17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

असत्यभित्र वर्तमान अनुभूति

कविता ईगम खालिङ December 19, 2023, 12:41 pm
ईगम खालिङ
ईगम खालिङ

म एकलो भएको छु ।
म एकलै मृतहरूसित बात मारिरहेको छु ।
सत्य कुरा त
मृतहरूले मात्र सुन्दारहेछन् ।
गर्दारहेछन् ।
सत्य
आफैँमा सत्य हुन्छ ।
सत्यलाई असत्य देखाइएको वर्तमान संसारमा
सत्यले आफ्नो प्रमाण दिइरहन पर्दैन भन्नेहरू
आफ्नै चिहान खन्दै हिँड्छन् ।
हुन त
मृत्यु सत्य छ,
त्यसलाई झुक्क्याएर झुक्क्याइँदैन ।
तर वर्तमानमा बाँच्न जान्ने सफल व्यक्तिहरूले
पटकथा लेखेर
सत्यलाई काल्पनिक पर्दा लगाइदिएका छन्,
मृत्युलाई भुलिदिएका छन् ।
आजकल
म नाक थुनेर
गन्हाउने शरीरहरू वरिपरि बसिरहेको छु ।
चिहान खन्ने क्रममा
सुकरातले जस्तो
खाली खुटा हातमा असत्यको प्याला लिएर,
मलाई बचाउन चाहने कोही छैन ।
त्यसैले त
म भीडदेखि धेरै टाढा
आफ्नै चिहान खन्न तम्सिरहेको छु ।
मुर्दाहरूको कपुर गन्दै पर्खिरहेको छु
कि भोलि घाम कुन दिशाबाट उदाउनेछ !

युगको क्रमिक काँचुली फेराइ छ । गतिशील समयभित्र मानव चेतना, विकास अनि युगको मागसँगै समाजव्यवस्था परिवर्तनको गरुत्वाकर्षणमा हाम्रा अनुहारहरू अनि युगानुभूतिका अभिव्यक्तिहरू हामीभित्र कराइरहेका छन् । मान्छे छट्पटाउँछ विकृति, विसङ्गति अनि विचलनको रापमा पिल्सिएर । मान्छे प्रभुत्वको पक्षमा बाँच्न खोजिरहेको छ—एउटा सामुहिक बचाइँको अर्थमा ।

मान्छे प्रकृतिभित्र हुन्छ अनि मान्छेभित्र प्रकृति । यसरी ऊ यस भौतिकलोकको बन्धनबाट मुक्त हुन सकेको छैन । चारल्स डार्विन (एकजना प्रख्यात ब्रिटिस प्रकृतिवादी साथै विकासवादी सिद्धान्तका जनक) प्रतिपादित सिद्धान्त ‘सर्भाइभल अफ द फिट्टेस्ट’ लागु भइरहेको जस्तो आभासमा मान्छेको सिमाना र दुरत्व नजिकिएको छ । भौतिक संसार साँघुरिएको छ, अनि प्रतिस्पर्दाले मान्छेको हृदय ढुङ्गा बनिरहेछ । एउटा मान्छेले अर्को मान्छेलाई गर्नुपर्ने मायाको विषय भने प्रश्न भई हामीमाझ उभिएको छ । यस्तो विपरीत देखिने समयमा मान्छेले मान्छेलाई मात्र होइन आफैँलाई समेत माया गर्न छाडेको हामी अनुभव गर्न सक्छौँ । आफैँलाई माया गर्न नसक्नु भनेको कुनैपनि दुर्गुण अनि दोष अन्तर्विकास गर्नु हो । आफूमा दुर्गुण विकास हुनु भनेको आफैँमा एउटा पीडा पनि हो । त्यो पीडा आखिरमा मानव समाजले सहनुपर्छ ।

वास्तवमा हामी शान्तिसित बाँच्न चाहन्छौँ । सत्यलाई हामी तीनै कालमा सत्य नै पाउन चाहन्छौँ । बौद्धिकता र सत्ताको बलमा सत्यलाई अपहरण गर्नुहुँदैन । तर यो वर्तमान अवस्था अन्य आतङ्कहरूको चपेटामा परेको छ । असत्य सत्यजस्तो मात्रै नभएर पूर्ण सत्य भएर हुर्किएको छ । यसर्थ वर्तमान अवस्था निष्कपटताको मागसितै सत्यलाई सत्य नै बनाई बचाइराख्ने एउटा खाँचो भएर आएको छ ।

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।