आकाशवाणी खरसाङबाट रेडियामा आउने बेलुकीको प्रादेशिक समाचार सुन्नलाई सिकुवामा केही छिमेकीहरूलगायत दुई-तीन जना नचिनेका मानिसहरू पनि बसेका थिए । उनीहरू घरीघरी एकअर्कासित खासखुस कुरा गर्दै थिए । गाउँमा बिजुली आएकै थिएन । ठूलो घरमा एउटा मट्टीतेलको टुकी टिमटिम बलिरहेको थियो । म उनीहरूलाई ढोकाबाटै एकपल्ट चियाइराखेर भान्साकोठाभित्र पसेँ ।
भोकले मेरो भुँडी कोक्याइरहेको थियो । चुलातिर हेरेको त एकापट्टि एउटा सानो भाँडामा भात बसाएको रहेछ । ढकनी उघारेर हेरेँ—आधा भाँडा पानीमा एक मुठीजस्तो चामल हालेको रहेछ । मलाई चित्त बुझेन र जोरले ढकनी भुइँमा थेचारेर आमालाई सोधेँ, “आमा ! चामल इति नै हो ?” “होइन, सब्जी काटेर हाल्नुपर्छ । आज खिचडी खानुपर्छ । चामल सक्यो ।” भन्ने आमाको उत्तर सुनेपछि मलाई रुनु मन लागेर आयो । म बिहानदेखि भोकै थिएँ । मेरो आँखाबाट आँसुका केही थोपाहरू भुइँमा झरे । म अँध्यारो अनुहार लिएर ठूलो घरभित्र पसेँ र चुपचाप समाचार सुन्न थालेँ । कस्तो समाचार आइरहेको थियो मैले त्यति मेसो पाइनँ । सबैले हाम्रा मान्छेहरू मरेछन्, हामी सतर्क बस्नुपर्छ भन्दै थिए । त्यो पनि मैले बुझिनँ—को ‘हाम्रा मान्छेहरू’ हुन् र को ‘अर्का मान्छेहरू’ । तर यसो हेर्दा सबैका आँखाहरू टल्किरहेका थिए । सबै गम्भीर भएर कम स्वरमा बात गरिरहेका थिए ।
म फेरि भान्साघरभित्र पसेँ । एक मुठी चामल उम्लिरहेको देखेर म सबै एक्लैले खाइदिन्छु मात्र भनेको के थिएँ कि आमाले के साह्रो अलक्षण भएको भनेर एकपल्ट जगल्ट्याइन् । म रुँदै मेरो सानो पलङमा पल्टिएँ । त्यो रात म खाना नखाई निदाइपठाएछु ।
म कक्षा तीनमा पढ्दा पहाडमा अलग गोर्खाल्यान्ड मागको आन्दोलन चलिरहेको थियो । चियाबारीका कारखानाहरू सबै बन्द थिए । गाउँका मानिसहरू दिनभरि गफ गरिरहन्थे । सबैले आफूसित खुकुरी बोकेर हिँड्ने गर्थे । खँदुवा बन्दुकका निम्ति माचिसबाट बारुद बनाउँथे । वारिपारिका गाउँहरूसित त्यति राम्रासित आउजाउ नै हुँदैन थियो । पारिका केही गाउँहरूमा घरहरू सल्किरहेको दृश्य देखेर हामी खूब रमाउथ्यौँ । ती सल्किरहेका घरहरू हाम्रा आफ्नै आफन्तहरूका थिएछन् तर कसैले नरमाऊ भनेर भनेन । त्यसैले होला हामीले आफन्तको मृत्युमा पनि शोक प्रकट गरेनौँ । गाउँमा दिनदिनै नयाँ आफन्तहरू बढ्दै जानुथाल्यो । घरघरमा थप परिवारहरू बढेर जानुथाले । एकजना सुत्ने पलङमा दुई-तीन जना सुत्नुपर्ने अवस्था सिर्जना भएर आयो । स्कुलमा केन्द्र आरक्षित प्रहरी बल आएर बसेका थिए । हामी घोडाको तबेलामा पनि पढ्यौँ । स्कुल बन्द रहेको बेलामा खोलामा दिनभरि माछा मार्थ्यौँ । जङ्गलमा गएर बाँसका बन्दुक बनाएर हानाहान गर्थ्यौँ । चरा खेद्नु र खोलामा पौडी खेल्नु त हाम्रो प्रत्येक दिनको कार्यजस्तो भइसकेको थियो । दिनभरि चकचक गरेर, घरहरू डढेका, मान्छे मरेका र मारेका खबरहरू सुनेर दिन बित्थ्यो । रात परेपछि भने डर लागेर आउँथ्यो । आफ्ना आफन्तहरूको अकाल मृत्यु देखेर होला मलाई रात परेपछि असाध्य डर लाग्थ्यो । कहिले खाना नखाई भाग्नुपर्थ्यो त कहिले रात जङ्गलमा नै बिताउनुपर्थ्यो । स्कुल लाग्दा स्कुल जान्थ्यौँ । प्रत्येक दिन कुनै न कुनै सरबाट सजाय पाउँथ्यौँ ।
त्यो सालको ठण्डा महिना लागिसकेको थियो । मलाई खोकी लाग्न सुरु भयो । दबाइ पाउँदैन थियो । पाए पनि किन्न बजार जान सकिँदैन थियो । अर्को पार्टीका मानिसहरूसित डर हुन्थ्यो । मेथी र अदुवा खाएर साथै तेलले बेसरी सेकेर नै जाती हुनुपर्थ्यो । घरीघरी जङ्गलतिर भाग्न परेकोले मेरो खोकी घटेर जालाभन्दा झन् बढेर गयो । एक रात हामी फेरि भाग्यौँ । जङ्गलमा सबै लुकेर चुपचाप बसिरहेका थिए । ममात्र बिचबिचमा खोक्दै थिएँ । एकछिनपछि माथिल्लो गाउँमा केही मानिसहरू चिच्याएका सुन्यौँ । त्यतिबेला पनि म घरीघरी खोक्दै नै थिएँ । एकजनाले तलबाट भन्यो, “त्यसलाई खोक्न नदेऊ न !” मेरो खोकी पटक्क नरोकिने, म आँसुसरि भइरहेको थिएँ—छेउमा लुकिरहेको एकजनाले मेरो मुखमा नै एक झापड कस्यो । म बिस्तारो खोक्दै जङ्गलको एउटा पोथ्राभित्र पसेर सुकसुक रोइरहेँ । मदेखि अलिक पर केही आफन्त र सरणार्थीहरू कम्बलमा डल्ला परेर गुनुगुनु बात मारिरहेका थिए । कसैले फलानाको घर जल्यो भन्दै थिए त कसै आफन्तका मायाले हो कि आफ्नो हालत महसुस गरेर हो सुँक्क-सुँक्क गर्दै रुँदै पनि थिए ।
एक-दुई महिनापछि पहाडमा केही शान्ति छाएको जस्तो भयो । मेरो खोकी पनि निकै सञ्चो भइसकेको थियो । म स्टोररुमको सानो कोठामा सुत्थेँ । सिरानीमा खुकुरी राख्थेँ । ढोकाको एक कुनामा फलामको रड राख्थेँ । आमा-पापा सुत्ने कोठाको दराजबाट केही रुपियाँ चोरेर एकदिन म गाउँकै लोहारकहाँ गएँ र एउटा चुपी बनाउन लगाएँ । भोलिपल्ट दुवैपट्टि धार भएको चुपी लिएर घर आएँ । राति सपनामा देखेँ—चार-पाँच जना अनुहार नचिनिने मान्छेहरूले मलाई खेद्दै रहेछन्, म पनि भाग्दै रहेछु र अन्त्यमा प्रहरीले पक्डेएर मलाई गोली हान्न खोज्दा रहेछन् । त्यतिबेला झसङ्ग भएर बिउँझेँ । मुटु जोरजोरले ढुकढुक भएर आयो, आफू साँच्चै मर्न लागेको जस्तो लागेर आयो । त्यतिबेला बिहानीको तीन बजिसकेको थियो कि मलाई खुकुरी र चुपी ढुङ्गामा उध्याउनु मन लाग्यो । म जूनको प्रकासमा चुपी उध्याउँदै थिएँ । चुपी ढुङ्गामा रगडिँदा निस्किएको आवाजले आमा र पापा बिउँझिनु भएछन् । पापाले मलाई एक झापड कसेर रिसाउँदै सोध्नुभयो, “यो के गरेको ? पागल भइस् क्या हो ?”
मेरो हातमा धारिलो छुरी देखेर “म यसलाई के बनेको हेर्न चाहन्छु तर के बन्दै गइरहेछ !” भन्दै दुवै गालामा हात राखेर आमा भुइँमा थ्याच्च बसिन् । त्यो दिन रात परेपछि मात्र म आफैँसित लजाउँदै घर फर्किएँ । घरको आँगनमा आइपुगेर यसो ठूलो घरतिर हेरेको त कोठाभित्र बलिरहेको टुकीले मलाई ङिच्च हाँसेर चियाइरहेको रहेछ । बिस्तारी चाल मारेर म त्यो टुकीसम्म पुगेँ र खुसुक्क टुकीको कानमा नै भनीदिएँ—“मैले त्यो चुपी खोलामा बगाइदिएँ ।” त्यसपछि झोलाबाट कलम निकालेर एकपल्ट टुकीलाई पनि देखाइदिएँ । तर अझै पनि कहिलेकाहीँ म त्यो सपना देखेर बिउँझने गर्छु । अझै पनि प्रादेशिक समाचार भन्न बित्तिकै ती टल्किरहेका आँखाहरू र गम्भीर अनुहारहरू मेरो आँखामा छ्याप्प आएर बसिहाल्छन् ।
दार्जीलिङ