17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ओ हेन्सम !

लघुकथा ईगम खालिङ September 15, 2023, 11:42 am
ईगम खालिङ
ईगम खालिङ

सफा लुगा लगाएर, आफूलाई चिटिक्क बनाएर सोनाम घरबाट अफिसका निम्ति निस्कन्छ । बाहिर एकछिन केही सोचेको जस्तो गरिसकेपछि ऊ फेरि एकपल्ट भित्र पस्छ र ऐनाअगाडि ठिङ्ग उभ्छ र मुसुक्क मुस्कुराउँदै भन्छ, “सोनाम ! तँ साँच्चै हेन्सम छस् ।” त्यसपछि सरासर आफ्नो गन्तव्यतिर लाग्छ ।

बेलुकी अफिसबाट घर फर्किँदा सोनाम आफ्नो एकजना घनिष्ठ सहकर्मीसित एउटा कफी-क्याफेमा पस्छ । कफी पिउँदै बात गरिरहेको बेलामा उसको सहकर्मीले उसलाई एउटा कुरा सोधूँ भनेर अनुमति माग्छ । उसले मुस्कुराउँदै सोध्ने अनुमति दिन्छ । सहकर्मी अभिप्रेत सहजता झल्काउँदै बोल्न थाल्छ, “म के देख्छु भने नि, तैले सधैँ ऐनामा तँ हेन्सम छस् भनेर आफैँलाई भन्छस् ! किन ? आज त मैले पनि घरमा ऐनाअगाडि तैले जस्तै भनिपठाएछु, मेरी श्रीमती कम्ति हाँसेकी होइनन्—त्यो पनि भुँडी मिचिमिचि । आज घर जान पनि डर लागिरहेको छ !” सोनामले मुख बनाउँदै भन्छ, “नडरा, तँ त पहिलेदेखि नै अति हेन्सम छस्, म पनि अलिअलि बन्दै-जाँदै छु !”

भोलिपल्ट अफिस जाने समय भइसकेको हुन्छ तर सोनाम यताउता गरेर टोलाइरहन्छ । श्रीमतीले अघिदेखि उसलाई नै याद गरिरहेकी थिइन् । श्रीमतीले टेबल सफा गरेझैँ गरेर उसलाई सोध्छिन्, “ओ हेन्सम ! आज अफिस नजाने ?” केही बेर मौन बसिसकेपछि उसले डराउँदै श्रीमतीलाई भन्छ, “औ ! म जागिरबाट राजीनामा दिऊँ भनेको !” राजीनामाको कुरा सुन्नेबित्तिकै श्रीमती उसका सारा कुरा मस्तिष्कमा नै डिलिट हुनेगरी कराउछिन् । त्यसपछि ऊ हतारिँदै तयार भएर अफिसका निम्ति निस्कन्छ र कुनै एउटा ह्याङ भएको मोबाइल फोनजस्तो भएर अफिस पुग्छ ।

अफिसमा फेरि त्यही हेराइ अनि त्यही पर्खाइ—नयन जुझ्नसाथ सोनाम अतालिँदै आफ्नो केबिनमा पस्छ । चिसो पसिना एउटा सेतो रुमालले पुछिसकेपछि मनमनमा आफैँलाई भन्छ, “यसरी अफिसमा काम गर्न सकिँदैन, अब कसै न कसैलाई त डिलिट गर्नैपर्छ । यहाँ म नै डिलिट हुलाजस्तो भइसकेँ । आज श्रीमतीले केही भन्न पाउनेछैनन् । सायद मलाई खोजिरहनेछिन् !”

बेलुकी त्यही क्याफेमा कफी पिउँदै बात गरिरहेको बेलामा सोनामको सहकर्मीले बातै-बातको बिचमा लामो सास तानेर भन्छ, “भो, अब त्यो कुरा डिलिट गरिदे !” “बरु तैले पो म हेन्सम छु भन्न छोडी दे न !” भन्दै सोनामले फेरि भन्छ, “कसरी डिलिट गरूँ, त्यो हेराइमा डिलिट नै हुन नसक्ने कुराहरू छन् । उसले त्यसरी हेरिरहन्छिन् कि म त्यो हेराइभित्रभित्र थाहा नपाई हराइपठाउँछु । एकपल्ट डुबिसकेपछि कति कुरालाई निकाल्न सकिन्न ।”

अर्को दिन पनि अफिसमा फेरि त्यही हेराइ । सोनामले आफ्नो काममा राम्ररी ध्यान दिनैसक्दैन । एउटा ड्राफ्ट तयार पार्न पनि उसलाई दिनभरि लाग्छ । ड्राफ्टमा भएका शब्दहरूभन्दा धेरै उसले डिलिट र इडिट गर्दछ ।

सोनामको बोस केबिनमा नै आएर रिसाउँदै सोनामको अघि त्यो ड्राफ्ट फ्याँक्दै कराउँछन्, “सोनाम ! तिमीलाई के भइरहेको छ, यस्तो हुन्छ ‘ड्राफ्ट’ ?” सोनाम फेरि कम्प्युटरमा बस्छ र त्यो ड्राफ्टको फाइल खोलेर त्यहाँ लेखेका सबै शब्दहरू डिलिट गरिदिन्छ । त्यसपछि फाइल पनि डिलिट गरिदिन्छ ।

घरमा आएर पनि सोनामलाई पूर्ण शान्ति लाग्दैन किनकि त्यो फाइल अझैपनि रिसाइकल-बिनमा थियो साथै हार्डडिस्कमा पनि । फेरि एकछिनपछि मनमनमा सोच्छ र शान्त अनुभव गर्दै सोनामले आफैँलाई भन्छ, “ड्राफ्ट पनि कविता बन्न थालेको छ—यसपालिचाहिँ कम्प्युटरको हार्डडिस्क नै नष्ट गर्नुपर्ला जस्तो छ ।”

“ओ हेन्सम ! चिया तयार भयो ।” भन्ने आवाज भान्साकोठाबाट आउँदा सोनाम एकपल्ट झसङ्ग भएर तर्सिन्छ । ‘थ्रि इडियट्स’ फिल्ममा जस्तो “अल इज वेल ! अल इज रियल्ली वेल !” भन्दै आफैँलाई सान्त्वना दिँदै भान्साकोठातिर लाग्छ ।

संसार भुलेर मात्रै त्यो हेराइमा मस्त डुबिरहेको बेलामा “ओ हेन्सम !” भन्ने तिखो आवाज सुन्नसाथ सोनाम झसङ्ग भएर बिउँझन्छ । त्यो त सपना पो रहेछ भन्ने थाहा पाएपछि छात्तीबाहिर निस्किलाजस्तो गरेर ढुकढुक्याइरहेको मुटु बिस्तारो शान्त हुँदै जान्छ । त्यसरी बिउँझेर निकैबेर घोरिएर बसिसकेपछि एकपल्ट आफैँलाई भनिपठाउँछ—“मारेरै छाड्छ क्या हो !” त्यसपछि उसलाई पटक्क निद्रा लाग्दैन ।

बिहानीपख सोनामको मोबाइल फोनमा मेसेजको रिङटोन टूँ-टूँ गरेर बज्छ । त्यही सहकर्मीले पठाएको मेसेज रहेछ । मेसेजमा लेखेको रहेछ—“ओ हेन्सम ! कविता अफिस फर्की आइन् ।” त्यो मेसेज पढिसकेपछि उसलाई खलखल पसिना आउँछ ।

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।