यो लेखिरहन नपर्ने हो, तपाईले देख्नु भएको नै छ । व्यबस्था परिवर्तन कसको लागि भयो र यो व्यबस्था कहाँको लागि आयो भन्ने छर्लङ्ग भै सकेको छ । यो लेख पढ्दा नै व्यबस्था बिरोधी देखेर तपाईले मलाई हेर्नुहुनेछ त्यो पक्का हो तर के आजकाल गाउँ अस्तव्यस्त भएको जस्तो तपाईलाई लाग्दैन र ?
सडक बन्यो, त्यो कहाँ बन्यो ? — शहरमा । फुटपाथ बन्यो, नाली बन्यो, सुबिधा सम्पन्न बिद्यालय बन्यो, कहाँ बन्यो ? — शहरमा । संसद भवन कहाँ बन्यो ? शहरमा । उद्योग खुलाईयो शहरमा । राजदुतावास खोलियो शहरमा । बसपार्क बनाईयो शहरमा । राष्ट्रपति निवास बनाईयो शहरमा । प्रधानमन्त्रिको कार्यालय बनाईयो शहरमा । आखिर बनाईयो के त गाउँमा ?
गाउँमा सम्बृद्धिको सपना सुनाईयो । सोझा मानिसलाई झोले बनाईयो । राजनीतिमा मानिसलाई होमियो । द्धन्द्ध हुँदाको सबैभन्दा दर्दनाक पिडा यिनै गाउँलेले भोगे । पुल काटिएर सयौं रात अलिनो तरकारी यिनै गाउँलेले खाए । संचारबाट पर रहे । सुबिधाबाट अझै पर रहे । गाउँको अर्गानिक बजार पु¥याईयो भने शहरको बिषादीयुक्त कुरा गाउँमा पुग्यो ।
आजकाल गाउँ रित्तिएको छ । रोजगारीको कारणले, सुबिधाको कारणले, शिक्षाको कारणले । यौटा सुबिधा सम्पन्न निशुल्क रुपले पढाउने बिश्वबिद्यालय कुनै बिकट गाउँमा खुलाईदिएको भए के बिद्यार्थी त्यहाँ जान्थेनन् होला र ? गाउँका बाँझा जमिनमा शहर बसाउन सकेको भए कृषि योग्य जमिन मासिन्थ्यो र ? बरु फगत गाउँले सफा हावा उत्पादन गर्दै गर्दा शहरले प्रदुषण गाउँमा पठायो मात्र ।
आजकाल गाउँमा के छ त ? केही सरकारी अफिसहरु छन् जहाँ अझै सहजै सेवाग्राहीले सेवा पाउँदैनन् । केही बिद्यालयहरु छन् जहाँ बिद्यार्थीको चरम अभाव छ । केही उरण्ठेउला पार्टीका कार्यकर्ता छन्, जुनले ठेक्का पट्टा हात पारेर ठेकेदारीको लाचारी देखाईरहेका छन् । केही शिक्षक छन् गाउँमा जसले राजनीतिको धन्दा चलाईरहेको छन् । केही लघुबित्त छन् जसले सोझा गाउँलेलाई फसाएर ऋणको जालोमा फसाएको नै छन् ।
के गाउँमा सुपर मार्केट छ ? के गाउँमा बहुराष्ट्रिय कम्पनीको कारखाना खुलेको छ र ? के गाउँमा शहरको जति सुबिधा छ र ? के गाउँमा हामीले चाहेको जस्तो अस्पताल बनेको छ र ? के सबै सुबिधाहरु सर्वसुलभ छन् र ? के यो व्यबस्था एक खाले मानिसलाई शहरमा स्थापित गराउन आएको हो ? गाउँका श्रोतलाई दोहन गर्न आएको हो ? महंगी बढाएर गरीबको ढाड सेक्न यो व्यबस्था आएको हो ? कर्मचारीलाई हाटा (हाजिर गरेर टाप ) गर्न यो व्यबस्था ल्याईएको हो ? के उद्घाटनको रिवन काट्न मात्र ल्याईएको हो ? चिन्तन र चिन्ता देशको लाग्दैन होला र शासकहरुलाई ?
आजकल शहर गाउँका मानिस भाडामा राख्न पाएर मस्त छ । शहरमा कारोबार छ । शहरमा व्यापार छ, शहरमा सुबिधा अपार छ । तर गाउँमा जंगल बढेको छ । बाँदरको बिगबिगी छ । बाँझो जमिन बढेको छ । पर निर्भरता गाउँमा पनि बढेको छ । त्यसैले त हजुर शहर मस्त छ, अनि गाउँ अस्तव्यस्त छ । तारेमाम् !