भारतीय नेपाली साहित्यको इतिहासमा एउटा उल्लेखनीय एवं आदरका साथ स्मरण गर्नुपर्ने नाम हो – इन्द्र सुन्दास। नेपाली साहित्यमा आधुनिक आख्यानको आरम्भ र त्यसपछिको विकास यात्रामा उनको योगदान अति महत्वपूर्ण रहेको मानिन्छ। प्रा. बाबुलाल प्रधान, हायमन दास राई ‘किरात’ र शिवकुमार राई जस्ता दिग्गज साहित्यकारहरूका समकालीन इन्द्र सुन्दासको जन्म 22 सेप्टेम्बर सन् 1918 आइतबारको दिन दार्जीलिङ जिल्लाको खरसाङ महकुमा अन्तर्गत सिपाहीधुरा भन्ने ठाउँमा भएको थियो। उनको पिताको नाम सन्तवीर सुन्दास अनि माताको नाम बालुमाया सुन्दास हो। परिवारमा चार जना दाज्यु-भाई र पाँच जना चेलीमध्ये उनी ज्येष्ट थिए। उनको पुर्ख्यौली पहिलाउन खोज्दा थाह पाइए अनुसार उन्नाइसौं शताब्दीको मध्यतिर उनका बाज्ये शिवमाया आचार्य नाम गरेकी एक सुन्दरी ब्राह्मण कन्यासित मोहमा परी प्रेम विवाह गरेका कारणले तत्कालीन कट्टर जातीय विभेदको शिकार हुने भयले नेपाल छोड़ी मुग्लान पसेका थिए भन्ने कुरा जानकारीमा आउँछ। उनी खरसाङदेखि पाँच/छ किलोमिटर उत्तर तिर पर्ने सिपाहीधुरा चियाकमानमा आएर बसोबास गर्नलागे। कालान्तरमा इन्द्र सुन्दासका पिता सन्तवीर सुन्दासको जन्म भयो अनि औपचारिक विध्यार्जन गरी एक चेतनशील अभिभावक, शिक्षाप्रेमी, उच्चाभिलाषी एवं कुशल व्यवसायी हुनका साथै दूरदृष्टि राख्ने व्यक्तिका रुपमा परिचित भए अनि माता कुशल गृहिणी रहेको हुनाले उनका भावी सन्तानमाथि पनि त्यसको राम्रो प्रभाव पर्न गयो अनि उनका ज्येष्ट पुत्र इन्द्र सुन्दास पश्चिम बङ्गाल सरकारको प्रथम श्रेणीका अधिकारी भए, माइला अटलबहादुर आई.टी.आई. टुङका प्रशिक्षक प्रमुख, काँईला बलबहादुर डाक्टर र कान्छा मनबहादुर कस्टम अधिकारी भएका थिए।
इन्द्र सुन्दासको बाल्यकाल आफ्नो जन्मस्थान सिपाहीधुराको रमणीय प्राकृतिक वातावरणमा हुर्कियो अनि सिपाहीधुराको सन्त मेरिज स्कुलबाट उनको प्रारम्भिक शिक्षाको थालनी भयो। त्यसपछि उनी खरसाङको सन्त अल्फन्सस् स्कुलमा भर्ना भए। उनी सानैदेखि पढ्नमा निकै होशियार थिए। फलस्वरूप मिडल इङ्गलिस स्कुल छात्रवृतिको परिक्षामा दार्जीलिङ जिल्लाभरिमा उनी प्रथम भए अनि त्यसबेलाको शैक्षिक प्रावधान अनुसार मासिक छात्रवृति चार रुपियाँ प्राप्त गरी दार्जीलिङको सरकारी उच्च विद्यालयमा पढ्ने अवसर पाएका थिए। सन् 1932 मा उनी दार्जीलिङ सरकारी विद्यालयमा सातौँ श्रेणीमा भर्ना भएका थिए। तर कतिपय कारणवश त्यहाँ उनले एक वर्ष मात्र अध्ययन गरे अनि अर्को वर्ष उनी सन्त अल्फन्सस् विद्यालय, खरसाङ फर्के। सन् 1936 मा उनले त्यहाँबाट नेपाली साहित्यमा डिस्टिङ्सन प्राप्त गरी प्रथम श्रेणीमा म्याट्रिक उत्तीर्ण गरे। त्यसपछि उनी कालेबुङको एस.यु.एम.आई. –मा भर्ना भए। त्यसबेला आई.ए. को परीक्षा दिन कलकत्ता विश्वविद्यालय जानुपर्थ्यो र सन् 1938 मा आई.ए. परिक्षा पनि प्रथम श्रेणीमा उत्तीर्ण गरे। त्यसपछि उनले अघिल्लो अध्ययनको निम्ति सन् 1940 मा शिलाङको एडमण्ड कलेजमा पञ्जीकृत भई बाह्य परिक्षार्थीका रुपमा कलकत्ता विश्वविद्यालयबाट बी.ए. उत्तीर्ण गरेका थिए।
त्यसपश्चात् सन् 1941 देखि उनले दार्जीलिङ कचहरीमा किरानीको नोकरीबाट आफ्नो पेशागत जीवनको शुरूआत गरे। त्यसभन्दा अघि उनले केही महिना मिरिकको मिडल स्कुलमा शिक्षकको रुपमा पनि कार्य गरेका थिए। उनी आफ्नो योग्यता अनुसार कचहरी बाबुबाट पदोन्नति हुँदै रेशनिङ अफिसर भए अनि भारत स्वाधीन भएपछि सन् 1948 मा जिल्ला सञ्चार अधिकारी भएका थिए। सन् 1955 मा उनी पश्चिम बङ्गाल प्रशासनिक सेवाका अधिकारी (WBCS Officer)-मा चयनित भए अनि दार्जीलिङको तकदाहमा केही वर्ष ब्लक डेभलपमेन्ट अफिसर (BDO)-का रुपमा कार्यरत रहेका थिए। पछि पश्चिम बङ्गाल राज्यका विभिन्न स्थानहरूमा स्थान्तरण र पदोन्नति हुँदै उनी प्रथम श्रेणीका जिल्ला म्याजिस्ट्रेटको पदबाट 1 अक्टुबर सन् 1975 मा सरकारी सेवाबाट अवकाश ग्रहण गरे।
नेपाली साहित्य सम्मेलनको स्थापना भएकै वर्ष सन् 1924 मा दार्जीलिङमा स्वामी अभेदानन्दले रामकृष्ण वेदान्त आश्रमको स्थापना गरेका थिए। उनै स्वामी अभेदानन्दका शिष्य स्वामी प्रबुद्धानन्दको पहलमा सन् 1941 मा ‘श्री रामकृष्ण शिक्षा परिषद’-को स्थापना भएको थियो। त्योबेला दार्जीलिङ सहर र यसका निकटवर्ती स्थानहरूमा आर्थिक अवस्था अथवा अन्य कुनै कारणले स्कुल जान नपाएका छात्रहरूलाई आश्रममा निशुल्क: पढाउने व्यवस्था गरिएको थियो। त्यही अवधीमा इन्द्र सुन्दास रामकृष्ण वेदान्त आश्रमको सक्रिय सदस्य बनेर स्वामी प्रबुद्धानन्दको सम्पर्कमा आए अनि उनको सल्लाह र निर्देशनमा आश्रमको अवैतनिक शिक्षकको रुपमा पनि कार्य गरे। उनले स्वामी प्रबुद्धानन्दका साथ लागेर दार्जीलिङ सहरको निकटवर्ती स्थानहरू कमान-बस्तीतिर शिक्षाको महत्वबारे सचेतना ल्याउने कार्य गर्दै आश्रमको तर्फबाट बालक-बालिकाहरूलाई खाता, पेन्सिल र प्राथमिक स्तरका पुस्तकहरू बाँड्ने कार्य पनि गरे। स्वामी प्रबुद्धानन्दको देखरेखमा स्थापना गरिएको ‘श्री रामकृष्ण शिक्षा परिषद’-को प्रथम मूल मन्त्रीको कार्यभार पनि उनले सम्हालेका थिए। सन् 1941 देखि 1943 सम्म उनी यस परिषद्का मूल मन्त्री रहेका थिए। स्वामी प्रबुद्धानन्द हिन्दी, बङ्गला, अंग्रेजी, नेपाली र टिबेटन भाषा जान्दथे। उनी नेपाली भाषा र साहित्यको विकासर उन्नतिको निम्ति केही व्यवहारिक कार्यहरू गर्दै जानुपर्छ भन्ने पक्षमा थिए। उनकै परामर्श र प्रेरणाले रामकृष्ण शिक्षा परिषद्को तत्वधानमा सन् 1941 मा ‘संक्षिप्त कथाहरूको प्रतियोगिता’ आयोजन गरिएको थियो। यो प्रतियोगिता लगातार तीन वर्षसम्म चल्यो। परिषदको मूल मन्त्रीको हैसियतमा इन्द्र सुन्दासले नै यसको कार्यभार सम्हालेका थिए। यो भारतीय नेपाली कथाको प्रारम्भिक कालको विकासमा एउटा महत्वपूर्ण पहल थियो।
उनी सन् 1941 देखि नै नेपाली साहित्य सम्मेलन दार्जीलिङका सदस्यका रुपमा पनि संलग्न रहेका थिए। सन् 1945 देखि संस्थाको उपमन्त्री बनेर केही कालसम्म त्यहाँको साहित्यिक गतिविधि र अन्य विभिन्न कार्यक्रमहरूलाई अघि बढाउने काममा पनि उनको योगदान रहेको थियो। उनका दर्जनौं लेख-निबन्ध र कथाहरू अन्य पत्र-पत्रिकाहरू लगायत संस्थाको मुख-पत्र दियालोमा पनि प्रकाशित हुँदै गए। तर सरकारी सेवा र यस्तै कतिपय कार्यहरूमा व्यस्त रहनु परेको हुनाले प्ररम्भिककालमा उनले साहित्य सेवामा त्यति धेरै समय दिन सकेनन्।
उनको विवाह सन् 1942 मा शान्तिमाया राईसित भएको थियो। कालान्तरमा उनका परिवारमा तीन छोरीहरू भए। तीमध्ये जेठी स्व. गायत्री सुन्दास, माइली स्व. वशन्तगीता सुन्दास अनि कान्छी सुश्री जयन्ती सुन्दास हुन्। जेठी र माइली छोरीका सन्तानहरू शिक्षित भएर ठुला ओहोदामा नोकरी गर्दै आफ्ना बाज्ये-बज्यु र माता-पिताका नाम सुशोभित पारे। इन्द्र सुन्दासको दाम्पत्य जीवन एक प्रकारले सुख-शान्तिसित चलिरहेको थियो। लगभग 50 वर्ष लामो सुखमय जीवनको सहयात्रापछि सन् 1992 मा उनको धर्मपत्निको देहान्त भयो। त्यसपछि उनी केही वर्ष विक्षिप्त अवस्थामा रहेका थिए। तर पनि आफ्नो मनलाई स्थिर राख्दै विभिन्न भाषाका पुस्तकहरूको अध्ययन अनि लेखनमा उनी आफुलाई व्यस्त राख्थे। एक्लो भएका पिताको वार्धक्य उमेर र त्यस्तै कतिपय परिस्थितिका कारण उनकी कान्छी छोरी अविवाहित नै रहेर पिताको देखभाल र सेवामा लागिपरेकी थिइन्।
इन्द्र सुन्दासको नेपाली साहित्यप्रति चासो विद्यार्थी जीवनदेखि नै बढ्दै गएको थियो। जब उनी सन् 1932 मा छात्रवृति प्राप्त गरी दार्जीलिङ सरकारी उच्च विद्यालयमा भर्ना भए, त्यहाँ उनले सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रधान जस्ता साहित्यका धुरन्धर गुरुहरू पाएका थिए। उनीहरूको साहित्यिक व्यक्तित्वबाट उनी निकै प्रभावित भएका थिए। दार्जीलिङ सरकारी विद्यालयमा एक वर्ष पढेर उनी खरसाङको अल्फन्सस् स्कुलमा नै फर्किए तापनि उनको साहित्यमा केही राम्रो काम गर्नैपर्छ भन्ने मनोभावना विकसित हुँदै गयो। यसरी उनी दशौँ श्रेणीसम्म पुग्दा साहित्य लेखनमा पनि उनको कलम तिखारिन थाल्यो। पछि उनी आफ्ना समकालीन शिवकुमार राई अनि अग्रज रुपनारायण सिंहका साहित्य लेखनबाट पनि निकै प्रभावित भएका थिए। उनको पहिलो प्रकाशित रचना थियो – ‘सर्वोपकारी’ जो कालेबुङबाट के.डी.प्रधानको सम्पादनमा प्रकाशित हुने पत्रिका ‘परिवर्तन’-मा 1 फरवरी 1936 मा प्रकाशित भएको थियो। यो उद्योगपति जमशेदजी टाटाबारे लेखिएको जीवनीपरक लेख हो। उनको पहिलो कथा ‘सपनाको सम्झना’ यसै पत्रिकाको मई 1936 को अङ्कमा प्रकाशित भएको थियो। उनको दोस्रो कथा ‘गाडीमान’ भने त्यसको पाँच वर्षपछि दार्जीलिङबाट रुपनारायण सिंहको सम्पादनमा प्रकाशित हुने पत्रिका ‘खोजी’-को जनवरी सन् 1941 को अङ्कमा प्रकाशित भएको पाइन्छ। उनका अन्य कथाहरू ‘प्राणदान’ र ‘विधवाको छोरो’ कलकत्ताबाट एस.पी.प्रधानको सम्पादनमा निस्कने पत्रिका ‘उत्थान’ –मा क्रमश: दिसम्बर 1947 र अक्टुबर 1948 को अङ्कमा प्रकाशित भएका थिए। यसरी नै उनको ‘चामलको महंगी’ शीर्षक कथा बनारसबाट लक्ष्मीप्रसाद देवकोटाको सम्पादनमा प्रकाशित हुने ‘युगवाणी’ (अगस्त 1948) –मा, ‘अद्भुत रोग’ र ‘ॠषिला’ कलकत्ताबाट लैनसिंह बाङ्देलको सम्पादनमा निस्कने ‘प्रभात’ को अक्टुबर 1950 र सेप्टेम्बर 1951 को अङ्कमा, ‘भवितव्य’ दार्जीलिङबाट प्रकाशित हुने ‘सुस्केरा’ (मई 1954) –मा, ‘खाजा’ काठमाडौंबाट प्रकाशित ‘शारदा’ (फरवरी 1955)-मा, ‘बलिराजको समाधि’ दार्जीलिङबाट प्रकाशित ‘दियालो’ (अक्टुबर 1960)-मा र ‘अनुताप’ कालेबुङबाट निस्कने ‘सङ्गम’ (दिसम्बर 1965 मा प्रकाशित भएका थिए। यसबिच सन् 1941 मा नै उनको ‘श्रीरामकृष्ण र तिनका दुई चेला’ (संक्षिप्त जीवनी) पनि पुस्तकाकारमा प्रकाशित भइसकेको थियो। यसबाहेक उनले अनुवाद साहित्य, लेख-निबन्ध, जीवनी र उपन्यास विधामा पनि कलम चलाए। नेपाली मातृभाषाका साथै उनको हिन्दी, बङ्गला र अंग्रेजी भाषामा पनि राम्रो दखल थियो। यही अवधिमा उनले अंग्रेजीबाट नेपाली भाषामा टाल्सटायका कथाहरू, जवाहरलाल नेहरुको ‘Letters from a Father to his daughter’ पिताका पत्र छोरीलाई, महात्मा गान्धीको संक्षिप्त आत्मकथा र बङ्गलाबाट रवीन्द्रनाथ ठाकुरका कथाहरू अनुवाद गरे। सन् 1958 मा उनको प्रथम मौलिक उपन्यास ‘मङ्गली’ प्रकाशित भयो। यसबाट उनी एक सशक्त उपन्यासकारको रुपमा पनि परिचित भए। सन् 1967 मा उनको प्रथम कथा सङ्ग्रह ‘रानीखोला’ (12 वटा कथाहरूको सङ्कलन) पनि प्रकाशित भयो। सन् 1973 मा उनको पुस्तक रामकृष्ण परमहंसको सम्पूर्ण जीवनी प्रकाशित भयो। त्यसपछि सन् 1975 मा पश्चिम बङ्गाल सरकारको प्रशासनिक सेवाबाट अवकाश ग्रहण गरेपश्चात् उनी साहित्य साधनामा नै पूर्णरुपले तल्लीन रहे। उनका सन् 1977 मा ‘साहित्य पथमा’ (विविध सङ्कलन) र सन् 1983 मा ‘राजा राममोहन राय’ (संक्षिप्त जीवनी) प्रकाशित भयो।
उनी एक असल कथाकार हुनको साथै एक सफल उपन्यासकार पनि हुन्। उनका मोठ चारवटा उपन्यासहरू प्रकाशित छन्। ‘मङ्गली’ (1958)-पछि सन् 1979 मा ‘जुनेली रेखा’ प्रकाशित भयो। यस उपन्यासका लागि उनी सन् 1980 सालको भानुभक्त पुरस्कारले सम्मानित भए। यसपछि सन् 1982 मा प्रकाशित ‘नियति’ उपन्यासका लागि सन् 1983 मा उनलाई साहित्य अकादेमी पुरस्कारद्वारा सम्मानित गरिएको थियो। उनको दोस्रो कथा सङ्ग्रह ‘रोमन्थन’ सन् 1989 मा र चौथो उपन्यास ‘सहारा’ सन् 1995 मा प्रकाशित भएको थियो। यसबाहेक अवकाश प्राप्त अवधिमै उनले मानिक बन्धोपाध्यायको उपन्यास ‘पद्मा नदीको माझी’(सन् 1985), सुकुमार सेनको ‘बङ्गला साहित्यको इतिहास’(सन् 1992) अनुवाद गरे। यसरी उनले मौलिक कृतिहरू बाहेक अंग्रेजी र बंगला भाषाबाट करीब आधा दर्जन कृतिहरू अनुवाद गरेर एक सफल अनुवादकका रुपमा पनि आफुलाई स्थापित गरेका छन्।
उनका प्रकाशित कृतिहरू यस प्रकार रहेका छन् :-
1) श्री रामकृष्ण र तिनका दुई चेला (संक्षिप्त जीवनी) - सन् 1941
2) मङ्गली (उपन्यास) - सन् 1958
3) रानीखोला (कथा सङ्ग्रह) - सन् 1967
4) श्री रामकृष्ण (सम्पूर्ण जीवनी) - सन् 1973
5) साहित्य पथमा (विविध सङ्कलन) - सन् 1977
6) जुनेली रेखा (उपन्यास) - सन् 1979
7) नियति (उपन्यास) - सन् 1982
8) राजा राममोहन राय (संक्षिप्त जीवनी) - सन् 1983
9) रोमन्थन (कथा सङ्ग्रह) - सन् 1989
10) सहारा (उपन्यास) - सन् 1995
11) योगेश्वरी अञ्जनादेवी (संक्षिप्त जीवनी) - सन् 1997
12) साहित्य धारा (विविध सङ्कलन) - सन् 1999
अनुवाद : =-
1) टल्सटायका कथाहरू - सन् 1948
2) पिताका पत्र छोरीलाई - सन् 1950
3) महात्मा गान्धीको आत्मकथा - सन् 1957
4) रवीन्द्रनाथ ठाकुरका कथाहरू - सन् 1962
5) पद्मा नदीको माझी - सन् 1985
6) बङ्गला साहित्यको इतिहास - सन् 1992
गुरुप्रसाद मैनाली र रूपनारायण सिंहका जस्तै इन्द्र सुन्दासका कथाहरूमा पनि रोमान्टिक भावधारा अनि ग्राम्य जनजीवनको परिदृश्य पाइन्छ। दार्जिलिङ पहाडका डाँडाकाँडा, कमानबस्तीको परिवेश र त्यहाँका खटीखाने साधारण मानिसहरूको जीवन सङ्घर्षका कुराहरूलाई नै उनले आफ्ना कथाका विषयवस्तु बनाएका छन्। यसैले उनका कथाहरू आञ्चलिक कथाका रूपमा पनि जानिन्छन्। सरल र सुन्दर शैलीमा घटनाक्रम र पात्र-पात्रामाझ उचित कथ्य संयोजन गरी उनले आफ्ना कथा-शिल्पलाई कलात्मक ढङ्गले प्रस्तुत गरेका छन्। उनका धेरै कथा र उपन्यासहरूमा ब्रिटिशकालीन औपोनिवेशिक परिवेशको चित्रण पाइन्छ। उनका कथाहरूको अनुवाद अंग्रेजी, हिन्दी, बङ्गला, असमिया जस्ता भाषाका पत्र-पत्रिकाहरूमा पनि प्रकाशित भएका छन्। सन् 1935 मा विद्यार्थी जीवनकालमै हिन्दी लेखनमा उत्कृष्ट ठहरिँदा उनले बी.एन.कपुर पुरस्कार प्राप्त गरेका थिए। पछि नेपाली साहित्य सम्मेलन, दार्जीलिङको पुरानो सदस्य तथा पदाधिकारी अनि विख्यात साहित्यकारका रुपमा स्थापित भएपश्चात् सन् 1999 मा उनलाई नेपाली साहित्य सम्मेलन पुरस्कारले पनि सम्मान जनाइएको थियो।
जीवनको उत्तरार्धमा उनलाई डाइबेटिज रोगले सताउन थालेको थियो। दार्जीलिङको मेरिभिल्लामा उनको निजी निवास रहेको थियो। तर शीतकालमा उनी सिलगढी आएर बस्ने गर्थे। यसरी सन् 2003 को शीतकाल बिताएर दार्जीलिङ फर्किएको अवधीमा उनी सिकिस्त विरामी भए। उनलाई दार्जीलिङकै ‘युमा नर्सिङ होम’ –मा भर्ना गराइयो। तर पनि स्वास्थ्यमा सुधार नआउँदा सिलगढीको नर्थ बेङ्गल नर्सिङ होममा पुर्याइएको थियो। अन्तत: 10 मई 2003 शनिबारको बिहान 85 वर्षको उमेरमा यस संसारबाट उनको चोला उठ्यो। आज उनको नश्वर शरीर हामीमाझ नरहे तापनि आफ्ना कालजयी कर्म-कृतिहरूमा उनी सदैव अमर रहनेछन्।
सन्दर्भ :-
1) इन्द्र सुन्दास व्यक्ति र कृति – महेश प्रधान
2) साहित्य – धारा – इन्द्र सुन्दास
3) रोमन्थन – इन्द्र सुन्दास
4) नियति – इन्द्र सुन्दास र विभिन्न पुराना पत्र-पत्रिकाहरू
बाग्राकोट (डुवर्स)