भारतको सर्वोच्च नागरिक सम्मान पद्मश्रीद्वारा सुशोभित केदार गुरुङ भारतीय नेपाली साहित्यका एक प्रमुख हस्ताक्षर हुन्। उनी मूलत: कवि, कथाकार र सम्पादकका रुपमा परिचित छन्। तर पनि उनले साहित्यका विभिन्न विधामा कलम चलाएका छन्। उनको जन्म पश्चिम सिक्किमको सर्दोंग बस्ती, लिंगचोम निवासी पिता स्व. लक्ष्मण गुरुङ अनि माता स्व. सावित्री गुरुङका परिवारमा कान्छा छोराको रुपमा 1 अगस्त सन् 1941 मा भएको हो। त्यसबेलाको जमानामा सिक्किम क्षेत्रको अभेक स्थानमा पाठशालाहरू सहजै उपलब्ध हुँदैन थिए। त्यस्तै कारणवश स्कुलमा उनको दाखिला हुँदा निकै बिलम्ब भएको कारणले उनका अभिभावकहरूले सम्भवत: उमेर घटाएर भर्ना गरिदिएका थिए, त्यसैले उनको जन्मतिथि शैक्षिक प्रमाण-पत्रमा 9 जुलाई 1948 हुन गएको छ।
उनले प्रारम्भिक शिक्षा लिंगचोम प्राथमिक पाठशालाबाट शुरु गरेर मार्च 1960 मा गेजिङ जुनियर हाई स्कुल हुँदै सातौँ श्रेणीदेखि दशौँसम्म टर्नबुल हाई स्कुल, दार्जीलिङमा अध्ययन गरेपश्चात् सन् 1966 मा म्याट्रिक उतिर्ण गरे अनि दार्जीलिङकै सरकारी महाविद्यालयबाट सन् 1967 मा पी.यु. र सन् 1970 मा बी.ए. उतिर्ण भए।
त्यसपछि उनी आफ्नो पेशागत जीवनको कर्मक्षेत्रमा उत्रिन्छन्। प्रारम्भमा उनी पूर्व सिक्किमको साङ निम्न माध्यमिक विद्यालयमा सन् 1971 को जून महिनादेखि शिक्षकका रुपमा नियुक्त हुन्छन्। त्यसपछि उनको स्थान्तरण पश्चिम सिक्किमको देन्ताम निम्न माध्यमिक विद्यालय अनि गेजिंग निम्न माध्यमिक विद्यालय हुँदै सन् 1973 को जुलाईदेखि पेलिङ उच्चतर माध्यमिक विद्यालयको शिक्षकको रुपमा निकै लामो समय कार्य गरेपश्चात् सन् 1995 मा स्वेच्छापूर्वक सेवा निवृत भएर निरन्तर समाज र साहित्यको सेवा गर्दै आएका छन्। शिक्षण पेशामा लागेपश्चात् सन् 1974 मा उनले नाम्ची निवासी देववीर राईकी सुपुत्री चन्द्रकुमारी राईसित वैवाहिक जीवनको यात्रा शुरु गरे। उनी त्यसबेला गेजिङको सरकारी अस्पतालमा नर्स थिइन्। कालान्तरमा उनीहरूबाट एउटा छोरा अनि एउटी छोरीको जन्म भयो। वर्तमान छोरा विश्व वीरेन्द्रराज गुरुङ सिक्किम राज्य अधीन शिक्षा विभागमा सह-निर्देशकका रुपमा कार्यरत छन् अनि छोरी डा. प्रियदर्शिनी गुरुङ विज्ञान तथा तक्निकी विषयमा पी.एचडी. गरेपश्चात् गान्तोकमा उच्च ओहदामा कार्यरत रहेकी छन्। उनका छोरा-बुहारीबाट जन्म भएका तीन नातिहरू पनि छन्।
दार्जीलिङमा टर्नबुल हाई स्कुल पढ्दा उनले शिक्षकको रुपमा इन्द्रबहादुर राई जस्ता उच्च कोटीका साहित्यकारको स्नेह एवं सान्निध्य पाएका थिए। यसरी दार्जीलिङको साहित्यिक परिवेशबाट उनी प्रभावित हुँदै गए अनि दशौँ श्रेणीसम्म पुग्दा साहित्यतिर उनको कलम चल्न थाल्यो। मार्च सन् 1966 मा दार्जीलिङबाट प्रकाशित हुने पत्रिका ‘धुँवा’ –को चौथो अङ्कमा उनको प्रथम कथा ‘चित्रकार’ प्रकाशित भएको थाह पाइन्छ। यसरी नै उनको प्रथम कविता ‘म बाँचिदिन्छु’ मई सन् 1966 मा जगत छेत्रीको सम्पादनमा निस्किने पत्रिका ‘जनदूत’ –मा प्रकाशित भएको थियो भने यस पत्रिकाको सितम्बर 1966 को अङ्कमा उनको प्रथम निबन्ध ‘जीवन’ प्रकाशित भएको पाइन्छ। त्यसपछि गभर्नमेन्ट कलेज पढ्दा त्यहाँको साहित्यिक परिवेशमा उनी अझै खाँरिदै गए। यसरी उनलाई एक निष्ठावान साहित्य सर्जकका रुपमा स्थापित हुन धेरै समय लागेन। उनका कविता, कथा र निबन्धहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित हुन थाले। कलेज पढ़िसक्दा सन् 1970 मा उनको प्रथम कृतिको रुपमा ‘आज फेरि एउटा सम्झना र नयाँ दिनहरू’ (कविता सङ्ग्रह) प्रकाशित भएको पाइन्छ। त्यसपछि उनको कलम निरन्तर चलिरह्यो। उनले कथा, कविता, निबन्ध, यात्रा वृतान्त, समीक्षा, आलोचना, जीवनी, शोधमूलक लेख, नाटक आदि विधामा कलम चलाएका छन् र आज 82 वर्षको उमेर नाघिसक्दा पनि उनी साहित्य सृजना लगायत सामाजिक तथा संस्थागत विभिन्न कार्यहरूमा सक्रिय रहेका छन्। आज पर्यन्त उनका 13 वटा कविता सङ्ग्रह, 4 वटा कथा सङ्ग्रह, एउटा निबन्ध सङ्ग्रह, 3 वटा सबबन्ध सङ्ग्रह, एउटा नियात्रा सङ्ग्रह, एउटा दैनिकी सङ्ग्रह र एउटा सम्पादकीय सङ्कलन गरी दुई दर्जन जति कृतिहरू प्रकाशमा आइसकेका छन्।
उनका अहिलेसम्म प्रकाशित कृतिहरूको सूची यस प्रकार रहेको छ :-
कविता सङ्ग्रह :
1) आज फेरि एउटा सम्झना र नयाँ दिनहरू - सन् 1970
2) तरङ्गमाथि लहर लागेर आएको एको प्रहर - सन् 1973
3) महाशक्तिको पूजा – सन् 1979
4) छाँगुहरू सधैं सेतै भएर खस्ने गर्छन् – सन् 1984
5) फैलिएका हातहरू, सूर्यग्रहण र नीला दहहरू – सन् 1989
6) उर्लन्छन् छालहरू समय र ज्वारभाटाहरू जस्तै – सन् 1995
7) म आफ्नै कविताहरूको भारी घिस्याएर हिँड़िरहेछु सन् 2001
8) खरीको बोट र सुनाखरीहरू – सन् 2005
9) खेत, हलो, कोदालो, फ्याउरी, हली, बाउसे र रोपारेहरू – सन् 2011
10) अर्द्दशताब्दीय कविताहरू – सन् 2014
11) अर्द्दशताब्दीय कविताएँ (हिन्दीमा अनुदित) – सन् 2016
12) पच गर्न लागेका जागटीहरू – सन् 2018
13) सधैं बजिरहने बाजाहरू – सन् 2023
कथा सङ्ग्रह :
1) सीमानामाथि चढ़ेर सुनाएका अग्ला - होंचा कथाहरू – सन् 1994
2) कथ्य- अकथ्य कथनहरूको भूमिकरणहरू – सन् 2007
3) हिउँभन्दा सेतो र चिसो भएर बग्ने तत्व र सारहरू – सन् 2015
4) कहिले बनिनसक्ने सडक र पुलहरू – सन् 2022
निबन्ध सङ्ग्रह :
1) आफ्नै पक्षहरू – सन् 1984
सबबन्ध सङ्ग्रह :
1) समुद्रको पानी र बगरका बालुवाहरू (सन् 2001)
2) अस्रोत स्रोतहरूका प्रतिस्रोतहरू (सन् 2011)
3) काउसो पन्छाउँदै इन्द्रेणी टिप्ने अभियान (सन् ? )
नियात्रा सङ्ग्रह :
1) आफूजस्तै अरूहरूलाई पनि खोज्दै-खोज्दै (सन् 2021)
दैनिकी सङ्ग्रह :
1) 216 दिनभित्र जीवनलाई छेको मार्दा (सन् 2020)
सम्पादकीय सङ्ग्रह :
1) ‘स्रष्टा’ –का सम्पादकीयहरू पहिलो संस्करण अङ्क 1 देखि 57 सम्मका
2) ‘स्रष्टा’ –का सम्पादकीयहरू दोस्रो संस्करण अङ्क 1 देखि 80 सम्मका (सन् 2020)
यसबाहेक उनले सम्पादन कार्यमा पनि उत्तिकै कीर्तिमान स्थापित गरिसकेको पाइन्छ। सन् 1968-70 तिर उनले ‘झिल्का’ नामको साहित्यिक पत्रिकाको सम्पादन कार्य शुरु गरेका थिए। त्यसपछि सन् 1971 मा हस्तलिखित समसामयिक पत्रिका ‘नयाँ धरती’, सन् 1973 मा राजनैतिक समसामयिक पत्रिका ‘विस्फोटन’ र सन् 1976-77-मा शैक्षिक हस्तलिखित पत्रिका ‘शिशिरका फूलहरू’ उनको सम्पादनमा प्रकाशित भएका थिए। सन् 1975 मा उनले गेजिङमा अन्य केही साहित्यिक मित्रहरूसित मिलेर पश्चिम सिक्किम साहित्य प्रकाशनको स्थापना गरे अनि त्यहाँको सामाजिक तथा साहित्यिक क्रियाकलापहरूमा सक्रिय रहेर अघि बढ्दै गए र संस्थाको मुख-पत्रको रुपमा सन् 1978 देखि वर्तमानसम्म उनकै नेतृत्व तथा प्रमुख सम्पादनमा ‘स्रष्टा’ द्वैमासिक साहित्यिक पत्रिकाको प्रकाशन चलिरहेको छ। यसका साथै दिर्घकालदेखि यस पत्रिकाले समय समयमा बृहत रुपमा विशेषाङ्कहरू निकालेर सम्पूर्ण नेपाली जगतकै निम्ति उपयोगी एवं केही महत्वपूर्ण सृजनात्मक कार्यहरू पनि गर्दै आएको देखिन्छ। ती विशेषाङ्कहरूमध्ये ‘अन्तर्राष्ट्रिय नेपाली कविता विशेषाङ्क’, ‘वाङ्मय विशेषाङ्क’, ‘भारतीय नेपाली कथा विशेषाङ्क’, ‘डुवर्स विशेषाङ्क’, ‘पश्चिमाञ्चल विशेषाङ्क’, भारतीय नेपाली शहीद विशेषाङ्क’, ‘भानु स्मृति विशेषाङ्क’, ‘भारत निर्माणमा योगदान पुर्याउने भारतीय नेपाली/गोर्खालीहरू विशेषाङ्क’, ‘नेपाली भाषा मान्यता विशेषाङ्क’, ‘हिरक जयन्ती विशेषाङ्क’, र नवेम्बर/दिसम्बर 2022 को 84 औं अङ्क ‘कौस्तुभ वर्ष नाघेका जीवित भारतीय नेपाली/गोर्खाली साहित्यकार/नाटककार/सङ्गीतकार/चित्रकार अभिनन्दन विशेषाङ्क’ अति महत्वपूर्ण एवं उल्लेखनीय रहेका छन्। सम्पूर्णमा भारतीय नेपाली साहित्यमा उनको योगदान खुबै प्रशंसनीय रहेको छ। बयासी वर्षको उमेर नाघिसक्दा पनि उनी साहित्य सृजनामा सक्रिय रहेका छन्।
सन् 1983-87 को अवधिमा उनी साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका सदस्य पनि रहेका थिए। 24 सितम्बर 2015 मा साहित्य अकादमी, दिल्लीले लेखकसँग भेट (Meet the Author) कार्यक्रम अन्तर्गत उनको परिचयात्मक विवरणिका (Brochure) प्रकाशित गरेको थियो।
भारतमा नेपाली भाषा, शिक्षा, साहित्य र सामाजिक क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई धेरै सरकारी-गैरसरकारी सङ्घ-संस्थाहरूबाट पुरस्कार र सम्मानहरूद्वारा अलङ्कृत पनि गरिएको छ। प्रथमत: दार्जीलिङ सरकारी महाविद्यालयमा विद्यार्थी रहँदा 2 अक्टुबर सन् 1969 मा ‘महात्मा गान्धीको जीवनी र कर्महरू’ शीर्षक निबन्धको निम्ति उनी पुरस्कृत भएका थिए। त्यसपछि सन् 1980 मा अनवरत रुपमा साहित्य सेवा गरे बापत गान्तोकको उद्विकास कला प्रतिष्ठानद्वारा सम्मानित भए। सन् 1992 मा दक्षिण सिक्किम साहित्य संस्थान, सदामबाट एक सृजनशील कविको रुपमा सम्मानित भए। सन् 1993 मा गान्तोक प्रकाशनबाट पुरस्कृत भए अनि त्यही वर्ष उनलाई साहित्य अकादेमी, नयाँ दिल्लीबाट भ्रमण अनुदान पनि प्रदान गरिएको थियो। सन् 1994 मा उनलाई सिक्किम साहित्य परिषद, गान्तोकबाट भानु पुरस्कार प्रदान गरियो। यसरी नै सन् 2000 मा दक्षिण सिक्किम साहित्य सम्मेलनद्वारा शिवकुमार राई स्मृति पुरस्कार, सन् 2005 मा सिक्किम सरकारको संस्कृति अनि धरोहर विकास विभागबाट शिखर पुरुष पुरस्कार, सन् 2007 मा निर्माण प्रकाशनद्वारा आशबहादुर चामलिङ निर्माण पुरस्कार, सन् 2008 मा सिक्किम सरकारद्वारा उत्कृष्ट साहित्य सर्जक पुरस्कार, सन् 2009 मा कुवेतबाट प्रकाशित हुने पत्रिका ‘स्पन्दन’-मा प्रकाशित कविताको निम्ति ‘अभिजमान पुरस्कार, सन् 2010 मा नेपाली साहित्य अध्ययन समिति, कालेबुङबाट पारसमणि प्रधान स्मृति पुरस्कार प्रदान गरिएको थियो। सन् 2011 मा आसामको डिब्रुगढ़मा आसाम नेपाली साहित्य सभाद्वारा ‘आसाम नेपाली साहित्य सभा पुरस्कार’ले सम्मानित गरियो। सन् 2012 मा साहित्य र शिक्षा क्षेत्रमा पुर्याएको योगदानको निम्ति भारतको केन्द्र सरकार, दिल्लीबाट तत्कालीन राष्ट्रपति प्रतिभा पाटिलको बाहुलीबाट उनी राष्ट्रको सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री पुरस्कार’-ले सम्मानित भएका थिए।
काठमाड़ौँ, नेपालबाट पनि उनलाई सन् 2010 मा महाकवि लक्ष्मीप्रसाद देवकोटा शताब्दी समारोह समितिद्वारा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा शताब्दी सम्मान’ अनि सन् 2015 मा लक्ष्मी कार्की स्मृति नेपाली साहित्यिक गुठीद्वारा ‘साहित्यिक पत्रकारिता पुरस्कार’-ले सम्मानित गरिएको थियो। यसबाहेक नेपालबाट उनले ‘मितेरी नेपाल सम्मान’, ‘सार्क सांस्कृतिक सम्मान’, ‘दामोदर पुडासैनी अन्तर्राष्ट्रिय सम्मान’, ‘बालेश्वर सर्जक सम्मान’, ‘भारतीय विद्यार्थी सम्मान’ र ‘रामकृष्ण सृजना प्रतिष्ठान सम्मान’ पनि प्राप्त गरेका छन्। यसरी नै दार्जीलिङबाट गोजमुमो युवा शाखाद्वारा नेपाली भाषा मान्यताको निम्ति उल्लेखनीय भूमिका निभाए बापत ‘नेपाली भाषा सङ्ग्रामी सम्मान’ प्रदान गरिएको थियो। सन् 2022 मा दिल्लीको हाम्रो स्वाभिमान ट्रस्टद्वारा पनि उनलाई उत्कृष्ट साहित्य लेखनको निम्ति ‘हाम्रो गौरव सम्मान’ ले अलङ्कृत गरियो। यसबाहेक अनेकौं सङ्घ-संस्था र विद्यालयहरूबाट उनलाई अभिनन्दन एवं संवर्द्धना जनाइएको छ। गत: 2 जुलाई 2023 मा गेजिङमा सम्पन्न भएको एउटा साहित्यिक कार्यक्रममा डुवर्सका प्रतिनिधिका रुपमा सरिक हुन जाँदा उहाँको वासस्थान पुगेर उहाँसित भेटघाट गर्ने सुअवसर पाएका थियौं। उनले नेपाली समाज र साहित्यप्रति पुर्याएको योगदान सराहनीय एवं अतुलनीय रहेको छ। अन्तत: हामी उनको स्वस्थ जीवन एवं दीर्घायुको कामना गर्दछौं।
बाग्राकोट, डुवर्स