18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उसको एउटा रात

कथा नारायण मरासिनी September 8, 2023, 11:34 pm
नारायण मरासिनी
नारायण मरासिनी

उसले सन् २००५–०६ तिर पहिलोपटक मोबाइल फोन किनेको थियो । सन् २०११–०१२ देखि फेसबुक आई.डी. बनाएर फेसबुकमा जोडियो । आफैलाई त आई. डी. बनाउन आउँदैनथ्यो, स्कुल पढ्दै गरेको भतिजाले बनाइदिएको थियो । फेसबुक आई.डी. बनाएपछि उसले साथीहरु बनाउन सुरु गर्‍यो । साथी बन्न पाऊँ भनी आएका अनुरोधहरुलाई एसेप्ट गर्‍यो । चार–पाँच वर्षकै अन्तरालमा पाँच हजार साथी पुगेपछि उसले अर्को आई.डी. खोल्यो र त्यसमा पनि पैँचालिस सय जति साथी पुर्‍यायो । म्यासेन्जर पनि लाइट र अर्को गरी दुवै थरी खोलेर प्रयोग गरेको थियो । नियमित रुपमा दुवै म्यासेन्जरतिरका सूचनाहरु हेर्थ्यो ।
मोबाइल किनेर मोबाइलमा समय बिताउनुभन्दा पहिले उसले नियमित रुपमा दैनिक र साप्ताहिक पत्रिकाका हार्ड कपी पढ्ने गरेको थियो । पत्रपत्रिका पढ्दा उसलाई आनन्द आउँथ्यो । र तिनबाट उसले धेरै ज्ञान हासिल गरेको पनि थियो । ती पत्रपत्रिकामा प्रकाशित समाचारका साथै साहित्यिक पाना र वैचारिक लेखहरु नछुटाईकन पढ्ने गरेको थियो । मासिक र त्रैमासिक साहित्यिक पत्रिकाहरु किनेरै पढ्थ्यो । पहिले पहिले बजारमा कुनै नयाँ पुस्तक आयो कि किनेर घरमा ल्याइहाल्थ्यो, फुर्सद भयो कि उक्त किताब लिएर पढ्न बस्थ्यो ।
पछिल्ला वर्षहरुमा भने पत्रपत्रिकाका हार्ड कपीभन्दा बढी तिनैका अनलाइन संस्करणहरु मोबाइलमा पढ्न थालेको थियो । अनलाइनमा अन्य पत्रिकाहरुका तुलनामा समकालीन साहित्य डट कम, साहित्यपोस्ट, नेपाली साहित्य घर प्रा.लि., फित्कौलीलगायतका साहित्यिकबाहेक कान्तिपुर, रातोपाटी, नयाँ पत्रिका, अनलाइन खबरलगायतका समाचारमूलक पत्रिकाहरु बढी हेर्थ्यो ऊ । पहिलेका तुलनामा पत्रपत्रिकाहरु निकै कम मात्रामा किन्न थाल्यो । ठुलाठुला किताबहरु पढ्ने समय मोबाइलमा बित्दै गएपछि किताबहरु पनि निकै कम किन्न थाल्यो । दिनको अधिकांश समय मोबाइलमै बिताउने गरेको थियो । मोबाइलमा व्यस्त हुन थालेपछि उसले अरुतिर त्यति समय दिन भ्याउँदैनथ्यो । काममा जान नपरेको समयमा अथवा बिदाका दिनमा उसले मोबाइल हेरेर पूरै दिन पनि बिताइदिन सक्थ्यो ।
मोबाइलमा क्यान्डिक्रस डाउनलोड गरेको थियो । क्यान्डिक्रस मात्रै खेलिरहँदा बोर भएपछि उसले कलब्रेक डाउनलोड गरेको थियो । कलब्रेकका साथमा उसले म्यारिज डाउनलोड गर्‍यो । क्यान्डिक्रस खेलेर थाक्यो भने कलब्रेक खेल्थ्यो । कलब्रेक खेल्दा थाक्यो भने म्यारिज खेल्थ्यो । म्यारिजपछि पुनः क्यान्डिक्रस अनि फेरि कलब्रेक । उसलाई पब्जी पनि डाउनलोड गरेर खेल्न मन लागेको थियो तर उसले के सोच्यो भने पब्जी भन्ने खेल ससाना केटाकेटीका लागि मात्र हो । कहिलेकाहीँ चेस खेल्थ्यो । मोबाइलका गेमहरुमा ऊ अभ्यस्त बन्दै गयो । फुर्सदको समय ऊ मोबाइलमै गेम खेलेर बस्थ्यो । अझ भनौं, मोबाइलबिना ऊ स्थिर रुपमा बस्नै नसक्ने भएको थियो । मोबाइल खेलाउने लत यसरी बस्यो कि उसले त्यो लत छुटाउनै सकेन ।
सधैंजस्तै आज पनि ऊ कामबाट कोठामा आयो । साँझको छ बजे आइपुगेको थियो । दिनभरि कामले थाकेको हुँदा एकैछिन भए पनि फेसबुक हेर्ने उद्देश्यले मोबाइलमा बस्यो । यद्यपि दिउँसो घरिघरि कामको समयमा पनि फुर्सद निकालेर मोबाइलमा समय चाहिँ दिएकै थियो । फेसबुकका गतिविधिमा घन्टा–घन्टामै अपडेट थियो । अहिले पनि उसले फेसबुकमा विभिन्न साथीहरुका स्टाटस हेर्‍यो । पोस्ट भएर आएका फोटाहरु हे¥यो । लाइक गर्नुपर्ने ठाउँमा लाइक गर्‍यो । कमेन्ट गर्नुपर्ने स्टाटसहरुमा कमेन्ट गर्‍यो । कतै बधाई लेख्यो, कतै शुभकामना लेख्यो, कतै शुभयात्रा लेख्यो र कतै हार्दिक समवेदना तथा श्रद्धाञ्जलिका पदावलीहरु पनि लेख्यो ।
फेसबुकमा उसका एउटा बुढा साथी थिए । अन्दाजी असी वर्षको उमेरका ती बुढा र ऊ असाध्यै मिल्थे । बुढासँग उसको विचार पनि मिल्थ्यो । दुवै एउटै पार्टीका थिए तर भौगोलिक हिसाबमा भने उनीहरुको बसोबास टाढा–टाढा थियो । बुढाको बसोबास मधेसमा र उसको चाहिँ पहाडमा । बुढाका चार छोरा र तिन छोरी थिए । सबैको बिहेबारी र तिनीहरुका जायजन्म पनि भइसकेका थिए । केही नातिनातिनाको समेत बिहे भइसकेको थियो । ज्वाइँ, नातिनातिना गरी लगभग पैँतिस–चालिस जना बुढासँग सम्बन्धित थिए । तिनीहरुमा कहिले कसको जन्मदिन, कहिले कोही विदेश भ्रमणमा गएको अवस्था, कहिले कसैले प्रमोसन पाएको, कहिले कोही बिरामी भएको, कहिले कुनै नाति वा नातिनाको पास्नी आदिइत्यादि जेमा पनि केही न केही लेखेर फोटोसहित बुढाले पोस्ट गरिहाल्थे । बुढाले छिमेकी तथा चिनजानका मान्छे जसका बारेमा पनि केही न केही लेखेर पोस्ट गर्थे । चौबिस घन्टाकै अन्तरालमा पनि चार–पाँचवटा पोस्ट राखेका हुन्थे । कुनै कुनै समयमा अलिअलि शायरीका टुक्राटाक्री लेख्थे र त्यसलाई पनि पोस्ट गर्न बिर्संदैनथे ।
बुढाकी एउटी नातिनी बच्चा पाउनेवाला रै’छन् । अर्थात् तिनको पेटमा गर्भ बसेको रहेको छ । ती नातिनीले बडेमानको पेट देखाएर फोटो खिची पोस्ट गरेकी । नातिनीज्वाइँले नातिनीको पछाडिपट्टि बसेर उक्त घैँटे पेटलाई दाहिने हातले टेको दिएको र स्टाटसमा चाहिँ ‘बेबीसावर’ भनी लेखिएको । फोटामा नातिनीका वरिपरि अरु केही मान्छेहरु पनि थिए । सायद्, ती सबै नातिनीकै घरपरिवारका मान्छे अथवा इष्टमित्र हुँदा हुन् ! बुढाले नातिनीको त्यो पोस्ट शेयर गरेका रहेछन् । बुढाकी नातिनीको पेट प्रदर्शन गरिएको फोटो देख्दा उसलाई हाँसो उठ्यो । एक छिन त भित्रैदेखि हाँस्यो ऊ । बुढाका पोस्टमा उसले लाइक मात्रै गरेको बुढालाई चित्त बुझ्दैनथ्यो । ‘केही न केही त कमेन्ट गर्नुस् न सर !’ भनेर बुढाले उसको म्यासेज बक्समा लेखिपठाउँथे । बुढा सरकारी जागिर सकेर रिटायर जीवन बिताउँदै गरेका व्यक्ति थिए । बुढेसकालको उमेर, खासै काम थिएन, फुर्सदिला थिए तर उसले भने काममा नियमित जोतिएर श्रीमती र छोरो पाल्नुर्थ्यो । सबैका सबै पोस्टमा कमेन्ट गर्न पनि भ्याउँदैनथ्यो । फेरि एक दिनमै बुढाका चार–पाँचवटा पोस्ट सबैमा कमेन्ट गरिसाध्य पनि थिएन ।
श्रीमतीले खाना खान बोलाउँदा उसले डेढ–दुई घन्टा जतिको समय मोबाइलमा फेसबुक चलाएरै बिताइसकेको थियो । श्रीमतीले बनाएर पस्किदिएको खाना खायो । कोठामा वाईफाई जोडेपछि उसले टेलिभिजनमा रिचार्ज गर्न छोडेको थियो । अर्थात् उसले टेलिभिजन हेर्नै छोडेको थियो । फेरि बिस्तारामै आएर पल्ट्यो । दुईवटा सिरानी खप्ट्याएर टाउको अलि ठाडो पार्‍यो र पुनः मोबाइलकै स्विच अन गर्‍यो । टिकटक हेर्न मन लाग्यो । केही समय टिकटक हेर्‍यो । बेलुका साढे नौ बजेसम्मको समय उसले टिकटकलाई दियो ।
कति हेर्नु टिकटक पनि, टिकटक हेर्दाहेर्दा थाकेपछि उसले केही समय क्यान्डिक्रस खेल्ने विचार गर्‍यो । क्यान्डिक्रस सुरु गर्‍यो । सुरुबाट चालिस लेवल पुर्‍याउँदा रातको बाह्र बज्यो । आधा रात बितिसकेकाले अब ऊ त्यसभन्दा अगाडिको लेवल खेलुँ कि नखेलुँ भन्ने दोधारमा पर्‍यो । मनमा अब त सुत्नुपर्छ कि भन्ने सोच ल्यायो । मोबाइल पनि निकै तातेको रहेछ । स्विच अफ गरेर खाटमुनि राख्यो । निदाउने कोसिस गर्‍यो तर सकेन । निद्रै परेन ।
सुत्दासुत्दै केके सोच्यो, निद्रा नलागेर छटपटाइरहनुको सट्टा फेरि दुईचार गेम भए पनि कलब्रेक खेल्न मन लाग्यो । खाटमुनिबाट मोबाइल झिक्यो र कलब्रेकमा हात बोल्न थाल्यो । चारपटकसम्म माइनसमा गयो । हात बढी–बढी बोलेको हुँदा पाँचौंपटक पनि हार्‍यो । कम्तीमा एक गेम त जसरी पनि जितिछाड्छु भन्ने अठोट लियो । र खेलिरह्यो । खेल्दै जाँदा छैटौंपटकको गेम जित्यो ।
एकपटक जित हासिल गरेपछि फेरि उसको मनमा अर्को जित हासिल गर्ने रहर पलायो । कलब्रेकलाई नै निरन्तरता दिन थाल्यो । सिङ्गल जित होइन अब बिस हात पुर्‍याएर डबल जित हासिल गर्ने लक्ष्य लियो । तिनपटकको प्रयासमा डबल जित पनि हासिल गर्‍यो । रात निकै बितेजस्तो लाग्यो । मोबाइलमै समय हेर्‍यो । रातको साढे एक बजेको रहेछ । निद्रा पटक्कै लागेन । कलब्रेक खेल्दा पनि वाक्क भइसकेको थियो । कति खेल्नु कलब्रेक मात्रै !
आँखा मोबाइलको प्रकाशमा धेरै समयसम्म परेकाले हो कि कुन्नि ! आँसु भरिएछ । आँखा बिझाएको महसुस गर्‍यो । यही बेला पिसाब लाग्लाजस्तो पनि भयो । उठेर वाथरुममा पस्यो । पिसाब फेर्‍यो । चारपाँच पटकसम्म दुवै आँखामा पानीले छ्यापछ्याप पार्‍यो । मुख धोयो । केही फ्रेस भएजस्तो लाग्यो । फेरि आएर बिस्तारामै पल्ट्यो ।
निद्रा आउने कुनै नामोनिसान थिएन । अब उसले एकदुई हात म्यारिज खेल्ने विचार गर्‍यो । म्यारिज सुरु गर्नुभन्दा पहिले फेसबुक र म्यासेन्जरको भित्तातिर आँखा डुलायो । केही समय फेसबुकका पोस्ट र म्यासेन्जरमा आएका नयाँ सूचनालाई दिएपछि मात्रै उसले म्यारिज सुरु गर्‍यो ।
उसलाई मोबाइल चलाएर बस्न सजिलो किन पनि थियो भने श्रीमती र छोरो पल्लो कोठामा सुत्थे । उसलाई कोहीकसैबाट डिस्टर्व थिएन र उसलाई रातभरि अनिदो बसेर मोबाइलमा झुम्मिइस् भनी गाली गर्ने पनि कोही थिएनन् । ऊ यति बेला स्वतन्त्र थियो । जे गर्थ्यो आफ्नै खुसीले गर्थ्यो ।
गेमहरु क्रमशः जित्दै जाँदा ऊ हौसिन थाल्यो । अब अर्को गेम जित्छु, अब एउटा गेम जितेर सुत्छु भन्दै जाँदा उसले म्यारिजमा पनि एक घन्टा जतिको समय बितायो अर्थात् रातको साढे दुई बजेसम्म उसले म्यारिजलाई समय दियो ।
अब पनि सुतिएन भने त भोलि काममा जान सकिँदैन भन्ने निष्कर्ष निकाल्यो । अनिदो भएपछि काम गर्न पनि कठिनाइ पर्ने सम्झ्यो । काम गर्ने क्रममै निद्राले झुपुझुपु पार्‍यो भने अरुले पक्कै पनि नराम्रो दृष्टिले हेर्छन् भन्ने उसलाई लाग्यो । मोबाइल थन्क्यायो, चस्मा पनि मोबाइलसँग राख्यो र सुत्यो । निदाउनका लागि बल गर्‍यो तर जति नै बल गर्दा पनि निद्रा आएन ।
मनमा नानाथरी कुराहरु आए तर निद्रा आएन । उसको विचारमा यही मोबाइलको प्रकाशका कारण आँखा कमजोर भएका थिए । परारैदेखि हो आँखा जँचाएर चस्मा लगाएको । आफ्ना बाबुले चाहिँ असी वर्षको उमेरमा पनि चस्मा नलगाई पात्राका मसिना अक्षरहरुसमेत सजिलै फुटाल्थे । आफू चाहिँ पचास वर्ष पनि नपुग्दै चस्मा भिर्नुपर्ने, उसलाई आफ्नो आँखा बिगार्ने मोबाइलप्रति रिस उठ्यो । फेरि के सोच्यो कुन्नि ! साधनको सदुपयोग गर्न नजानेकामा आफैलाई धिकार्‍यो । चस्मा नलगाईकन त अचेल ऊ मोबाइलका अक्षर मात्र होइन, पुस्तक तथा पत्रपत्रिकाका अक्षर पढ्न पनि सक्दैनथ्यो ।
सोच्यो, अहिलेको समय नै सूचना प्रविधिको छ । पछि पर्नु त भएन नि ! उसलाई लाग्यो, समयअनुसार त चल्नैपर्छ नत्र पछि परिन्छ । अहिले त ससाना केटाकेटी पनि यही प्रविधिका कारण टाठाबाठा भएका छन् । यद्यपि मानिस मोबाइल, ल्यापटपमा मात्रै समय दिएर असामाजिक बन्दै गएकामा भने ऊ चिन्तित भयो ।
सूचना प्रविधिका कुराहरु खेलाउँदै जाँदा मनमनै उसले सूचनाको साम्राज्यप्रति घृणा ओकल्यो । साम्राज्यवादीहरुले सूचना प्रविधिका माध्यमबाट अर्काको दिमाग भुटेकामा ऊ आक्रोशित भयो । निर्धन राष्ट्रहरुमाथि सूचना प्रविधिका नाममा गरिएको आर्थिक शोषणका विरुद्धमा ऊ भित्रभित्रै मुर्मुरियो । उसलाई अर्काको मौलिक संस्कृति तहसनहस पार्ने सांस्कृतिक हस्तक्षेपका विरुद्धमा रिस उठ्यो । उसको मनभित्र आक्रोश मडारिने क्रममा बहुराष्ट्रिय कम्पनी पनि आयो । बहुराष्ट्रिय कम्पनीको उत्पादन कोकाकोलाका बोत्तलहरु आएर दिमागमा नाच्न थाले ।
कोक, फेन्टाजस्ता पेय स्वास्थ्यका दृष्टिले राम्रा नभएको हुँदा र तिनीहरुमा गरिने खर्च सोझै विदेशीहरुको पोल्टामा पर्ने भएकाले उसले बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु भरसक उपभोग नगर्ने विचार गर्‍यो । एकपटक घरमा ज्वाइँ आएको सम्झ्यो । ज्वाइँलाई उसले कागती निचोरेर केही मात्रामा चिनी घोली सर्वत दिएको थियो । सर्वतको महत्वका बारेमा ज्वाइँसामु दुईचार कुरा पनि गर्‍यो । पिउन त ज्वाइँले सर्वत पिए तर नाक खुम्च्याई–खुम्च्याई पिए । मन नपराई–नपराई बडो मुस्किलले पिए । उसलाई लाग्यो– कोक, फेन्टा पिउने बानी परेको मुखले सर्वत पानी किन रुचाउँथ्यो !
मनमा कुरा मात्रै आए । निद्रा आएन । पारिपट्टि मूल सडकमा गाडीले हर्न बजाएको सुन्यो । मनमनै भन्यो– कतै उज्यालो हुने बेला त भएन ! उसलाई एकपटक कति बजेछ भनी हेर्न मन लाग्यो । यसपटक भने उसले खाटमुनिबाट झिकी मोबाइलको स्विच अन गरेर समय हेर्न चाहेन । हातमै बाँधेको नाडी घडी हेर्‍यो । सवा तिन बजेको रहेछ ।
डेढ–दुई घन्टा भए पनि निदाउन सकिन्छ कि भनेर कोल्टे फेर्‍यो । आँखा चिम्ल्यो । दुवै आँखा बन्द गरेर सुत्दा पनि भएन । दिमागलाई एकोहोर्‍याउन सके निदाइन्छ कि भन्ने ठानेर उसले एक, दुई, तिन, चार भन्दै सयसम्म गन्यो । फेरि सयबाट उनान्सय, अन्ठानब्बे, सन्तानब्बे, छयानब्बे भन्दै एकसम्म गनिल्यायो । यसो गर्दा पनि भएन । बिहान उठेदेखि अहिलेसम्म आफूले गरेका क्रियाकलापहरु क्रमशः सम्झँदै जाँदा दिमाग लट्ठ पर्छ र निदाइन्छ भन्ने ठानेर दिनभरिका गतिविधिहरु सम्झने प्रयत्न गर्‍यो । अहँ, यसो गर्दा पनि भएन । यसो गर्दा पनि हुँदैन, उसो गर्दा पनि हुँदैन । छटपटाउँदै गर्दा अघि साम्राज्यवादप्रति रिसाएको मनलाई फेरि विस्तारवाद आएर चिथोर्न थाल्यो । अर्काको आर्थिक, भौगोलिक तथा सांस्कृतिक क्षेत्रमा हस्तक्षेप गरी आफ्नो स्वार्थ पूरा गर्ने विस्तारवादीहरुप्रति पनि उसलाई रिस उठ्यो ।
भर्खरै साउनको महिना सकिएको थियो । चुराका कम्पनी तथा चुरा व्यापारीहरुले हरिया चुराको व्यापार गरेको सम्झ्यो । हरिया पोते, हरिया साडी र हरियै ब्लाउजहरुले बजार लिएको सम्झ्यो । अर्काको देशलाई समृद्ध बनाउनका लागि उपभोग गर्ने आफ्ना दिदीबहिनीहरुको यस्तो पहिरन देख्दा उसलाई टीठ लाग्यो । आफ्नो देशमा खिप, सियो, चुरा केही पनि उत्पादन हुन नसकेकामा चिन्तित भयो । बोलबममा छिमेकी राष्ट्रका नागरिकहरुसँगै आफ्ना दाजुभाइ पनि सडकमा नाच्दै हिँडेको दृश्य उसको मानसपटमा आयो । यस किसिमको आयातित संस्कृतिलाई महत्व दिइएकामा उसलाई भित्रैदेखि पोल्यो ।
सम्झने मन न हो । मनले धेरै कुराहरु सम्झ्यो । सम्झने क्रममा उसले विगतमा आफ्नै देशमा भएको कपडा उद्योग सम्झ्यो । अहिले त्यस उद्योगको दुर्दशाको चित्र दिमागमा आउँदा उसलाई राज्यका शासकहरुप्रति रिस उठ्यो । छालाजुत्ताको कारखाना सम्झ्यो, कागज कारखाना सम्झ्यो, चुरोट कारखाना सम्झ्यो, सिमेन्ट कारखाना पनि सम्झ्यो । आज परनिर्भर भएर बाँच्नुपर्दाको पीडाले रन्थनियो ऊ । उसलाई आफ्ना नेताहरु असल नियतका नभएजस्तो लाग्यो । आफ्नो मौलिक संस्कृतिमाथि विदेशीले धावा बोल्दा पनि राज्यले प्रतिवाद गर्न नसकेको जस्तो लाग्यो । उसले राज्य नै निरीह भएको महसुस गर्‍यो । राज्यले संस्कृतिसम्बन्धी आफ्नो कुनै पनि नीति बनाउन नसकेकामा शासकहरुप्रति अग्घोरै रिसायो । मनमनै भन्यो– ‘कम से कम सांस्कृतिक नीति त चाहिन्छ नि !’ नीति बनाउन नसक्ने नेताहरुप्रति पनि उसको मनमा अतिशय घृणा उब्ज्यो ।
लगभग चार बज्यो होला भन्ने अनुमान गर्‍यो । निदाउने प्रयासस्वरुप फेरि कोल्टे फेर्‍यो । दिमागलाई निष्क्रिय बनाउन खोज्यो । सकेन । अब यसै निद्रा लागेन, उसै निद्रा लागेन बरु युट्युब हेर्छु भनेर मोबाइलको स्विच अन गर्‍यो । एउटा लोक दोहोरी गीतको भिडियो हेर्‍यो । अन्य खालका भिडियोहरु पनि हेर्दै गयो । बिच बिचमा विज्ञापन आए । हरिया चुरा र हरियै साडीको विज्ञापन ! कोकाकोलाको विज्ञापन ! विदेशी गाडी र मोटरसाइकलहरुको विज्ञापन ... ... ।
अनायासै उसको मुखबाट आवाज निस्क्यो– ‘धिक्कार होस् !’
झ्यालबाट बाहिरतिर दृष्टि दियो । यति बेला भने पूर्वबाट उज्यालो खसिसकेको रहेछ ।

पोखरा– १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।