नेपाली साहित्यमा रामकृष्ण शर्माको नाम आदरका साथ लिइन्छ। उनी एक प्रखर समालोचक, वक्ता, विद्वान पुरूष र नेपाली समाजका एक नक्षत्र हुन्। उनका विविध व्यक्तित्वले उनलाई अमर बनाएको छ। उनी आफ्ना सुकर्मले गर्दा चर्चित भएका हुन्। वर्ष २०२२ रामकृष्ण शर्माको जन्म शतावार्षिकी हो। उनी हाम्रा समाजका एक लोभलाग्दा, झरिला व्यक्ति थिए। आफ्लो समयका उनी हाम्रा सहारा थिए, आशा थिए, दरिला नेतृत्व थिए, जात्याभिमानी खाँटी गोर्खा थिए। आफ्नो तार्किक शक्तिलाई टेबल गफका साथै लेखनमा प्रयोग गरे। न्यायालय र सर्जकका निम्ति उनी निर्णायक थिए।
2. रामकृष्ण शर्मा एक परिचय-
रामकृष्ण शर्माको जन्म १९२2 मा म्यान्मारको मेम्यो भन्ने ठाउँमा भएको हो। उनका बाबुआमाको नाम गङ्गालाल शर्मा र देवमाया शर्मा हो। उनका बाबु गंगालाल जैसी 10 रेजिमेन्ट गोर्खा राइफल्सका सुवेदार थिए। उनका बाबु जग्गाजमिनले सम्पन्न थिए तर उनका पाँचवटी स्वास्नी हुनाले त्यहाँ घर झगड़ाका कारण गंगालाल आफ्नी कान्छी स्वास्नी र एक छोरा र एकछोरी लिएर कालिम्पोङ आएर इच्छे बस्तीमा घर जग्गा जमिन जोडेर बसेका थिए। रामकृष्ण शर्माको जन्म बर्मामै भए तापनि उनको हुर्काइ बढाइ र अधिकांश जीवन कालिम्पोङ्मा नै बितेको थियो। उनले कानुनी विद्या अध्ययन गरेर प्रसिद्ध उकिल थिए भने कोलकाता महानगर न्यायधीशको ओहादासम्म पुगेका थिए। उनले वि. सं. १९९९ मा शारदा पत्रिकामा ‘अङ्ग्रेजी साहित्यको प्रभाव’ प्रकाशित भएको थियो। यही समालोचनात्मक लेखबाट नै वास्तविक रूपमा आधुनिक नेपाली समालोचनाको थालनी भएको मानिन्छ। उनका सप्त शारदीय (१९६७) दश गोर्खा (१९६९), टेबल गफ नौ बैठक (१९७१) समालोचनाका पुस्तक हुन्।
३. रामकृष्ण शर्माको उदयभन्दा पहिलेको नेपाली समालोचनाको अवस्था-
रामकृष्ण शर्माको समालोचनामा उदय हुनुभन्दा पहिले पनि नेपाली समालोचना लेखन शुरू भएको थियो। मोतीराम भट्टको ‘भानुभक्तको जीवनचरित्र’ पुस्तिकाको प्रकाशनले नेपाली समालोचनाको प्रारम्भ भएको मानिन्छ। यसपछि राममणि आदिले पनि कवितारीति भन्ने लेखमा कविता लेख्दाका कुरा उल्लेख गरेका छन। त्यसपछि सूर्यविक्रम ज्ञवालीको उदय भएपछि भने समालोचनाको स्वरूप पाएको थियो। उनको नैवेद्य समालोचना, नेपाली साहित्यकाशका दुई तारा, भ्रमर उपन्यासको भूमिकारूपी समीक्षा आदि जस्ता लेखहरूले समालोचनालाई अघि बढाएका हुन्। त्यसपछि केही फुटकर केही लेखका रूपमा समीक्षा आएका हुन्। मणिसिंह गुरूङको गोर्खा सेवकमा सन् १९३७ मा प्रकाशित ‘भ्रमर समालोचना’ पनि उल्लेखनीय छ। त्यसपछि शारदा पत्रिकाको १९९९ को अङ्कमा रामकृष्ण शर्माको ‘अङ्ग्रेजी साहित्यको प्रभाव’ भन्ने लेखले भने वास्तविक नेपाली समालोचनाको प्रारम्भ भएको मानिन्छ। त्यस बेलासम्म कृतिको गुण पक्षको मात्र समीक्षण गरिएको पाइन्छ।
४. समालोचकका रूपमा रामकृष्ण शर्मा-
नेपाली समालोचना साहित्यमा रामकृष्ण शर्मा एक अत्यन्त आदरणीय, उल्लेखनीय र अविष्मरणीय नाम हो। उनकै कलमबाट नै नेपालीमा गुणदोष दुवै पक्षको समालोचनाको शुरू भएको मानिन्छ। वि.सं. 1999 मा शारदा पत्रिकामा प्रकाशित अङ्ग्रेजी साहित्यको प्रभाव भन्ने लेखबाट नै नेपालीमा वास्तविक समालोचना शुरू भएको मानिन्छ। आधुनिक नेपाली सामालोचनाका इतिहासमा युगान्तकारी मानिन्छ। त्यस लेखमा उनले कवि धरणीधर किराला, नाटकककार महाकवि लक्ष्मीप्रसाद देवकोटाका कतिपय रचनामा परेको अङ्ग्रेजी साहित्यको चर्चा गरिएको छ। यसै समालोचनाको सिलसिलामा कविको धन, टाक्सिएको नेपाली कविता आदि पनि उल्लेखनीय लेख हुन्। उनलाई खरो समालोचक पनि भनिन्छ। उनको भनाइअनुसार ‘उचित ठहराएको भन्दा मासाभर बेसी प्रसंशा गर्नु मेरो धर्मानुकूल कुरो होइन। एवम् लेखको हौसला र उत्साह बढाउने ध्येयले गरिए पनि अनुचित प्रसंशा अनुचित नै हुन्छ भन्ने मलाई लाग्छ’। उनले तत्कालीन जीवित कविहरूका कविताका कमजोरी पक्षहरूलाई निर्भीक रूपमा देखाइदिएका हुन्। त्यस्ता कविताहरूका चाहे, लक्ष्मीप्रसाद देवकोटा हुन् वा, बालकृष्ण सम हुन् वा लेखनाथ पौड्याल हुन्। कविहरूका काव्यगत कमजोरी देखाउँदा उनी निकै विवादमा परेका थिएका। यदुनाथ खनालसित सुक्तिसिन्धु विषय लिएर सैद्धान्तिक पैंठाजोरी गर्नुपर्यो। उनका कतिपय लेखमा त व्यक्तिविशेषलाई ठुङ हानेका हुनाले उनले निकै खप्की पनि खानुपरेको थियो। यद्यपि उनी आफ्नो सिद्धान्त र विचारले अडिग थिए। आफ्नो समालोचना धर्मलाई डगमगाउन दिएनन्।
उनको ‘सप्त शारदीय’मा रहेका सातवटा लेखहरू हुन्- ‘अङ्ग्रेजी साहित्यको प्रभाव’, ‘कवि भानुभक्तको विषयमा’, ‘कविको धन’, ‘नाटकसम्बन्धी छोटो लेख’, ‘जीवन र साहित्य’, ‘समालोचना’, ‘टाक्सिएको नेपाली कविता’। यसै गरी उनको ‘गोर्खा’ पत्रिकामा प्रकाशित भएका दसवटा लेखहरूको सङ्ग्रह ‘दस गोर्खा’का लेखहरू हुन्- ‘कवि’, ‘साहित्यिक रुचिको प्रौढता’, ‘समाज र साहित्य’, ‘नेपाली साहित्यको प्रगति’, ‘साहित्यिक कलाकारको रूपमा’, ‘तिवारीजीका नाटक’, ‘गजाधर सोतीकी घरबूढीको पक्षमा’, ‘नेपाली कवितामा उहिले र अहिले’, ‘कदाचित बिर्सिएला’, ‘महानन्द र धर्मराजको देशप्रेम’। उनको ‘टेबल गफ नौ बैठक’ (सन् १९७०) भित्र रहेका लेखहरू हुन्- ‘साहित्यका स्पष्ट र अर्घेला टिप्पणी-१’, ‘साहित्यका स्पष्ट र अर्घेला टिप्पणी -2’, ‘साहित्यका स्पष्ट र अर्घेला टिप्पणी-३’, ‘हाम्रा इतिहासशिरोमणि खरदार बाबुराम आचार्य’, ‘साहित्य गोष्ठीप्रतिको विचार’, ‘कला कलाको निम्ति उक्तिको छोटो विश्लेषण’, ‘कला जीवनको निम्ति उक्तिको छोटो विश्लेषण’, ‘टु टुटी ट्वाँट’, ‘एउटा स्पष्टीकरण’ हुन्।
नेपाली समालोचनामा पाश्चात्य प्रभावलाई चिनाउने निर्भीक, दोषद्रष्टा र स्पष्टवादी समालोचक हुन् रामकृष्ण शर्मा। उनले कृतिमा देखिएका वा आफुलाई अनुभूत भएका कुरा नहिचकिचाइ अभिव्यक्त गर्दथे। भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धरणीधर शर्मा, महानन्द सापकोटा, भीमनिधि तिवारी आदिका कृतिमा रहेका कमजोर पक्षलाई पनि औंल्याएका छन्। उनले नेपाली साहित्यमा मौलिक मानदण्ड र जातीय गौरव, आफ्ना इतिहास, भूगोल, सामाजिक, सांस्कृतिक अवस्थानको प्रतिनिधित्व हुन नसकेको कुरालाई आफ्नो समालोचनामा व्यक्त गरेका छन्। उनले हाम्रा कविता र उपन्यासहरूले हाम्रा आफ्ना मौलिक कुरालाई अघि ल्याउनु पर्छ भन्ने विचार गरेका छन्। बौद्धिकता, तार्किकता, विश्लेषणात्मकता आदि उनको समालोचकीय वैशिष्ट्य हुन्।
रामकृष्ण शर्माको समालोचनाका बारेमा विभिन्न अध्येताहरूले आफ्नो अध्ययन प्रस्तुत गरेका छन्। यदुनाथ खनाल, इन्द्रबहादुर राई, डा बासुदेव त्रिपाठी, फणिन्द्र नेपाल, डा शान्ति थापा, शोभाकान्ति थेगिम, एकनारायण पौड्याल, महानन्द पौड्याल, कुमार छेत्री, रागिनी थापा, ममता लामा आदिले उनका समालोचना लेखनका विभिन्न पक्षबारे चर्चा गरेका छन्। दियालो, साहित्य सङ्केत, आकाशदीप आदि जस्ता पत्रिकाले रामकृष्ण शर्मा स्मृति अङ्कका रूपमा पनि प्रकाशित गरेका छन्। उनको समालोचकीय देनबारे सिक्किमकी शान्ति छेत्रीले विद्यावारिधि पनि सम्पन्न गरेकी छन्। उनका निबन्ध र समालोचनाबारे विभिन्न विद्वानहरूले मन्तन्य टिपोट गरेका छन्। उनी निबन्ध र समालोचना लेखनमा अब्बल रहेको कुरा डा. तारानाथ शर्मा, फणीन्द्र नेपाल, डा. घनश्याम नेपाल, डा बासुदेव त्रिपाठी, दयाराम श्रेष्ठ. शान्ति छेत्री, शिवराज शर्मा, राजेन्द्र सुवेदी, रामलाल अधिकारी, महानन्द पौड्याल आदिले व्यक्त गरेका छन्।
५. टेबल गफ नौ बैठकको विवेचना
रामकृष्ण शर्माको टेबल गफ नौ बैठकमा जम्मा नौवटा लेखहरूको एउटा समालोचनाधर्मी पुस्तक हो। विकास प्रकाशन कालिम्पोङबाट प्रकाशित यस पुस्तकलाई उनको समालोचनाधर्मिताबारे स्पष्ट धारणा पाइन्छ। अन्य दुई समालोचना पुस्तकका तुलनामा यो पुस्तकमा रामकृष्ण शर्माको अलिक खरो र तिखो समालोचना लेखेका छन्। यस पुस्तको अध्ययन गर्दा हामी निम्न कुराहरू परिलक्षित गर्न सक्छौं -
१. रामकृष्ण शर्माले कविहरूको प्रथम र दोस्रो श्रेणी गरी विभाजन गरेका छन्। उनको दृष्टिकोणमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षु र प्रेमराजेश्वरी थापा प्रथम दर्जाका कवि हुन्। माधव घिमिरे, केदारमान व्यथित, महानन्द सापकोटा, धर्मराज थापा, धरणीधर कोइराला आदिलाई दोस्रो श्रेणीका कविका रूपमा राखेका छन्।
२. उनले जति कविहरूको श्रेणी विभाजन गरेका छन्, ती जम्मै तत्कालीन जिवितावस्थाका कविहरूको गरेका छन्।
३. उनले नेपालका कविहरूको मात्रै विभाजन गरेका छन्। उनले दार्जिलिङका कुनै कविलाई दोस्रो दर्जासम्म पनि मानेका छैनन्।
४. उनको श्रेणी विभाजन गुरूबाबुले विद्यार्थीलाई अङ्क दिएजस्तो गरी तौली तौली दिएका छन्।
५. शर्माले कविको श्रेणी विभाजन गर्दा कवित्व शक्ति, भाव सम्प्रेषण, शाब्दिक चमत्कार,शाश्वत मूल्य आदिलाई प्रमुखता दिएका छन्।
६. उनले जसजसलाई दोस्रो श्रेणीका कवि भनेर ठहर्याएका छन्, त्यमा उनी सचेत रूपमा अडिग छन् र आफुले गरेको यस्तो श्रेणीगत वर्गीकरण गर्दा उनलाई कुनै पछुतो छैन भन्ने समेत उल्लेख गरेका छन्।
टेबल गफ नौ बैठक पुस्तकको नामले यो समालोचनाको नभएर टेबलमा गरिने गफ मात्र हो भन्ने उनको आशय देखिन्छ। कालिम्पोङको गम्फुज र दार्जिलिङको दिलखुशा होटेलमा साथीहरूसित बसेर टेबल गर्दा व्यक्त गरिएका विचारलाई अघि सारिएको छ। यसमा नौवटा लेख हुनाले यसलाई नौ बैठकको संज्ञा दिइएको छ। नौ पटक टेबलमा बसेर गफ गरेको कुराको अर्थ लाग्ने यस पुस्तकलाई विवेचना मान्न सकिन्छ। कुनै कृति वा कृतिकारमाथि आफुलाई लागेका धारणालाई व्यक्त गरेका छन्। गफ गर्दा धेरै कुरा निस्कन्छन् र ती गफलाई व्यवस्थित ढङ्गमा लिपिबद्ध गरी यसलाई पुस्तकाकार रूपमा प्रकाशित गरिएको छ।
रामकृष्ण शर्माले पाश्चात्य समालोचनाका सिद्धान्तलाई आधार बनाएर समालोचना लेखेका हुन्। अँग्रेजी साहित्यको प्रभाव देखि लिएर टाक्सिएको नेपाली कवितासम्म आइपुग्दा उनी नीतिपरक दृष्टिकोणभन्दा अघि बढेर सौन्दर्यपरक दृष्टि कृतिलाई केलाएर हेर्न सशक्त पद्धति नेपाली समालोचनामा भित्र्याएका हुन्। उनी आफ्नो जीवनकालमा नै लेखनीका कारण विवादमा पनि परेका थिए। त्यो उनको स्पष्टता, निर्भीकता, सेतोलाई सेतो र कालोलाई कालो भन्ने प्रवृत्तिले सिर्जना भएको थियो। टेबल गफ नौ बैठकमा पनि केही अर्घेला टिप्पणी भन्ने पदावलीले पनि केही नयाँ दृष्टिकोण, निर्भीकता बुझाएको छ। यसमा कतै व्यङ्ग्य पनि कसिएको पाइन्छ। टेबल गफ गर्दा कुरा जता पनि बग्छन्।
टेबल गफ नौ बैठकभित्रका लेखहरूको विश्लेषण- जम्मा त्रिसट्ठी पृष्ठ रहेको यस सानो पुस्तकमा जम्मा नौवटा लेखहरू समावेश छन्। यसमा तीनवटा लेखहरू ‘साहित्य स्पष्ट र अर्घेला टिप्पणी 1, 2, 3’, यहां हाम्रा ‘इतिहासशिरोमणि खरदार बाबुराम आचार्य’, ‘साहित्यगोष्ठी प्रतिको विचार’. ‘कला कलाका निम्ति उक्तिको छोटो विश्लेषण’, ‘कला जीवनका निम्ति उक्तिको छोटो विश्लेषण’, ‘टी टुटी ट्वाँट’, ‘एउटा स्पष्टिकरण’।
पहिलो लेख साहित्यमा ‘स्पष्ट र अर्घेला टिप्पणी 1’ देखि ३ सम्म भिन्नाभिन्नै विषयमा लेखिएका छन्। यद्यपि पहिलो लेखमा नेपाली कविहरूको श्रेणी विभाजन गरिएको छ। उनको तर्क यसमा तत्कालीन जीवित नेपाली कविहरूको कृतिको आन्तरिक गुणका पहिलो र दोस्रो श्रेणीमा विभाजन गरिएको छ। यसमा पहिलो यी यी कविहरू पहिलो वा दोस्रो श्रेणीका हुन् भनेर तोक लाउँदा विद्वानहरू त सोचमा पर्लान अनि मूर्खहरू रिसाउलान् तर उनी कृतिको गुणवत्ताका आधारमा श्रेणी विभाजन गर्न धक नमानेको कुरा उल्लेख गरेका छन्। उनका अनुसार पहिलो श्रेणीका उत्कृष्ट जीवित नेपाली कविहरूमा लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, श्री सिद्धिचरण श्रेष्ठ, प्रेमराजेश्वरी थापा र भवानी भिक्षु। यसैगरी दोस्रो श्रेमीका कविहरूमा श्री केदारमान व्यथित, श्री महानन्द सापकोटा, श्री माधवप्रसाद घिमिरे, श्री धरणीधर शर्मा, श्री चक्रपाणि चालिसे, श्री धर्मराज थापा, श्री गोपालप्रसाद रिमाल, श्री कुलचन्द्र गौतम। यीमध्ये पनि प्रथम श्रेणीमा दिन सकिने खालका कविहरूमा केदारमान व्यथित, गोपालप्रसाद रिमाल र धर्मराज थापामा देखेका थिए।
शर्माले यी दोस्रो श्रेणीका कविहरूका कवितामा यी यी कमजोरी देखेर दोस्रो श्रेणीमा राखेको उल्लेख गरेका छन्- केदरमान व्यथितका कवितामा दर्शनको गुजुल्टो भएर पाठकलाई बुझ्न कठिन पर्दछ। धर्मराज थापा ज्यादै हतारिएर कविता लेख्छन्, आफ्ना कवितालाई गीत गायनबाट ढाकछोप गर्छन्। उनको कविताको एउटै प्रेमराजेश्वरी थापाको झै व्यक्तित्व झट्काने खालको हुँदैन। अझै कवितामा बाढ़ पुगेको छैन भन्ने किटान गरेका छन्। महानन्द सापकोटा, कुलचन्द्र गौतम र चक्रपाणि चालिसेका कवितामा कवित्वशक्तिको बाढ़ पुगे तापनि अझै केही कुरा अपुग छ, यो उमेरसम्म नपुगेको कवित्व अब अघि बढ्दैन बन्ने कुरकरा राखेका छन्। झन धरणीधर शर्मा त दोस्रो श्रेणीमा पनि दर्याउन नसक्ने भए तापनि कुँदिएका र खारिएका कवि हुन्। उनी समयको खाँचो टार्ने कवि हुन्। धरणीधरले नेपाली कविता टाक्सिएको समयमा कविता लेखेका थिए। उहाँ हृदय भावालु र कवितामय भएका बलले कविता कविता लेखेका हुन्। गोपालप्रसाद रिमालको ज्यामिर र सुन्तलाको कलम बाँधी फलाएको वासिङ्टन सुन्तलाको जस्तो हुन्छ भन्ने कुरा उल्लेख गरेका छन्। रिमाल गद्य कविताको प्रवर्तन गरेको कुरालाई अमेरिकाका गद्य कविता पद्धतिलाई इँगित रहेका हुन्। अहिले (शर्माले लेखका बेला) रिमाल राजनितीमा लागेर कविता लेख्नै छोडिदिएका छन्। अर्का भीमनिधि तिवारीमा कवित्व शक्ति भए तापनि पनि अझै केरा झैं गाँजिएको र दुबो झैं मौलिएको छैन भन्ने कुरा किटान गरेका छन्। त्यसपछि उनले यीबाहेक अन्य कवि पनि दोस्रो श्रेणीमा आउन सक्छन्। उनका दृष्टिकोणमा दार्जिलिङका कुनै कविले पहिलो त कुरै छाड़ौं, दोस्रो श्रेणीमा उक्लिन सकेका छैनन्।
रामकृष्ण शर्माले आफ्ना विचारलाई तार्किक रूपमा पुष्टि गरेका छन्। उनका अनुसार जीवित कविहरूको श्रेणी विभाजन गर्नु कुनै नराम्रो कुरा होइन्। यहाँ केही कुरा परिलक्षित हुन्छन्-
१.यहाँ लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ प्रेमराजेश्वरी थापा र भवानी भिक्षुलाई प्रथम श्रेणीमा राखेका छन्। शर्माका समयमा चारजनाबाहेक प्रेमराजेश्वरी थापा र भवानी भिक्षुका कविता पत्रिकातिर देखिन्थे होलान्। अहिलको समयमा यी दुई कविहरूको खासै स्थान र चर्चा पाइन्न। त्यतिबेला कुन आधारमा यी पछिल्ला दुई कविलाई पहिलो दर्जाका कवि भनेर तोक लाएका हुन्। जो अहिले स्वीकार्य छैन।
२.रामकृष्ण शर्माले लेख्दाका समयका माधवप्रसाद घिमिरेलाई समेत दोस्रो श्रेणीमा राखेका छन्। माधव घिमिरे आफ्नो उमेरको सयाधिक वर्षसम्म कविता लेखिरहे। उनका गौरी, कालीगण्डकी, राजेश्वरी, पापिनी आमा, यशोधरा, विषकन्या, मालती मङ्गले, हिमालवारि हिमालपारि, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर किन्नरी, आदिजस्ता महत्त्वपूर्ण काव्य लेख्नेलाई पनि दोस्रो श्रेणीमा राख्नु शर्माको तोक अहिले व्यर्थ र अर्घेलो विचार भएको छ। उनका कविता सुपाठ्य, लोकप्रिय र सर्वग्राह्य छन्। यद्यपि त्यति बेलाको माधवप्रसाद घिमिरेलाई दोस्रो श्रेणीको तोक पनि सही ठहर्छ।
३. उनको विचारमा दार्जिलिङका कुनै कविलाई दोस्रो श्रेणीसम्म पनि मानेका छैनन्। उनले यो लेख लेख्दाका समयमा दार्जिलिङका कुनै कविलाई प्रथम र दोस्रो श्रेणीका पाएनन्। त्यतिबेला अगमसिंह गिरी पनि निश्चय उदाइसकेका थिए। उनलाई पनि शर्माले प्रथम र दोस्रो श्रेणीका कविका रूपमा दर्याउन सकेनन्। हुन पनि त्यति बेला दार्जिलिङबाट त्रिरत्नका जस्ता उत्कृष्ट कविता लेख्ने उनले पाएनन्, देखेनन् औ थिएनन् पनि।
पुस्तकको दोस्रो लेख साहित्य स्पष्ट र अर्घेला टिप्पणी- 2 मा हाम्रा कतिपय कविका कविता उत्कृष्ट र कतिपय निकृष्ट हुन्छन् भन्ने कुराको उदाहरण तोला र मनका भावमा बिक्री हुनुपर्ने भनेर तर्क पेश गरेका छन्। उनका विचारमा साहित्यिक मूल्यवत्ताका आधारमा कृतिको दरभाव हुनुपर्ने हो। अर्थात् छापिएका साहित्यिक पुस्तक जम्मै स्तरीय हुँदैनन्। त्यसमध्ये कुनै तोलाको भाव, कुनै मनका भावमा रहनेसरह बढी र कम गुणवत्ताको परख गर्न सक्नुपर्छ। शारदा पत्रिकाको सम्पादकीय धेरै मूल्यवान र महत्त्वपूर्ण हुन्छ। यदि सम्पादकीय लेखहरू बटुलेर सङ्कलन गरेर एउटा पुस्तक निकाल्न पाए त्यसको छुट्टै महत्त्व हुने थियो भन्ने आशय पनि व्यक्त गरेका छन्। अझ यसमा तत्कालीन शारदा पत्रिकाको प्रत्येक अङ्कका सम्पादकीय उत्कृष्ट हुन्छन् भनेर मुग्धकण्ठले प्रशंसा गरेका छन्।
पुस्तकको तेस्रो लेख साहित्यमा स्पष्ट र अर्घेला टिप्पणी- 3 मा भने माधवप्रसाद घिमिरेको शारदा पत्रिकामा शृङ्खलाबद्ध रूपमा प्रकाशित हुँदै आएको गौरी कवितालाई रामकृष्ण शर्माले बड़ो रूचिका साथ व्याख्या विश्लेषण गरेका छन्। पछिबाट यीनै कविताहरूको एउटा संकलनका रूपमा गौरी खण्काव्यका रूपमा प्रकाशित भएको छ। शर्माले माधव घिमिरेलाई गौरीमा प्रकाशित पाँचवटा शृङ्खला कविताको प्रश्स्त गुणगान गरेका छन्। घिमिरेका केही कविताका लहरमा राष्ठ्रिय झण्डा कविता मात्र उच्च स्तरीय छ। गौरीका केही शृङ्खलामा कवितामा हुनुपर्ने सम्पूर्ण गुण विद्यमान छन्। भावगत सघनता सबै पक्षमा उत्तम भए पनि माधव घिमिरे भने दोस्रो श्रेणीका कवि हुन् भनेर नै तोक दिएको छन्। यसमा माधव घिमिरेप्रति रामकृष्ण शर्माको पक्षपातपूर्ण दृष्टिकोण नै राखेका हुन् भन्ने स्वीकार्न सकिन्छ।
‘इतिहासशिरोमणि खरदार बाबुराम आचार्य’ भन्ने लेखमा इतिहासकार बाबुराम आचार्यको इतिहासको गहन अन्वेषणबारे समीक्षा गरिएको छ। बाबुराम आचार्यका शारदा पत्रिका, भानुभक्त सम्रक ग्रन्थ आदिमा प्रकाशित इतिहासका विभिन्न लेखहरूलाई शर्माले केलाउने काम गरेका छन्। यसमा ‘सगरमाथा र झ्यामोलोङ्मा’,’तनहुँको सेनवंश’, ‘शिवशर्मा पण्डित’, ‘भानुभक्त झ्यालखानामा’? ‘नेपालका लिच्छवी राजाहरूको कालगणना’, ‘तिब्बतको शुद्धजीव राजा र तिनको समय’बारे चर्चा गरेका छन्। ‘पुराना कवि र कविता’ पुस्तकमा पनि बाबुराम आचार्यको इतिहासचेतना, तथ्यान्वेषण, पारखकलाको प्रशंसा गरेका गरेका छन्। सूर्यविक्रम ज्ञवालीले ‘नेपालका इतिहासमा अद्वितीय ज्ञाता’ को तोक लाएकालाई समर्थन गरेका छन्। बाबुराम आचार्यले लिच्छवि राज्यको कालगणनामा परेको गज्याङगुजुङलाई समेटेर एउटा ठोस कालनिर्धारण गर्न कम्मर कसेको तथ्यलाई इँगित गरेका छन्। नेपालको इतिहास लेख्न विदेशीहरू भगवानलाल इन्द्रजी, डा जे एफ. फ्लीट, प्रो. सिलभ्यां, डा के जयसवालहरूले लिच्छवि राजाहरूको दुई चार शिलापत्रको अध्ययन गर्न नसकेर भिन्नभिन्ना किसिम किसिमका निर्णय प्रकट गरेका छन्, शिलापत्रमा लेखिएका संवतहरूको संख्या गन्न भूल गरेका छन् अनि दोस्रो लिच्छवि राजवंशलाई ठाकुर वंश सम्झेर बहकिएका छन्। यसो हुँदा बाबुराम आचार्यले यसको अध्ययन मनन गरी सठिक कालनिर्धारण गरेका छन्। यस्तो काममा विदेशी इतिहासकार भन्दा स्वदेशी र स्वभाषी इतिहासहरू अघि सर्नुपर्दछ भन्ने रामकृष्ण शर्माले विचार व्यक्त गरेका छन्। बाबुराम आचार्यको तथ्यान्वेषण, गहन अध्ययन र सठिक निर्णय गर्न सक्ने क्षमता भएका इतिहासकार हुनाले उनलाई ‘इतिहासशिरोमणि’ को उपाधि दिएका हुन्।
टेबल गफको पाँचौं बैठकको अर्को लेख ‘साहित्यगोष्ठी प्रतिको विचार’ भन्ने लेखमा साहित्यिक गोष्ठी आयोजना गर्नु कुनै औचित्य छैन भन्ने विचारलाई तर्कसम्मत व्यक्त गरेका छन्। यसमा खासगरी साहित्य पठन, चिन्तन मनन गरिने वस्तु हो। साहित्यगोष्ठीले साहित्यको उद्देश्य पूरा गर्दैन, बरू बाह्यडम्बरलाई प्रेरित गर्छ। साहित्य गोष्ठी भनेको कलाकारको सम्मानलोलुपता, करतालीको लालसा र निम्नकांक्षीय कीर्ति क्षुधाको पछि दौड़ने मानसिक कमजोरीको प्रदर्शन मात्र हुन्छ। साहित्यिक कला अन्य कलाजस्तो प्रदर्शनकारी हुँदैन। नर्तक वा गायक कलाकारले सम्मानित भएको देखेर साहित्यिक कलाकार पनि गोष्ठी आदि जस्ता कार्यक्रम गरेर यसैतर्फ लाग्नु उचित होइन्। संगीतकला र नृत्यकलाको निम्ति गोष्ठी उपयुक्त हो तर साहित्यका निम्ति होइन। गोष्ठीमा साहित्यिक वास्तविक मर्म खुल्दैन, हल्का स्फुट खालका कमसल वा सामान्य कोटीका कविता कथा सुनाउन उपयुक्त हुन्छ तर उपन्यास, खण्डकाव्य, महाकाव्य जस्ता गम्भीर कृतिको पठन हुँदैन। अर्थात् गोष्ठीले साहित्यको बाह्य कुरा मात्र प्रदर्शन गर्छ। उनका विचारमा दुई चार साहित्यकार भेला भएर सस्तो खालको भावका कविता पाठ गर्दा एकछिनको मात्रको वाहवाही हुन्छ तर गम्भीर कवितामा त्यस्तो वाहवाही हुँदैन। यसले कवितालाई फ्यातुलो, सतही भाव र अर्थका कविताले प्रश्रय पाउने बढी सम्भावना रहन्छ भन्ने धारणा व्यक्त गरेका छन्।
अर्को लेख ‘टी टुटी ट्वाँट’ मा रहेको कुरालाई केही समीक्षकहरूले आ-आफ्नो अनमानित अर्थका आधारमा विवेचना गरेका छन्। जस योञ्जन प्यासीले शर्माको यो लेखमा कवितामा अति प्रयोग गर्ने, जाँड़-रक्सी खाएर अनर्थ कविता कोर्ने कविहरूलाई व्यङ्ग्य कसेको हुन्। पुस्तकको प्रकाशकीयमा महानन्द पौड्यालले दार्जिलिङका कतिपय कविहरूलाई व्यङग्य कसेका हुन् भन्ने विचार व्यक्त गरेका छन्। यद्यपि इन्द्बहादुर राई राईका विचारमा यसमा कसैलाई व्यङग्य कसिएको छैन बरू मिकी माउसको डुडल डु कै परिपाटीको नेपाली कविताको प्रयोग गर्न खोजेका हुन्। अरूले दिइएका अर्थहरू केही सत्य होइनन्। रामकृष्ण शर्माको यो लेखको प्रकाशित गर्दाको समय विचार्दा यसमा न कुनै आयामेली कविहरूलाई न कुनै जँड्याहा कविलाई व्यङग्य कसेको हो।
टेबल गफको छैटौं लेख ‘कला कलाको निम्ति उक्तिको छोटो विश्लेषण’ मा कलाका विभिन्न विभिन्न अर्थ लाग्न सक्छन् तर कलालाई अन्य विषयको भार बोकाउनु उचित होइन भन्ने विचार व्यक्त गरेका छन्। उनको विचारमा कला साध्य हो, साधन होइन। कलालाई अन्य विषयको भारी बोकाएर गरूँङ्गो बनाउनु हुँदैन। कलालाई आफ्नै स्वतञ्त्रता दिनुपर्छ।
‘कला जीवनका निम्ति उक्तिको छोटो विश्लेषण’ निबन्धमा भने रामकृष्ण शर्माको विचार निकै महत्त्वपूर्ण रहेको छ। उनी कलालाई जीवनको उपयोगका निम्ति मानेका छन्। यसमा कलालाई अरू विषय लाद्नुभन्दा जीवनोपयोगी बनाउन सकिन्छ। यसको आफ्नै सौन्दर्य, लक्ष्य र उपयोगिता हुन्छ। शर्माका विचारमा कलाले मानव जीवनलाई सहज, सार्थक र सुन्दर बनाउँछ। यसमा शर्माको कला र जीवनबारे आफ्नो वैचारिक मन्थन गरेका छन्। यसमा कला जीवनका लागि भन्ने मतलाई नै अघि सारेका छन्।
‘एउटा स्पष्टीकरण’ भन्ने पुस्तकको अन्तिम लेखमा उनले नेपाली कविहरूको श्रेणी विभाजन गर्ने दुस्साहस गरेको कुरा उल्लेख गरेका छन्। उनले धरणीधर कोइरालाईलाई दोस्रो श्रेणीमा राखेको कुरालाई महत्त्व दिएर स्पष्टीकरण दिएका छन्। उनका विचारमा दोस्रो श्रेणीको दर्जा दिनु पनि कम श्रद्धाको कुरा होइन्। अँग्रेजी साहित्यका टेनिसन, ब्राउनिङ, ड्राइडेन, पोप, स्कट, वाल्टर, डि ला मेर, आर्नोल्ड, कुपर, क्याब, डोन, मेरेडिथ, ब्रिजेस, कलरिज बाइरन किट्स्, शेली जस्ता कवि पनि दोस्रो श्रेणीमा गनिन आइपुग्छन्। त्यस्तै गरी धरणीधरका कवितामा साहित्य सेवा, समाज सुधार,देश प्रेम, हितोपदेश वचन आदिका आधारमा उनका काव्यगुणको विश्लेषण गरी जोख्दा उनलाई दोस्रो श्रेणीमा राखेको कुरा व्यक्ति गरेका छन्। उनका विचारमा धरणीधर प्राकृतिक कवि होइनन्, उनका कवितामा प्रकृतिको करूणता र कोमलतासित लहसिएका प्रकृति प्रेमका कविता छैनन्, मानव जातिका हृदय कन्तुरको ताल्चा खोली त्यहाँ भएका विविध भावनालाई केलाइ कुलाई विविध प्रकारका मानसिक व्यथा र विकार, सुख शान्ति, उत्साह र उल्लास उच्छ्वासित गर्ने कवित्वशक्ति पनि धरणीधरमा पाइन्न। उनका कविता छोटा र सीमित छन्। लामा लामा वा काव्यमा बढाउन नसकिने खालका फुटकर कविता मात्र छन्।
६. रामकृष्ण शर्माको समालोचनाको प्राप्ति र सीमा –
नेपाली समालोचनाको परम्परामा रामकृष्ण शर्माको उदयपछि नयाँ मोड आएको हो। समालोचना भनेको यस्तो पो हुनुपर्दो रहेछ भन्ने कुरामा लेखक र समालोचकहरू सचेत हुनथालेका हुन्। उनको अँग्रेजी साहित्यको प्रभाव भन्ने लेखमा तत्कालीन लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, धरणीधर कोइराला र बालकृष्ण समका कवितामा पाइने अङ्ग्रेजीको प्रभावलाई स्पष्टलाई इँगित गरेका थिए। त्यतिबेलासम्म कृतिको सामान्य प्रभाववादी समालोचना लेखिन्थे। त्यस लेखदेखि मात्र समालोचना लेख्दा कृतिको कमजोरी पक्षलाई विशेषगरी लक्ष्यित गर्ने चलन बसाए। उनलाई मनमा लागेको कुरा वा धारणालाई नै सत्य ठानेर त्यसकै भरमा कृतिको मूल्याङ्कन गरेका पनि छन्। उनको आफ्नो निर्णयलाई नै सर्वोपरी ठानेका छन्। उनको निर्भीकता नै उनको समालोचनाको सबल पक्ष हो भने आफ्नो अड़ान नै सत्य हो भन्ने कुरा नै उनको दुर्वलता हो। यद्यपि उनी साहित्यालोचनका गम्भीर अध्येता थिए। उनी अँग्रजीका प्रायः जसो कविता र समालोचना पढ्ने गर्दथे। पढेर त्यसबारे धारणा बनाएर त्यसका आधारमा समीक्षा गर्थे। उनको तर्कशील लेखनीले कृतिको समीक्षा गर्दा कहिले खरो पनि हुन्थ्यो। रामकृष्ण शर्माका कतिपय विचारलाई यदुनाथ खनाल, कुमार छेत्री आदिले खण्डन पनि गरेका छन्। कुमार छेत्रीले त रामकृष्णको कतिपय विचारलाई छुल्याइँसम्म भनेका छन्।
७. मूल्याङ्कन र उपसंहार-
रामकृष्ण शर्मा एक प्रखर समालोचक हुन्। उनको ‘टेबल गफ नौ बैठक’ एउटा उल्लेखनीय समालोचना कृति हो। यसमा नौवटा टेबल गफका नाममा नौवटा लेखहरू समावेश छन्। टेबलमा गफ गर्दा निस्किएका कुरालाई नै लिखित रूपमा उतारिएझैं प्रतीत हुन्छ। यसमा लेखकका मनमा लागेका कुरालाई प्रकट गरिएको छ। उनको समालोचनाको केन्द्र कविता बनेको छ भने कविहरूकै मूल्य निर्णय गरेका छन्। उनी मूलतः म्याथ्यु आर्नोल्डको मूल्य निर्णयका पक्षधर देखिन्छन्। रामकृष्ण शर्माले कवितामा शाश्वत चिन्तन, मूल्यवत्ताको निर्णय गर्ने समालोचक हुन्। उनको प्र्सतुत पुस्तक पनि कविताको शाश्वत मूल्य, कलाको सर्वाङ्गीण पक्षको चिन्तनमा लेखिएको हुँदा कतिपय जीवित अवस्थामा रहेका कविहरूलाई पनि पहिलो र दोस्रो श्रेणीको भनेर वर्गीकरण गरेका हुन्।
सन्दर्भ ग्रन्थ
१. महानन्द पौड्याल, विचरण आफ्नै क्षितिजभित्र, गान्तोक आकाशदीप प्रकाशन, १९८८।
२. डा. शान्ति छेत्री, नेपाली समालोचना साहित्यमा रामकृष्ण शर्माको योगदान, गान्तोक, त्रिनेत्र इन्टरनेसनल प्रकाशन, १९9२।
३. फणिन्द्र नेपाल, रामकृष्ण शर्मा कृति अधीति र अभिवीक्षा, दार्जिलिङ, २०४६।