जानकी मन्दिर भएको जनकपुरधाममा म ३/४ दिन बसें । यहाँ तलाउ छन्, मन्दिर छन् । यो तीर्थस्थल हो । यो ठुलो नगर छ । घडेरी महँगा छन् । यहाँबाट थुप्रै ठाउँमा ठुला बस जान्छन् । यहाँ रेल्वे पनि छ । यो राजमार्गको कोल्टामा छ रपनि छ चल्ती । मैले एक जनासँग– ‘यसरी खास पाइक नपर्ने ठाउँ भएर पनि किन जनकपुरधाम यतिबिघ्न चल्तीको छ ?’ भनी सोध्दा हाँस्तै उत्तर दिए– “सब जानकी माईको कृपा हो ।” वास्तवमा नौलखा–मन्दिर नै जनकपुरको प्राण हो ।
यहाँको बहुमुखी क्याम्पसका प्राध्यापकवर्गमध्ये केही असाध्य विद्वान छन् र धेरै राजनीतिका पण्डित पनि छन् । डा.धीरेन्द्र झाको विद्वत्ता प्रशंस्य र उनको मैथिली साहित्यका साथै नेपाली साहित्यमा योगदान सकारात्मक छ, तर पनि डा.झा केही अस्वस्थ छन् भन्ने सुनें । म जँडाहा, भँगाहा तथा मानसिक रूपमा अस्वस्थसँग बसेर गफ गर्न नसक्ने प्रकृतिको भएकाले (डा.झालाई नै थाहा छ) डा.झा मेरा मित्र भएर पनि उनलाई भेट्न जान सकिनँ र उनकामा जान अनुकूल परेन पनि । डा.ईश्वर बरालको जनकपुर आउने कार्यव्रmम छ भन्ने सुनेर डा.धीरेन्द्र झालाई प्रज्ञाप्रतिष्ठानले हेर्नुपर्छ भन्ने भावना डा.बरालसमक्ष राख्न भने धेरैसँग अनुरोध गरें । यत्किञ्चित् भए पनि आफ्नो कर्तव्य पुरा गरें ।
जनकपुरमा म मेरा मित्र अर्थशास्त्र विषयका सहप्राध्यापक योगेन्द्र साहका डेरामा बसेकाले र अरु पनि कतिपय प्राध्यापक साथीहरू भएकाले जलेश्वर आदि ठाउँ घुम्न र खानबस्नको असुविधा भएन । जनकपुरमा सांस्कृतिक आनन्द आउँछ । प्रात–विहानै सङ्गीत गुन्जन्छ– मिठो लाग्छ, तर यहाँको फोहोर र मच्छड भने असाध्य नै भन्नुपर्छ । ‘प्रजातान्त्रिक सरकारले यस्तो तीर्थस्थल सफा पार्न सके राम्रो हुन्थ्यो !’ भन्ने लाग्यो ।
जहाँसम्म जनकपुरमा साहित्यिक गतिविधिको प्रश्न छ, शिथिलै छ । राजेन्द्र विमल जस्ता अरु पनि चिन्तक नभएका होइनन् रपनि गतिविधि बढी राजनीतितर्फ नै देखें । म गएका बेला सद्भावना पार्टीको केही चकचकी पनि देखियो, तर धेरैले भने यो चकचकी बोव्रmे हो । वास्तवमा थोरै छन्, तिनका समर्थक । यहाँ काङ्ग्रेस र कम्युनिस्ट (माले)कै चकचकी बढी छ ।
विशाल जनकपुर चुरोट कारखाना भएको जनकपुरधाम पत्रकार र ठुलाबडाको शोषणको केन्द्र थियो । अहिले पनि महाप्रबन्धकको कुर्सीमा पुरानै परिपाटी रहेछ । हो, पत्रकारको चुसाइ घटेको रहेछ । यहाँको गेस्ट हाउसमा आएर विलासी जीवन बिताउने ठुलाबडा आउन छाडेका छन् र जचुकाका सजग मजदुर जथाभावी आ.स. बाँडेकोे थाहा पाए उत्तेजित हुन्छन् । देशका ठुलाबडा उद्योग मास्ने ठुलाबडाको चकचकी घटेकाले देशमा आएको परिवर्तन यो पनि हो भन्ने मैले प्रत्यक्ष अनुभव गरें – यद्यपि प्रशासनतन्त्रको गठनमा पूर्णतया परिवर्तन आएको छैन ।
यसै गरी प्राध्यापकवर्ग बढी राजनीतिउन्मुख भएको कुरा सुनेर पनि म निकै चिन्तित भएँ, के यो प्राज्ञिकताउपर ठुलै बन्चरोहनाइ होइन ?
नातिप्रेम ! क्रिकेटप्रेम !
नाति रोसन पनि थियो साथमा जनकपुरसम्म । हजुरआमा पनि थिइन्– नाति लिएर जानकीको दर्शन गर्न आएकी । जेठी छोरी रचना शर्मा पनि थिई आमाबाबुसँग तीर्थ घुम्न आएकै । १–२ दिन बस्ने विचार थियो उनीहरूको, तर एकै रात बसेर जानकीको दर्शन गरेर एक फन्को रिक्साले जनकपुर मारेपछि केही तलाउ पनि देखिए, विशाल १२ बिगाहा पनि देखियो र थुप्रै घरगल्ली पनि देखिए, तसर्थ मेरो यात्रा खुला गर्न हो कि किन हो ? उनीहरू मबाट विदा भएर रचनाको घर इटहरीतिर बसबाट प्रस्थान गरे । सानामा आमा कतै जाँदा सारै न्यास्रो लाग्थ्यो, तन्देरी हुँदा प्रिया–पत्नी पर हुँदा ज्यादै सुर्ता लाग्थ्यो, अहिले त्यस्ता दिन पनि आएछन्, केही दिन नाति कतै गयो भने (नातिका अगाडि ‘गयो’ भन्नु हुँदैन, ‘गए’ भन्नुपर्छ, नत्र चुटाइ खाइन्छ !) के छैन के छैन ! जस्तो हुन्छ । ऊ नहुँदा घर यस्तो लाग्छ––
यो ठाउँ उही हो र, आँगन उही धारो र पानी उही
यो बुढी उही हो बुढो उही म हूँ, गाई र ग्वाली उही
यो कान्छी उही हो, उनै सब कुरा बाहुन दाइ उही
काखैको प्रिय नाति छैन घरमा, के छैन जस्तो छ नि !
यदि ऊ घर छ भने त, ‘काखैको प्रिय नाति यो घर हुँदा बत्ती बले झैं छ नि !’ हुन्छ ।
अहिले मसँग सबै थिए । बुढीको र मेरो कथा पनि लामो छ, छोरीको कथा पनि लामै छ, यो बाबु, आमाकी भक्त छोरी हो, जो मेरो घरकी पहिलो सन्तति पनि हो, तर पनि रोसनसँग छुट्टिँदा, एक छिन झ्याप्प बत्ती निभे झैं भयो मेरा आँखाअगाडि ।
यो त भावनाको कुरो हो, भएको त थिएन केही । ‘रवि शास्त्री !’ रेडियोबाट क्याउँ–क्याउँ आवाज आयो । शनिवारको छुट्टीको दिन थियो । साथी योगेन्द्र साह हामीलाई आउँछु भनी डेरा जिम्मा लगाएर गाउँ गएका थिए, निकै महत्त्वपूर्ण विवाद गाउँमा थियो रे ! त्यस सन्दर्भमा उनी गएका थिए । अब यो लङ्का र भारतबिचको एकदिने व्रिmकेट हुँदैरहेछ, कहाँ हेर्ने ? रिक्सामा सोचेर हतारिँदै योगेन्द्र साहकै छिमेकी मेरा अर्का मित्र प्रा.राजेन्द्र विमलका घरमा पुगें । धन्न भेटें विमलज्यूलाई, तर उनी पनि सामाजिक काममा अति व्यस्त हुने प्राध्यापक रहेछन्, धेरै वेर मलाई साथ दिएनन्, तर घरमा मलाई ‘चिया खान दिनू !’ भनी छोरीलाई अराई कुनै कार्यव्रmममा भाग लिन हिडे । हुन त मैले कैयौं गोष्ठी खाएको छु, रामपुर, विराटनगर र झापामा ठुला खाले सेमिनार÷व्याकरण अधिगोष्ठी र बालसाहित्यगोष्ठी । बुद्धिजीवी गोष्ठी र शिक्षागोष्ठी । नेपाली प्राध्यापकहरूको अभिमुखीकरण गोष्ठी । जनसाम्स्कृतिक सभाको चैनपुरे गोष्ठीदेखि अरु पनि केही गोष्ठी । कति गोष्ठी कुधेको भए पनि गोष्ठीको औपचारिकता र बढखर्चीबाट मलाई ‘गोष्ठी–एलर्जी’ जस्तै भएको छ, यसैले व्रmमशः म तिन कुरामा मात्र एकोहोरिएको छु, अध्यापन यससँगै अध्ययन, लेखन र प्रकाशन । यो पटकको यात्रा प्रकाशनको भरमा गर्ने अठोट गरें । वितरण राम्रो नभएर ‘जुही’ सडेर प्रेसमा कुहुनुभन्दा यसैलाई झोलामा हालेर स्वदेश दर्शन गर्नु राम्रो भनी बुर्कुसी मारें । त राजेन्द्र विमलको ‘हर्फनमौले’ प्रवृत्तिको ममा अभावै छ भन्दा पनि ‘व्रिmकेट’ नसाले मलाई ४÷५ वर्षदेखि सताउन थालेको छ । व्रिmकेटशास्त्रको बखान गर्न बुझ्नु–सुझ्नु परेन म पछि पर्दिनँ, परन्तु एक छिनपछि टिविमा सिनेमा कार्यव्रmम आयो । मैले टिविमा व्रिmकेट हेर्न नपाएपछि नजिकैको दर्जीकहाँ गएँ, आफ्नो परिचय दिएँ, अनि रेडियो मागेर व्रिmकेट कमेन्ट्री सुनें, यसरी जनकपुरमा शनिवारको छुट्टी बिताएँ ।
भोलिपल्ट साहज्यू आए । क्याम्पस गयौं । पर्सिपल्ट बिहान जलेश्वर गयौं । जनकपुर र जलेश्वरका बिचमा बस चलिरहन्छ, आवागमन सुविधा छ । योगेन्द्र साहको गाउँ यतै छ, तर प्रायः लोहारपट्टी (मामल) नै बसे । उनको एउटा छोरो छ, तर साह एक प्रकारको साधुप्रवृत्तिको सज्जन व्यक्ति भएकाले उनी मेरो प्रिय साथी हुन् । जहिले पनि म जनकपुर जान्छु, उनकै डेरामा बस्छु, अर्थात् उनको मामाको जनकपुरस्थित घर । साहज्यूले सियाशरण ठाकुर, देवनारायण साह केशरीका घरमा पनि लगिदिए । उनी मेरा मित्र प्राध्यापक हुन् । केशरीको एउटा छोरा डाक्टर भएछन्, अर्का छोरा पनि सुशील अध्ययनशील रहेछन्, जनकपुरमा साथीहरूको घर गएर उनीहरूको स्थिति हेर्दा राम्रै लाग्यो । यद्यपि जनकपुर क्याम्पसवारे केही चर्चा सुनें, जुन चर्चा शैक्षिक क्षेत्रका लागि चिन्तनीय विषय हो भन्ने मलाई लागेको छ । स्पष्ट शब्दमा भन्ने हो भने यहाँका थुप्रै प्राध्यापक राजनीतिमा आँखा चिम्लिएर कुधेका छन्, कुध्ने मात्र होइन, कुधाइमा होड पनि छ, के यसको परिणाम ठिकै ठहर्ला ? राम्रै होला ? अथवा यो अन्तरिम कालमै मात्रको कुरा होला ?
यस्तै अनुभूतिसाथ सद्भावनाका गड्याङ–मड्याङ कुरा सुन्दै राजनैतिक व्यक्ति नभए पनि आफ्नो गच्छेअनुसार राजनैतिक विषयका केही कुरा गम्दै सांस्कृतिक नगरी जनकपुरका मन्दिरहरूका माइकबाट आएका सङ्गीतमय भजनको आनन्द लिँदै नेपालगन्जतिर हिडें, मेची, कोसी, सगरमाथा, जनकपुरबाट सोझै भेरी, नारायणी, लुम्बिनी र राप्ती अञ्चलका क्षेत्र छुँदै !