एकपल्ट म कालिम्पोङबाट घर फर्किरहेको थिएँ र त्यो म फर्किरहेको दिन थियो मङ्गलवार । जब म कालिम्पोङ सहरमाझको ‘कालिम्पोङ-दार्जीलिङ मोटर सिन्डिगेट’ पुगेँ, त्यतिबेला मैले मेरो नाडी-घडीमा समय हेरेँ—बिहानको नौँ बजेर पाँच मिनिट गइसकेको थियो । म यात्राका निम्ति टिकट लिनलाई सिन्डिगेटको काउन्टरतिर लम्केँ । टिकट हातमा लिएर म त्यहीँ टिकट काउन्टरअगाडि गाडी पर्खिएर उभिरहेँ । चार-पाँच जना गाडीका चालकहरू काउन्टरभित्र बसेर उनीहरूको आफ्नै प्रकारको गफ गरिरहेका थिए ।
मलाई थाहा छैन तर त्यतिबेला मलाई एक्कासि उनीहरूको गफ सुन्ने एउटा इच्छा जागेर आयो । यसो ध्यानसित सुनेको त एकजनाले अर्कालाई गिज्याउने तरिकाले एउटा प्रश्न गर्यो, “के के हो ?” अलिक पछि उभिरहेको एकजनाले झट्टै एउटा उत्तर दियो, “उत्तर के हो भने के के हो ।” काउन्टर बाहिरबाट सुनिरहेका एकजना सज्जनले मुसुक्क मुस्कुराएर उत्तर दिनुभयो, “के एउटा प्रश्न हो ।” उनको त्यो उत्तर सुनेर सबैजना गलल हाँसे र म पनि उनीहरूसँगै हाँसेँ । बाटामा पनि उनीहरूका ती प्रश्न र उत्तरहरूले घरीघरी मेरो ध्यान तानिरह्यो । उनीहरूले गफगाफमा गरिपठाएको त्यो बहसलाई सोचेर ल्याउँदा मेरो मस्तिष्कमा नाना प्रकारका विचारहरू उत्पन्न हुन थाले । कुरा के हो भने उनीहरूले साधारण रूपमा व्यवहार गरेका वाक्यहरूलाई विशेष प्रकारले विश्लेषण गर्न सकिन्छ भन्ने विचार मेरो मनमा चस्स आयो । मैले उनीहरूको त्यो छोटो तर्कमा चलेका प्रश्न र उत्तरहरूलाई वाक्यका तीन रूपमा लिइरहेको छु—(१) के के हो ? (२) के के हो । (३) के एउटा प्रश्न हो ।
माथिका तीन वाक्यहरूमा पहिलो वाक्य प्रश्नवाचक (प्रश्नार्थ) वाक्य हो र अरू दुई वाक्यहरू पुष्टिवाचक (घोषणात्मक) वाक्यहरू हुन् । सामान्य दृष्टिकोणमा यी वाक्यहरू साधारण बातचित तथा तर्क गर्दा प्रयोग गरिएका हुन् तर दार्शनिकहरूका निम्ति यस्ता वाक्यहरूको एउटा भिन्नै प्रकारको विशेषता हुन्छ । यसप्रकारको तार्किक बहस (लजिकल टक) कति मानिसहरूले जानी नजानी गरेका सुन्ने मौका मैले मेरा विभिन्न ठाउँहरूका बसाइ र यात्राहरूमा पाएको छु । यसप्रकारका साधारण मानिसहरूका गफ, बहस र तर्कहरू कुनैपनि मौन श्रोताका निम्ति रोचक बन्न सक्छ । यद्यपि यसमा कुनै अनिवार्य नियम छैन किनकि मानिसलाई नियम र सिद्धान्तहरूको पोका मान्न सकिन्न—फेरि जेभए तापनि हामी आखिरमा सामाजिक प्राणी हौँ ।
अब म यस लेखको उद्देश्यतिर आइरहेको छु र यस लेखको मूल उद्देश्य भनेको नै उनीहरूको त्यो बहसभित्रको समस्याको निवारण खोज्नु हो । मलाई के लाग्छ भने यसप्रकारको बहसलाई दुई स्तरमा विभाजन गर्न सकिन्छ—(क) साधारण मानिसहरूको बहस (द टक अफ कमन पिपल) र (ख) दार्शनिकहरूको बहस (द टक अफ फिलसफर्स) । हुन त साधारण मानिसहरूको बहस र दार्शनिकहरूको बहसमाझमा भिन्नता पाइए तापनि कहिलेकाहीँ दुवै समूहले एकैप्रकारका प्रश्न, तर्क र बहसहरू लिने गरेका पाइन्छन् । साधारण मानिसहरूलाई आफ्नो बहसभित्रको तर्कका निम्ति व्यवहारमा लिएका पुष्टिहरूको महत्त्वलाई न्यायसङ्गत गर्ने समान अधिकार हुन्छ । त्यसरी नै उनीहरूको समूहदेखि बाहिरका मानिसहरूले पनि ती पुष्टिहरूलाई अर्कै प्रकारले न्यायसङ्गत (आफ्नै प्रकारले आत्मसात) गर्न सक्ने छन् । बहसका विषयवस्तु, विधि र महत्त्वको अज्ञानताले गर्दा साधारण मानिसहरूको माझमा तर्क उत्पन्न हुन सक्छ, तर यसका निम्ति उनीहरूलाई औँल्याउन सकिँदैन किनभने बहसका उद्देश्य, प्रयोग, प्रयोजन र महत्त्व सधैँ सबैका निम्ति समान हुँदैनन् ।
माथिका पहिलो प्रश्नवाचक वाक्य “के के हो ?” र दोस्रो पुष्टिवाचक वाक्य “के के हो” ले उनीहरूलाई कुनै साधारण पहेलीको समाधानका रूपमा ध्यान आकर्षण गर्दछन् र उनीहरूलाई तर्क गर्न उत्साहित गर्दछन् । उनीहरूले त्यसप्रकारको तर्कमा एउटा छुट्टै आनन्द अनुभव गर्दछन् । हुन त मैले व्यक्त गरिरहेको उनीहरूको तर्कको कारण सही हुन सक्छ वा नहुन पनि सक्छ, तर म एउटा कुरामा विश्वस्त छु कि यसप्रकारको बहसलाई बौद्धिक बहसचाहिँ मान्न सकिन्न । आफूले व्यवहार गरिरहेका वाक्यहरू के-कस्ता वाक्यहरू हुन् भन्ने कुराको ज्ञातबिना नै उनीहरूले त्यस्ता वाक्यहरू प्रयोग गरिरहेका हुन्छन् । यहाँ मैले भन्नुपर्दा उनीहरूले प्रश्नवाचक वा प्रश्नसूचक वाक्य र समान वाक्य (आइडेन्टिकल सेन्टेन्स) हरूको प्रयोग गरिरहेका थिए । उनीहरूका वाक्य व्यवहार र यसबाट सृजित समस्या बुझ्नलाई हामी जर्मनको दार्शनिक इम्मानुएल कान्टका सम्बन्धित मतलाई लिन सक्छौँ । यहाँ मैले एउटै कारणले मात्र पाठकहरूलाई कान्टको मततिर मोडिरहेको छु कि कान्ट नै प्रथम दार्शनिक थिए कि जसले विश्लेषणात्मक (एनलिटिक) र संश्लेषणात्मक (सिन्थेटिक) निर्णयहरू (वचनहरू) माझका भिन्नताहरूलाई देखाउँदै यसको प्रयोजन आफ्नो मूल दर्शनमा लिएका छन् । पाठकको जानकारीका निम्ति म उनका विश्लेषणात्मक र संश्लेषणात्मक निर्णयहरूमाझका भिन्नता र अन्तर्विरोधहरूलाई प्रकास पार्दै कान्टको विश्लेषणात्मक निर्णयको उदाहरणबाट सुरु गरिरहेको छु—“सबै शरीरहरू विस्तारित छन् ।” यहाँ यस वाक्यसित सम्बन्धित शरीरका विस्तार पत्तो लगाउनलाई हामी सम्बन्धित अवधारणादेखिमाथि जाँदैनौँ । अर्को वाक्यमा भन्नुपर्दा हामी एउटा अवधारणाभित्रको उद्देश्य (सब्जेक्ट) को अवधारणालाई विश्लेषण गरेर साधारण वाक्यको विधेय (अब्जेक्ट) प्राप्त गर्दछौँ । यस वाक्यमा विधेय “विस्तारित हुनु” उद्देश्य ‘शरीर’ को अवधारणामात्र हो अर्थात् विधेयले उद्देश्यका बारेमा कुनै नयाँ कुरा थप्दैन । जुन व्यक्तिले कुनैपनि शरीरका बारेमा जान्दछ उसले यो पनि जान्दछ कि शरीर आफैँमा विस्तारित हुन्छ भन्ने । तर जब हामी “सबै वस्तुहरू भारी छन्” भन्छौँ तब वस्तुको अवधारणामा ‘विधेय’ सामान्य रूपमा हामीले सोचेको कुनैपनि कुराभन्दा भिन्न हुन्छ । त्यस्तो थप कुराको जानकारी दिने विधेयको अवधारणाको कारणले नै हामीलाई संश्लेषणात्मक निर्णय प्राप्त हुँदछ: (क) यस्तो निर्णयमा विधेयको अवधारणाभित्र नयाँ कुराको थप पाइन्छ, जुनचाहिँ कुनैप्रकारले उद्देश्यभित्र सोचिएको हुँदैन । (ख) जुन विश्लेषणद्वारा सम्भवत: निकालिन्छ त्यसलाई संलग्नमात्र मान्न सकिन्छ । फेरि हामी शरीरको अवधारणालाई ‘वजन’ को सामान्य विधेयभित्र समावेश गर्दैनौँ । ‘वजन’ को अवधारणाले अनुभवको वस्तुलाई समावेश गर्दछ, र यसको कुनै एउटा अंशद्वारा शरीरको अवधारणाको अंशसित अर्को समान अनुभवको अंश जोड्न सकिन्छ, जसरी अवधारणाहरूसित सम्बन्धित हुन्छ । हामी शरीरको अवधारणालाई विस्तार (एस्टेन्सन), अभेद्यता (इम्पेनेट्रेबिलिटी) र आकृति (फिगर) हरूको चरित्रमार्फत विश्लेषणात्मक रूपमा बुझ्न सक्छौँ । जुन अनुभवबाट हामीले शरीरको अवधारणा (कन्सेप्ट) प्राप्त गर्दछौँ त्यससित विधेयको नयाँ अवधारणामा एउटा पूर्वाधार जोड्दछौँ । यो जोड्ने प्रक्रिया संश्लेषणात्मक र जानकारीमूलक हुन्छ, जसले हाम्रो ज्ञान विस्तार गर्दछ । तसर्थ शरीरको अवधारणाको साथ विधेयको अवधारणाको संश्लेषण सम्भावना ‘वजन’ अनुभवमा निर्भर रहँदछ । त्यसैकारण अनुभवका सबै निर्णयहरू संश्लेषणात्मक हुन्छन् । संश्लेषणात्मक अनुभव सापेक्ष हुन्छ । यसमा सम्भवता हुन्छ । यसले ज्ञानको वृद्धि हुन्छ ।
अब, वाक्य, वचन र निर्णयमाझको भिन्नतामा आऔँ । व्याकरणअनुसार वाक्य विशेष पाँच प्रकारका छन् । ती पाँच प्रकारका वाक्यहरूमध्ये पुष्टिवाचक वाक्यमात्र वचनका रूपमा रूपान्तरित हुन सक्छ र अनुभवमा मान्य बन्न सक्यो भने निर्णय (जज्मेन्ट) बन्दछ । यस आधारमा माथिको बहसका तीनवटा वाक्यहरूलाई राम्ररी अवलोकन गर्दा पहिलो वाक्य “के के हो ?” एउटा प्रश्नवाचक (प्रश्नार्थ) वाक्यका रूपमा पाउँछौँ किनभने यसले ‘के’ शब्दको अर्थका बारेमा प्रश्न सोध्छ र यसको विराम चिन्ह (?) नै प्रश्नसूचक चिन्ह हो । हामीलाई थाहा छ कि एउटा प्रश्नवाचक वाक्य एउटा प्रश्नसूचक चिन्हसित अन्त हुन्छ र विधेयका बारेमा केही सोध्दछ । एउटा साधारण वचनको एउटा विषय र एउटा विधेयसित एउटा क्रिया हुन्छ । एउटा साधारण वचनको विधेयले सधैँ उद्देश्यका बारेमा केही न केही पुष्टि गरिरहेको हुन्छ अथवा कान्टको अर्थमा यसले उद्देश्यका बारेमा नयाँ कुरा थपिरहेको हुन्छ भने यो एउटा संश्लेषणात्मक वचन हो अन्यथा एउटा विश्लेषणात्मक वचन । बहसको दोस्रो प्रयुक्त वाक्य “के के हो” पुष्टिवाचक वाक्यको साथसाथै विश्लेषणात्मक वचन (एनलिटिक प्रपोजिसन) पनि हो कारण विधेय ‘के’ ले उद्देश्य ‘के’ को अर्थमा कुनै नयाँ कुरा थप्दैन (भन्दैन) र यदि हामीले ‘के’ शब्दलाई ‘रातो’ शब्दसित परिवर्तन गर्यौँ भने यो एउटा समान वाक्य (आइडेन्टिकल सेन्टेन्स) बन्दछ, जस्तै—“रातो रातो हो ।” बहसको तेस्रो वाक्य “के एउटा प्रश्न हो” वा “के एउटा प्रश्नसूचक शब्द हो” पनि एउटा पुष्टिवाचक र विश्लेषणात्मक वचन बन्दछ । यहाँ जेभए तापनि विधेयलाई प्रश्नजस्तो शब्द (वा प्रश्नसूचक शब्द) सित परिवर्तन गरिएको छ, जसले उद्देश्यको अर्थलाई केही पनि थप्दैन साथै उद्देश्यलाई कुनै नयाँ जानकारी प्रदान गर्दैन । यसप्रकारका वाक्यहरूमा प्रश्नवाचक वाक्यहरूका सबै उत्तरहरू समानताका पुष्टिवाचक वाक्यहरू र विश्लेषणात्मक वचनहरूमा समाप्त हुँदछन् ।
"मेरो बुबा मान्छे हो" र "सबै शरीरहरू विस्तारित छन्” भन्ने निर्णयहरूलाई “के के हो” वाक्यसित मिल्ने अन्य उदाहरणहरूका रूपमा लिन सकिन्छ । कान्टअनुसार यसप्रकारका विश्लेषणात्मक वचनहरू विरोधाभासको सिद्धान्त (प्रिन्सिपल अफ कन्ट्राडिक्सन) द्वारा शासित हुन्छन् (कुनैपनि वाक्य वा वचन एकै समयमा सत्य र गलत हुन सक्दैन) । उदाहरणका लागि "मेरो बुबा मान्छे होइन" भन्ने वाक्य "मेरी आमा बाँझी छिन्" भन्ने वाक्य जस्तै हुनेछ र आफैँमा विरोधाभासपूर्ण पनि । "के के हो" र "क बराबर क" जस्ता वाक्यहरू लगभग पुनरुक्तीय वचनहरू (टटोलजिस) समान हुन् किनभने विधेयको अर्थभन्दा ज्यादा वाक्यका सत्य र असत्यता बारेमा केही भन्दैनन् ।
कति प्रश्नहरूले साधारण मानिस र बुद्धिजीवीहरूको ध्यानाकर्षण समान रूपमा गर्ने गर्दछन् । उनीहरूले लिएका बहसहरूमाझको मूल भेद भनेको नै उनीहरूले व्यवहारमा लिएका प्रश्नहरूका बुझाइका विषयमात्र हो । तसर्थ वाक्य “के के हो ?” एउटा प्रश्नवाचक वाक्य (इन्टरोगेटिभ सेन्टेन्स) हो र अन्य दुई वाक्यहरू “के के हो” र “के एउटा प्रश्न हो” समान वाक्यहरू (आइडेन्टिटिकल सेन्टेन्सेस्) तथा विश्लेषणात्मक वाक्यहरू (एनलिटिक सेन्टेन्सेस्) हुन् । अन्तत: विश्लेषणात्मक वाक्य अनुभव निरपेक्ष हुन्छ । यसमा अनिवार्यता हुन्छ । यसमा ज्ञानको वृद्धि हुँदैन । विश्लेषणात्मक सत्य संश्लेषणात्मक सत्यभन्दा फरक हुन्छ । यस्तो सत्य तार्किक निश्चिततामार्फत स्थापित गर्न सकिन्छ ।
दार्जीलिङ