17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

युवा वर्गका प्रतिनिधि कवि निरूबिन्दू परियार

कृति/समीक्षा नवीन पौड्याल September 24, 2023, 11:05 pm
नवीन पौड्याल
नवीन पौड्याल

1. आमुख
नेपाली साहित्यको भविष्य उज्जवल देखिन्छ। नयाँ नयाँ कविहरू नयाँ नयाँ विषयवस्तु, कविताको नयाँ बान्की, नयाँ शैली नयाँ चेतना लिएर निरन्तर देखा परेका छन्। अहिलेका प्रत्येक साहित्यिक पत्रिकाहरूमा नयाँ पुस्काका कविहरूको अवतरण भएको देखिन्छ। नेपालभरि लगायत भारतका दार्जिलिङ कालिम्पोङ, सिक्किम, डुवर्स, असम र पूर्वाञ्चल भारतका ठाउँ ठाउँमा नयाँ पुस्ताका कविहरूको उपस्थिति पाइन्छ। अब नेपालमा सञ्चालित कविता प्रतियोगितामूलक कविता आइडोलमा सिक्किमकी नीलम गुरूङ विजयी भएकी छन् भने पल्लविव तामाङ पनि उपविजेता बन्न पुगेका छन्। कविताले वर्तमान समयको युवा संवेदनालाई समेट्न सकेको छ। अब कविता पढिने र सुनिने मात्र नभएर सांगीतिक प्रस्तुतिमय बनेको छ।
कविताको स्वर अब पहाड कन्दरा, जङ्गल, नदी नाला गुन्जिन थालेको छ। हाम्रा पहाड़ बस्तीका साना ठुला, सुख दुःख कुरा कविताका सामल बनेका छन्। विन्दु जस्तो कालेबुङको कुना, दुर्गम, भारतको पल्लो छेउको ओझेल र किनारीकृत ठाउँबाट कविता कुर्लिन थालेको छ। त्यहाँको बञ्चनाको कुरा, त्यहाँका मानिसहरूका दिनचर्या र चिन्तन प्राकृतिक सौन्दर्य वर्णन जीवन शैली आदि देखाएका छन्। कविताले यस्ता किनारीकृत स्थानलाई स्वर दिन थालेको छ, कविहरू कविताको स्वर दिएर कुर्लिएका छन्।
2. विषय प्रवेश
निरबहादुर आच्छामे परियार पूरा नाम भएका निरूविन्दु परियारको नाम पनि नेपाली कवितामा जोडिन आउँछ। उनी एक कुशल कविका रूपमा उदाएका छन्। उनको पछिल्लो कवितासङ्ग्रह संवेदन संवादमा जम्मा पचासवटा कविता सङ्ग़हीत छन्। यसमा रहेका कविताहरूको अध्ययन गर्दा कवितामा हुनपर्ने भावगत गाम्भीर्य, अर्थगत गाम्भीर्य, प्रस्तुगत कलाकारिता, शैलीगत चमत्कारिता, शब्द र अर्थगत कलात्मक संयोजन आदि गुण पाइन्छन्। यसमा स्वरावृत्ति वा स्वरसाम्य, वैयक्तिकीकरण, एकजुटता, उपमा, रूपक, अनुप्रास, लय, ताल जस्ता गुण पाइन्छन्। निरूबिन्दु परियारका कवित्वबारे जय क्याक्टसले सारगर्भित मूल्याङ्कन गरेका छन्। जय क्याक्टसका अनुसार ‘निरूबिन्दु समाज र सरोकारका कवि हुन्। समाजका हरेक हरेक संघटनासित उनको संवेदनाले संवाद गर्ने प्रयास गरेको छ। सामाजिक विकृति, विसंगति र वर्गीय विभेदसित उनको तीब्र विरोध र असमतिछ। भाषिक सासंस्कृतिक तथा मानवीय कुचलन र विरूपताप्रति उनको संवेदन सधैं आन्दोलित भइरहन्छ। देशको राजनितीदेखि वैश्विक सभ्यतासम्मलाई लिएर चित्त नपेरका कुरालाई काव्यिक अभिव्यक्तिको माध्यमले हिर्काउने प्रयास गरेका छन्। भ्रुणहत्या, बलात्कार महिला तस्करी जस्ता कुकृत्यले जन्माएका संवेदनालाई नारी मनोभावकै सापेक्षमा अभिव्यक्त गर्ने निरूको प्रयास सह्राहनीय लाग्छ। नारीप्रति अथाह श्रद्धा राखेर सकारात्मक अर्थमा अर्थमा लेखिएको कविताले उनको कोमल मनोभाव र सिर्जनात्मक संवेदनको पुष्टी गर्छ। यसबाहेक देशप्रेम, मानवता, धार्मिक सहिष्णुता, जातीय चिन्तना, चियाबारी कुलैनका सार्वभौम पीड़ानुभूति आदिसित कवि निरू विन्दुको संवेग सम्प्रेषण पाठकप्रिय बन्ने प्रशस्त सम्भावना रहेको छ।’ (संवाद संवेदन, भूमिका)
3. सङ्ग्रहका कविताहरूको अध्ययन
यसमा रहेका कविताहरूमा स्वरसाम्य, वैयक्तिकीकरण, उपमा, रूपक, अनुप्रास, लय ताल आदि पाइन्छन्। कवितामा हुनुपर्ने सामूहिक स्वरमाम्य, वैयक्तिकतामा निर्वैयत्तिकता कवि आफ्नो भावसम्प्रेषणमा इमानदार छन्। 2021 मा निरूबिन्दु परियारको कविता सङ्ग्रह ‘संवेदन संवाद’ प्रकाशित भयो। यसमा रहेका पचासवटा कविताहरू प्रायः छोटा छोटा आयामका र सघन भावका कविता संश्लिष्ट छन्। प्रायः जम्मै कविताले वर्तमानलाई बोकेका छन्। कवितामा हुनुपर्ने गुण र विशेषता पाइन्छन्। जलढक्का नदीको गढतीरमा रहेको विन्दु भन्ने ठाउँबाट देखेका भोगेका कुरालाई जनसम्प्रेषण गरेका छन्। यसमा रहेका केही प्रवृत्तिलाई निम्न बुँदाहरूमा हेर्न सक्छौं-
3.१. विरोधभाष- कवितामा पाइने एउटा तकनीकि कौशलमध्ये विरोधाभाष पनि एउटा हो। परस्पर विरोधी प्रसङ्ग, अर्थ र भावलाई कवितामा सजाएर भाव राखिएको हुन्छ। यसमा रहेका केही कवितामा पनि यही टेक्निक अपनाइएको छ।
3.२. देशप्रेम -निरूबिन्दु परियारका केही कवितामा देशभक्तिको भावना पनि पाइन्छ। मेरो भारत महान कवितामा धार्मिक, सांस्कृतिक भाषिक, भौगोलिक बहुलता भए पनि सबै एक सूत्रमा बाँधिएको कुरालाई प्रस्तुत गरिएको छ।
जात जातका फूलहरू फूल्छन्
धर्म कर्मको फूलबारीमा
त्यसैले
गर्वले भन्न मन लाग्छ
एकै रगत एउटै जहान
मेरो भारत महान। (पृष्ठ 47)
3.३. जातीय चेतना भाव - यसमा रहेका केही कविताहरूमा जातीय चिन्तन र चिन्ता गरिएको पाइन्छ। कवि जातिको दुर्दशा देखेर पीडित र उद्वेलित छन्। भारतमा गोर्खाहरूको सामाजिक, राजनैतिक, आर्थिक स्थिति बलियो छैन। आफ्नै देशमा अस्तित्व सङ्कट छ, हामी यही देशको नागरिक भएर पनि घरिघरि न्याय मागिरहन पर्ने, आन्दोलन गरिरहनु पर्ने, हाम्रो ठाउँ र हामीलाई देशको मानचित्रमा खोजिबस्नपर्ने स्थितिलाई लिएर कवि चिन्तित छन्। यस्तो स्थितिमा क्षोभ, ग्लानि र असन्तुष्टि व्यक्त गरिएको छ। हाम्रो देशमा नै हाम्रो अस्तित्वको सङ्कटमा बसिरहनुभन्दा बरू जन्म नै नलिएको भए उचित हुने थियो भन्ने जन्मनु नै अभिशाप ठान्दछन्-
आमा
मलाई गर्भ मै पतन गरिदिनू,
म यो धरतीमा आउन चाहन्न
म यहाँ रमाउन नै सक्तिनँ।
.......
न मेरो कुनै चिह्रारी छ
न मेरो कुनै राष्ट्रियता छ
न मेरो कुनै अस्तित्व छ। (मलाई गर्भ मै पतन गरिदिनू, पृष्ठ 88)
3.४. नारीका विभिन्न अवस्था- यसमा नारीको विभिन्न अवस्थाको चित्राङ्कन गरिएको छ। यसमा रहेका दुई कविताहरू ‘शक्तिको प्रतिरूप नारी’, ‘त्यागकी प्रतिरूप नारी’ जस्ता कवितामा नारीलाई त्याग र शक्तिकी प्रतिरूप भनेर महिमामण्डन गरिएको छ। यसका साथै नारीको वर्तमान अवस्थाबारे कवि चिन्तित छन्। नारीले आफ्नो स्वाभिमान र धरातललाई आफैं जोगाड़ गर्नुपर्छ, आफुलाई शक्तिशाली बनाउन पर्छ-
अथाह चोट सहेर
काँड़ाबीचमा फुल्नु पर्छ तिमी
आफूलाई शक्तिशाली बनाउन
अबला शब्द भुल्नुपर्छ तिमी (पृष्ठ 24)
यद्यपि नारीमाथि अत्याचार भने बढेको नै छ। बलात्कार, भ्रुणहत्यार अन्य माध्यमबाट नारीमाथि शोषण बढेको नै छ। समाजका केही नरपशुले नाबालिकाहरू सम्त छाडेका छैनन्।
3.5. शृङ्खलाबद्धता - यसमा रहेका केही कविताहरू परस्परमा शृङ्खलाबद्ध रहेका छन्। कतिपय कविताहरूको पूर्वापर सम्बन्ध रहेको पाइन्छ। बिर्खबहादुर क, बिर्खबहादुर ख र बिर्खबहादुर ग भन्ने एउटै शीर्षकका कविताहरू रहेका छन्। यसमा वरिखबहादुरको पुस्ता र उसका छोरापुस्ताका बिच गहिरो मानसिक खाडललाई सङ्केत गरेका छन्। बुढा पुस्ताले भाषा संस्कृति परमप्रालाई धानिरहेका छन् भने नयाँ पुस्ता भने आफ्नो भाषा संस्कृति परम्परा मूल्य मान्यताहरूप्रति उदासिन पाउँछन्। अन्य कतिपय कवितामा कतिपय प्रसङ्गहरूको पूर्वापर सम्बन्ध पाइन्छ। म अनि चियाबारी, चियाबारीको व्यथा जस्ता चियाकमानकेन्द्रित दुईवटा कवितामा शृङ्खलाबद्ध भाव पाइन्छन्।
3.6. युगीन चेतना- परियारका कविताले वर्तमानलाई बोकेका छन्। वर्तमानका विभिन्न समस्यालाई सम्बोधन गरेका छन्। अहिलेका युगमा जिउनु मात्र नै ठुलो सास्तीसरह हुन्छ। त्यसलाई उनले शब्दहरूले सम्बोधन गरेका छन्। समसामयिक महङ्गाइ, अनैतिकता, लाचारी आदिलाई केही कविताले सम्बोधन गरेका छन्। अहिले अन्न, साग सब्जी, लुगाफाटा, माछा मासु, पेट्रोल डिजेल आदिको अनियञ्त्रित मङ्गाइ बढेको छ। पसिना र मानव श्रमको भने मूल्य बढेको छैन। अहिलेको युगमा जीवन धान्नु नै कठिन अवस्था रहेको छ। यस्तो मङ्गीमा जीवन बाँच्नु नै ठुलो तपस्यासरह बनेको छ भन्ने तथ्य पाइन्छ।
अन्न साग-सब्जीहरूको
मूल्यवृद्धिले
चुचुरामा पुगेर विजय जुलुस निकाल्दैछ। (महङ्गाइ, 57)
भाइरस कवितामा पनि 2020-21 मा विश्वव्यापी कोरोना महामारीको कारूणिक स्थितिको उल्लेख पाइन्छ।
मान्छेको एउटा भीड़ दौडन्दैछ अस्पतालतिर
मान्छेको अर्को भीड दौडन्दैछ शमशानतिर
त्यसैले चराउँछ देश।
अहिले भ्रुणहत्या सामान्य बनेको छ, ड्रग्सखोरी, नशाखोरी पनि बढेका छन्। कवितामा युगीन चेतना तरङ्गित भएको पाइन्छ। ‘महङ्गाई’ कवितामा अचेलको युगमा महङ्गाइ अभिशापतुल्य बनेको छ। मङ्गाइ, विज्ञापनप्रियता, आडम्बर, स्वार्थपन, अविश्वसनीय रहेको अवस्थालाई सङ्केत गरेका छन्। अहिलेको बढ्दो नारी हिंसा, बलात्कार, बालिका बलात्कार, नारी तस्करीको बढ्दो प्रकोप छ। समाजका केही ब्वाँसाहरू नारी तस्करी, बलात्कार गर्न सदा उद्यत रहन्छन्। सरकारले जति नै छोरीचेलीको रक्षाको योजना ल्याए पनि हाम्रो समाजमा प्रभावशाली छैन-
छोरीलाई लक्ष्मी मानिने यो देशमा
म बदनाम भएकी छु
हे मानव
म बलात्कृत भएकी छु। (पृष्ठ 94)
3.7. दुई पुस्ताका बिचको अन्तराल- निरूविन्दुका कवितामा गाउँ र शहर, बुढा पुस्ता र युवा पुस्ता, केन्द्र र किनार आदिबीचको अन्तराल पनि देखाइएको छ। केन्द्रमा विभिन्न सुख सुविधा हुँदा किनारमा आधारभूत सुविधासमेत हुँदैन। यहाँ विर्खबहादुरका दुई पुस्ताका विच ठुलो अन्तराल देखाएको छ। युवा पुस्ता अर्कै मार्गमा हिँड्दैछन्। सामाजिक मान्यता र परम्परालाई परित्याग गर्ने लागेका छन्।
बिर्खबहादुर चौकन्न र चकित छ
छोराछोरीको फेसन शो देखेर
बिर्खबहादुर थकित छ
समाजको यो अत्यास लाग्दो माहौल देखेर।
छोराले धुम्रपानमा महारत हासिल गरेको छ
छोरीले संस्कारहरू लत्याएर हिँडेकी छे।
3.8. सुधारोन्मुख परिवर्तनाकांक्षी आह्वान- यसमा रहेका केही कविताहरूमा सुधारका चेतना, अबको युवा पुस्ताहरूमा जातीय सचेतता एकता आउनुपर्छ, सोंचमा परिवर्तन आउनु पर्छ। हामी शिक्षित, सुरक्षित, सच्चा कर्णधार बन्न आवश्यक परेको कुरा इँगित गरेका छन्। कविका निम्ति परिवर्तन अवश्यमभावी र आवश्यकीय छ। राजनैतिक, सामाजिक क्षेत्रमा केही विकृति र विकृतिलाई परिवर्तन गर्नचाहेका छन्।
सोंचमा परिवर्तन ल्याउ
विचारमा नयाँपन ल्याउ
हे बिर्खबहादुरहरू हो।
परिवर्तन माग्दैछ आकाशले कवितामा पनि मानवतावादलाई सर्वोपरी ठानिएको छ। ईश्वर, धर्मका बीच विभाजनको सोंच, राजनैतिक व्यवस्थाले ल्याएको धर्मका नाममा राजनिती, समाज विभाजन र सत्तालोलुपतालाई इँगित गरेका छन्। सबैभन्दा ठुलो त मानव धर्म हो भन्ने कुरा स्पष्ट पारेका छन्। कविका विचारमा पूलता दहन कुक्रमको, अधर्मको, पापको, मनमस्तिष्कको रावण, ईर्ष्याको, लोभको व्यभिचारको दहन गरिनुपरछ।
3.9. पर्यावरण चेतना- यसमा रहेका केही कवितामा पर्यावरण चेतना पनि पाइन्छन्। कविताहरूमा प्राकृतिक वर्णनसँगै पर्यावरण चेतना पनि गाँसिएको पाउँछौं।
3.१0. भाषा र संस्कृति प्रेम- कवितामा आफ्नो भाषा र संस्कृतिको प्रेमको भावना पाइन्छ। कविलाई आफ्नो जाति, भाषा संस्कृतिप्रति प्रेम छ। यद्यपि अबका नयाँ पुस्ता यस्ता पक्षमा उदासिन छन्, विमुख छैनन्। नयाँ पुस्ताका युवाहरू अरू कुरामा केन्द्रित छन्। सङ्कट कवितामा भाषा हाम्रो शान, परिचय, प्राण, स्वाभिमान सर्वस्व हो। भाषाक माध्यमबाट नै कवि कलाकार जन्मिन्छन्। तर हाम्रो मातृभाषाको अवहेलना, ठुलो भाषाको प्रभावका कारण हाम्रो भाषा विलुप्त हुन् खोज्दैछ भन्ने भाव पाइन्छ-
एक गुच्छा छिमेकी भाषाहरू मिलेर
खिज्याइरहन्छ
आम्ने साम्ने बसेर एकोहोरो। (पृष्ठ 68)
3.१1. मानवता प्रेम- यसमा रहेका धेरै कविताहरूमा मानवता प्रेमका भाव पाइन्छन्। यसमा रहेका रक्तदान, शिकारी जस्ता कवितामा मानवता प्रेम पाइन्छन्। मानवता अझसम्म मरेको छैन। मान्छेका आस्था, विश्वास जिजीविषा भने मरेको छैन। कविले मानवता धर्मलाई नै सर्वोपरी मानेका छन्। जाति, जात, धर्म, केन्द्र र किनारा आदिका आधारमा समाज विभाजित छ। केही कविताहरूमा मानवतालाई सही मूल्याङ्कन र प्राथमिकता दिने आह्वान गरिएको छ।
3.12. स्थानीय रङ्ग चित्रण- परियारका कवितामा कविले स्थानीय चित्रण पनि गरेका छन्। जलढक्का ब्लुज भन्ने कवितामा जलढक्का नदी र त्यसका वरिपरिका गाउँको सामाजिक आर्थिक राजनैतिक अवस्थाको संकेत गरेका छन्। स्थानीय प्राकृतिक सौन्दर्यको वर्णन, समस्याका उठान, सामाजिक व्यवस्थाको आकलन गरिएको छ।
3.१3. व्यङ्ग्य चेतना - कवितामा व्यङ्ग्यवाण पनि पाइन्छ। यसमा रहेको पोस्टमार्टम कवितामा व्यवस्था राजनैतिक एकातिर अर्कातिर सामाजिक व्यवस्थाको विसंगति, अपचलन. राजनैतिक वितण्डा आदि रहेका छन्।
काँधीकाठ लाएर शमसान पुर्‌याएका छन्
सत्यलाई मान्छेले आफ्नो चेतनाहरूबाट।
3.१4. संवेदनशीलता - कवि संवेदनशील हुनु स्वाभाविक हो। यहाँका केही कवितामा मानवीय संवेदनलाई वस्तु बनाइएको छ। नारी शोषण, बलात्कार, चियाबारीका बासिन्दाका समस्या, मानव अधिकारको अवहेलना आदि जस्ता कुरामा कवि संवेदनशील छन्। दिव्याङ्ग कवितामा दिव्याङ्गतालाई लिएर यसरी संवेदनशील अभिव्यक्ति दिइएको छ-
अवहेलना रचिएको कथा हुँ म
दैवले फुर्सदमा ठगेको व्यथा हुँ म
मलाई हाँस्न मन लागेको छ
यी भीर पाखा अनि कन्राहरूमा
पूर्णेको जून झैं।
यसैगरी संवेदन संवादमा पनि यो संवेदनशील पक्ष निकै प्रखर रूपमा पाइन्छ।
3.15. आदर्शवाद- यस कवितासङ्ग्रहमा आदर्शवादी विचार पनि पोखिएका छन्। कविमा मूलतः आदर्श भाव नै हुन्छ। मानवताप्रेम, शिक्षक, नारी महिमा, सुधारवादी चेतना पनि पाइन्छ। रक्तदान कवितामा मान्छेहरू धर्म सङ्ग्रह गर्न टाड़ा जानुभन्दा बरू रक्तदान गरे अझ ठुलो पुण्य कमाइन्छ। रक्तदान पूजा प्रार्थना, वन्दना, महादान, सत्य सेवा, मानव धर्म, माधव धर्म आदि जम्मै हो।
3.16. विद्रोह चेतना- यसमा रहेका केही कवितामा विद्रोह चेतना पनि पाइन्छन्। म सड़क भन्ने कवितामा परिवर्तन माग्दैछ आकाशले आदि कविताहरूका विद्रोहका केही झिल्का परिलक्षित छन्। स्वतञ्त्रता दिवस कवितामा हामी आर्थिक सामाजिक राजनैतिक आदिबाट स्वतञ्त्र छैनौं भन्ने भावना पाइन्छ।
3.१7. प्रतीकात्मकता- निरूबिन्दु परियारका केही कवितामा पनि अमूर्त कुरालाई कुनै मूर्त रूप दिएर प्रतीकात्मक प्रस्तुति दिएको पाइन्छ। वर्तमान युगका युवामा आएको विसङ्गति, कुसंस्कार, कुलत आदिलाई जनाउन बदलिँदो आकाश,
3.१8. बिम्बको थोरै प्रयोग- यसमा रहेका अधिकांश कविताहरूमा बिम्बहरूको गुजुल्टो नभएर थोरै विम्बको प्रयोग गरिएको पाइन्छ। बिम्बको फारो प्रयोगले कविता सरल बनेका छन्। विम्बको गजमौरो प्रयोगबाट पाठकलाई पर्ने जाने अर्थबोधनमा बाधा, क्लिष्टता, सम्प्रेषणको कठिनाई पर्दछ। यसमा विम्बको पातलो आवरणले कवितालाई सरल, सुपाठ्य, सुबोध्य र सम्प्रेषित तुल्याएको छ।

4. कविताको शिल्प-संरचना पक्ष-
परियारका प्रायः कविताका आयाम छोटा छोटा छन्। कवितामा शब्दहरूलाई मितव्ययी प्रयोग गरेका छन्। थोरै शब्दमा धेरै भन्न खोजिएको छ। कविताहरू प्रगीतात्मक ढाँचाका छन्।
4. मूल्याङ्कन र उपसंहार-
नेपाली कविताको मानचित्रमा अब निरू बिन्दू परियारको नाम पनि जोडिएको छ। उनी कालिम्पोङदेखि सुदूरको विन्दु भन्ने गाउँबाट कविताको स्वर उरालेका हुन्। देशको किनारामा अवस्थित उक्त स्थानका एक कविको भावना, वञ्चनाको शिकार भएको, देशको अवस्था देखिर आक्रोशित छन् अनि विक्षोभ प्रकट गर्दछन्। उनका कवितामा देशप्रेम, स्थानीय रङ्ग चित्रण, विरोधभाष, देशप्रेम, जातीय चेतना भाव, नारीका विभिन्न अवस्था, शृङ्खलाबद्धता, युगीन चेतना, दुई पुस्ताका बिचको अन्तराल, सुधारोन्मुख परिवर्तनाकांक्षी आह्वान, भाषा र संस्कृति प्रेम, मानवता प्रेम, व्यङ्ग्य चेतना, संवेदनशीलता, आदर्शवाद, प्रतीकात्मकता, बिम्बको थोरै प्रयोग आदि जस्ता विषयवस्तु र प्रवृत्तिलाई अँगालेको पाइन्छ। उनका कविता वर्तमानकालीन युवापुस्ताको प्रतिनिधिमूलक हुन्, किनारका आवाज हुन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।