१
मेरो जुन तिमी नजानु पर्थ्यो नि !
गए नै पनि आउनु पर्थ्यो नि
जून! तिमी आउनु पर्थ्यो नि !
अनिदो बसेर टोलाइ रहँदा
म तिमीलाई एक टक हेरिरहन्थेँ
तिम्रा अनुहारका चाँदनी घेरा हेरेर रमाउँथे
तिम्रा अनुहारका काला काला दाग हेर्दै
म जिस्काइ पनि रहन्थे नि तिमिलाई ।
म पनि कस्तो !
उज्यालोमा मात्रै बिउँझिनु पर्छ नि!
मान्छे जस्तै,
तर धेरै उज्यालोमा सूर्य नदेखे जस्तै
तिम्रै उज्यालोले तिमीलाई छोप्ने डरले
म अचेल अँध्यारो रातमै जाग्राम बस्छु
सपना च्यापेर तिम्रो आगमनको
त्यसैले पनि आएको भए हुने नि जून तिमी !
अँध्यारोमा म
तिमीलाई नजिक भएको अनुभुत गर्छु
हृदयमै टासिएको अनुभूत गर्छु
तिम्रा प्रेमिल पाशमा भएको अनुभुत गर्छु
प्रेममा भएको अनुभव गर्छु
प्रेमले म सिन्चित हुन्छु।
उज्यालोमा, जुनेली रातमा
तिमी हाँस्छ्यौ
तर तिम्रो शितलतामा तिमी चिसो हुन्छ्यौ |
तिमी प्रेमिल देखिन्छ्यौ
तर लुखुर लुखुर डाँडा पारी पुग्छ्यौ
सुन्दर देखिन्छ्यौ, तर निष्ठुरी हुन्छ्यौ!
त्यसैले जून सुटुक्क आऊन
अँध्यारोमै आऊन
म तिमीलाई स्पर्श गर्छु
अनुभूत गर्छु
श्वास प्रश्वास सुन्छु
मान्छेको जस्तै।
जून,
तिमी मान्छे भएर आऊ न
यी टोलाइ रहने अनिदा रातहरुमा ।
२
मेरो महापुरुष!
अहिले मानसको शरीर छैन
अहिले अङ्गनाको आत्मा छैन ।
अहिले अङ्गनाको मन छैन
मानसको शरीर छैन ।
मानस मन विनाको अङ्गना कसरि मान्छे होस्
अङ्गना अङ्ग नहुदा मानस कसरि मान्छे होस्
अनि त वोलाई रहन्छ मानस
चिच्याई रहन्छ मानस
‘अङ्गना मान्छे भएर आऊ न’!
मेरो महापुरुष!
तिमि पनि नाटकै गर्छौ नि
नाटकका नाट्यकर्मी जस्तै
कहिले कालो परिधानमा हुन्छौ
अहिले पहेलो परिधानमा छौ ।
कहिले कस्तो
कहिले कस्तो !
फरक फरक तिम्रा रुप
फरक फरक तिम्रा नाटक
झुक्याई रहन्छन मलाइ !
अहिले सम्झन्छु म
तिम्रो कुरा
भन्नेले भन्न त् भन्थे :
तदैक्षत वहुस्याम्!
तदैक्षत वहुस्याम्!
मेरो कालु!
तिम्रो कालो कालो कपाल
लठ्ठारिएका लट्टे कपाल
अङ्गारे अनुहार
वाङ्गो वाङ्गो चालमा
अंशुमतिको अँगालोमा तिमीलाई देखेर
अङ्गना अधीर छ
अङ्गना अधर्य छ
त्यसैले त उ
कुदी रहेकी छ
पछि पछि तिम्रो
मेरो प्रवाह सँग सँगै
मानस विर्सेर
मन विर्सेर
विर्सेर आफैलाई पनि !
विस्तारै विस्तारै अङ्गना
विचित्र चित्रवन आइ पुग्छे
चित्रवनको घाटमा
देवघाटको घाटमा
एकछिन उभिन्छे
मधुर मधुर स्वर लहरी सुन्छे
त्यहाँ पनि तिमिनै गाउँदै थियौ
नृत्यका मधुर मधुर नृत्यचाप सुन्छे
तिमिनै नाच्दै थियौ त्यहाँ पनि ।
प्रज्वलित प्रकाश देख्छे
त्यहाँ पनि तिमिनै थियौ ।
अङ्गना अलिक सन्तोषको सास फेर्छे
आनन्द अनुभूत गर्छे
मन मनै हास्दै
हिड्छे तिमीलाई पछ्याएको भन्दै ।
मेरो वहाव संगै
वनै वन वग्छे
विचित्रको चित्रवनमा।
उत्तर हेर्छे हिमशैल देख्छे
हृदय हल्लाउने हरियाली देख्छे दक्षिणमा
दौडिदै दौडिदै दक्षिण नै ताक्छे।
'त्यहाँ गण्डकीको गुञ्जन छ
चराका चिरबिर छ
फूलका पराग छन्
चम्पा, चमेली, केतकी छन्
पारिजात पनि छन् ।
अलि पर
पुष्ठ पोखरी देख्छे
पोखरीमा सुशीला सुन्दरीहरु देख्छे
पुष्ठ पुष्करिणी वाट
तलको ताल वाट
ताल वेतालका स्वर सुन्छे
महिषीका महनिय स्वर सुन्छे
भक्कानिएका भाव सुन्छे महिषीका,
महिषी सँगिनी हरुका सँगिनी गीत सुन्छे
प्रेम सुन्छे:
कुररि! तिमी ए लाम्खुट्टॆ चरी रोएकि किन हो नि, रोएकी किन हो
यतिका धेरै नि आँशुका धारा झारे कि किन हो, नि माया झारेकी किन हो
हामी नै जस्तै विरहमा छौ कि , अनिदो छौ पो कि, अनिदो छौ पो कि
हामि लाइ जस्तै कि घोच्यो तिमिलाई कड्के ति नजरले ,कड्के ति नजरले
ए सेती सारस नि , ए रुन्चे सारस, रोएकी किन हो रोएकी किन हो
दुइ आखाँ चिम्ली नि अजस्र आसुँ, वगाको किन हो नि सारस, वगाको किन हो
विरह बोकी कि हामी जस्तै पर्खेकी मायालाई, पर्खेकी माया लाइ ?
तप् तप भिझ्दै कि हामी जस्तै पर्खेकी मायालाई, पर्खेकी माया लाइ ?
ए हाम्री प्यारी सागर सँगी, हुटहुटि किन हो, हुटहुटि किन हो
ए हाम्री प्यारी सागर सँगी, रिसाएकी किन हो, रिसाएकी किन हो
अनिदो वसेर गर्जे कि किन, ए प्यारी सागर, ए सागर प्यारी
कि लगे चुडेर मुटु नै उनले, हाम्रा ले जसरि, हाम्राले जसरि
ए हाम्री प्यारी जुन नि कठै, दुब्ली पो भइ छौ, दुब्ली पो भइ छौ ,
अँध्यारो पनि हटाइनौ आज, दुब्ली पो भइ छौ, दुब्ली पो भइ छौ ,
शोक नै हो कि नि सुर्ता नै हो, ए प्यारी जुनेली , ए प्यारी जुनेली
कि हामि जस्तै, टोलायौ तिमि उनैलाई सम्झेर, उनलाई सम्झेर
मेरो महापुरुष!
महिषीका मधुर मधुर स्वर लहरीमा
अधीर हुन्छे अङ्गना।
अधीर अङ्गना
अधर्य अङ्गना
मानस सम्झिन्छे
मानस प्रेममा हुन्छे
तिमीलाई विर्संछे
मानस सम्झदा तिमीलाई विर्संछे
मानस विर्सदा तिमीलाई सम्झन्छे
सम्झन्छे, प्रेम हुन्छ, उता
विर्संछे, प्रेम हुन्छ, यता।
मेरो महापुरुष!
तिमि अंशुमतिमा
लुप्त विलुप्त हुदाँ
तिमि लाइ नभेट्दा,
अङ्गना मानस सम्झिनै रहन्छे
अधीर अङ्गना
अधर्य अङ्गना
मधुर मधुर नृत्यचाप वाट पर पुग्छे
मधुर मधुर स्वर लहरी वाट पनि पर पुग्छे
प्रज्वलित प्रकाश वाट पर पुग्छे
अँध्यारा अँध्यारा स्तव्ध वनमा हुन्छे
अन्धकारमय अनन्त आकाश हेर्छे
मानसलाई जुन भन्छे
अङ्गना जुन खोज्दै
करुण क्रन्दनमा हुन्छे:
मेरो जुन तिमि नजानु पर्थ्यो नि !
गए नै पनि आउनु पर्थ्यो नि
जून! तिमी आउनु पर्थ्यो नि !
अँध्यारा अँध्यारा वनमा टोलाइ टोलाइ हिडी रहँदा
मेरो मनको उज्यालो खोज्न खोजि रहन्छु म तिमीलाइ।
आकाशमा हेर्छु
कालो कालो कात्रो कालो रातमा हराए जस्तै
मेरो आकाश!
मेरो हृदयाकाश बाट हरायौ तिमी
मेरो मन!
मन वाटै हरायौ तिमी !
तिमि हुदाँ, उज्यालो देख्छु
उज्यालो हुन्छु म
नहुदाँ अँध्यारो हुन्छु
अँध्यारै देख्छु म ।
त्यसैले पनि आएको भए हुने नि जून तिमी !
उज्यालोमा म
तिमीलाई नजिक भएको अनुभुत गर्छु
हृदय उज्यालो भएको अनुभूत गर्छु
तिम्रा प्रेमिल पाशमा भएको अनुभुत गर्छु
प्रेममा भएको अनुभव गर्छु
प्रेमले म सिन्चित हुन्छु।
आऊ न आऊ
नजिक नजिक आऊ
नजिक आऊ नजिक
हृदयमै टासिन्छु म
तिम्रा प्रेमिल पाशमा हुन्छु
प्रेमले सिन्चित हुन्छु।
अनि अनुभूत गर्छु
श्वास प्रश्वास,
तिम्रो मेरो श्वास प्रश्वास
मधुर मधुर
अनि क्रमस:
गतिमान, वेगवान।
आऊ न आऊ जुन !
मेरो मन भएर आऊ न !
बेलायत