17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वृद्ध संवेदनाको उपन्यासिका रत्नपार्क

कृति/समीक्षा नवीन पौड्याल November 21, 2023, 12:30 am
नवीन पौड्याल
नवीन पौड्याल

१. मदनदेव भट्टराई- व्यक्ति र कृति
नेपाली साहित्यमा मदनदेव भट्टराईको नाम पनि आदरका साथ लिइन्छ। मदनदेव भट्टराई भन्नेबित्तिकै रत्नश्री पत्रिका र रत्नश्री स्वर्ण पदकको नामको पुराना पाठक लेखकका मनमा आइहाल्छ। उनले धेरै वर्षसम्म रत्नश्री पत्रिका र पुरस्कार सञ्चालन गरेका थिए। उनी एक साहित्यिक पत्रकार-सम्पादक कवि, नाटककार, निबन्धकार र कथाकार हुन्। उनको जन्म २२ गते कार्तिक, १९८५ मा भेको हो। उनले राजनैतिक विज्ञान र आधुनिक इतिहास विषयमा स्नातकोत्तर-सम्मको अध्ययन गरेका थिए। उनका प्रकाशित पुस्तकहरूमा मदनदेव भट्टराईका केही कथाहरू (कथासङ्ग्रह), मदन बाटिका (गीतसङ्ग्रह), जीवनस्मृति (महाकाव्य), मदनदेव भट्टराईका संस्मरणहरू, कायाकल्प (महानाटक), समयको प्रतिविम्ब (कवितासङ्ग्रह), दृश्य र द्रष्टा (हास्य व्यङ्ग्य), रत्नपार्क (उपन्यास) आदि हुन्।
नेपाली साहित्यमा किसिम किसिमका विषयवस्तु भएका उपन्यासिकाहरू प्रकाशित भएका देखिन्छन्। प्रेमका विभिन्न रूपलाई अधिकांश उपन्यासिकाका विषयवस्तु बनाइएको पाइन्छ। विभिन्न विषयवस्तुका सामाजिक उपन्यासिका, ऐतिहासिक, पौराणिक, मनोवैज्ञानिक उपन्यासिकाहरू प्रकाशित हुँदैआइरहेका छन्। बाल मनोविज्ञान, युवा मनोविज्ञान, यौन मनोविज्ञान, नारी मनोविज्ञान हुँदै वृद्ध मनोविज्ञानमा समेत उपन्यास देखिन आएका छन्। यस्तै बुढ्यौली संवेदनालाई मूल विषयवस्तु बनाएर लेखिएको उपन्यासिका भने मदनदेव भट्टराईको रत्नपार्क हो।
रत्नश्री जस्तो प्रसिद्ध र प्रतिष्ठित पुरस्कारका संस्थापक मदनदेव भट्टराई हुन्। उनी र्तनश्री पत्रिकाका कुशल सम्पादक हुन्। उनका मदनदेव भट्टराईका केही कथाहरू, मदन-बाटिका गीत संग्रह) जीवन स्मृति (महाकाव्य), मदनदेव भट्टराईका संस्मरणहरू (संस्मरण), कायाकल्प (महानाटक), समयको प्रतिविम्ब (कवितासङ्ग्रह), दृश्य र दृष्टा (हाँस्य-व्यङ्ग्य) रत्नपार्क (उपन्यासिका) गरी आठवटा पुस्तक प्रकाशित भएका छन्। यस सूचिका अनुसार उनका कथा, कविता, गीत, महाकाव्य, नाटक, निबन्ध हास्य व्यङ्ग्य, उपन्यासिका प्रकाशित भएका छन्। उनले आफ्नो जीवन नै साहित्यलाई नै समर्पित गरेको बुझिन्छ।
२. जीवनको पछिल्लो भाग बुढेसकाल-
मानव जीवनको पछिल्लो अवस्था वृद्धावस्था अत्यन्तै दयनीय कारूणिक र रोगग्रस्त हुने बेला हो। यस अवस्थामा मान्छे रोगले सताइएको, स्याहारबाट वञ्चित भएको आदि अवस्था देख्न पाइन्छ। यस कालमा जीवन धेरै कष्टकर हुन्छ। विभिन्न रोगले चापेका हुन्छन्। आर्थिक समस्यामा जुधिरहेका हुन्छन्। परिवारका सदस्यहरूमा असहयोग, विस्याहार, अवहेलना, मानसिक अन्तराल, वेवास्था, एकलपन आदिले ग्रस्त बनेको हुन्छ। वृद्धावस्थाको रूग्नता, शरीरमा आउने विकृति आदिले गर्दा बुढेसकाल कारूणिक हुन्छ। मान्छे साह्रै स्वराथी बनेका हुन्छन्। आफ्नै छोरा छोरीसमेत बुढेसकालमा परपर हुन्छन्। बुढ्यौली अवस्थामा शारीरिक मानसिक, आर्थिक, सहारा र सहयोग चाहिन्छ। यस्तो बेलामा आफुले जन्माइ, हुर्काइ, बढाइ र सक्षम बनाइको आफ्ना सन्तानबाट नै आशा गरिन्छ। यद्यपि नोकरीका निम्ति आफ्ना छोराछोरी उपस्थित हुँदैनन्। उपस्थित भए पनि छेउ नपर्ने, उल्टा धनको माग गर्ने स्थिति देखा पर्दछ। हाम्रो पूर्वीय देशहरूमा आफ्नो बुढा-बुढी भएका आमा बाबुलाई वृद्धाश्रममा लगेर राख्ने चलन र संस्कार छैन। यद्यपि भित्र भित्र भने वृद्धावस्था पुगेपछि मानिस लाचारको स्थिति छ। अहिलेको समयमा त झन नेपालमा युवापुस्ता जति विदेशतिर पलायन हुने स्थिति छ। घरघरका युवाहरू काम दाम मामको खोजीमा विदेश पलायन हुने गर्दछन्। यसो हुँदा नेपालका घरघरै वृद्धाश्रम जस्ता बनेका छन्। घरमा रहेका बाबु-आमाको दयनीय अवस्था देखिन्छ। स्वार्थी सन्तान र आफन्तहरू सम्पत्ति र बल तागत छउन्जेलमात्र छेउछाउ रहन्छन्। सम्पत्ति र बल तागत सकिएपछि सबै परपर हुनेछन्। यसैलाई रत्नपार्क उपन्यासिकामा झल्काइएको छ।
३. रत्नपार्क उपन्यासिका कि उपन्यासिका?-
रत्नपार्क उपन्यासिकामा थोरै पृष्ठहरू र घटनावली भएकाले यसलाई उपन्यासिका नै मान्न सकिन्छ। यसमा जम्मा पचास पृष्ठ रहेका छन्। यसमा जम्मा नौवटा ससाना परिच्छेदहरू रहेका छन्। यसका साथै प्रत्येक परिच्छेद पाँच छ वटा जति पृष्ठ रहेका छन्। परिच्छेदभित्र थोरै घटना रहेका छन्। यसमा प्रयुक्त फन्ट र सेटिङ मिलाएर राख्ने हो भने यसका पृष्ठहरू अझ घट्ने छन्। यसको आयाम छोटो छ, यसमा कथावस्तु छोटो छ, पात्रहरू थोरै छन्, परिवेश र अन्य संघटक तत्त्वहरू पनि थोरै छन्। यसमा जीवनको पछिल्लो भाग वृद्धावस्थामा मान्छेको वास्तविक अवस्थाको मार्मिक वर्णन छ। अतः यसलाई उपन्यासिका भन्न मिल्छ। यसमा कथावस्तु छोटो छ। उपन्यासिका एक बसाइमा पढिसकिन्छ। आख्यानको कालावधि लगभग दुई चार महिना जतिको मात्रै छ। यसलाई उपन्यासिका नै मान्न सकिन्छ।

४. औपन्यसिक तत्त्व-
रत्नपार्कमा रहेका औपन्यासिक तत्त्वहरूका आधारमा समीक्षा गर्न सकिन्छ। यस उपन्यासिकाका औपन्यासिक तत्त्वहरू जस्तै कथावस्तु र वस्तुयोजना, पात्रविधान, परिप्रेक्ष्य, परिवेशविधान, भाषा र शैली जस्ता तत्त्वहरूका आधारमा यसको अध्ययन गर्न सकिन्छ। यसलाई घटनाप्रधान मान्न सकिन्छ। यसमा कथावस्तु रैखिक ढाँचामा रहेका छन् भने घटनाहरू चाँडो चाँडो घटेका छन्। यसका मुख्य गरी पात्रहरू चारजना वृद्ध पुरूषहरू रहेका छन्। यसमा पात्रहरूले आ-आफ्ना वृद्धावस्थाबारे विचार व्यक्त गरेका छन् जसद्वारा उनीहरूको पीडा अघि सारेका छन्। यसमा परोक्ष र प्रत्यक्ष रूपमा चरित्र चित्रण गरिएको छ। यसमा बाह्य र आन्तरिक दुवै प्रकारले परिवेशको सङ्केत गरिएको छ। यसमा रहेका केही औपन्यासिक त्त्वहरूको संक्षिप्तमा चर्चा गरिने छ।

४.१. कथावस्तु योजना- यसको कथावस्तु छोटो भए पनि सघन छ। छोटो समयावधिको घटनावली भए पनि घटनाहरू छिटो छिटो घटाइएका छन्। यसमा चारजना बुढाहरूको बुढेसकालका शारीरिक, मानसिक आर्थिक कठिनाइ, पीड़ालाई उपन्यासिकाको मूल विषयवस्तु बनाइएको छ। यस उपन्यासिकाको मूल भाव नै कारूणिक छ। बुढेसकालमा मानिसको दयनीय अवस्थालाई नै यसको केन्द्रिय विषय बनाइएको छ। यसमा कथारेखाको प्रखरता पाइन्छ भने कथालाई द्रुत गतिमा अघि बढाइएको छ। यसमा रैखिक ढाँचाको कथावस्तु योजना गरिएको छ। यसमा विशेषगरी चारजना पात्रहरूको जीवनको बुढेसकालका कारूणिक अवस्थाको चित्रण पाइन्छ। प्रधान बाबुले जीवनमा जति धन कमाए पनि बुढेसकालमा आफ्नो छोराछोरी कोही बिदेशमा र कोही घरमै भए पनि अयोग्य र हेरचाह नगर्ने खालका छन्। छोरीहरू पनि उस्तै स्वार्थी निस्के। बुढेसकासलमा छोरीको सेवा सुश्रुषाको अभावले नोकरको भर प्रनुपर्ने देखिएको छ। अर्को पात्र गोबिन्द केसी पनि स्याहार नपाएर कारूणिक अवस्थामा पुगेको छ। न्यायाधीश पनि छोरीछोरीको स्याहारदेखि वञ्चित भएको अवस्था छ। आफ्नो शरीरमा बल-ताकत छउन्जेल मात्र आफ्नो स्याहर पुग्ने नत्र असक्त हुँदाको कारूणिक अवस्था भएको देखाइएको छ।
गुरूङ बाबु रत्नपार्कमा एक्कासी लड्दा अरूले रमिता मात्र हेरेका थिए, कोही अघि सरेर अस्पताल पुर्‌याउने आँट र र झमेला गरेका थिएनन्। त्यहीँ छेउमा बसिरहेका तीनजना बुढाहरूले भने उसलाई गाडीमा हालेर हत्तपत्त अस्पताल पुर्‌याइ प्राथमिक उपचार गर्न सहयोग गरेका थिए। यहीँबाट कथा शुरू भएर प्रधानबाबूलाई मर्ने बेला नभई जिउँदैमा आर्य़घाट ल्याएर मृत्यु कुरेर बसेका थिए। चारजना बुढाहरूमध्ये प्राध्यापक गोविन्द केसी, न्यायधीश पुडासैनी आदिको मुटुको आघात भएर नै मृत्यु भएको उल्लेख पाइन्छ। प्रधान बाबु नमरी तर अधमरो अवस्थामा ब्रह्मानलमा राखिएको छ। उसको नाडी चल्दै गर्दा, सचेत भएका प्रधानबाबुलाई त्यसरी लामो समयदेखि राख्दै आउनु पनि सन्तानको मानसिकता झल्काउँछ। त्यसबारे एउटा मान्छेको टिप्पणी छ- “मर्ने बेला नै नभई घाटमा ल्याए जस्तो छ- आफन्तहरूले। शायद, सम्पति चाँडै हात पार्ने हडबडले होला”।
देशमा आमा बाबुको पाल्ने संस्कृति अब बिस्तारै च्युत हुन लागेको स्थिति बन्दो छ। उपन्यास लेखनकाल रहेको त्यस्तो स्थिति अहिले पच्चीस वर्षपछि झन बिग्रँदो छ। देशका युवा घरका बुढा बाबु आमा छोडेर परिवार लिएर बिदेशिँदै जाँदो क्रम झन बढेको छ। देशका युवा पुस्ता विदेश जाने क्रम बढेको हुँदा घरका आमा बाबु घरमा कारूणिक स्थितिमा रहेका हुन्छन्। ती असहाय वृद्धहरूको मानसिक अवस्थालाई जनाउनु नै उपन्यासिकाको मूल कथावस्तु रहेको छ। बुढेसकालमा श्रीमतीहरू बितेपछि बुढो लोग्नेमान्छेको बिजोक हुन्छ। तीनैजनामा दुई बुढाहरूका श्रीमतीहरू बितिसकेका हुनाले छन् भने प्रधान बाबूकी श्रीमती बाथको बिमारले लाचार अवस्थाकी छ। यसर्थ तीनजना कारूणिक अवस्थामा पुगेका छन्।
४.२. पात्र योजना-
यस उपन्यासिकामा मुख्य गरी तीन पात्र र केही सहायक पात्र र गौण पात्र रहेका छन्। तीनजना वृद्ध पात्रहरू दैनिक रूपमा रत्नपार्कमा बसेर आफ्ना आफ्ना मनका पीडा पोख्ने गर्दछन्। सधैंझैं बेलुकीपख बुढाहरू बसेर गफ गरेका बेला एउटा मानिस लडेको आवाज सुनीहेर्दा अर्का एउटा बृद्ध मानिस देख्दछन्। तीन वृद्धले तीन मूर्छित वृद्धलाई हत्तपत्त वीर अस्पताल लगेर भर्ती गरिदिन्छन्। मङ्गलदास प्रधान, टंक पुडासैनी, गोबिन्द के सी र गरी तीनजना मुख्य पात्रहरू रहेका छन्। उपन्यासको कथावस्तुअनुसार केन्द्रिय पात्र भने मङ्गलदास प्रधान हुन्। गुरूङ बाबूको स्थिति झन दयनीय थियो। गुरूङले जीवनकालमा कमाएको धन धुत्न नेताहरूले राजनैतिक लाभ दिने प्रलोभनले लुटेका, पैसा मासिदिएको कुरा आक्रोशका रूमा व्यक्त गरिएको छ। यसमा सबैभन्दा बढी मङ्गलदास प्रधानमाथि बढी केन्द्रित रहेको छ। उसको मानसिकता, कारूणिक अवस्था, पारिवारिक स्थिति, बुढेसकालको अन्तिम चरणसम्म नै उपन्यास केन्द्रित रहेको छ। यसमा सरोज भन्ने पात्र पनि छ जो गोविन्द केसीको चेलो हो जसले आफ्नो गुरूलाई साँच्चै वास्तविक मान सम्मान र श्रद्धा गर्दछ। आफ्नो गुरूले लेखकेको लेखोटलाई पुस्तकका रूपमा प्रकाशित गरिदिएर आफ्नो गुरूदक्षिणा चढाउँछ। आफ्नो पुस्तक प्रकाशित भएर आफुले जीवनको अन्तिम समयम भए पनि खुशी र सन्तोक लिन पाउँछ।
उपन्यासिकामा दुई खाले स्वभावका पात्रहरूको परिकल्पित गरिएको छ- सकारात्मक र नकारात्मक चरित्रका। यसमा मूल तीन जना मूलतः सकारात्मक चरित्रका देखिन्छन्। यी तीनबाहेक मास्टर गोबिन्द केसीको चेला सरोज, गुरूङ बाबु मुख्य गरी सकारात्मक छन्। सरोजले आफ्नो गुरू गोविन्द के सीले लेखेको तर प्रकाशित गर्ने आर्थिक ल्याकत नभएको हुँदा गुरूदक्षिणाका रूपमा प्रकाशित गरिदिएको छ। आफ्नो जीवनको अन्तिम कालमा भए पनि आफ्नो गुरूको पुस्तक प्रकाशित भएको देख्दा के सीले साँच्चै आत्मसन्तोष गर्न सकेको छ। गोविन्द केसी शिक्षक हुनाले धेरैजना विद्यार्थी कमाएको, घरमा पनि निशुल्क रूपमा ट्युसन पनि पढाइदिने गरेको हुनाले उ धेरै विद्यार्थीबिच लोकप्रिय देखिन्छ। न्यायधीश टङ्क पुडासैनीको विगत भने सकारात्मक थिएन। उसले थोरै पढेको बए पनि विभिन्न युक्तिले न्यायधीशसम्म भएको थियो। पदको दुरूपयोग गरेर अकुत सम्पत्ति कमाएको थियो। तर बुढेसकालमा आएर उ पनि लाचार छ। उसलाई पनि स्याहार्ने, हेरचाह गर्ने कोही भएनन्। उसको पनि दुःखद मरण हुन्छ।
उपन्यासिकामा तीन मुख्य पात्रबाहेक गुरूङ बाबु, उसको भानिज, अस्पतालमा डाक्टर र नर्स, पुडासैनीको नाति, मङ्गलदासको नोकर गोपाल, गोविन्द केसीको विद्यार्थी सरोज आदि मञ्चीय पात्र हुन्। प्रधान बबूका छोरा-बुहारीहरू, छोरी-ज्वाइँहरू, टङ्क पुडासैनीका परिवार, गोविन्द स केसीकी श्रीमती र छोराछोरी, अस्पतालका कर्मचारीहरू, गुरूङ बु लड्दा हेर्ने रमितेहरू, प्रधानबाबूलाई पशुपति ब्रह्मनलमा राख्दा हेर्नआउनेहरू, उसको अवस्थामा टिप्पणी गर्नेहरू यसका नेपथ्य र साङ्केतिक पात्र-पात्रा हुन्। उपन्यासिकाको आयाम अनुसार यी पात्र-पात्राहरूको सङ्ख्या धेरै नै मान्न सकिन्छ।
४.३. परिप्रेक्ष्य-
रत्नपार्क उपन्यासिकामा मूलतः दुई किसिमले परिप्रेक्ष्य (दृष्टिविन्दु) को अङ्कन गरिएको छ। यसमा मूलतः तृतीय पुरूष दृष्टिविन्दुमा रचिएको छ। यसमा तृतीय पुरूष दृष्टिविन्दुको प्रयोग गरिएको छ। यसमा तीनजना बुढा अझ प्रधानबाबुको अधिक भूमिका हुनाले उसलाई दृष्टिकोण पात्र मान्न सकिन्छ। उसको मानसिक अवस्था, उदारता आदर्शतामाथि मूल रूपमा उपन्यासिका अघि बढेको छ। यसका दृष्टिविन्दु पात्र नै प्रधानबाबू हुन्। उसैमाथि उपन्यासकारको दृष्टि बढी रहेको छ। उनफन्यासको पछिल्लो भागमा प्रधान बाबुको रोग र विस्याहारले जीर्ण अवस्थाको वर्णनमा केन्द्रित छ। उनको मनमा उब्जेका उत्कण्ठा, तृष्णा, विक्षोभ, स्मृति, निवृत्ति सबै देकेको छ। मनभित्र उब्जेका कुरा पनि लेखकले जानेको जस्तै गरी उतारिका हुनाले य,समा सर्वज्ञ दृष्टिविन्दुको प्रयोग पाइन्छ।

४.४. परिवेश विधान-
यस उपन्यासिकाको परिवेश भने काठमाडौंभित्र रहेको छ। त्यहाँको रत्नपार्कको मूल परिवेश देखाइको छ। बाह्य परिवेशमा काठमाडौंको रत्न पार्क, सिनामङ्गल, आदितिरको यसमा स्थल वर्णन गरिएको छ। आन्तरिक परिवेशमा काठमाडौं शहरभित्रको खोक्रो मानसिक, आडम्बरी प्रवृत्ति, निर्ममता, मानवीय संवेदनशीलताको अभाव आदिलाई देखाइएको छ। घरमा वृद्ध बाबु-आमालाई बिजोक बनाउने, आफ्ना आमा-बाबुलाई स्याहार नगर्ने छोराछोरी, वृद्ध बाबु आमालाई घरमा राखेर विदेश जाने, विदेशबाट पैसा पठाएर स्याहार गरेको ठान्ने मानसिकता देखाइएको छ। यसमा बाह्य परिवेश र मानसिक परिवे दुवै देखाइएको छ। यस स्वार्थी संसारमा आफु सक्षम, बल तागत र धन भएका बेला मात्र परिवारका अन्य सदस्या, छोराछोरी, भाइ-भतिजा जस्ता आफन्त कोही काम लाग्दैनन्। बुढाहरूको संवेदना, पीडा, विक्षोभ, करूणा, सहयोगिता आदि यसको आन्तरिक परिवेश हुन्।
४.५. भाषा र शैली-
यस उपन्यासिकाको भाषा र शैली सामान्य छ। सामान्य भाषामा घटनावर्णन गरिएको छ। त्यस्तो चमत्कारिक शैली र भाषाको प्रयोग पाइन्न। यस उपन्यासिकामा प्रयुक्त भाषालाई सरल, सुगम र सुबोध र सरस नै मान्न सकिन्छ। उपन्यासिकाको विषयवस्तुलाई वयान गर्ने भाषा र पात्रगत भाषामा खासै भिन्नता छैन। यो उपन्यासिका पढ्दा पाठकले सजिलोसँग ¬बुझ्नु सक्छ। कथावस्तु सुमधुर र धाराप्रवाह अघि बढेको छ। उपन्यासिकामा भूमिका र विवरण पक्ष नराखेर सोझै कथारेखा धाराप्रवाह रूपमा अघि लगिएको छ। यसमा लेखकीय भाषा र पात्रगत भाषा अलगअलग नभएर एकै छन्। बीच बीचमा संवाद योजना पनि गरिएको छ।
४.६. औपन्यासिक संरचना-
रत्नपार्कलाई आयामको आधारमा उपन्यासिका मान्न सकिन्छ। यसमा साना साना गरी नौवटा परिच्छेद रहेका छन्। यो एक बसाइ नै पढिसिद्धिन्छ। यसो एक परिच्छेदमा तीनदेखि चार पृष्ठ रहेका छन्। थोरैमा धेरै भनिएको संश्लिष्ठ कथावस्तु बनेको छ। प्रत्येक परिच्छेदका बीच घटना शृङ्खला जोडिएको छ। घटनाहरू द्रुत गतिमा अघि बढेर कथावस्तुलाई संश्लिष्ट र सघन बनाइएको छ। यद्यपि उपन्यासको बनोट र बुनोट भने कमजोर नै पाइन्छ। यसमा घटनाको कार्य र कारणको संयोजन उति मिलेको छैन। उपन्यासको कार्यकारण सम्बन्ध उति मिलेको छैन। मूल घटनाहरूको शृङ्खला भने चाँडो चाँडो अघि बढाइएको छ जबकि प्रधान बाबूको मानसिक अवस्थाको भने विस्तार गरिएको छ।

५. उपन्यासिकाको उद्देश्य कथन-
यस उपन्यासिकामा लेखकले केही सन्देश अभिव्यक्त गर्ने उद्देश्य राखेका छन्। यसमा मान्छेले आफ्नो बल बैंश र समय हुँदा जस्तो बुढेसकालमा हुँदैन। यसकालमा भने जीवन कष्टकर हुन्छ। जीवनमा कमाएका धन वैभव, जन शक्ति आदि सबै बुढेसकालमा मलिन हुँदै हुन्छन् र लाचारीको अव्स्था आइपुग्छ। यसकारण जवानी र बेलैमा जीवनभोग गर्नुपर्दछ। प्रधानबाबु भने आफु पसल र व्यापारले निकै सम्पन्न थिए तर जीवनको अन्तिम चरणमा भए सन्तान भएर पनि एक्लो, धन भएर पनि सन्तानको सेवाबाट विमुख हुनुपरेको कुरालाई सन्देशका रूपमा प्रस्तुत गरिएको छ। मानिसको जीवनको वृद्धावस्था अत्यन्तै कष्टदायक हुनाले त्यसका निम्ति मानसिक रूपमा आफैं तयारी गरी बसेको हुनपर्छ। घरकी श्रीमती बितिसकेपछि परिवारका अन्य सदस्य पनि बाउँटिन थाल्छन्। जीवनलाई सुखमा मात्र नलिएर दुःख पनि सहजै ग्रहण गर्न तयारी बस्नुपर्छ, बलबुता छउन्जेल सत्कर्म गर्नुपर्दछ, उपकार सद्व्यवहार गर्नुपर्दछ भन्ने परोक्ष सन्देश पनि दिइएको छ। तीनजनाको बेग्लाबेग्लै पेशा बए पनि शिक्षणको पेशा अपनाउने के सीको अवस्था भने केही सन्तोषजनक रहेको छ।

६. उपसंहार:-
यसरी हेर्दा मदनदेव भट्टराईको रत्नपार्क उपन्यासिकामा मानिसको बुढ्यौली अवस्थाको कारूणिक अवस्थालाई विषय-वस्तु बनाइको छ। यसमा मुख्य गरी चारजना वृद्ध पात्रहरूको माध्यमबाट आम मानिसको वृद्धावस्थाको रेखाङ्कन र लिप्याङ्कन गरिएको छ। यस किसिमको विषयमा आधार गरिएको सम्भवतः यही उपन्यासिका हो। यसलाई सामान्य उपन्यासकै रूपमा पनि सिर्जना गर्न सकिने ठाउँ थियो तर लेखकले यसलाई छोटो रूपमा नै प्रस्तुत गरेका छन्। यसमा बुढेसकालको लाचारी कारूणिक अवस्था लाई यथार्थलाई प्रस्तुत गरिएको छ।

तल्लो बम बस्ती, कालिम्पोङ, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।