आनन्ददेव भट्टज्यूको ‘केही आत्मपरक निबन्धहरू’ कृति पढेँ । जम्मा एकतिसवटा निबन्धहरू सङ्गृहीत यस निबन्धसङ्ग्रहको एक्काइसौँ निबन्ध हो– ‘खोइ, के लेखुँ ?’ र यही निबन्धमा टेकेर यति बेला म पनि आत्मपरक विचरणका लागि पाइलो सार्ने प्रयत्न गरिरहेको छु । मैले लेख्दै गरेको यो विशृङ्खल कुरो न निबन्ध हो, न त भट्टज्यूको उक्त निबन्धमाथिको समीक्षा; बरु यसलाई उक्त निबन्धको प्रभावमा लेखिएको एउटा सामान्य लेखोटका रुपमा बुझ्नु उपयुक्त हुन्छ कि !
भट्टज्यूका सम्बन्धमा संस्मरण लेख्ने हैसियत ममा छैन र समीक्षाको पाण्डित्यतिर पनि मेरो मन गएन । उहाँसँगको अन्तरङ्ग र सहकार्यका सहकर्मीहरूबाट आउने संस्मरणका अगाडि मेरो पाँच–सात घन्टे बसाइको त्यति वजन हुन्छ भन्ने मलाई लागेन । यदि संस्मरणै लेखहालेँ भने पनि उही पोखरामा म संलग्न संस्था ‘गण्डकी साहित्य सङ्गम’ले उहाँलाई सम्मान गर्दाको सन्दर्भ, प्रलेसका केही केन्द्रीय सम्मेलनहरूमा उहाँले व्यक्त गरेका मन्तव्य र अन्य एकादुई साहित्यिक गोष्ठीहरूमा उहाँद्वारा व्यक्त विचारका साथमा उहाँको नेतृत्व गर्न सक्ने क्षमता, सहृदयीपन, प्रगतिशील साहित्यिक उन्नयनका निमित्त आर्थिक रुपमा पनि सहयोग गर्न सक्ने मन आदि आदि यस्तैयस्तै प्रशंसाजन्य शब्दहरूबाहेक अरु कुरा मबाट आउने बाटाहरू पनि छैनन् । यसै अर्थमा भट्टज्यूलाई म सोधिरहेछु– म पनि खोइ, के लेखुँ, लेखुँ ?
खोइ के लेखुँ ? लेखुँको रन्थमोलमा भट्टजीकै निबन्ध पढेँ । दोहो¥याएर पढेँ– ‘लेख्ने विषयवस्तु नपाइनु भनेको लेखक विचारशून्य हुनु हो ।’ जब लेखकमा सही विचारको उत्पत्ति हुँदैन तब लेखको पनि कुनै औचित्य रहँदैन भन्ने म ठान्दछु । विचारविहीनता लेखनको नाटक हो र त्यस्तो नाटकको कुनै मूल्य हुन्छ जस्तो मलाई लाग्दैन । विचार कुन किसिमको हो, लेखको गहनता र लेखकको गरिमा त्यसैमा निर्भर हुन्छ । कुन विचारलाई उठाउने र कसका लागि लेख्ने ? मुख्य सवाल नै यही हो र यसैमा गम्दागम्दै मलाई पनि लाग्यो भट्टज्यू खोइ, के लेखुँ ? लेखुँ !
‘कैयनका लेखाइका सिङ–पुच्छर केही हुन्नन् ।’ सिङ र पुच्छर पनि नभएको गोरु देखेर हाँस्छन् मान्छेहरू । गोरु स्वयंलाई कुरुप भएकामा चिन्ता हुन्छ\हुँदैन मलाई थाहा छैन तर मान्छे उसको कुरुपतालाई मजाकको विषय बनाएर आनन्दमा लुटपुटिन्छ । भरियाको फाटेको जाँगेमा पुगेर साहूको सुनको दाँत मुस्कुराउँछ । गरिबीलाई विषय बनाएर कति सजिलै हाँसिदिन्छ मान्छे वीभत्सताको हाँसो । साँच्चै भट्टज्यू, सिङ र पुच्छर नभएको लेख कस्तो हुन्छ होला ! त्यतातिर पो दौडन थाल्यो मेरो मस्तिष्क । बेलगाम घोडाकुदाइले गन्तव्य भेट्न सम्भव छैन तर म दौडिरहेछु । स्वतन्त्र पयरमा दौडनुको मजा पनि बेग्लै हुँदोरहेछ । भट्टज्यूले रचनामा सिङ र पुच्छरको खोजी गर्नुभएको छ । फलको गुदी मिठो हुनु स्वाभाविक छ र बोक्रा पनि त देख्दैमा खाऊँ खाऊँ लाग्ने हुनु पर्यो नि । सायद् यही विचारसहितको सौन्दर्यको खोजीमा भट्टजीले आफ्नो निबन्धमार्फत सिङ र पुच्छरको फुर्को समाउनुभएको हो कि ! आधुनिक मिलमा कुटेर पोलिस गरिएको चामलभन्दा बरु खस्रै किन नहोस् काँचै खाँदा पनि गुलियो हुने ढिकरीको चामल स्वादिलो हुन्छ, जस्तो कि बाहिरको बोक्रा आकर्षक मात्र भएर के गर्नु गुदी टर्रो छ भने । बोक्रो बरु झुसे नै किन नहोस् गुदी चाहिँ मिठो हुनै पर्छ । यसैले म तपाइँको विचारमा सहमत छु भट्टज्यू, लेखको सिङ र पुच्छर त चाहिन्छ, चाहिन्छ ।
भट्टजीकै सिङ र पुच्छरसँग जोडिएका शब्दहरू सापटी लिएर म पनि निस्फिक्री दौडिरहेछु । ‘पानाका पाना भरिन सक्छन्, उदीयमानहरूका बिच शब्द र शैलीको छनोटमा एक से एक होडबाजी चलेको हुन्छ, प्रयोगको धुरीमा को पहिले पुग्ने भनी....’ हनुमानहरू हाँगाहाँगामा तँछाडमछाड गरिरहेछन् । रामचन्द्रजी बाँसुरीमा धुन निकाल्न व्यस्त छन् । सहर जलिरहेको छ । कान कमजोर छ रामचन्द्रजीको, आँखामा फुलो परेको छ । यद्यपि भक्तहरू हात हातमा पुष्पगुच्छाका साथ पंक्तिबद्ध छन् । भजनकीर्तनका साथ दर्शनभेटका लागि दिनहरू ढलिरहेछन् । झल्को त्रेता युगकै छ । पढालेखा बुद्धिजीवी, प्राध्यापकहरुसमेत हनुमानका पनि दास बनिरहेका छन् । इतिहासका नजरबाट वर्तमान नियालिरहेछु म, आखिर यो दुनियाँ शक्तिकै पुजारी त रहेछ नि हगि भट्टज्यू !
भूत र भविष्यसित साइनो गाँस्न नसक्ने लेखकलाई म लेखक मान्न सक्दिन । भूतले लेखकलाई बाटो देखाइरहेको हुन्छ भने भविष्यले लक्ष्यतर्फ आकर्षित गरेको हुन्छ । त्यही भविष्यको आशामा त बाँचेको हुन्छ मान्छे । आखिर लेखक पनि त मान्छे नै हो । इतिहासको हाँगो समाएर वर्तमानको चचहुइमा मच्चिँदै उज्यालो खोज्न नसक्नेहरू कसरी लेखक बनिरहेछन् कुन्नि ! टीठ लाग्छ तिनका जबरजस्ती थुपारिएका अदूरदर्शी शब्दहरूप्रति । किन अलमलिन्छन् हँ प्रतिध्रुवका शब्दहरू कुहिरामा काग अलमलिएजस्तो । म कुहिरो हटेको छ्याङ्ङ आकाश चाहन्छु जुन आकाशमा मालचरीको एउटा हुल समानताको विश्वासमा पंक्तिबद्ध उडेको हुन्छ, तिनै स्वच्छन्द उडिरहेका मालचरीहरूमा म मान्छेको अनुहार देख्न चाहन्छु ।
‘इतिहासले सधैँ घुमाउरो बाटो हिँडेको पाइन्छ ।’ हो त भट्टज्यू ! तपाइँको यस भनाइमा पनि म शत प्रतिशत सहमत छु । सोझो बाटो हिँड्नुको तुलनामा घुमाउरो बाटो हिँड्दा कति हो कति बढी आनन्द आउँछ । मानौँ, छोटो बाटाको पैदलयात्रा एक घन्टाको हुन्छ भने घुमाउरो बाटाको पैदल दुई घन्टाको हुन सक्छ । तर एक घन्टा मात्रको थकानबाट त के आनन्द आउँछ र ? दुई घन्टाको थकानपछिको आनन्दमा एक घन्टाको हिँडाइको मूल्य निकै कम हुन्छ । सङ्घर्षले नै मान्छे बन्ने हो; मान्छे बन्नका लागि सङ्घर्ष त चाहिन्छ, चाहिन्छ । माक्र्सको विगत हेरुँ कि लिङ्कनको बाल्यकाल पढुँ ? इतिहास निर्माण गर्नेहरूको इतिहास सरल रेखामा बग्दोरहेनछ भन्ने सत्य बुभ्mनका लागि गोर्कीको जीवन पढे पुग्छ । साइकल घुमे झैँ घुम्दैनन् सिधा बाटामा बसहरू । ठुलै फेरो चाहिन्छ बस घुम्नलाई । आखिर भरिया न हुन् बसहरू, बटुवा न हुन् बसहरू । भरियाहरू जो जीवनको भारी बोकेर उकाली–ओरालीका लामा लामा घुम्तीहरू पार गरिरहेका हुन्छन् । अटाइनअटाई डोकाभरि भरि बोकेर जीजिविषा जब घुम्ती पार लाग्छ त्यसपछिको बिसाइमा आउने आनन्द पो आनन्द ! म त्यही आनन्द चाहन्छु । जीवनमा आइपर्ने घुम्तीहरूमा नहडबडाइकन अगाडि बढ्न सकूँ, निरन्तर बढिरहूँ । हो साँच्ची भट्टज्यू ! म पनि सोझो होइन, घुमाउरै बाटो हिँड्न मन पराउने मान्छे हुँ ।
खै, के लेख्ने, लेख्ने ? कतै विशृङ्खलताको आरोप पो लाग्ने हो कि ! सोच पोखरीको तरङ्ग झैँ चारैतिर छरिन थालेका बेला विचारमा केन्द्रीकृत हुन निकै गाह्रो पर्दोरहेछ । मझधारमै पुग्नका लागि पुनः पल्टाउँछु भट्टज्यूकै निबन्धको पानो– ‘तपाइँको कलमपछाडि तपाइँको जीवनको अनुभूति छ, तपाइँको आस्थाको भव्य किल्ला छ, तपाइँको विश्वासको एउटा गतिशील प्रवाह छ, यस धर्ती र त्यसमा पसिना चुहाई बाँच्ने सम्पूर्ण जातिप्रति अगाध माया र श्रद्धाको अनन्त प्रवाह छ ।’ हो त, भट्टज्यू ! शब्दहरू जब जीवन बोक्न सक्षम हुँदैनन् र बेमौसमी राग अलाप्छन् त्यस्ता शब्दहरूलाई पनि किन ब्रह्म मानिरहने ?
वास्तवमा शब्दहरू आफैमा खराब हुँदैनन्, दुरुपयोग गर्नेहरूले नै शब्दको महत्व घटाइरहेछन् । सदुपयोग गर्न सक्नुपर्छ शब्दहरूको । जीवनका विरुद्धमा उतार्नु हुँदैन शब्दहरूलाई । समाजका विरुद्धमा पनि उतार्नु हुँदैन शब्दहरुलाई । निस्सार बनाउनु हुँदैन शब्दहरुलाई । जब प्रयोगका नाउँमा जीवनविरोधी बन्छन् शब्दहरू तब जीवनको सुवास हराउँछ । शब्दहरूमार्फत् आस्था÷विश्वासको खेती गर्ने लेखक पो लेखक, अन्यथा छरेर भ्रमपूर्ण शब्दहरू कस्तो बिरुवा उमार्ने ? कुन खालको विचार जन्माउने ? विचारको सङ्कट छ यस समयमा । राजनीतिक फाँटमा मात्रै कहाँ हो र ! साहित्यिक फाँटमा पनि उत्तिकै फैलँदो छ सङ्कट । मान्छे किन विचलित भइरहेको छ ? स्वार्थको डम्फु बजाउँदै बाह्रैमास जात्रामा मग्न मान्छेहरूलाई सवक सिकाउने हतियार हो विचार । र विचारका जन्मदातृहरू हुन् शब्द । पूर्णताको बाटामा कुदाउनु छ विचारलाई शब्दहरूको खेतीमार्फत । किसानका पसिनामा उमार्नु छ वैचारिक बिरुवाहरू, भरियाका सुसेलीसँगै हुर्काउनु छ बोटहरू । गर्नु छ मान्छेको कल्याण र बनाउनु छ समाजलाई सदाबहार ।
भट्टज्यू, मलाई त यस दुनियाँमा सबैभन्दा बढी माया श्रमजीवीहरूको लाग्छ । श्रममा विश्वास फुल्छ । विश्वासले नै समाजलाई दिशानिर्देश गरेको हुन्छ । त्यही त म श्रम रोपेर विश्वास फुलाउन चाहन्छु याने कि शब्दखेतीमार्फत आस्थाका बालाहरू लहलहाएको देख्न चाहन्छु । म चाहन्छु– मेरा शब्दहरु मङ्सिर बनेर लहलहाऊन्, मगमगाउँदै झुलून् शब्दहरु । शब्दहरू कुरुप नबनून् । शब्दहरूको सौन्दर्यमा कुरुपताको लेपन नलगाइयोस् । जीवनका विरुद्धमा प्रयोग नहोऊन् शब्दहरू । बेजोड छ शब्दको शक्ति । आगोभन्दा बढी पोल्छन् शब्दहरूले । खेलबाड नहोस् शब्दहरूमाथि र मूल्यमा अङ्कन गर्दा पनि कमी नआवोस् कतैबाट । शब्दहरूमाथिको घातका कारण शताब्दी शताब्दीसम्म रुनु नपरोस् हाम्रा सन्ततिलाई । हाम्रो एउटै जाति छ, उच्च छ हाम्रो जाति । त्यही वर्गीय जातिको मुक्ति एवम् उच्चताको गायनमा रमाऊन् शब्दहरू । भट्टज्यू ! मलाई असाध्यै माया लाग्छ ती शब्दहरूको जुन शब्दले श्रममा विश्वास गर्दै जीवनलाई गति दिइरहेका छन्, मुक्तिको ज्वाला फुटाइरहेका छन् ।
भट्टज्यू ! अन्तिममा तपाइँले नै सङ्केत गर्नुभएको फ्याउराको कथा सम्झेँ मैले– ‘ती अङ्गुरहरू त तीता छन् ।’ तर फ्याउराले चाखेबाहेकका बाँकी अङ्गुर मिठा हुन सक्छन् । सबै अङ्गुर तीता नहुन पनि सक्छन् । बोक्रामा चिल्लो दलेर मोहिनी लगाउने शब्दजालको भ्रम फैलाउनेहरूमा विश्वास गर्दिन म । मलाई शब्दहरू खस्रा मन पर्छन् ।
हालः पोखरा- १७, कास्की