17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चुक्ली + चुक्लीवाल = छुल्याहा

हास्यव्यङ्ग्य कृष्ण प्रधान August 20, 2023, 5:16 am
कृष्ण प्रधान
कृष्ण प्रधान

भए नभएको बुँदा समेटी अर्काको बारेमा कुरो लगाउने कामलाई ‘चुक्ली’ भनिन्छ । आफू सर्वश्रेष्ठा हुन अनि आफ्नै लङ्गोटिया यारहरूलाई सर्वनिकृष्ट बनाउऩ खोज्ने छुल्याहालाई ‘चुक्लीवाल’, ‘पोलाहा’, ‘साँखेचोर’ भनिन्छ ।

वर्तमान युगमा ‘चुक्ली’-को महत्त्व व्यापक छ । ‘चुक्ली’ बिना जीवन चल्दैन । बौद्धिक खुराक जतिसुकै रित्तो होस् तर‘चुक्ली’-को आड़ लिएर चुक्लीवाल गोबरगणेशहरू आफ्नो कार्यालयमा एक नम्बर खेलाड़ीका रुपमा सिङसाँढ़े भइ नै रहेका हुन्छन् । हरिलट्ठक, पटमूर्खलाई चुक्लीले महाविद्वान बनाउँछ । आफ्ना दौंतरीहरू पद र प्रतिष्ठाको सगरमाथामा उक्लेका देख्दा मरिचजस्तै चाउरिनेहरू, आफू त्यति माथि उक्लिन नसक्नेहरूले नै ‘चुक्ली’ गर्नुतिर लाग्छन् । चुक्लीकै बलले फिष्टे कर्मचारी तिनका कार्यालयमा वरिष्ठ अधिकारी रुपमा अनुवाद हुने गर्दछ ।

चुक्ली लाएर आफ्नो दुनो सोझ्याउऩे चुक्तिवाल व्यक्तित्वलाई सोझा र सरल देखिन्छ । मृदुभाषी । सौम्य र शान्त मुहार । मुख अगाड़ि ठिक्कै तर पिँठ्यूपछि चुक्लीको धारिलो चक्कुले ऱ्वाम्मै रोपरिरहेको हुन्छ । चुक्लीवालको मुखमा घिउ हुन्छ तर पेटमा मोराले ईर्ष्याविष थुपारेको हुन्छ ।आफूलाई उछिन्ने कोही देख्यो कि वा अब मेरो टाँट पल्टिने रहेछ भन्न गन्ध वा क्षणक पायो कि पेटभित्र थुपारी राखेको ईर्ष्याविष वमन गरी तपाई विरुद्ध भए नभएका चुक्ली लाएर तपाईलाई छरपष्टै पारिदिन्छ । चुक्लीवालको मुख चटिप्लो हुन्छ तर पेट धमिलो ।

बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि राख्दैन भनजस्तै चुक्लीवालले न आफू केही गरन सक्छन् न ता अरुले गरेको नै सहन्छन् । माछा देख्दा दुला हात, सर्प देख्दा पाखा हात गर्नमा चुक्लीवाल खप्पीस हुन्छ र जण्डा हुन्छन् ।

चुक्लीवाल चुक्लीमा विश्वास गर्छन् । अन्य विषयमा कुनै कन्याइ हुँदैन । समयमा कार्यालय आउँछन् । अन्य सहकर्मीको तुलनामा उनको अनुपस्थिति थोरै हुन्छ । उनको उपस्थिति देखेर हाकिम गजक्कै । तर हाकिम बाहिर टुरतिर गएका बेला भने उनी चारै बजी कार्यालयबाट टाप लाइहाल्छन् । कसले के भन्ने ? हाकिमका नियरेष्ट र डियरेष्ट मान्छै परै । आफ्नै सहकर्मी विरुद्ध नानाभाँती चुक्ली लाएर-लाएर हाकिमलाई आफ्नो झोलामा हाल्न सक्ने चुक्लीवाललाई इऩ्द्रेका बाबु चन्द्रे आए पनि केही लछारपटार लाउऩ सक्ने होइनन् के । चुक्लीवालको चर्तीकला देख्दा साँच्चै चुक्ली सर्वाधिक उपयोगी हतियार हो भन्ने कुरामा म सोह्रै आना आश्वस्त र विश्वस्त छु ।

थाक्सेको मुख चल्छ, नेवारको हात चल्छ भने झैं यी चुक्लीवालको मुख पनि बेजोड़ चल्छ । बड़ो मिलनसार स्वाभावका देखिए तापनि चुक्लीवालको गिदीमा अहर्निश षड़यन्त्र, छलकपट आदिले लेफराइट खेलिरहेको हुन्छ । किनभने चुक्लीवालाले चुकक्ली लाउनु बाहेक अऩ्य केहीजानेकै हुँदैन । चुक्ली लाउनु भनेको नै आफ्ना हाकिमको प्यारो हुनु हो । नियरेष्ट र डियरेष्ट बनिनु हो ।

सरकारी वा गैर-सरकारी कार्यालयमा मात्रै चुक्ली लाउऩे काम हुन्छ भन्ने छैन । राजनीति, साहित्य, सङ्गीत आदिको क्षेत्रमा समेत चुक्लीचाक्ली (अर्काको कुरा लाउँदै आफू साखी हुने काम, साखिल्लो बन्ने काम) चल्छ । रणमा-वनमा, जलमा-थलमा-आकाशमा समेत चुक्लीवाल जत्ति पाइन्छ । चुक्ली लगाउनु पनि एउटा कलो हो । सबैले चुक्ली लाउऩ सक्दैन, जान्दैन ।
चुक्ली लाउऩे कला सिकेर सिकिँदैन । यो वंश परम्पराको दोष हो । वंशमा पहिले कुनै पनि सन्तान चुक्लीवाल भए तिनै सन्तानको रगतको दोष हो । जस्तो बोट त्यस्तै फल भनेको जस्तो ।

चुक्ली लाउनेको आँखा लोभ मन पापी हुन्छ । बाहिर कसैलाई बिझाउँदैनन् । सबैसित मिठाइलो घनिष्टता देखाउँछन् । मिठो-मसिनो जे छ बाँड़चुर गरेर खान्छन् । आन्द्रा –भुँड़ी दिएकोजस्तो पनि गर्छन् । उनको व्यवहार, आचरणले सबैलाई मक्ख र पक्क पार्छ । आफ्नो आऩ्द्रा-भुँड़ी दिएकाजस्तो गर्छन् तर आफ्नै सहकर्मीको आन्द्रा-भुँड़ी दुहुनुसम्म दुहेर ठिक ठाउँमा पसारिदिन्छन् । तर दुष्ट स्वाभावका यी चुक्लीवाल थाहै नपाई तपाई विरुद्ध हाकिमलाई चुक्ली लाएर तपाईलाई नराम्रो पारिसक्छन् र हाकिम तपाईप्रति दिन प्रतिदिन रुष्ट हुँदै जान्छन् अनि तपाईलाई जहिले पनि शङ्काको दृष्टिले हेरिरहेका हुन्छन् । यस्ता चुक्लीवाल खास कुमित्र हुन् । यस्ता स्वाभावका कुमित्रलाई त्यागेकै उत्तम हुन्छ । चाणक्यले पनि भनेकै छन् –

“परोक्षे कार्यहन्तारं प्रत्यक्षे प्रियवादिनम् ।।
वर्जयेत्तादृशं मित्रं विषकुम्भं पयोमुखम ।।”
अर्थात्,

जुन साथीले पछाड़ि काम बिगारिदिन्छ सामुन्ने पर्दा मीठो बोली बोल्छ यस्तो साथी विषले भरिएको तर मुखमा दूध राखिएको ठेकीसमान हुन्छ । तसर्थ यस्तो मुखले राम राम बगलीमा छुरा स्वाभावका साथॉलाई छाड्नुपर्छ, त्यस्ताको सङ्गत गर्नुहुँदैन ।

लागेको बानी कसले छोड़्ने ? एकपल्ट चुक्ली लाउने बानी भएपछि त्यो छोड़्नु वा त्याग्नु गाह्रै पर्छ । खास कुरा के हो भने, चुक्ली लाउन थालिएपछि चुक्लीवाल हाकिमको थै-थै हुन्छन् । के खोज्छस कानो आँखो भने झैं हाकिलाई पनि आफ्ना सहकर्मीहरूबारे नालीबेली चाहिएको अनि उनकै चुक्लीवाल सहकर्मीले साँखेचोर भएर चुक्ली लाउन थालेको । वाह... ! चुक्लीवालले श्यावाशी नपाएर कसले श्यावाशी पाउँने होइन र ! हाकिमको नजरमा एकपल्ट चुक्लीवाल हो भन्ने प्रमाणित भएपछि चुक्लीवालले पछि फर्केर हेर्नु पर्दैन । चुक्लीवालले गर्दा नै त्यस ठाउँको परिवेश बिग्रेर जान्छ । फेरि जति सपार्ने चेष्टा गर्दा पनि चुक्लीवाल कदाचित सप्रिने छैनन् । यस्ता चुक्लीवालसित पल-पलमै जोगिनुपर्ने हुन्छ । बड़ासँग लागे गुवा पान, छोटासँग लागे नाक कान भने झैं तपाईको कार्यालयमा पनि चुक्लीवाल कुमित्र छन् भने टकटकाउने काम गरिहाल्नोस् । यस्ता दुष्ट स्वाभावका छुल्याहा कुमित्रसित आऩ्द्रा गाँस्नुभो भने तपाई पक्कै नाशिनु हुनेछ । लाखेस !

चाणक्यको ठुङमार्दो यहाँ नराखी सन्तोकै लागेन –

“दुराचारी दुरादृष्टिः दुरावासी च दुर्जनः ।।
यन्मैत्री क्रियते पुभिर्नरः शीघ्रं विनश्यति ।।”
अर्थात्,

खराब आचरण (आदत) भएको (दुष्ट स्वाभावका), बिना कुनै कारण अर्कालाई हानि पुऱ्याउने खोज्ने, खराब दृष्टि भएको, नराम्रो ठाउँमा बसोबास गर्ने, दुष्ट व्यक्तिसँग मित्रता गर्ने मानिश शीघ्रातिशीघ्र बिग्रन्छ (नाशिन्छ) ।

सिलगड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।