अङ्ग्रेजी भाषामा एउटा भनाइ छ, "ह्याबिट इज द सेकेण्ड नेचर इन द वर्ल्ङ ।" यस भनाइको देखासिकी गर्दै अझ के थप्नु मन लागेको छ भने, बानी पनि प्रकृति हो । ज्यू प्रत्येक मानिसको आ-आफ्नै बानी ह्रुन्छ । लागेको बानी कसले छोड़्ने ? बानीले सपार्छ पनि बिगार्छ पनि । यसबारेमा हेनतेन नभनेर बालकृष्ण समको ठुङमार्दो भनाइ यहाँ राख्ने धृष्टता गर्दछु - " बानीले रानी हुन्छ बानी बिग्रे खरानी हुन्छ ।"
एकान्तमा बस्दा, कसैसित गफ गर्दा वा कुनै समारोहको मञ्चमा अतिथिका आसनमा गजधम्म भई बस्नेहरूले आफ्नै धुनमा नाक कोट्यारहेका देखिन्छ कहिलेकाहीँ । कसैलाई के को धन्दा, के को धन्दा; घर ज्वाइँलाई खानुकै धन्दा भनेजस्तो यी नाक कोट्याउनेहरू आफ्नो धुनमा र जोशमा औंलो नाकमा घुसार्नु नै व्यस्त र मस्त देखिन्छन् । यी नाक कोट्याइरहेको एकाग्रता देख्दा आफ्नो औँली मात्रै किन मज्जा लाग्दै गएपछि पूरै मुठी नै, दाउ पऱ्यो भने खुट्टासमेत नाकका दुलामा घुसार्न बेर लाउँदैनन् । मस्त भएर संसारै बिस्री आफ्नो थ्याप्चे नाक कोट्याएको कोट्यायै गर्दा ती नाक कोट्याउऩे व्यक्तिले मेरो हात पनि तिनका नाकमा घुसारेर बेस्सरी हल्लाइदिने गर्न पनि बेर लाउँदैनन् जस्तो लाग्छ मलाई । नाक कोट्याउनु मा तिनको व्यस्तता र मस्तता देखेर म पो अलश-तलश पर्छु ।
कसैलाई वास्तै नगरी यी नाक कोट्याउनेहरूसित मेरो सहानुभूति भए पनि दाँत कोट्याउनेहरूसित भने ठ्याम्मै कम्प्रोमाइज छैन । खानपिन गरिसकेपछि सिन्के धूपको सिन्को, सलाइको सिन्को, कुचो वा खरेटोका सिन्काले दाँत कोट्याउनेहरूल दाँतबाट सिन्का निकालेर आफ्नै जीउको लगाले पुछेको दृश्य सुठीसाह्रै घिनलाग्दो देखिन्छ । अझ कतिले ता दाँत कोट्याइसकेपछि एकपल्ट सुँघेर सिन्का मिल्काएको दृश्य झन् सिकसिकलाग्दो हुन्छ ।
दाँत कोट्याउने काम एकान्तमा गर्नुपर्छ । तर दाँतको चेप-चेपमा, गल्ली-गल्लीमा भातका सिता, मासुका टुक्रा अड़्केर उखरमाउलो पाराले चिलाउन थालेपछि दाँत कोट्याउनु बानी लागेकाहरूलाई कसले सक्ने ? दाँत तिनकै, मुख तिनकै । दाँतमा सिन्का घुसारेर दाँत कोट्याउनेहरू बाहेक पनि कतिले ता खानपिन गरिसके पछि मुख आँ...गरेर दाँतका चेपमा अड़्केका कुराहरू औँलोले झिक्ने गर्छन् । फोल्डिङ दाँत (फल्स टिथ) हुनेहरूका दाँत कोट्याइको वर्णन नगर्नु नै वेश ठानेँ ।
बानीकै कुरा गर्नु हो भने ता, खानपिन सकेपछि अरुहरूका बारेमा विचारै नगरी कति ता जुठेल्नुमा गई ख्याक्...ख्याक र ख्वाक्...ख्वाक् गर्छन् । यसैकारण पहिल भान्सा र मुख चुठ्ने ठाउँको दूरत्व टाढ़ा हुने गर्दथ्यो । तर अचेल ता सबै हाराहारीमा हुन्छ । कति ता खानपिनपछि अरुको परवाह नै नगरी ढ्याउ...ढ्याउ गर्नेलाई लुतो कनाइ केही नभए पनि तिनको ढ्याउ....सुन्नेहरूका भुँड़ी नै गुँड़ुलिएर आएको मर्म ढ्याउ....गर्नले के बुझ्ने ! त्यतिमात्र होइन, कति ता बोल्दा थूक उछिट्टियाएर बोल्छन् भने कतिको चाहिँ बातैपिच्छे थुक्ने बानी हुन्छ । बानी आ-आफ्नै पाराको हुन्छ । कसैको बानीमाथि हस्तक्षेप गर्ने अधिकार हामी कसैसित छैन । बानीको ड्रग्सले मातिएकाहरूलाई केही भनिहाल्नु पनि मिल्दैन । केही भनिहाल्दा पनि "माई बडी माई विस" भनी लाजमर्दो पारिदिए ? प्रश्न त्यहाँ पनि छ ।
यसकारण यी नाक कोट्याउनेहरू वा दाँत कोट्याउनेहरूप्रति मेरो कुनै गुनासो छैन । त्यो तिनीहरूको व्यक्तिगत मामिला हो । तर आफ्नै धुनमा कसैको परवाह नै नगरी नाक वा दाँत कोट्याउनेहरूभन्दा पनि कुरा कोट्याउनेहरू देख्दा भने म बिलखवन्द पर्छु । हाम्रो समाजमा यस्ता कुरा कोट्याउनहरूको सङ्ख्या गन्न नसकिने छन् । खासमा कुरा कोट्याउनु पनि एउटा नराम्रो बानी नै हो । टाढ़ा किन जानु (?) हाम्रा नेताहरू कुरा कोट्याउनु खप्पीस देखिन्छ । कुनै जनसभामा भाषण दिँदा विशाल जनसमुदायमाझ आफ्नो पार्टीको मूल उद्देश्य वा लक्ष्यहरू वा रणनीतिबारे केही नबोलेर विपक्षीहरूको कुरा कोटयाएरै भाषण समाप्त गरेको देखिन्छ ।
सुन्नेलाई पनि त्यस्तै नकारात्मक कुरा, अर्काको बदख्वाइँ सुन्न नै मनपर्छ । तर नेताहरूलाई मात्र दोष्याउनु अन्याय हुन्छ । तपाई- म बसेको समाजमा, गाउँ-घरमा , अफिस- अड्डा अदालत चारैतिर कुरा कोट्याउनेहरू छप्छप्ती देखिन्छन् । कुरा कोट्याएर आगोमा घिउ हाल्नुमा यस्ता कुरा कोट्याउनेहरू खप्पीस र जण्डा देखिन्छन् । अर्काको चियोचर्चो गर्नु यिनीहरूलाई बानी लागेको हुन्छ । कस्को स्वास्नी कोसित लहसिइन्, वा सल्किइन्, कुन लोग्ने-स्वास्नी कटाक्ष परे आदि सम्पूर्ण खबर मनो फ्लपिमा सँगालेर राख्छन् र मौका पाउने बित्तिकै कुरा कोट्याएर उनीहरूको खोइरो खन्छन् । यो नै तिनीहरूको जीवन हो, संसार हो । यस्ता कुरा कोट्याउनेहरूलाई 'ह्यूम्यान ऱ्याडर' भनिन्छ भने कतिले यिनीहरूलाई 'कान्तिपुर दैनिक' वा 'न्यूज पेपर' भनेको पनि सुनिन्छ । एकदिन कसैको कुरा कोट्याउन पाएन भने यिनीहरू बिसञ्चो हुन्छन् । यसकारण, कुराको हे़डलाइन मात्र सुनाएर दैनिक खुराक टार्ने गर्छन् ।
सबैले जानेकै कुरा हो; बुझिराकै कुरो हो, हाम्रो राजनीतिको घड़ेरी भकिम्लोको काठजस्तै भइसकेको छ । अहिलेसम्म हाम्रो राजनीति तङ्ग्रिनु सक्या छैन । उखेलेको मूलाजस्तै अफालिएको छ । ओइलिएको बन्दकोपीजस्तो ओइलिन-ओइलिन थाल्छ कहिलेकाहीँ । ओइलिनु-ओइलिनु लाग्दा निखार-पखार जोशले पानी छ्याप्दा फेरि यो हरियै हुन्छ । कहिले भुलुक्कै उम्लिन्छ; कहिले वा हिउँजस्तै सेलाउँछ । कहिले जुर्मुराएर संसारै थर्काउँछ फेरि कहिले स्याप्पै सुकेर नामोनिशान हराउँछ । मरञ्च्याँसे, फुकिढल हाम्रो राजनीतिलाई न ता कसैको आँखा लागेको छ, न ता देवी-देवताकै श्राप परेको छ । हाम्रो राजनीतिको दशा-ग्रह ब्रिगेको पनि होइन । तर आपसी मतभेद, हानाहान-तानातान, लछार-पछारका नङ्ग्राले कोट्याएर-कोट्याएर हाम्रो राजनीतिलाई थाङ्ना बनाएको देखिँदोछ । यसो भएको मुख्य कारण यी कुरा कोट्याउनेहरूको नै सिँहभाग भूमिका रहेकोल हो । घरको शत्रु विभीषण ।
जबसम्म यी कुरा कोट्याएर भाँड़भैलो लाउनेहरूलाई निमिट्यान्नै पार्न सकिँदैन तबसम्म हामी कुकुरकै पुच्छर भएर बसिरहनु बाहेक अरु कुनै उपाय छैन । कारण, कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुङ्ग्रोमा हाली राख्यो भने पनि त्यो बाङ्गोको बाङ्ग्यै हुन्छ । हेनतेन नभनी लाजै पचाएर भन्न हो भने, हाम्रो राजनीति बाँदरकै पुच्छर समान भएको छ । बाँदरको पुच्छर लौरो न हतियार ।
जति नै जे भए पनि कुरा कोट्याउनेहरूका बानीमा सुधार ल्याउनु सकिँदैन । भनिएकै छ नि, नेचर र सिग्नेचर कहिल्यै परिवर्तन गर्नु सकिँदैन । दाँत कोट्याउने र कान कोट्याउनेहरूभन्दा पनि यी कुरा कोट्याउनेहरूसित घिनाउनुपर्छ, यिनीहरूलाई छिःछि र दूर-दूर गर्नुपर्छ । जोगिनुपर्छ । नत्र कुरा कोटयाउनेहरूले मुलूक मार्छन् ।
सिलिगुड़ी (भारत)