हिजोअस्ति
म हिँडिरहेका बादल हेर्थेँ ।
ती बादलमा अनेक किसिमका आकार भेट्थेँ ।
ती आकारले एकदम मूर्त रूप लिन्थे --
कहिले विशाल हात्ती बनी हिँड्थे
त कहिले राक्षस भएर भिड्थे ।
उनीहरूको घेरामा म जेजे खोज्थेँ
उनीहरु सजिलै त्यैत्यै बन्थे ।
म उनीहरुमा सधैँ संलग्न हुन्थेँ,
त्यसैले उनीहरुको वशमा हुन्थेँ ।
कहिले उनीहरुले तर्साइदिन्थे
त कहिले एकदम जिल्ल्याइदिन्थे ।
ओहो ! उनीहरूमा कति शक्ति हुन्थ्यो,
छिनछिनमा थरीथरी रूप निस्कन्थ्यो ।
आकाशमा रूप लिएर ती बादल दौडेझैँ
मेरा विचारहरु पनि दौडिरहन्थे
र मनका आकाशमा बादल बनी आकृत हुन्थे ।
ती आकृतिले कहिले हँसाइदिन्थे
त कहिले ज्यादै सताइदिन्थे ।
तर आजकल ती
आकाशका
र
मन-आकाशका
दुवै बादलमा
म त्यति शक्ति पाउन्नँ
किनकि म तिनमा संलग्न हुन्नँ,
आउन त तिनीहरूलाई आइरहेको देख्छु
तर आकृति नबनाई हराइरहेको देख्छु ।