रकाशित भएको छ। यसमा उनका सोह्रवटा कथाहरू सङ्कलित छन्। साहित्य पोष्ट ज्येष्ठ वि.स. 2080 मा प्रकाशित आफ्नो समीक्षात्मक लेख ‘कथाकृति उमेरको घाउ र कथाकार प्रेम प्रधान’-मा समालोचक जय क्याक्टस लेख्छन् – ‘ कथा होस् या कविता; यसमा पाठकले खोज्ने भनेको पहिलो थोक हो समयसम्बोधन या कालचेतना। यसले पाठकको जीवन सापेक्षित समय या उनको मनस्थिति सापेक्षित समय-चेतना निर्वाह गरेको छ कि छैन त्यो केलाउँदै पाठभित्र प्रविष्ट गराउँछ। कथामा जोडिएर आउने पौराणिक आख्यान या लोककथा या इतिहाससम्बन्धी इतिवृत्त या मिथकीय पुनर्लेखन या पुनःपठनले यही समय चेतनालाई विगतदेखि वर्तमान फेरि वर्तमानदेखि भविष्यसम्मको यात्राक्रमलाई समन्वयन गर्ने उपक्रम गर्छ। समयशृङ्खला जोड्ने यो उपक्रम चलचित्रमा बढी प्रभावकारी देखिन्छ। वर्तमानको अवस्थान चिन्न र यसको मूल्याङ्कन गर्न हरेक कथामा यो उपयोगी देखिन्छ।.....कृति ‘उमेरको घाउ’का कथाहरूमा यो समय-चेतना स्पष्ट र प्रखर देखिन्छ। मूलतः मनोविश्लेषणात्मक कथामा पारङ्गत कथाकार प्रेम प्रधानले ‘फ्रायडीय मनोविज्ञान’सितै वर्तमान सापेक्षित उत्तराधुनिक समयलाई पक्रेर उत्तरफ्रायडीय (लकान, क्रिस्तोभा आदि) मनोविश्लेषणतिर उन्मुख बन्दै गएका टुक्रा आख्यानका लक्षणहरू हुलेका छन् ।‘
उनको तेस्रो औपोन्यासिक कृति ‘चिन्ता सल्केको पहाड़’ सन् 2022 मा साझा पुस्तक प्रकाशन, दार्जीलिङबाट प्रकाशित भएको छ। ‘यस उपन्यासबारे आफ्नो मन्तव्य’ शीर्षकमा उपन्यासकार प्रेम प्रधान लेख्छन् – ‘उपन्यासमा फ्रायड मनोविश्लेषण, अस्तित्ववादी चिन्तन र उत्तर आधुनिक सभ्यताले ल्याएको नयाँ सोंच, नारीवादी चिन्तन, सामाजिक विकृतिले भत्काइएको संस्कार, परम्परा र संस्कृति आदि हेर्न सकिन्छ। घर बाहिर लिभ इन् रिलेसन्समा बसेर खुल्ला यौन स्वतन्त्रता खोज्ने पात्र पात्राहरू आजको आधुनिक सभ्यताको उपज हो जो आधुनिक साहित्यमा पाइन्छ। पीड़ाको उत्स मानवप्रति अमानवीय व्यवहार अनि सामाजिक न्यायको खोजबाट हुन्छ।‘ यसै पुस्तकबारे आफ्नो समीक्षात्मक टिप्पणीमा समालोचक अर्जुन प्रधानले लेखेका छन् – ‘विश्वका विकशित साहित्यमा जस्तै नेपाली वाङ्मय आख्यानमूलक सृजना साहित्यमा उपन्यास विधानले पनि लेखनको पारम्परिक प्रविधि र तत्वहरूको सिमाङ्कनरुपीपर्खाल हाम्फालेर तथा कति पर्खाल ढालेर छरपष्ट पारेर आधुनिक लेखनको नयाँ फाँटमा पाइला हालिसकेको छ। उपन्यास लेखनमा नवीनता र नव प्रयोगका बुँदाहरू थुप्रै दिशाबाट थुप्रै किसिमका रूपहरू लिएर आएका हुन्छन्। अध्ययनको अनेकौं वक्ताहरूबाट साहित्यले आफ्नो भावभूमि, विचारभूमि पैंचो लिएको छ र तिनमा पनि पश्चिमेली चिन्तकहरू फ्रायड, यङ्ग, एड्लर, सार्त्र, कामु आदिका मनोविश्लेषणात्मक पद्धति तथा अस्तित्ववादी चिन्तनको प्रभाव र प्रयोग साहित्यमा हुँदै आइरहेको छ। प्रेम प्रधानका उपन्यास पनि नव चिन्तनका यिनै भाव धरातलमा उभिएका छन्।‘ आफ्ना मौलिक कृतिहरूबाहेक उनले अनुवाद विधामा पनि कलम चलाएका छन्।
उनका अहिलेसम्म प्रकाशित कृतिहरू यस प्रकार रहेका छन् :-
1) कालो सर्प (कथा सङ्ग्रह – सन् 1995, विश्व इन्टरप्राइज, गान्तोक, सिक्किमबाट)
2) हाम्रा केही उपयोगी वनस्पतिहरू (बाल साहित्य– सन् 1995, बुक ट्रस्ट अफ् इन्डियाबाट)
3) उदासीन रूखहरू (उपन्यास – सन् 1999, दोस्रो संस्करण – 2017, दुवै संस्करण साझा पुस्तक प्रकाशन, दार्जीलिङबाट)
4) प्रयोगको मेशिन (उपन्यास – सन् 2009, श्याम ब्रदर्स प्रकाशन, दार्जीलिङबाट)
5) केही अध्ययन : केही विवेचना (समीक्षा – सन् 2009, दोस्रो संस्करण – 2010, दुवै संस्करण साझा पुस्तक प्रकाशन, दार्जीलिङबाट)
6) शिव प्रधान (मनोग्राफ – सन् 2010, साहित्य अकादेमी, नयाँ दिल्लीबाट)
7) गोपीनारायण प्रधान (मनोग्राफ – सन् 2015, साहित्य अकादेमी, नयाँ दिल्लीबाट)
8) उमेरको घाउ (कथा सङ्ग्रह – सन् 2019, श्री रत्न प्रकाशन, मल्ली, सिक्किमबाट)
9) चिन्ता सल्केको पहाड़ (उपन्यास – सन् 2022, साझा पुस्तक प्रकाशन, दार्जीलिङबाट)
अनुवाद :-
1) उज्यालोतिर (उपन्यास – सन् 2009, बेबी हल्दारको ‘आलो आँधारी’ बङ्गला भाषाबाट नेपालीमा अनुदित, निर्माण प्रकाशन, गान्तोकबाट प्रकाशित)
2) जन गण मन धुनका जनक कप्तान रामसिंह ठकुरी (जीवनी – सन् 2023, मूल लेखक – राजेन्द्र राजन, हिन्दीबाट नेपालीमा अनुदित)
यसबाहेक उनले विभिन्न पत्र-पत्रिकाहरूको सम्पादन कार्य पनि गरेका छन्। नेपाली साहित्य सम्मेलन, दार्जीलिङबाट प्रकाशित ‘दियालो’ –को हाँगो 120 देखि 128 सम्म अनि हाँगो 135 देखि 138 सम्म 13 वटा अङ्कमा उनको सम्पादन रहेको थियो र दियालो वाङ्मय विशेषाङ्क वर्ष 22 हाँगो 100 फरवरी 1984 को अङ्कमा उनी प्रकाशक रहेका थिए। दियालोमा उनका अनेकौं कथा, कविता र लेख-निबन्धहरू प्रकाशित छन्। एक समयमा उनले हिमालोक (नेपाली डाइजेस्ट), चाँप-गुँरास (विज्ञान पत्रिका), मनन (साहित्यिक पत्रिका) आदिको सम्पादन एवं रचना सहयोगद्वारा पनि योगदान पुर्याएका थिए। साहित्य अकादेमी, दिल्लीबाट प्रकाशित ‘भारतीय नेपाली साहित्यमा भानुभक्तको रामायण’ (सन् 2019) र ‘स्वतन्त्रोत्तर भारतीय नेपाली कथाहरू’ (सन् 2020) –मा डा. जीवन नामदुङ र प्रेम प्रधानको संयुक्त सम्पादन रहेको छ।
सन् 2002 मा ‘उदासीन रूखहरू’ उपन्यासको निम्ति साहित्य अकादेमी पुरस्कार प्राप्त गरेपश्चात् सन् 2004 मा उनलाई सिक्किमबाट सिक्किम सम्मान सम्मिलनद्वारा सम्मानित गरियो। सन् 2011 मा पनि सिक्किमबाट नै लालमान-सञ्चरानी पुरस्कारले उनी सम्मानित भए। त्यसपछि सन् 2023 मा अखिल भारतीय नेपाली भाषा समिति, देहरादूनले उनलाई भानुभक्त पुरस्कार प्रदान गरी सम्मान जनायो। यसरी नै उनलाई अनेकौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ-संस्थाहरूबाट पनि संवर्द्धना एवं अभिनन्दनद्वारा सम्मान जनाइएको छ। उनले भारतीय नेपाली साहित्यमा लगभग 6 दशकको लामो यात्रा तय गरिसकेका छन् र उनीबाट अझै उत्कृष्ट कृतिहरूको सृजना हुन सकोस् भन्ने शुभकामना सहित उनको सुस्वस्थ जीवन र दिर्घायुको कामना गर्दछौं।
सन्दर्भ :
1) चिन्ता सल्केको पहाड़ (उपम्यास) – प्रेम प्रधान
2) प्रेम प्रधान – नयाँ क्षितिज खोज्दै - राजीव शङ्कर श्रेष्ठ (हाम्रो प्रजाशक्ति फरवरी 2014)
एवं व्यक्तिगत भेटघाटद्वारा प्राप्त तथ्याङ्कमाथि आधारित।
बाग्राकोट, डुवर्स