हामी गोर्खा प्राप्त गरेको बहुमूल्य गिफ्ट नै हो रिस र आह्रिस । आफूलाई मननपर्ने, आफूलाई सहन नहुने अनुचित वा अन्यायको काम भइरहेको देख्दा कसैप्रति मनमा उठ्ने, रोष, क्रोध आदिलाई रिस भनिन्छ । रिस भनेको जङ्गलमा लागेको डढ़ेलो जस्तै हुन्छ । डढ़ेलो निभ्न गार्हो हुन्छ । एकपल्ट रिस उठेपछि सेलाउन गाह्रो हुन्छ । संसारमा कसैलाई नउठेको रिस हामी गोर्खेहरुलाई उठ्छ । यो गोर्खे रिसलाई काबुमा ल्याउन सके निश्चय नै गोर्खाहरूले संसार विजय गर्नेथिए । बाजै, बराज्यू, जिजु च्याप्जुकै पालोदेखि उठ्ने रिसका पोका हामी गोर्खे सन्तानले आफ्नो बुद्धि अरुलाई समर्पित गरिसकेका छौं । यसैले बूढ़ापाकाहरू भन्थे, रिस खा आफू बुद्धि खा अर्का ।
रिस गोर्खाहरूको ट्रेड मार्क हो । यिनै रिसले गर्दा किन चाउरिस मरिच आफ्नै रागले भने जस्तो भइसकेका छौं । किनभने रिस हाम्रो जातिको पहिचान हो, चिन्हारी हो । हामी गोर्खेहरूको रिस संसारभरिका मानिसहरूलाई थाहा छ । तर रिसाएका गोर्खेहरूले केही तछार्न सक्दैनन् भन्ने कुरो पनि उनीहरूलाई थाहा छ । र त हाम्रैहरू हाम्रैहरूलाई घोँच्दै भन्छन्, गोर्खेहरू रिसाउँदैनन्, रिसाउँदैनन् रिसाएपछि केही नाप्दैनन् । हाम्रो टाउकामा रिस, नाकको टुप्पोमै रिस आँखामै रिस । यसो भनुँ, हामी गोर्खेहरूको शिरदेखि पुच्छरसम्मै रिसै रिस । रिस उठेपछि हामी मच्चिन्छौं मच्चिन्छौं फेरि पछि आफै थच्चिन्छौं । हामी आवेसमा ग्यास बेलुनजस्तै फुलिन्छौं अऩि एकक्षणमै स्याप्पै पनि सुकिदिन्छौं । आवेशमा फुलिने अनि पछि फेरि सुकिदिने । यही नै हो हाम्रो जातिको आइडेण्टिटी ।
गोर्खाहरूको वीरताको कदर गर्दै विदेशीहरूले गोर्खेहरूलाई सम्मानपूर्वक प्रदान गरेको गोरखाली शब्द, यो गोरखाली शब्द वीरताको परिचय हो । तर रिसको चुँड़ेलले भेटेर गोरखाली शब्दको पहिलो दुइ शब्द गोर उतै कता उहिल्यै हराइ पठाएकाले अब खाली (भित्र केही नभएको खोक्रो) मात्र भएका छौं हामी । हामी खाली । हाम्रो भँड़ार खाली । हाम्रो योजना खाली । हाम्रो राजनीति खाली (खोक्रो) । राजनीतिका रणनीतिहरू झन् खाली न खाली । रिक्त । ब्ल्याङ्क । विचार बुद्धि खाली । सपना खाली । हाम्रो लागि अरुले सपना देख्ने भएका छन् । हामी त्यो सपना पनि देख्न सकिरहेका छैनौं ।
भन्नु उसो होइन, रिसले ह्रास गराउँछ, वियोग गराउँछ । रिसले कहिल्यै पनि जोड़्दैन । नसोंची रिसाउने बानी परेको हामीगोर्खे जाति हाम्रो काम बिग्रिएपछि मात्र पछुतो गर्ने बानी छ । हामी हतारमा रिसाउँछौ अनि फूर्सदमा पस्ताउँछौ । यो गोर्खे रगतकै खेल हो । रिस उठेपछि के के गर्छौं गर्छौ तर रिसको पारा शून्य डिग्रीमा आएपछि हामी लाजै पचाएर भन्छौं, के गर्नु मलाई हाई ब्लड प्रेशर छ । रिसको झोंकमा के के भनेँ भनेँ....एक्सक्यूज मी प्लिज । सरी । बस यो सरी शब्द कति पचेको हामी गोर्खेलाई ।
रिस त भयो भयो । रिस सितै बोनसस्वरुप आएको आह्रिस गोर्खेहरू किपट नै हो । रिस गोर्खेहरूको ज्यान हो भने आह्रिस गहना । बेला बेला हामी खाँटी डाइनोसर नै भइदिन्छौं । अझ जिब्रामा यसो सेन्तेरेम पस्यो कि सर्वनाश। सेन्तेरेम रगत रगत बग्नु थाल्यो कि गोर्खे रकेट लञ्चर भइहाल्छ । कुरै छैन । संसार मेरै हो । बस सेन्तेरेम सकिँदै गयो भने फेरि रिसका पोका यै गोर्खेहरू बुहारी झारजस्तै स्याप्पै ।
हामीले आह्रिस गर्नुमात्रै ज्यान गुमायौं । तर देखासिकी गर्न कहिल्यै जानेनौं । रिसले हामीलाई पचाइसक्यो , हामीले रिस पचाउऩ जानेनौं । सेन्तेरेमले हामी गोर्खेहरूलाई खायो अनि आह्रिसले ओरिजिनल अथवा अर्ग्यानिक बाँदर बनायो । अन्य जातिमा हाँसी हाँसी आफ्नो काम फत्ते पार्ने कला हुन्छ । तर हामी गोर्खेहरू भने रिस र आह्रिसको पिङमा मच्चिएर बनिसकेको काम पनि आफ्नो हातबाट उम्काइ पठाउँछौं ।हामी दूध बेचेर सेन्तेरेम ठट्टाउँछौं । अरुहरू भने सेन्तेरेम बेचेर दूध पिउँछन् । र त परैहरू उच्च ओहोदमा चाकरी गर्छन् ।
हामीलाई अरुले सेन्तेरम खान सिकायो तर हामीले अरुलाई सेन्तेरमा चाख्न सम्म सिकाएनौं । यो गोर्खे जातिको उदार हृदयको परिचय हो । हामीले आफ्नै छिमेकी, शाखा सन्तान. ईष्टमित्र, साथी सँगीको आह्रिस गर्न मात्रै सिक्यौं तर देखासिकी गर्न कहिले सिकेनौं, न कोशिष नै गऱ्यौं । प्रेमी-प्रेमीका रिसाउँछन्, लोग्ने स्वास्नी रिसाउँछन । प्रेमि प्रेमिकाको रिसमा रिस फ्रेने, साटो फेर्ने वा रेभेण्ज लिने भावना नभएर त्यस्तो रिसमा रोमाण्टिकता बढ़ी हुन्छ । प्रेमिका ठुस्किन्छे, सानो कुरामा रिसाउँछे, प्रेमिको हृदयमा आघात पर्छ ।
हामी खुकरीवीर पनि कलमवीर पनि । तर त्यसभन्दा पनि हण्ड्रेड पर्सेण्ट रिसवीर, आह्रिसवीर र सन्तेरेमवीर । यी तीनैवटा वीरत्व गोर्खे टाउकोदेखि पैतालासम् जुका जस्तै टाँसिएको छ । धैर्य हामीमाझ नभएको होइन । धैर्य नहुनेहरू शिखरमा पुगेका उदाहरण हामीसित थुप्रै छन् । तर नब्बे प्रतिशत धैर्य नै रिस आह्रिस र सेन्तेरेमको किटाणुले खाएर शेष भएको छ । जबसम्म यी किटाणुबाट हामी गोर्खेहरू जोगिन, टाड़िन सक्दैनौं तबसम्म हामी कुवाको भ्यागुता झैं भइरहन्छौं ।
अन्यायप्रति रिसाउनु बुद्धिमता हो । ब्यर्थैमा रिसाउनु नदुखेको कपाल चोयाले बाँधेर दुखाउनु हो । अब हामीले आह्रिस होइन देखासिकी गर्नु सिक्ने समय आएको छ ।हामी खुकरीवीर पनि कलमवीर पनि । तर त्यसभन्दा पनि हण्ड्रेड पर्सेण्ट रिसवीर, आह्रिसवीर र सन्तेरेमवीर । यी तीनैवटा वीरत्व गोर्खे टाउकोदेखि पैतालासम् जुका जस्तै टाँसिएको छ । धैर्य हामीमाझ नभएको होइन । धैर्य नहुनेहरू शिखरमा पुगेका उदाहरण हामीसित थुप्रै छन् । तर नब्बे प्रतिशत धैर्य नै रिस आह्रिस र सेन्तेरेमको किटाणुले खाएर शेष भएको छ । जबसम्म यी किटाणुबाट हामी गोर्खेहरू जोगिन, टाड़िन सक्दैनौं तबसम्म हामी कुवाको भ्यागुता झैं भइरहन्छौं ।
अन्यायप्रति रिसाउनु बुद्धिमता हो । ब्यर्थैमा रिसाउनु नदुखेको कपाल चोयाले बाँधेर दुखाउनु हो । अब हामीले आह्रिस होइन देखासिकी गर्नु सिक्ने समय आएको छ ।
खोलाचन्द फाप्री, जलपाईगुड़ी भारत