17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वरिष्ठ साहित्यकार नरबहादुर दाहालको संक्षिप्त जीवन वृतान्त

जीवनी गोपालसिंह विश्व September 24, 2023, 11:08 pm
गोपालसिंह विश्व
गोपालसिंह विश्व

भारतीय नेपाली साहित्य जगतमा पचासको दशकदेखि साहित्यका विभिन्न विधामा निरन्तर कलम चलाउँदै आएका एक अथक सर्जक एवं वरिष्ठ लेखकका रुपमा सुपरिचित व्यक्तित्व थिए - नरबहादुर दाहाल। नेपाली समाज र साहित्यप्रति उनले पुर्याएको योगदान खुबै उल्लेखनीय एवं प्रेरणाप्रद रहेका छन्। छयासी वर्षको एउटा दीर्घ एवं सङ्घर्षमय जीवन बाँचेर भर्खरै 8 सितम्बर 2023 को दिन उनको देहावसान भएको छ। लगभग एक वर्षदेखि उनी गलामा क्यान्सर जस्तो जटिल रोगले पीडित थिए। सिलगढ़ीको निकट राङापानीस्थित क्यान्सर अस्पतालमा उनको उपचार चलिरहेको थियो। अन्तिम घड़ीमा उनी बातचित गर्न नसक्ने अवस्थामा पुगिसकेका थिए। अन्तत: शुक्रबार साँझ सबै इष्ट-मित्र र आफन्तहरूलाई छोड़ी उनी परलोक गमन भए। परिवारमा आफुपछि उनले आफ्नो धर्मपत्नी, चार छोरा-बुहारी, एक छोरी र नाता-नातिनाहरू छोडिगएका छन्।
कालेबुङ निवासी पिता जीतबहादुर दाहाल अनि माता मनमाया दाहालको एउटा साधारण मध्यवर्ती परिवारमा 5 सितम्बर 1937 को दिन ज्येष्ट पुत्रको रुपमा उनको जन्म भएको थियो। परिवारमा उनी आफ्ना माता-पिताका एक मात्र पुत्र थिए। उनीपछि 2 वर्ष सानी एउटी बहिनी थिइन्। उनले आफ्नो प्रारम्भिक शिक्षा सन् 1941 देखि कालेबुङको एस.यू.एम.आई. बाट प्रारम्भ गरेका थिए। उनी स्कुल पढ्दा पढ्दै नौ वर्षको उमेर छँदा सन् 1946 मा उनको पिताको असामयिक मृत्यु भयो। पिताको देहावसान भएको दुई वर्षपछि घरमा पारिवारिक मनोमालिन्यको कारणले आमाले पनि परिवार छोड़िन्। उनका अभिभावक बाज्ये कुलदीप दाहाल अनि बज्यु वेदमाया दाहालको संरक्षणमा उनी हुर्किए बढ़े।
उनका बाज्ये-बज्यु सन् 1870 तिर नेपालबाट कालेबुङ आएर सानो-तिनो कामधन्धा एवं व्यवसाय गरेर जसोतसो आफ्नो जीवन गुजारा गर्दै आएका थिए। पछि बज्यैले चिया खाजाको पसल चलाउन थालिन्। बाज्ये सुन्तला फल्ने मौसममा सुन्तलाको कारोबार गर्थे। यस्तै परिस्थितिमा उनको परिवार सन् 1935 मा कालेबुङ 11 माइलस्थित बजारकै छेउ पर्ने एउटा काठको तीन तले घर पट्टा (भाड़ा)-मा लिएर रहन थालेका थिए। त्यसबेला कालेबुङमा भूटानका तत्कालीन प्रधानमन्त्री एस.टी.दोर्जीको परिवार रहने गर्थे। बजारमा काठ र टीनको छानाले बनिएका यस्ता धेरै घरहरू थिए जसको मालिकाना हक उनकै परिवारको थियो। दाहाल बज्यैले पट्टामा लिएको घर पनि एस.टी.दोर्जीकै परिवारको थियो। त्यसबेला 25 कोठा भएको पुरै घरको भाड़ा महिनाको 25 रुपियाँ तिर्नु पर्थ्यो। त्यहाँ सरेपछि बज्युको चिया पसलको व्यवसाय पनि निकै राम्रोसित चल्न थालेको थियो। उनले केही कोठाहरू अरुलाई भाड़ामा पनि दिएकी थिइन्। बहिनी केही ठुली भएपछि नेपालबाट आएका उनका काका (हजुर आमा अर्थात् बज्यैकी दिदीका कान्छा छोरा)-ले आफ्नो संरक्षणमा राखेर पालन-पोषण गरे। उनी पनि त्यही घरको एउटा कोठामा बस्ने गर्थे। उनले दाज्युको छोरीलाई आफ्नै छोरी मानी हुर्काए बढाए। पछि प्रधान जातको एउटा राम्रो परिवारमा उनको बिहे भयो।
दाहाल सातौँ श्रेणीसम्म एस.यु.एम.आई. –मा पढ़ेपश्चात् कुमिदिनी होम्समा भर्ना भए। तर कुमुदिनी होम्समा दशौँ श्रेणी पुग्दा उनको एकमात्र अभिभावक बज्युको पनि देहान्त भयो। त्यसभन्दा पहिले बाज्ये 85 वर्षको उमेरमा बितिसकेका थिए। उनी एक्लो भए। त्यसर्थ पढ़ाई अधुरै छोड़ेर उनी जीवनको कर्मक्षेत्रमा उत्रिनु वाध्य बने।
विद्यार्थी जीवनकालदेखि नै साहित्यप्रति उनको रुची बढ्न थालेको थियो। उनको पहिलो प्रकाशित रचना ‘स्मरण’ शीर्षकको एउटा गध्य कविता 13 वर्षको उमेरमा सन् 1950 मा कलकत्ताबाट लैनसिंह बाङ्देलको सम्पादनमा प्रकाशित मासिक पत्रिका ‘प्रभात’ मा ‘वरदान’ छद्मनाममा छापिएको थियो। कालेबुङबाट प्रकाशित हुने पत्रिका ‘गोर्खा’ मा पनि उनका केही रचनाहरू यस छद्मनाममा प्रकाशित भएका थिए। त्यसपछि उनले आफ्नो असल नाममा नै लेख्न थाले। उनको पहिलो कथा ‘मान्छे’ शीर्षकमा सन् 1952 मा ‘भारती’ मा प्रकाशित भएको थियो अनि दोस्रो कथा ‘स्मृति’ देहरादूनबाट प्रकाशित हुने ‘जाग्रत गोर्खा’ मा सन् 1954 मा छापिएको थियो। त्यसबेला गोर्खा, भारती र अन्य पत्र-पत्रिकाहरूमा पनि उनका विविध विधाका रचनाहरू प्रकाशित हुन थालेका थिए। दार्जीलिङबाट ‘भारती’ नेपाली मासिक पत्रिकाको प्रकाशन जून 1949 देखि शुरु भएर जुन 1958 सम्म निरन्तर मोठ 108 अङ्क प्रकाशित भएको थियो। तत्कालीन भारतबाट नेपाली भाषामा प्रकाशित हुने यो एउटा स्तरीय पत्रिका थियो। यसका प्रधान सम्पादक रुपनारायण सिन्हा अनि सम्पादक पारसमणि प्रधान थिए। यस पत्रिकामा मात्र उनका 15 वटा कविता, 12 वटा कथा र केही लेखहरू प्रकाशित भएका थिए। यसबाट उनी आफ्नो लेखनको प्रारम्भिककालदेखि नै कति सक्रिय रहेका थिए त्यो बुझ्न सकिन्छ। उनका अहिलेसम्म लगभग 600 जति विविध विधामा लेखिएका रचनाहरू भारत र नेपालका विभिन्न साहित्यिक पत्रिका र समाचार-पत्रहरूमा प्रकाशित भइसकेका छन्। तर उनले लेखे जति सम्पूर्ण कृतिहरू पुस्तक रुपमा प्रकाशमा आउन सकेका छैनन्। उनका अहिलेसम्म 2 वटा कविता सङ्ग्रह, 2 वटा कथा सङ्ग्रह, एउटा उपन्यास, एउटा राजनैतिक लेख (पुस्तिका) र 3 वटा जीवनीका पुस्तकहरू प्रकाशित छन्।
अहिलेसम्म प्रकाशित उनका कृतिहरूको सूची यस प्रकार रहेको पाइन्छ :-
1. उन्माद (कविता सङ्ग्रह – 1958)
2. वर्तमान नेपाल र दार्जीलिङको नेपाली (1959)
3. वर-पीपल (कथा सङ्ग्रह – 1960)
4. मध्ये रातको तारा (उपन्यास – 1965)
5. तिम्रो प्रीत नै मेरो गीत (कविता सङ्ग्रह – 1970)
6. नरेन्द्र प्रसाद कुमाई (जीवनी – 2000)
7. गंगाप्रसाद प्रधान (जीवनी – 2011)
8. गोर्खा महानायक डम्बरसिंह गुरुङ (जीवनी – 2015)
9. लभ यू जिन्दगी (कथा सङ्ग्रह – 2022)
यसबाहेक उनका तीनवटा कृतिहरू प्रेसमा रहेका छन् जो शिघ्र नै प्रकाशमा आइरहेका छन् ती हुन् - 1) झलझली आँखामा (संस्मरण), 2) सवारी मेरो रेलैमा (नियात्रा), 3) एक मुट्ठी जून (कविता सङ्ग्रह)। यसबाहेक उनका पुस्तक आकारका लगभग डेढ़ दर्जन जति कृतिहरू अप्रकाशित रहेका छन्। तिनको खोजी गरी प्रकाशमा ल्याउने पहल गर्नु हामी साहित्य अनुरागीहरू सबैको कर्तव्य हुन जान्छ। यसका निम्ति सङ्घ-संस्थाहरू अघि आए अझ राम्रो हुने थियो।
उनले केही पत्र-पत्रिका तथा पुस्तक आकारका कृतिहरू पनि सम्पादन गरेका छन्। एस.यु.एम.आई. मा विद्यार्थी छँदा नै आफ्ना केही साथीहरूको सहयोग लिएर उनले अरुणोदय क्लबको हस्तलिखित पत्रिका ‘अरुणोदय’ (सन् 1949) र विद्यालयको पत्रिका ‘उद्गम’ (सन् 1950) आफ्नो सम्पादनमा स्टेन्सिलमा लेख्न लगाएर साइक्लोस्टाइल्ड गरी प्रकाशित गराएका थिए। सन् 1960 तिर अखिल भारतीय गोर्खालीगको कालेबुङ शाखा केही निष्क्रिय बनेको देखेर त्यसको पुनर्गठन गर्ने कार्यमा उनी निकै सक्रिय भई खटेका थिए। पुनर्गठनपछि त्यसका सचिव स्व. रामकृष्ण शर्मा भए। दाहाल त्यसबेला गोर्खालीगले प्रकाशित गर्ने गरेको बुलेटिन ‘सँधै गौरव राख्नेछौं गोर्खाको’ (सन् 1960)-का सम्पादक रहेका थिए। त्यसपछि कालेबुङबाट प्रकाशित हुने अखिल भारतीय गोर्खालीगकै साप्ताहिक मुखपत्र ‘गोर्खा’ (सन् 1962), कालेबुङबाटै प्रकाशित साहित्यिक पत्रिका ‘सङ्गम’ (सन् 1968) र साप्ताहिक पत्रिका ‘प्रतिनिधि’(सन् 1975) –का पनि उनी सम्पादक रहेका थिए। उनका अन्य सम्पादित कृतिहरू थिए – 1) अमर कथा (कथा सङ्ग्रह – सन् 1962), 2) सेलको माला (हास्य व्यङ्ग्य कविता सङ्ग्रह- सन् 1966), 3) सिक्किम प्रसङ्ग (लेखसङ्ग्रह – सन् 1968) र 4)अजम्बरी गंगाप्रसाद प्रधान (लेखसङ्ग्रह – सन् 2015) डा. एडोन रोंगोङका साथ संयुक्त-सम्पादन। यसबाहेक उनले लगभग 15 वटा जति स्मारिकाहरूको सम्पादन पनि गरेका छन्।
उनको जीवन खुबै सङ्घर्षमय रहेको थियो। 13 वर्षको उमेरमा साहित्य क्षेत्रमा प्रवेश गरेपश्चात् 16 वर्षको उमेरमा गोर्खालीगको कार्यकर्ता बनेर राजनीतिमा पनि सक्रिय रहे। यसरी साहित्यकार र राजनैतिक कार्यकर्ता बनेर उनले तत्कालीन धेरै साहित्यिक महारथीहरू एवं राजनैतिक हस्तिहरूसित परिचय र सम्पर्क स्थापित गर्ने अवसर पाए। भनिन्छ ‘छोटासँग लागे नाक-कान, बड़ासँग लागे गुवापान’। सानैदेखि उनले राम्रो सङ्गत पाएका थिए। ठुला-बड़ाहरूकै सङ्गतले उनी खारिँदै गए। एस.यु.एम.आई.–मा पढ्दादेखि नै उनको मन-मस्तिष्कमा साहित्यप्रतिको चासो बढ्दै गएको थियो। अझै कुमुदिनी होम्समा पढ्न थालेपछि प्रधानाध्यापक टीकाराम शर्मा जसलाई त्यसबेलाका दिग्गज व्यक्तिहरूमा गणना गरिन्थ्यो उनको निकट सान्निध्यमा रहने अवसर पाए। टीकाराम शर्मा एक विद्वान साहित्यिक व्यक्तित्व हुनको साथै गोर्खालीगका अग्रज नेता पनि थिए। सम्भवत: उनकै प्रभावले दाहाल पनि गोर्खालीगका कार्यकर्ता बने। गोर्खालीगमा लागेपछि रामकृष्ण शर्मा, नरबहादुर गुरुङ जस्ता शिक्षित र सम्माननीय हस्तिहरूको सङ्गत पाए। त्यसबेला दार्जीलिङतिर हुने साहित्यिक गोष्ठीहरूमा पनि उनकों सहभागिता हुने गर्थ्यो। यसरी उनी अगमसिंह गिरी, वीरविक्रम गुरुङ, गुमानसिंह चामलिङ आदिका साहित्यिक मित्र बने। पछि पारसमणि प्रधानका पनि प्रिय पात्र बन्न पुगे। दार्जीलिङबाट प्रकाशित हुने ‘भारती’ पत्रिका बन्द भएपछि पारसमणि प्रधान कालेबुङ फर्किनु भयो। त्यसबेला प्राय: उहाँ मणि प्रिन्टिङ वर्क्समा बस्नुहुन्थ्यो। उमेरले धेरै फरक भए तापनि लेखन सहधर्मिताको कारणले दाहाल उहाँको सान्निध्यमा आए। सन् 1960 देखि 1986 सम्म उनी पारसमणि प्रधानको निकट सम्पर्कमा रहेका थिए। हजुर आमाको देहावसानपछि उनी टुहुरो भएका थिए। यसैकारण उनले पढ़ाई अधुरै छोड़े। आफ्नो जीवन धान्नको निम्ति उनी केही वर्ष पुस्तक व्यवसायमा लागे। यस अवधिमा भारत र नेपालमा प्रकाशित नेपाली भाषाका अनेकौं पुस्तकहरूको सङ्ग्रह अनि त्यसको अध्ययन गर्ने अवसर पाए अनि उनी लेखनमा पनि निरन्तर अघि बढ्दै गए। सन् 1962 मा उनले बिहे गरे अनि पारिवारिक बन्धनमा बाँधिएपछि आर्थिक अभाव र समस्याहरूको पनि अनुभव हुँदै गयो। सन् 1965 तिर कालेबुङमा स्थापना गरिएको एउटा दह्रिलो संस्था नेपाली साहित्य अध्ययन समितिका संस्थापक सदस्यहरूमध्ये उनी एक प्रमुख व्यक्ति हुन्। त्यहीं अवधिमा स्थापित सङ्गीत कला निकेतनका पनि उनी संस्थापक सभापतिका रुपमा लगभग 12 वर्ष कार्यरत थिए। कालेबुङमा विविध सांस्कृतिक कार्यक्रमहरू सहित नाटक मञ्चन गर्ने परम्परा बसाल्नमा पनि उनको सक्रिय भूमिका रहेको थियो। त्यहीबेला उनले लेखेको पूर्णाङ्की नाटक ‘गुनासो’ कालेबुङमा सफलतापूर्वक मञ्चन गरिएको थियो भन्ने जानकारी पाइन्छ। तर त्यो पुस्तक रुपमा प्रकाशित हुन सकेन।
उनले कहिले नोकरी गरेनन्। पुस्तक व्यवसायपछि लगभग अठाह्र वर्ष गुवाहाटी बसेर पूर्वोत्तर राज्य विशेष गरी आसाम, मेघालय, मणिपुर, अरुणाचलका विभिन्न स्थानहरूमा उनले नेपाली चलचित्र वितरणको व्यवसाय गरेर पनि जीविका उपार्जन गर्नु परेको थियो। पछि नेपाली चलचित्रहरू सीडी क्यासेटमा आउन थालेपछि त्यो व्यवसाय धेरै दिन चल्न सकेन। फलस्वरूप उनी पुन: कालेबुङ फर्किए। अन्तत: आफ्नो जन्मस्थान कालेबुङ पनि छोडेर सपरिवार सुकुनामा स्थायीरुपले रहन लागेका थिए।
उनले धेरै साहित्यिक भ्रमणहरू पनि गरे। यस्तै भ्रमणहरूमध्ये सन् 1957 मा रामकृष्ण शर्मासित गरेको काठमाण्डौँ यात्रा उनको जीवनको महत्वपूर्ण एवं अविस्मरणीय यात्रा रहेको थियो। यस यात्रामा उनले नेपाली साहित्यका धेरै प्रतिष्ठित विभूतिहरूसित साक्षात भेट गर्ने अवसर पाए। तीमध्ये इतिहास शिरोमणि बाबुराम आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, राममणि आचार्य दीक्षित, केदारमणि आ.दी., ॠद्दिबहादुर मल्ल, बालकृष्ण सम, सिद्दिचरण श्रेष्ठ, भवानी भिक्षु, कमल दीक्षित, वासुदेव लुइँटेल, केशर शमसेर आदि थिए भने पूर्वपरिचित विजय मल्ल, गोविन्द ‘गोठाले’, केदारमान ‘व्यथित’, जनकलाल शर्मा आदिसित पनि भेटघाट भएको थियो। त्यसबेला लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरे अफ्रो-एशियाली लेखक सम्मेलनमा विदेश जानु भएकोले भेट हुन नसके तापनि पछि अन्य अवसरहरूमा भेटघाट भएको थियो। त्यसपछि सन् 1962 मा नेपाली साहित्य संस्थान, काठमाडौँले नेपाल अधिराज्य-व्यापी साहित्य सम्मेलनको आयोजना गरेको थियो। त्यस सम्मेलनमा दार्जीलिङबाट अगमसिंह गिरी अनि कालेबुङबाट नरबहादुर दाहालको प्रतिनिधित्व रहेको थियो। यसरी नै सन् 1983 मा साहित्य अकादमी, दिल्लीको अनुदानमा उनले हिमाञ्चल प्रदेशको भाग्सु, शिमला अनि उत्तर प्रदेशको पहाडी अञ्चल वर्तमान उत्तराखण्ड राज्यभित्र पर्ने देहरादून, मसुरी, नैनीताल आदि स्थानहरूको साहित्यिक भ्रमण गरेका थिए। उनको यस भ्रमणको उदेश्य एवं विषय थियो – त्यहाँका नेपाली भाषी भारतीय गोर्खाहरूको सामाजिक तथा राजनैतिक स्थितिको अध्ययन र युद्ध सम्बन्धी साहित्यको खोजी गर्नु अनि भारतको स्वतन्त्रता सङ्ग्राममा गोर्खाहरूको योगदान र अन्य ऐतिहासिक तथ्यहरूको अन्वेषण गर्नु। यस सिलसिलामा उनले भाग्सुमा शहीद दुर्गा मल्लकी धर्मपत्नी शारदा मल्ल र शहीद दलबहादुर थापाकी धर्मपत्नी चम्पावती थापासित गरेको भेट महत्वपूर्ण थियो। उनी भाग्सु निवासी नेपाली, हिन्दी र उर्दु भाषाका लेखक मगन ‘पथिक’ सित उनकै वासस्थानमा रहेर त्यस क्षेत्रको भाषा-साहित्यबारे विस्तृत विचार विमर्श गर्ने कार्यसहित त्यहाँका लगभग 200 जना आजाद हिन्द फौजका गोर्खा सिपाहीहरूसँग भाग्सुको गोर्खा भवनमा स्वाधीनता आन्दोलनमा आजाद हिन्द फौजको योगदानबारे अन्तर्क्रिया गरे। त्यसबाहेक लोक साहित्यका अमर साधक एवं गायक मित्रसेन थापाको घर भाग्सुको तोतारानी गाउँमा गएर उनको धर्मपत्नी लाजवन्ती देवीसित भेट गरे। उनले महावीर चक्र प्रापक ब्रिगेडियर शेरजङ्ग थापा ‘हिरो अव् स्कार्दू’ सित उनकै वासस्थानमा गएर भेट गरे अनि उनीसित युद्ध सम्बन्धी साहित्यमाथि चर्चासँगै उनले सविस्तार युद्धको वर्णन गर्दै हिन्दीमा लेखेको डायरीको अवलोकन जस्ता महत्वपूर्ण कार्यहरू पुरा गरेका थिए। यसका अतिरिक्त भारत र नेपालका विभिन्न स्थानहरूमा आयोजित साहित्यिक सेमिनारहरूमा उनले विविध विषयमा लेखिएका कार्य-पत्रहरू पनि प्रस्तुत गरेका छन्।
नेपाली साहित्यप्रति उनले पुर्याएको योगदानको कदर गर्दै भारत र नेपालका विभिन्न सरकारी तथा बेसरकारी सङ्घ संस्थाहरूले उनलाई धेरै पुरस्कार र सम्मानहरूद्वरा अलङ्कृत पनि गरेका छन् जो यस प्रकार रहेको छ :-
1. पारसमणि प्रधान स्मृति पुरस्कार, कालेबुङ (2002)
2. आशारानी निर्माण पुरस्कार, गान्तोक (2002)
3. पद्मप्रसाद ढुंगाना पुरस्कार, गुवाहाटी (2003)
4. मदन स्मारक व्याख्यानमाला पुरस्कार, वाराणसी (2010)
5. बद्रीनारायण प्रधान स्मृति पुरस्कार, बाग्राकोट (2014)
6. नइ देरूनिख अन्तर्राष्ट्रिय पुरस्कार, काठमाड़ौँ (2014)
7. मोती प्रतिभा पुरस्कार, नेपाल (2015)
8. योगी नरहरिनाथ अन्तर्राष्ट्रिय पुरस्कार, नेपाल (2015)
9. अगमसिंह गिरी स्मृति पुरस्कार, दार्जीलिङ (2016)
10. रामचन्द्र गिरी स्मृति पुरस्कार, दार्जीलिङ (2018)
11. चन्द्रिका पुरस्कार, गोर्खा जन पुस्तकालय, खरसाङ (2020)
12. दान खालिङ साहित्य सम्मान (2021)
13. देवकोटा साहित्य सेवा पुरस्कार, देवकोटा सङ्घ, सिलगढ़ी (2021)
14. भवानी मिश्र साहित्य पुरस्कार, साहित्य कला सङ्गम, दमक झापा, नेपाल (2022)
यसबाहेक उनलाई दर्जनौं सङ्घ-संस्थाहरूले अभिनन्दन एवं संवर्द्धनासहित सम्मानित गरेका छन्। यसै क्रममा जुलाई सन् 2022 मा अगमसिंह गिरी संस्थान, सलुवा, पश्चिम मेदिनीपुरको प्रकाशन तथा यस संस्थासित संलग्न रहेका एक उद्यमी साहित्यकार विकास कार्कीको सम्पादनमा नेपाली वार्षिक साहित्यिक पत्रिका ‘परदेशी’ वर्ष 25 अङ्क 19 मोठ 720 पृष्ठको ‘नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्क’ प्रकाशित भएको छ। यसलाई अति महत्वपूर्ण एवं प्रशंसनीय कार्य मान्नुपर्छ। यस बृहत अभिनन्दन ग्रन्थले उनको सम्पूर्ण जीवनवृत तथा कर्म-कीर्तिहरूको विस्तृत अध्ययन गर्न धेरै सघाउ पुर्याएको छ। डुवर्सका अघिल्ला पिढीका साहित्यकारहरूदेखि लिएर अहिलेका युवा पिढीका साहित्यकारहरूसम्म उनको गहिरो सम्बन्ध रहेको थियो। उनी डुवर्सलाई धेरै माया गर्थे। डुवर्समा आयोजित साहित्यिक कार्यक्रमहरूमा प्राय: उनको उपस्थिति रहन्थ्यो। वयोवृद्ध अवस्थामा पुगेर पनि उनको स्मरण-शक्ति तेज थियो। सम्भवत: यसैले उनलाई धेरैले ‘जिउँदो इनसाइक्लोपिडिया’, ‘किंवदन्ती पुरुष’, ‘इतिहास पुरुष’ वा ‘जिउँदो इतिहास’-को उपाधिले पनि सम्बोधन गर्थे। उनको निधनले भारतीय नेपाली साहित्य क्षेत्रमा एउटा अपुरणीय क्षति पुगेको छ। अन्तत: उनको आत्माले चिर शान्ति पावोस् भन्ने कामनासहित यस लेखानी मार्फ़त हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
सन्दर्भ :
1) परदेशी वर्ष 25 अङ्क 19 (नरबहादुर दाहाल अभिनन्दन विशेषाङ्क – जुलाई 2022) – स. विकास कार्की
2) गोर्खा महानायक डम्बरसिंह गुरुङ (जीवन यात्रा) – नरबहादुर दाहाल
3) दार्जीलिङका केही नेपाली साहित्यिक प्रतिभाहरू (अन्तर्वार्ता सँगालो) –स. कृष्ण गिरी, डी.कुमार परियार।

बग्राकोट, डुवर्स

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।