17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छन्दमा एकनिष्ठ समर्पित कवि छविलाल उपाध्याय

व्यक्तित्व / कृतित्व नवीन पौड्याल October 19, 2023, 11:32 pm
नवीन पौड्याल
नवीन पौड्याल

असमका एकजना कवि छन्, जो कवितामा नै रमाउने गर्छन्, कवितालाई नै जीवनको लक्ष्य बनाएका छन्, कवितामा डुबेका छन्। कवितामा डुबेर र समर्पणले जीवन सफल तुल्याएका छन्। आफ्नो रोग भोक आदिलाई जितेर कविता लेखिरहेका छन्। कविताका नयाँ नयाँ स्वरूप शैली प्रविधि आदिमा विचलित नभई यसको मूल शिल्प शैली स्वरूप र काव्यत्वलाई नछोडी अघि बढ्ने कवि हामी माझ छन्। उनी हुन असमका ढेकियाजुलीका कवि छविलाल उपाध्याय खतिवडा। भारतमा नेपाली शास्त्रीय कविताको श्रीवृद्धिमा उनको पनि वशिष्ट योगदान रहेको छ। उनको जन्म असमको शोणितपुरको विश्वनाथ घाट भन्ने ठाउँमा ३ नोभेम्बर, १९४६ मा भएको हो। उनी रङ्गगाडा हाइस्कुलबाट सन् १९९५ मा सेवानिवृत्त भएर हालमा ढेकियाजुलीमा आफ्नो स्वतञ्त्र लेखनमा एकनिष्ठ भएर रहेका छन्। उनले आफ्नो घरको नामसमेत कविनिकेतन राखेका छन्। हालसम्म उनका कविता, निबन्ध र समालोचना गरी जम्मा २६ वटा जति पुस्तक प्रकाशित छन्। उनका प्रकाशित कृतिहरूको सूचि र विवरण यस प्रकारको छ –यसरी हेर्दा उनलाई कवि, समालोचक, निबन्धकार, कथाकारका रूपमा देखिए तापनि उनी मूलतः कवि नै हुन्। पुस्तक सूची हेर्दा उनका मौलिक कृतिहरूमा कविता विधाको नै आधिक्य देखिन्छ। उनको मूल साधनाको साध्य कविता र काव्य नै देखिन्छ। यसमा पनि चारवटा कवितासङ्ग्रह, दुईवटा महाकाव्य, चारवटा खण्डकाव्य प्रकाशित छन्। उनी लक्ष्मीप्रसाद देवकोटाबाट पनि निकै प्रभावित देखिन्छन्। उनले देवकोटाको जीवनी र काव्यसाधनामाथि आधारित एउटा सिङ्गै महाकाव्य देवकोटा लेखेका छन्, देवकोटाका मुनामदन खण्डकाव्य र शाकुन्तल महाकाव्यलाई लिएर एकेकवटा समालोचनात्मक पुस्तक लेखेका छन्।
हालसम्म उनका प्रकाशित पुस्तकहरूको सूची यस प्रकारको छ- लीलबहादुर क्षत्री तथा उनको ब्रह्मापुत्रका छेउछाउ (समीक्षा), पवनदूत (खण्डकाव्य), अस्तित्वबोध (खण्डकाव्य), चन्द्रगुप्त (अनूदित नाटक), कामरूपा (खण्डकाव्य), छवि कवितासङ्ग्रह (कवितासङ्ग्रह),, शाकुन्तल महाकाव्य एक दृष्टि (पुस्तक समीक्षा), देवकोटा (महाकाव्य), स्कन्दगुप्त (नाटक), मिरीकन्या (अनूदित नाटक), देवकोटाको व्यक्तित्व तथा उनको मुनामदन (पुस्तक समीक्षा), कवि र कविता (कवितासङ्ग्रह), कीर्तनघोषा (अनूदित कवितासङ्र्गह), मृत्युञ्जय (अनूदित उपन्यास), गुरूपुत्र (अनूदित उपन्यास), कल्पनामाधुरी (कवितासङ्ग्रह), छन्द र अलङ्कार (छन्द लक्षण), उत्तर पूर्वाञ्चल भारतीय नेपाली साहित्यको गतिविधि एक दृष्टि, समीक्षात्मक निबन्धहरू (समीक्षासङ्ग्रह), निबन्धावली (निबन्ध), लौहित्य (काव्य), सम्झनाका लहरहरू (निबन्धसङ्ग्रह), भूमिकै भूमिका (पुस्तक भूमिकासङ्ग्रह), औडाहामा बाँचेको जीवन (कथासङ्ग्रह), काव्यसेतू (कवितासङ्ग्रह), उषा अनिरूद्ध (महाकाव्य), विविधावली (निबन्ध), मेरो जन्मभूमि (कवितासङ्ग्रह), स्रष्टा सृष्टि र दृष्टि (समीक्षासङ्ग्रह), अनुभवका तीसौं पाइला (निबन्ध), पुष्पवाटिका (कवितासङ्ग्रह) गरी जम्मा बत्तीसवटा पुस्ताकाकर रूपमा कृतिहरू प्रकाशित भएका छन्।
उनी एक गम्भीर अध्येता हुन्। उनले आफ्नो अध्ययनलाई समीक्षकीय लेखनमा प्रयोग गरेका छन्। यस क्षेत्रमा मात्र पनि उनका लीलबहादुर छेत्री र उनको ब्रह्मपुत्रका छेउछाउ (१९९०), शाकुन्तल महाकाव्य : एक दृष्टि (२००१) देवकोटाको व्यक्तित्व तथा उनको मुनामदन (२००५), समीक्षात्मक निबन्धहरू (२०१२), उत्तरपूर्वाञ्चल भारतीय नेपाली साहित्यको गतिविधिमाथि एक दृष्टि (२०१२), भूमिकै भूमिका (२०१५), स्रष्टा सृष्टि र दृष्टि (2021), अनुभवका तीसौं पाइला (2022) गरी जम्मा आठवटा पुस्तक प्रकाशित छन्। उनको समीक्षात्मक निबन्धहरू मा रहेका लेखहरू हुन्- ‘कवि पुष्पलाल उपाध्यायका दुई कृतिको काव्य शैली’, ‘प्रतिध्वनि विस्मृतिका मेरा दृष्टिमा’, ‘लौहित्यमा छन्दको प्रयोग’, ‘परिक्रमा भित्रको प्रभात-यामिनी माथि आँखा लगाउँदा’, ‘नेपालीको पुर्ख्यौली पढ्दा,’ ‘अन्तर्प्रेरणा नाटक पढेपछि’, ‘कृष्णप्रसाद ज्ञवालीका कविताहरूमा घोरिँदा’, ‘युवा कवि हरिप्रसाद शर्मा बास्तोला र उनको ज्ञानसागर’, ‘टिस्टादेखि सतलजसम्म पढेपछि’। उनलाई अध्ययन गर्न दिइएका पुस्तकहरूबारे केही समीक्षा लेखिदिने आग्रहले उनका समीक्षा पुस्तक तयार भएका भृहुन् भन्ने लाग्छ। यो उनको लेखकहरूलाई हौसला, प्रेरणा र आशिर्वाद हुन्। उनका समालोचनामा तथ्य, साहित्यिक सर्वेक्षण, कृति विश्लेषण, कृतिकार मूल्याङ्कन, जीवनीपरकता, निरूपणात्मकता, पाठगत टिप्पणी, इतिहास सापेक्षता आदि जस्ता गुण पाइन्छन्। उनका समीक्षामा सिद्धान्तभन्दा पाठकीय प्रभाव पाइन्छ। उनको सबैभन्दा पछिल्लो समीक्षात्मक पुस्तक अनुभवका तीसौं पाइला पुस्तकमा उनले पुष्पलाल उपाध्याय, इन्द्रबहादुर राई, हरिप्रसाद गोर्खा राई, गोपीनारायण प्रधान, तारानिधि उपाध्याय जस्ताको मूल्याङ्कन गरेका छन्। अतः उनी मूलतः प्रभाववादी समालोचक नै हुन्। उनी एक कथाकारका रूपमा पनि देखिन्छन्। उनको औडाहामा बाँचेको जीवन कथासङ्ग्रह पनि प्रकाशित छ।
यस्ता साहित्य साधकले हालसम्म केही साना-ठुला पुरस्कारमा पाएका छन्। ‘चन्द्रगुप्त नाटक’का निम्ति उनले साहित्य अकादमीको अनुवाद पुरस्कारका साथै ‘कवि पुष्पलाल उपाध्याय स्मृति पुरस्कार’ पाएका छन्। ‘महाकवि देवकोटा शताव्दी सम्मान’ काठमाडौं, ‘मदन स्मारक सम्मान, वाराणसी’, ‘निर्माण प्रकाशन सम्मान’ आदिद्वारा अभिनन्दित-सम्मानित भएका छन्। उनले असम सरकारद्वारा प्रदान गरिने आजीवन साहित्यिक भत्ता पाइरहेका छन्। कालेबुङको नेपाली साहित्य अध्ययन समितिले वर्ष २०२० को डा. पारसमणि प्रधान पुरस्कार’ प्रदान गरेको छ। यसै गरी २०२१ को साहित्य एकाडेमी, नयाँ दिल्लीबाट प्रदान गरिने साहित्य एकाडेमी पुरस्कार पनि हासिल गरेका छन्। शिवलाल शास्त्री पुरस्कार, असम नेपाली साहित्य सभा (२०२१), गणेश दुर्गा अन्तर्राष्ट्रीय पुरस्कार, नइ प्रकाशन, काठमाडौं, (२०२२), सैयद अब्दुल मल्लिक पुरस्कार, (असम सरकार, २०२२) आदि जस्ता पुरस्कार पाएका छन्। यसैगरी असम सरकारद्वारा आजीवन भत्ता (२००३ देखि हालसम्म), महानन्द सापकोटा सम्मान, मितेरी स्वागत सम्मान, काठमाडौं, सुमित्रानन्दन पन्त राष्ट्रिय सम्मान (रामपुर, उत्तर प्रदेश, २०१५), महाकवि देवकोटा शताब्दी सम्मान (काठमाडौं, २०१०), काव्य महारथी सम्मान (राम पुर, उत्तर प्रदेश,२०१६), सूर्य अन्तर भारती सम्मान (सूर्य संस्थान, नोयडा, २०१७), नागरिक अभिनन्नदन (मालिगाउँ गौहाटी, २०१७), मिरमिरे कञ्जनजङ्गा (सिक्किम, २०१७), शहीद नगरी अभिनन्दन (नागरिक मञ्च, २०१८), नागरिक अभिनन्दन (असम नेपाली साहित्य सभा,२०१९), विशिष्ट सेवा सम्मान (असम नेपाली साहित्य सभा, २०१९), नागरिक अभिनन्दन (असम नेपाली साहित्य सभाको तेजपुर जिल्ला र ढेकियाजुली शाखाको उद्योगमा (२०१९) आदि। उनका अनुसार हालसम्म उने 71 वटा सम्मान पत्र पाएका छन्। यस हिसाबले हेर्नुपर्दा बुढेसकालसम्म उनको साहित्यिक योगदानको केही कदर भएको नै मानेर सन्तोक गर्न सकिन्छ। उनका काव्य र गद्यलेखनको यथोचित समालोचना-समीक्षा गरिएको पुस्तक 2020 मा काव्य महारथी प्रकाशित भएको पाइन्छ। यसमा उनका व्यक्तित्व र कृतित्व र समग्र मूल्याङ्कनका जम्मा 125 जना लेखकका १2५ वटा लेखहरू समावेश छन्। यसमा उनका काव्यकारितामाथि विभिन्न कोण उपकोणबाट समीक्षण र मूल्याङ्कन गरिएको छ। यसमा मूल लेख, अन्तर्वार्ता, फोटो आदि मिलाएर जम्मा 308 पृष्ठ रहेका छन्। यसको सम्पादक मित्रदेव शर्मा र कमल सेढाइँ छन् भने प्रकाशन भने असम नेपाली साहित्य सभाले गरेको हो।
असम, सिक्किम र दार्जिलिङतिरको नेपाली पाठ्यक्रममा उनको काव्य परेको छैन। उनका काव्य-कविताको गम्भीर पाठकको भने अभाव छ यद्यपि काव्यका मर्मज्ञले उनका काव्यबाट रसास्वादन गर्न सक्छन्। उनले जति कविता लेखे र छपाए जम्मै छन्दमा छन्। उनलाई हाम्रो शास्त्रीय छन्दले कविताको भावाभिव्यक्तिमा बाधा दिएन। यसकारण छन्द उनका निम्ति छन्द साधक हो बाधक होइन। दिनरात अध्ययन र लेखनमा डुबेका उपाध्यायले आफ्नो कमाइको सबै अङ्श पुस्तक प्रकाशनमा लगाएको छन्। यसका साथै आफ्ना दुई छोराहरूले पनि उनका प्रायः पुस्तक प्रकाशित गरिदिएका छन्।
कवि छविलाल उपाध्याय मूलतः शास्त्रीय धाराका कवि हुन्। उनका कवितामा शास्त्रीय छन्दप्रयोगका साथै शास्त्रीय चिन्तन, अध्ययन र पौल पाइन्छ। उनी सजिलैसँग छन्दमा कविता लेख्न सक्छन्, छन्दमा नै आफ्ना भावलाई व्यक्त गर्न सक्छन्। उनका निम्ति छन्द साधन हो तर बाधक होइन। उनले आफ्ना सहजानुभूतिलाई छन्दमा नै पाठकसमक्ष अभिव्यक्त गरेर काव्यानन्द दिन्छन्। छन्दको पालन मात्र नगरेर उनका कवितामा भावको सघनता, अर्थगत गम्भीरता, आधुनिक विचारधारा र युगीन चेतना पाइन्छन्। यसका साथै उनका कवितामा इतिहास चेतना, जातीय उत्थानका चिन्तन, समाज अध्ययन, आदर्शको परिपालन, कवि-प्रतिभाको गुणगान, प्राकृतिक सौन्दर्य वर्णन जस्ता विषयवस्तु पाइन्छन्। उनले पूर्वीय काव्य परम्परालाई जोगाइराखेका छन्, काव्यको भव्य गरिमालाई पालन गरिरहे छन्। हाम्रो भारतवर्षको सभ्यता, मूल्य- मान्यता, आदर्श, परम्परालाई कवितामा उतारेका छन्। यसका साथै उनका कवितामा असम प्रेम पनि प्रशस्त मात्रामा पाइन्छन्। असमको बहुसांस्कृतिक, बहुभाषिक, सामाजिक, सांस्कृतिक भौगोलिक, ऐतिहासिक पक्षहरूको महिमा गाउँछन्, असमेली आदर्शलाई कवितात्मक रूप दिएका छन्। ब्रह्मपुत्र नदी उनका निम्ति आत्मिक, सांस्कृतिक र जीवनरेखा नदी हो। यसरी गोर्खाली जाति पनि उनका निम्ति अभीष्ठ हो। गोर्खाली मानसिकतालाई आत्मामा लिएर गलामा असमेली गामोछा र धोती पहिरेर भारतको झण्डा शिरमाथि बोकी नेपाली कविता लेख्ने कवि हुन्। उनका कवितामा कामाख्या, पशुपति र काशी विश्वनाथलाई जोडेका छन्। उनका निम्ति आदिकवि भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटा, श्रीमन्त शङ्करदेव, महात्मा गान्धी आदि आदर्श पुरूष हुन्। मातृभूमि असमको कविता लेखेका छन्, गङ्गा र ब्रह्मपुत्र दुवै प्रिय नदी हुन्। उनले छन्दलाई खेलाएर भावलाई सजिलैसँग पोख्न छन्।
यसरी छविलाल उपाध्याय एक कवि, समीक्षक, कथाकार, निबन्धकार, अनुवादकका रूपमा देखिन्छन्। लेखनलाई नै जीवनको सार खे, आफु मर्त्यलोकमा छउञ्जेल कर्मवादी भएर उदाहरण बनेका छन्। आफ्ना महाकाव्य खण्डकाव्य फूटकर कविताहरूमा एउटा छाप कायम राखेका छन्। छन्दलाई नछाडी कवितामा एकनिष्ठ समर्पित छन्। उपाध्यायले कवितालाई आफ्ना स्वान्तः सुखायःका निम्ति हो भन्ने कथन व्यक्त गरे तापनि उनका कवितामा नीति, ज्ञान, उपदेश, देश–जाति-भाषा प्रेमको सन्देश, आर्य-भारतीय-असमीय-गोर्खाली सभ्यता, संस्कृतिका उत्थान-उन्नयनका पक्षधर र चिन्तक देखिन्छन्। यस २०२० को अप्रेल महिनामा उनको जीवनकालभरिको कविता र साहित्यकै सेवा र साधनाको कदर गर्दै असम नेपाली साहित्य सभाले उनको अभिनन्दन ग्रन्थ प्रकाशित गर्ने जमर्को गरेको छ, जो प्रतिभाको परिचानको निम्ति स्तुत्य कदम हो। अहिले पचासी वर्षको उमेरमा पनि उनी कविता र साहित्यमा लागिपरेका, साधना र साहित्यिक चर्या गरिरहेका छन्। उनको सुस्वस्थ्य र दीर्घायुको कामना गरौं।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।