डा. सोनाम बी वाङ्ग्याल पेशागत रुपमा एकजना नाम चलेका चिकित्सक (Physician) हुन्। डाक्टरी जस्तो व्यस्त पेशामा रहेर पनि उनी अङ्ग्रेजी भाषामा कलम चलाउने एक सचेत एवं उच्च कोटिका लेखक, इतिहासका अध्येता, अन्वेषक तथा यस भेकका जनपक्षधर इतिहासकारको रुपमा पनि परिचित छन्। लगभग 38 वर्ष भारत र भुटानको सिमान्त क्षेत्र फुन्सोलिङ शहरसित संलग्न डुवर्सको जयगाउँमा रहेर आफ्नो पेशागत जीवन सँगसँगै इतिहास लेखन जस्तो कठीन कार्यमा पनि उनले आफ्नो अमूल्य समय व्यतित गरेका छन्।
उनको जन्म 1 दिसम्बर 1950 मा दार्जीलिङको घुममा भएको थियो। उनको पिताको नाम स्व. आचुङ छिरिङ लामा अनि माताको नाम स्व. चुङ्गी लामा हो। उनले सन् 1958 देखि 1966 सम्म दार्जीलिङको माउन्ट हरमन स्कुलबाट आफ्नो प्रारम्भिक एवं माध्यमिक स्तरको शिक्षा प्राप्त गरेपछि कालेवुङको डा. ग्राम्स होम स्कुलबाट सन् 1968 मा प्रथम श्रेणीमा सिनियर केम्ब्रिज स्तरको परिक्षा तीन वटा विषयमा डिस्टिङ्सन सहित उतिर्ण गरेका थिए। तत्पश्चात् कलकत्ताको प्रेसिडेन्सी कलेजबाट प्री-मेडिकल परिक्षा उतिर्ण गरी मेडिकल कलेज, कलकत्ताबाट सन् 1975 मा डाक्टरी (एम.बी.बी.एस.) पास गरे। त्यसपछि आँखाको शल्य-चिकित्सा (Eye Surgery)-मा पोस्ट-ग्र्याजुएट डिप्लोमाको अध्ययनको निम्ति एस.एस.के.एम. हस्पिटल, कलकत्तामा प्रवेश लिएका थिए तर त्यही अवधिमा माता-पिता दुवैको देहान्त भएको कारण उनले आफ्नो औपोचारिक अध्ययन जारी राख्न सकेनन्।
सन् 1982 मा उनी कलकत्तामा डा. डिकी वाङ्ग्यालसित वैवाहिक बन्धनमा बाँधिए। विवाह पछि दुई दम्पति डुवर्सको जयगाउँलाई आफ्नो कर्मभूमिको रुपमा चुनेर त्यहाँ लगभग 38 वर्ष दुवैले आफ्नो डाक्टरी पेशागत जीवन व्यतित गरे। यसै अवधिबीच डा. वाङ्ग्याल सन् 2012-13 मा दक्षिण अफ्रिकाको लेसेथोमा संयुक्त राष्ट्र विकास कार्यक्रम (United Nations Development Programme)-अन्तर्गत चिकित्सा अधिकारी तथा रेजिस्ट्ररर अफ मेडिसिन अनि सन् 2015 मा दक्षिण सुडानमा प्रथम स्तरको चिकित्सालयका प्रमुख रहेका थिए। उनको धर्मपत्नी श्रीमती डा. डिकी वाङग्याल पनि संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP)-अन्तर्गत चिकित्सा अधिकारी (Medical Officer)-को पदमा सन् 2011 मा अफ्रिकाको कोङ्गोमा अनि सन् 2012 मा दक्षिण अफ्रिकाको लेसोथोमा कार्यरत थिइन्। त्यसपछि सन् 2014 देखि 2018 सम्म उनी वेस्ट इन्डिजको त्रिनिनाड र टोबागोमा रहेर स्वदेश फर्किन्। हालमा उनी लायन्स क्लब सिलगढ़ीको बृहत आखाँ अस्पतालमा डाक्टरको रुपमा कार्यरत रहेकी छन्। वाङ्ग्याल दम्पतिका एक मात्र सन्तानको रुपमा सुपुत्री याङची डोल्मा रहेकी छन् जो पुणे विश्वविध्यालयबाट अंग्रेजीमा बी.ए. अनर्ससम्मको अध्ययन पुरा गरेपश्चात् मेलबर्न, अस्ट्रेलियाबाट सन् 2008 मा पाकशाला विज्ञान (Culinary Science)-मा एडभान्स डिप्लोमाको प्रशिक्षण लिएर सिडनी, अस्ट्रेलियामा नोकरी गर्छिन्।
डा. वाङ्ग्यालले विद्यार्थी जीवनदेखि नै कलम चलाउन थालेको जानकारी पाइन्छ। माउन्ट हर्मन स्कुल पढ्दा दार्जीलिङको रक ब्याण्ड ‘डायमण्ड’-बारे लेखिएको उनको एउटा निबन्ध जुनियर स्टेटमेन्टको आवरण पृष्ठमा प्रकाशित भएको थियो। कलकत्तामा कलेजको विद्यार्थी रहँदा साथीहरूसित मिलेर उनले एउटा द्वयभाषिक माइक्रो नामको पत्रिका पनि प्रकाशित गरेका थिए। उनका असङ्ख्य लेख-निबन्ध तथा फुटकर रचनाहरू विभिन्न अङ्ग्रेजी भाषाका पत्र-पत्रिकाहरुमा प्रकाशित हुँदै आएका छन्। उनको प्रथम प्रकाशित ऐतिहासिक कृति हो Sikkim and Darjeeling : Division and Deception (सिक्किम अनि दार्जीलिङ : विभाजन र धोका) जो सन् 2002 मा प्रकाशित भएको थियो। यस पुस्तकको समीक्षा नीरज लामाले गरेका थिए जो Dropping a bombshell ! शीर्षकमा 15 मार्च 2002 को The Statesman NB Plus मा प्रकाशित भएको थियो। दीर्घ दिनदेखि अलग राज्य गोर्खाल्याण्डको माग चलिरहेको बेला यस ऐतिहासिक पुस्तकले त्यस अभियानलाई अझ बल दिने कार्य गरेको पाइन्छ। फलस्वरूप केही वर्षमै यो पुस्तक बजारमा अनुपलब्ध भयो। तर यति लामो अवधिसम्म पनि यसको दोस्रो संस्करण प्रकाशित हुन सकेको थिएन। अब सिलगढ़ीको बुक आन्ट प्रकाशनले दोस्रो संस्करण निकाल्ने जिम्मेवारी लिएको छ भन्ने जानकारी पाइयो। यसबाहेक अहिलेसम्म उनका लगभग आधा दर्जन जति यस्तै ऐतिहासिक महत्वका कृतिहरू प्रकाशित भइसकेका छन्।
अङ्ग्रेजी भाषामा लेखिएका उनका प्रकाशित ती महत्वपूर्ण कृतिहरू हुन् :-
1) Sikkim and Darjeeling : Division and Deception (2002 – KMT Press, Bhutan.)
2) Footprints in the Himalayas : People, Places and Practices (2006 - KMT Press, Bhutan.)
3) Dooars vis-a-vis Gorkhaland (2009 – Editor and Co-writer – Dr. S.B. Wangyal)
4) Never-Ending Wait for Gorkhaland.
5) Darjeeling Stories Sahibs, Natives & Oddballs (2019)
6) Darjeeling Place Names : Meanings and History (प्रेसमा)
यसबाहेक वर्तमान उनी दुई वटा विषयमाथि शोध ग्रन्थ तयार गरिरहेका छन् 1) Mark Twain in Darjeeling (मार्क ट्वेन दार्जीलिङमा) अनि 2) From the Horse’s Mouth : Unbelievable Darjeeling (विश्वसनीय स्रोतबाट : अविश्वसनीय दार्जीलिङ)। यसबाहेक उनको एउटा पुस्तक ‘Random Essays’ (अनियमित निबन्धहरू) पनि प्रकाशोन्मुख रहेको छ।
उनका कतिपय महत्वपूर्ण लेख र फुटकर रचनाहरू इन्टरनेटको वेबसाइटहरुमा पनि उपलब्ध रहेका छन्। वेबसाइट सहित विभिन्न पत्र-पत्रिकाहरूमा उनका अहिलेसम्म लगभग चार सयभन्दा अधिक फुटकर रचनाहरू प्रकाशित भइसकेका छन्। दार्जीलिङ र डुवर्समाथि लेखिएका उनका केही रचनाहरू यस क्षेत्रका जनसाधारणमाझ निकै चर्चामा आएका थिए। तीमध्ये 1) Dooars : A Deceptive Demography, 2) A Cheerless Change : Bhutan Dooars to British Dooars, 3) Never Ending Wait for Homeland, 4) Brief Notes on Gorkhaland , 5) A History of Betrayals, 6) The Darjeeling Connection, 7) Freeing ghosts to spoil the future आदि उल्लेखनीय रहेका छन्। उनका रचनाहरू ऐतिहासिक जानकारीमुलक, रोचक र तथ्यपूर्ण हुन्छन्। The Statesman NB Plus मा उनका असंख्य लघु रचनाहरू संरक्षित सङ्कलन (Archives)-का रुपमा प्रकाशित छन्। यस पत्रिकाको उनी स्तम्भकार पनि थिए। लगभग डेढ़-दुई वर्षसम्म प्रत्येक सप्ताह उनका खोजपूर्ण लेखहरू यस पत्रिकामा प्रकाशित हुने गर्थे। यसबाहेक Himal (Kathmandu), Himalayan Times, Himalayan Observer, Flat File (Kalimpong), Tibetan World Magazine (New Delhi), Darjeeling Chronicles (Darjeeling), The Journal of Bhutan Studies (Thimpu), The Laddakh Journal (Leh), The Tibet Journal (London) जस्ता पत्र-पत्रिकाहरूमा उनका रचनाहरू प्रकाशित छन्। एक समयमा उनको नेतृत्वमा ‘डुवर्स स्टडी फोरम’-को पनि स्थापना गरिएको थियो। यस संस्थामा डुवर्सका पाँच विद्वत् सदस्यगण रहेका थिए - जयगाउँबाट डा. सोनाम बी वाङग्याल अनि शङ्करनाथ प्रधान, बीरपाडाबाट स्व. कितापसिंह राई अनि इन्द्रबहादुर राई र मदारीहाटबाट बुद्धिमान योञ्जन। डुवर्स स्टडी फोरमको तर्फबाट डा. सोनाम बी वाङग्यालको संयोजन, सहलेखन र सम्पादनमा सन् 2009 मा डुवर्सबारे ऐतिहासिक तथ्यसहित विविध विषयका खोजपूर्ण पुस्तक ‘Dooars vis-à-vis Gorkhaland‘ प्रकाशित भएको थियो। यसको नेपाली अनुवाद ‘डुवर्स बनाम गोर्खाल्याण्ड’, बीरपाडा उच्चतर माध्यमिक विध्यालयका भूतपूर्व प्रधान अध्यापक डुवर्सका इन्द्रबहादुर राईले गरेका थिए जो सन् 2010 मा प्रकाशित भएको थियो। डुवर्सलाई बुझ्न चाहने पाठकहरूका निम्ति यस पुस्तकले एउटा दस्तावेजको काम गरेको छ।
मृदु भाषी एवं विनम्र स्वभावका डा. वाङ्ग्याल सामाजिक तथा जनसेवाका कार्यहरूमा पनि संलग्न रहँदै आएका छन्। सन् 1985-86 मा उनी लायन्स क्लब, जयगाउँका प्रमुख संस्थापक उपाध्यक्ष अनि अध्यक्ष रहेका थिए। उनी भारतको पूर्वाञ्चल क्षेत्रका सात राज्यहरुका निम्ति प्रतिनिधिका रुपमा लायन्स अन्तर्राष्ट्रिय स्तरका जनसम्पर्क अधिकारी पनि रहेका थिए। त्यही अवधिमा उनले एउटा निर्देशिका Lions Clubs International District Directory (1995-96) पनि प्रकाशित गराएका थिए। सन् 1971 मा कलकत्ताको मेडिकल कलेजको अध्ययनकालमा उनी पार्वत्य विद्यार्थी सङ्गठनका अध्यक्ष थिए। सन् 1984 मा जयगाउँ युथ स्पोर्टिङ् क्लबका अध्यक्ष, सन् 2020 मा वालुङ भुटिया कल्याण सङ्गठन, दार्जीलिङका उपाध्यक्ष अनि सन् 2021-23 मा मोनार्क रेजिडेन्ट्स सोसाइटी, दागापुर, सिलगढीका अध्यक्ष रहेका छन्। यसका अतिरिक्त, विभिन्न स्थानमा आयोजित राज्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनारहरुमा उनले यस भेकको इतिहास विषय लेखिएका आफ्ना अनेकौं शोध-पत्र तथा कार्यपत्रहरू प्रस्तुत गरेका छन्।
सन् 2019 देखि उनी सपरिवार सिलगढीको ज्ञानज्योति मोड़को निकट पिन्टेल भिलेजमा एउटा फ्ल्याट लिएर रहन थालेका छन्। उनले सिक्किम, दार्जीलिङ, तराई र डुवर्स क्षेत्रको इतिहास सँगसँगै नेपाली भाषी भारतीय गोर्खाहरूसहित स्थानीय जातिहरूको अस्तित्व, जातीय अस्मिता, भाषा-संस्कृतिको आधार, चिन्हारी आदिको वकालत गर्दै अनेपाली भाषीहरूलाई बुझाउन अङ्ग्रेजी भाषामा जति कलम चलाएका छन् त्यो अति नै सराहनीय रहेको छ। इतिहास जस्तो गाह्रो विषयमा उच्च स्तरको कुनै औपचारिक शिक्षा नलिइकन स्व-अध्ययन र अनुभवको आधारमा कलम चलाउनु निश्चय नै कुनै लरतरो कुरा होइन। गोर्खा जाति र समाजको निम्ति उनले पुर्याएको योगदानको कदर गर्दै डुवर्स नेपाली साहित्य विकास समिति र मखमली समाज, बानरहाटको तत्वाधानमा आयोजित भाषा दिवस तथा भानु स्मृति दिवसको उपलक्ष्यमा एउटा भव्य समारोहबीच उनलाई ‘प्रथम डुवर्स गौरव सम्मान - 2023’ द्वारा सम्मान जनाइयो। बाग्राकोट डुवर्सकी समाजसेवी स्व. कृष्णमाया श्रेष्ठको नाममा परिवारपक्षबाट राखिएको यो प्रथम सम्मान हो। यस भेकका इतिहासकारका रुपमा डा. सोनाम बी. वाङ्ग्याललाई यसरी सम्मान गर्न पाउँदा डुवर्सवासी स्वयं गौरवान्वित बनेका छन्। निकट भविष्यमा डा. वाङ्ग्यालबाट अझ धेरै महत्वपूर्ण कृतिहरूको सिर्जना हुन सकोस् हाम्रो यही शुभकामना छ। हामी सबैले गर्व गर्नु पर्ने उनी हाम्रा गौरव हुन्। उनी हाम्रो समाजकै एक विराट व्यक्तित्व तथा महान हस्ती हुन् भन्दा अवश्य अतिशयोक्ति नहोला।
बाग्राकोट (डुवर्स)