कति प्यारो थियो
कति राम्रो थियो
खुशी र उमंग उस्तै
आमाको त्यो फाटेको गुन्यु बीचबाट
निकालिएको टालोले
ल्याइदिएको दशैं,
आमा घरदेखि मामा घरसम्म
उफ्रिएको खुशी
हुर्किदा दशैंको आनन्द कता हरायो ?
खोजीरहेछु, निरन्तर खोजीरहेछु ।।
खोलीपाखे माइलाले सिलाएको भोटो,
शारदीय शीतका थोपा
विहानको रापिलो घाममा
टल्किएको पातमाथि
लहलह पहेंला धानका बाला
खोलीपाखेका घरमा भोटो लिन जाँदा
मन त्यसै त्यसै आनन्दित हुन्थ्यो
उमंग छाउथ्यो
आमाको फाटेको गुन्युबाट बनेको
भोटो र जामा लगाएर
नयाँ लुगाको धाक लगाउँदा
कत्ति रमाइलो हुन्थ्यो ?
थुक लगाउँदै दशैंको जामा सिलाउँथे खोलीपाखे
उनका घर पुगेपछि थुकसम्म निल्थिन म
थुक्क थुक्क गर्दै थुकिरहन्थे
मुख र घाँटी सुकेर थुक नआउने भएपछि
मात्रै आनन्द हुन्थ्यो,
खोलीपाखेले छोएको पानी चल्दैन
मस्तिष्कमा त्यही भरिएको थियो
च्यातिएको गुन्यु
खोलीपाखेका हातमा परेर फर्कदा
लिएको नयाँ स्वरुपले
सबैका सामु खुशी मात्र दिएन
निर्धक्कता र स्वाभिमानको शान समेत दिन्थ्यो
नयाँ लुगा लगाउन पाउने चाड
मिठो खान पाउने चाड,
मामा घर जान पाउने चाड
टिका लगाएर पैसा कमाउने चाड
च्याँख्लाको भातलाई पालो दिने दशैं
शरद ऋतुको वर्णन कसरी गरौं ?
साँच्चै रमाइलो हुन्थ्यो दशैं
फाटेको गुन्युको टालोमा रमाउने मन
हिजो आज ब्राण्डेड पनि रमाउन छाडेको छ ।
थाहा छ
आमाले पेटीकोट फेर्न सकिनन्
कैयौं पटक सियोले सिलाएर लगाइन
आफूले कहिले दशैंमा लुगा फेरिनन्
आफैंले लगाएको गुन्यु, छोटो पारेर
सन्तानको खुशी खोजिन्
आफू भोकै बसेर
मिठो खुवाइन
यी सब बेपर्वाह थिए बालापनमा
यो एउटी आमाको कथा होइन
त्यो समयका कैयौं आमाहरुको यथार्थ हो !
शरदहरु वित्दै गए
खोलीपाखेहरु अस्ताए
छोरा नातिहरुले पठाएको रेमिट्यान्स
भित्रिएका नयाँ कालीगढहरुले
खोलीपाखेका सन्ततीको कमाई विदेश नै पुर्याए
राम्रो लाउन र मिठो खान
दशैं पर्खनु पर्दैन
त्यसैले लाग्छ दशैं किन आएको ?
गुन्यु हरायो, भोटो र जामा पनि
शील फुल्ने शरदमा
धान झुल्ने खेतमा बालुवा रोपियो,
रातो होस् वा सेतो
सबैका निधारमा चल्ने अक्षतामा पनि
विभाजनले गाँज्यो,
दशैं धर्मका नाममा चिथोरिंदैछ
अस्तित्वका नाममा निचोरिंदैछ
दशैं दशैं जस्तो कहाँ छ र ?
त्यसैले प्रश्न गर्न मन लाग्छ
किन आएको दशैं ?
झापा