दस वर्ष पुरानै परिधानमा, रामचा आज फर्केको देखेर निराश भए उसका बाबु ।
बाबुका आँखामा उहीँ तस्बिर घुमिरह्यो । लेखपढमा बन्दै ध्यान नदिएको र कामकाज गर्न भनेपछि दाँतबाट पसिना छुटाएको । त्यही कारण रामचा बहिष्कृत भएको थियोे, बाबुको संविधानबाट ।
“मान्छे भएसी कि गरेर खानुपर्छ कि मरेर जानुपर्छ ।” घरबाट गलहत्याउने बेला यसै भनेका थिए बाबुले ।
रामचाले पनि आँखामा बारिएको दहको डिल भत्काएर दह आधा पारेको थियोे । आधा भने आँखाभित्रै पचाएर निस्केको थियोे ।
आमाबाबुको काख छाडेपछि र घरको छहारी नभेटेपछि रामचाले आफ्नो बानीमा पनि रूपान्तरण गरेको थियो । दृढ सङ्कल्पलाई साथी तुल्याएको थियो । मन जाँच्न सुरक्षित राखेको कपडा पहिरेर बाबुको सामु खडा भएको थियोे ।
“अझै हामी श्वासप्रश्वास गर्दैछौँ । उस्तै हालतमा के खान फर्केको ?” मुटुको किलो बलियो गरी ठोक्दै बाबुले भने ।
आफ्नो वास्तविक रूपलाई नचिनेकोमा रामचा झन् खुसी भयो । छोराको दिमाग खुस्केछ भनी बाबु चाहिँ अत्तालिए ।
“उहिलेको रामचा मरिसक्यो; म त अहिलेको रामचा हुँ बुबा ।” रामचाको बोली सिद्धिन नपाउँदै आठ जना भरियाले दलानमा भारी बिसाइसकेका थिए ।
सिर्जनाकुटी, सिरहा