अचेल म मान्छेको अनुहार पढ़्नपट्टि लागेकी छु । जब उमेर सँगसँगै अनुभव, एक्सपियरेन्स छिप्पिँदै गयो मैले मान्छेको अनुहार अहिले पो चिन्न थालेकी छु । किनभने मान्छेको अनुहार बाहिर रुपमा जे देखिँदोरहेछ भित्री भने त्यस अनुहारको रुप अर्कै हुँदोरहेछ । अचेलको अनुहारप्रति मेरो विश्वास छैन । हुन त मेरो अनुहारप्रति पनि कसैको विश्वास नहोला...हुनै सक्छ...मेरो अनुहार बाहिरी रुपमा शान्त सौम्य लाटी देखिए पनि भित्र अनुहारमा ज्वालामुखी होला । मेरो भित्री अनुहारमा मेरो रणचण्ड़ी रुप सुतेर बसेकी होला । मेरो अनुहारमाथि मलाई नै विश्वास छैन । यसकारण म अरुको अनुहारको के विश्वास गरुँ ? यसैकारण म अचेल अरुको अनुहार पढ्नमा व्यस्त छु ।
मलाई लाग्छ प्रत्येक मान्छेको अनुहार एउटा भूगोल हो । जुन भूगोलमा मान्छेको विचार, मान्छेको सोचाइँको मानचित्र देखिन्छ । शिष्य एकलव्यको अनुहार स्वयम् गुरु द्रोणाचार्यले बुझ्नु सकेनन् । एकलव्यको अनुहारमा गुरु प्रतिको अदम्य भक्तिका अक्षरहरू टाँसिएका थिए भने गुरु द्रोणाचार्यको अनुहारमा सामन्ती सोंचका साथै सत्तावर्गको पूच्छर समाएर गुरुको पगरी गुँथ्ने मानचित्र कोरिएको थियो ।
मलाई कुनै पनि अनुहारसित विश्वास र भरोसा लाग्दैन । कसैको अनुहारमा राम राम बगलीमा छुराले जरा गाड़िएको हुन्छ । मिर्जाफरको अनुहारमा दाज्यूप्रतिको सम्मान रहे पनि उनको अनुहारमा दाजूलाई हत्या गरी सिंहासन ओगट्ने छल बुद्धिले वास गरेको थियो । र नै ब्रिटिशहरूले यस्ता छल अनुहारलाई शेष पाऱ्यो । यो अनुहारले धेरैलाई छक्याएको छ । लुटेको छ । भड़खालोमा हालेको छ । अऩुहार जब पढ़्छु त्यतिबेला मलाई एउटा हिन्दी गीतको सम्झना हुन्छ –
“दिल को देखो
चेहरा नदेखो
चेहरा ने लाखों को लुटा
दिल सच्चा और चेहरा झूटा ।“
कुरा सक्यो । गीतले स्पष्टै भनेको छ---हृदय हेर्नू अरे । अनुहार नहेर्नू अरे । किनभने यो अनुहारले लाखौंलाई लुटेको छ अरे । अनि यो हृदय मात्र साँचो हो तर बाहिर देखिने अनुहार सबै झूटो । म पूर्णरुपले समर्थित छ माथिको गीतको हरेक शब्दले । आज फेसबुक, म्यासेञ्जर, वाट्सएप, ट्वीटर, इन्सटाग्राममा देखिने अपरिचित अनुहारलाई के विश्वास गर्नु? शुरु शुरुमा साथी बनाउँछन्...भद्र र सभ्य कुरा गर्छन् । बात मारिन्छ । अझ विदेशबाट हुने साथीहरू यति भद्र हुन्छन् । उनीहरू ट्र्याकबाहिर कदापि बोल्दैनन् । एकजना सानी छोरी भएको कुरा सुनाउँछन् । स्वास्नी नभएको मार्मिक कथा सुनाउँछन् । यसरी सेण्टिमेण्टल ब्ल्याक गरी आफ्नो जालमा फँसाइ हजारौ हजारौ रुपियाँ लुट्न गरेको कुरा असत्य होइन । हाम्रा धेरै सोझा नारीहरू यस्ता छली अनुहारको जालमा फँसेर सर्वस्व गुमाएका छन् । यस्ता भद्र, सभ्य जेण्टल देखिने अनुहारलाई के पत्याउनु? यस्ता छली अनुहारको कारणले गर्दा आज जेण्टल ट्रिक्स नजान्ने सोझा सरल अनुहारहरू बदनाम छन् यहाँ ।
अब फेसबुककै अनुहारहरू पढ़्दा पढ़्दा मलाई अनुहार शीर्षकमा एउटा उपन्यास नै लेख्ने झोंक चल्दैछ । शान्त अनुहार भएको मेरो फेसबुके युवक साथी । अनुहार हेर्दा साह्रै सरल । परिचय भयो । म्यासेज सराबरी । हामी निकै क्लोज भएपछि भिडियो कल । त्यो पनि कुनै समय छैन । दिउँसो त कति पल्ट हो कति पल्ट । शुरु शुरुमा भलाद्मी देखिने, ज्ञानगुणका कुरा गर्ने । चेली भन्ने । म माइती । पछि पछि ता रात विरात भिडियो कल । के हो यो ? रातविरातमा भिडियो कल आउँदा पति महोदयको अनुहारको भूगोल कस्तो होला भन्ने किन सोच्दैनन् अनुहार हराएका मान्छेले भन्ने मेरो प्रश्न छ । म त के सोँच्छु भने मेरै पतिदेवले उनकी श्रीमतीलाई यसरी रातविरात भिडियो कल गरे मलाई भिडियो कल गरेर दिक्क लाउने अनुहार हराएको मान्छेको अनुहारको भूगोल कस्तो होला ?
हिजोआज म कतै पनि जाँदा, बस चढ़दा, टोटोमा बस्दा, मलतिर जाँदा, बाटाघाटामा देखिने प्रत्येक पुरुषहरूको अनुहार पढ़्न थालेकी छु । अनुहार पढ़ेर तिनको आन्द्राभुँड़ी बुझ्ने बानी लागेको छ । आँ गर्दा अलङ्कार बुझ्ने भएकी छु बाटाघाटा फेसबुकमा देखिने अनुहार पढ़्दा । अनुहार पनि किसिम किसिम थरि थरिका हुन्छन् भन्ने कुरा बुझिसकेकी छु । कसैको अनुहारमा शकुनीले पप डान्स गरेको देख्छु । कसैको अऩुहारमा कपटका रेखाहरू इन्द्रेणीजस्तो कोरिएका हुन्छन् । कसैको अनुहारमा मौकाको फायदा लुट्ने दुमो पलाएको देख्छु । मात्रै एक प्रतिशतको अनुहारमा इमानदारका जलप टल्केको देख्छु । रहल ९९ प्रतिशतको अनुहारमा चोर, फटाहा, छली, चाप्लुसी, लुचाहा, जाली, आफ्नो दुनो सोझ्याउने, अरुको खुट्टा तान्ने, अरुलाई लुछ्ने स्वाभाव दुगुरिरहेका देख्छु ।
यस्ता थरि थरिका अनुहार पढ़्दा पढ़दा यस्तो निष्कर्षमा आइसकेकी छु कि यहाँ बाहिरी देखिने अनुहारहरू जति सबै छली अनुहार हुन् । विश्वासघाती अनुहारहरू हुन् । यस्ता अनुहारमा एसिड छड़िदिने झोँक चल्छ कहिले काहीँ ।
तपाईले पनि हरेकको अनुहार पढ़्नुहोस्...बुझ्नुहोस् अनुहारको मर्म...जस्तै भद्र सभ्य देखिए पनि अन्त्यमा त्यो भद्र सभ्य देखिने अनुहारमा ब्वाँसो प्रवॉतिले लिङ्गेपिङ खेलिरहेको हुन्छ । दाउ पऱ्यो कि यस्ता ब्वाँसा अनुहारले तपाई मेरो आब्रु लछ्न बेर लाउँदैनन् । यसैले तपाईले देख्ने अनुहारहरूसित जोगिनुहोस् । प्रिभेन्सन इज बेटट्र द्यान क्यूर ।
“दिल को देखो
चेहरा नदेखो
चेहरा ने लाखों को लुटा
दिल सच्चा और चेहरा झूटा ।“
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)