17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नबोल्ने वरदान

हास्यव्यङ्ग्य कृष्ण प्रधान August 1, 2023, 2:08 pm
कृष्ण प्रधान
कृष्ण प्रधान

आउनोस् हजूर । यहाँसित परिचय गरौं क्यारे ! यहाँ हुनुहुन्छ चक्रपाणी चापागाइँ । हाम्रा गाउँ बूढ़ा । एकजना मन्त्रीको भन्दा धेर पावर छि यिनको गाउँमा । हाम्रो गाउँलाई एउटा छुट्टै र बेग्लै ‘राज्य’ बनाउँछु भन्ने ताकमा छन् यी गाउँ बूढ़ा । गाउँमा यिनलाई सबैले ‘मुखिया साहेब’ भने पनि उनको पिठ्यूँपछि ‘हेडु’, ‘इस्कुसे’, ‘महामहिम’ भन्ने गर्दछन् । हाम्रो गाउँको नाउँ ‘डाड़ा गाउँ’ । छोटकरीमा सबैले ‘डिजी’ भन्छन् । यसैले यी गाउँ बूढ़ाले एउटा कमिटी स्थापना गरेका छन् । कमिटीको पूरा नाउँ ‘डाड़ा गाउँ हिल कमिटी’। छोटकरीमा ‘डीजीएचसी’ । (डीजीएचसी भन्दा दार्जिलिङ गोर्खा हिल काउन्सिल नठान्ने निवेदन छ)।

यिनलाई किन ‘इस्कुसे’ भनिएको हो । सोबारे पनि भनिहालुँ होइन ? बञ्चरोले ताछिकोजस्तो गालाका दुइ खोपिल्टामाझ अड़ेसिएको ढोँढ़े नाक । एउटा ठूलो खाले छिप्पेको इस्कुस हत्केलामा राख्नोस्...त्यसमाथि स्केच पेनले दुइवटा आँखा, नाक, मुख बनाउनुहोस् अनि हाम्रा महामहिमको अनुहारको भूगोल हेर्नोस् । नो डिफरेन्स । काटाकुटी इस्कुस । बुझ्नुभो होला उनको नाम इस्कुसे किन राखिएको होला ।

हाम्रो डीजीएचसी हामी डाँड़ा गाउँलेहरूकै मात्र हो । यसमा थर्ड पर्सनलाई चान्सै छैन । हाम्रो डीजीएचसीमा हाम्रा महामहिम गाउँ बूढ़ाको सही-सही, बिसही-बिसही चल्छ । बूढ़ाले रातोलाई कालो भने गाउँका सबैले कालै भन्छन् । कसैले पनि होइन त्यो रातै हो भनी लिँड़ेढिपी गऱ्यो कि उनलाई दस डाँड़ा कट्टाइन्छ । कुरो किन लुकुऩु (?) किङ्ग क्यानुटको नाम ता सुन्नुभएकै होला हजूरले । ठिक किङ्ग क्यानुटकै जस्तो चालामाला हाउभाउ छ यी हाम्रा गाउँबूढ़ा चक्रपाणी चापागाइँको । माफ गर्नुहोला...हाम्रो सरको, हाम्रा महामहिमको । हाम्रा शीरको,,,हाम्रा प्रभुको ।

बड़ा मुडी छन् यी महामहिम । भालेमुङ्ग्रोले के रङ्ग फेर्छ..आफ्नो मुड चेञ्ज गर्न यिनले भालेमुङ्ग्रोलाई समेत जिताउँछन् । आँट यिनको डाइनोसोरभन्दा थोर भए लु मरिजाउँ । कहिले डाँड़ा गाउँको नाम बदलेर ‘हिमनगरी’ राख्छु भन्छन् । कहिले वा ‘स्वीजरल्याण्ड’ जस्तो बनाउँछु भन्छन्, कहिले बन मासेर ठूल्ठूला ‘स्टेडियम’ बनाउँछु पनि भन्छन् । त्यति मात्रै हो र...यसै स्टेडियममा वर्ल्ड कप फुटबल म्याच आयोजन गर्छु पनि भन्छन् । यिनको कुरा सुन्न हामीलाई मज्जा आउँछ । कहिले राजनीतिको टेसिला टेसिला कुरा गरेर डाँड़ा गाउँवासीलाई लाटाले पापा हेरे जस्तै ट्वाल्लै बनाउँछन् । फेरि कहिले राजनीतिलाई घृणा गरेर गाउँलेहरूको प्रेशर ख्वार्लाप्पै तल झारिदिन्छन् । कहिले धर्मको कुरा गरेर सबैको मन गेरुवा रङ्गको बनिदिन्छन् । यिनको मुखमा सरस्वतीको वास परे पनि मुटुमा यिनको भालेमुङ्ग्रो ट्रेड मार्क कहिले नमेटिने गरी खोपिएको छ । ठिक ट्याटो बनाएको जस्तो । यसैले यिनको चालामाला, हाउभाउ गज्जब छ, अज्जब छ । गम्भीर छ...नबुझिने पहेलीजस्तो छ ।

कलिङ्गको विभत्स युद्धले सम्राट अशोकको हृदय परिवर्तन भए झैं डाँड़ा गाउँका गाउँलेहरूका चालामाला देखेर अचेल हाम्रा महामहिमको हृदयमा पनि सामान्य परिवर्तन आएको देखिन्छ । हाम्रा महामहिम इण्डियन आर्मीका सिपाही । तर यिनी आर्मीमा छँदा न ता कहिल्यै बन्दुक समाए, न पिटी अभ्यास गरे, युद्धभूमिमा नै गए । ट्रेनिङ सकिएको भोलिपल्टैदेखि ब्रिगेडियर साहेबको अर्दलीमा बदली भए । अर्दलीमै पेन्सन आए । आफू इण्डियन आर्मीका साधारण सिपाही भए पनि अर्दली भएका नाताले ब्रिगेडियर, कर्णेल क्याप्टनहरुसित मात्रै उठ्बस् भएकाले यिनको एटिकेट साँच्चै भीआईपी टाइपकै देखिन्छ । टेबल म्यानर जान्दछन्, बड़े-बड़े अफिसर्सहरूले पार्टीमा ड्रिङ्कससित काजु, किसमिस, पिस्ता आदि के के हो के किसिम किसिमका ड्राइ फ्रुट्स खाएका देख्दा यिनले थूक निल्दै बस्नुपरेको कुरा यिनलाई मात्र थाहा छ । अहिले यी चक्रपाणी बूढ़ा हाम्रो गाउँका मुखिया भइदिएकाले उनले आफूलाई ब्रिगेडियर नै ठान्दा हुन् । र ता यिनले अहिले आफ्नो ठूलो ग्वान्द्र्याङे ज्याकेटको गोजीमा, सुटको पाकिटमा भक्कु ड्राइ फ्रुटस् हालेर राख्छन् अऩि बातै पिछे खाइबस्छन् । स्पष्टै भन्नु हो भने, सिपाही जीवनको एकोन्रो मेटाएका हुन् ।

हाम्रा महामहिमले नौजनाको टोली बनाएर एउटा कमिटी गठन गरेका छन् । गाउँमा यिनीहरू ‘नाइन बुलेट्स’ नामले परिचित छन् । यी नौजनाको रिमोट बूढ़ाकै हातमा छ । एकदिन हाम्रा महामहिमले आफ्ना चम्चाहरूलाई भने – मेरा कमाण्डोहरू ! अब म गाउँको राजनीतिबाट सामान्य टाढ़ा रहन चाहन्छु । उमेर पनि भयो...अब राजनीतिको कुरा मात्रै गरेर गाउँलेहरूलाई छक्याउन लट्याउन नसकिने रहेछ । यहाँका हरेक गाउँलेहरू टाठाबाठा भइसकेका छन् । एक सा एक क्वालिफाइड भाइ-बहिनीहरू निस्किसके । अब हामीले अर्थात् यो ‘नाइन बुलेटस्’ले धर्मको आड़मा राजनीति खेलेर धर्मको मिसालइल पड़्काउऩुपर्छ । यसकारण, अब म मेरो निजी पूजा कोठामा केही दिन गुफा बसेर मेरा परमप्रिय प्रभु भोलेबाबालाई आह्वान गर्नेछु । मलाई कसैले डिस्टर्ब नगरोस् । गाउँमा भएका साना-तिना प्रब्लेम्स् तिमीहरूले लट्याएर हुन्छ कि छक्याएर हुन्छ ठामठिम पार्नू ।

एकजना चम्चेको प्रश्न – महामहिम सरले भोलेबाबालाई आह्वान गरेपछि भोलेबाब प्रकट नहे कुरै आएन । यो ता महामहिमको देब्रे हातको काम हो । महामहिम गजक्क भए ।

प्रश्न अर्का चम्चाको – अचानक यो डिसिसन किन महामहिमको.....?,,,,,

कुरा काट्दै बोले महामहिम – हाम्रो गुँ र हाम्रा यहाँका जनतालाई एकोहोरो पार्नु हो भने अब धर्मको नाममा प्रोपोगाण्डा गर्नैपर्छ । अब हाम्रो भिलेज पोलिटिक्सको खेललाई एकमात्र दैवीशक्तिले बचाउँन सक्छ । यसैले म अब हाम्रा शक्तिमान भोलेबाबालाई आह्वान गरेर हाम्रो आउँदो राजनीतिको रणनीतिबारे सजेशन लिन्छु । अऩि उनकै निर्दैशमा काम गर्छु । भोलेबाबा मेरा गुरु हुन्...परम गुरु ।

महामहिम पूजा कोठाभित्र पसे । भोलेबाबाको विशाल मूर्तिअघि शिर निहुराएर भोलेबाबालाई अहर्निश आह्वान गरे । सात दिन सात रातपछि बल्ल सोमबारको दिन भोलेबाबा प्रकट भए अनि बोले – भक्त ! के त्यस्तो पीर पऱ्यो मेरो भक्तलाई र मलाई आह्वान गर्ने सुर कस्य़ौ वत्स ?

भोलेबाबाको साक्षात् दर्शन हुने बितिकै महामहिम ग्वाँ---ग्वाँती रुन थाले र भक्कानिँदै बोले – प्रभो ! मैले मेरा सिधा-साधा, लठुवा जनताहरूलाई साह्रै ढाँट बोलेँ । सिधा निमुखा जनतालाई ठग्नुसम्म ठगेँ हजूर । म अधम....

महामहिमको शिर मुसार्दै भोलेबाबा बोले – वस्त शान्त...शान्त ! मेरो भक्तले के गऱ्यो कि गरेन मलाई वृतात थाहा छ । यहाँ तिमीले आज केही कुरा कन्फेस गर्नुपर्छ । भित्ताको पनि कान हुन्छ । यो कुरो कथङ्कल बाहिर गयो भने सर्वप्रथम त प्रेसले नै भाइरल गर्छ र तिमी घरको न घाटको हुनेछौ । यहाँको प्रेस, तिम्रा विपक्षीहरू तिम्रो खोइरो खन्न मुख आँ...गरी बसिरहेका छन् ।

महामहिम सन्काहा मान्छे । प्याच्चै जवाब दिएँ – प्रभो ! प्रेसले मसित टेँड़ीमेड़ी नगरे हुन्छ । मलाई चलायो भने म शालेहरूको स्याप्टा सुकाउन जान्दछु नि ।

लामो जिब्रो निकालेर भोलेबाबा बोले – लाखेस ! कुनै पनि अवस्थामा प्रेससित सिङ जुझाउने कोशिष कदाचित नगर्नू वत्स । आफ्नो अऩ्तरङ्ग साथीलाई धोका देऊ, जनतालाई छक्याउनुसम्म छक्याऊ तर प्रेससित टेँड़ीमेड़ी गऱ्यौ भने तिमी लाष्ट फ्लप हुनेछौ वत्स ।

-क्षमा पाऊँ प्रभो ! तपाईको हरेर सजेशन ता मलाई अहिले घड़ी खाँचो परेको छ । प्रभो तपाईको कसम अब म प्रेससित टेँड़ीमेड़ी गर्दिनँ । अब म तपाईप्रति समर्पित भएर मेरा लट्ठक, लाटो, निमुखा जनतालाई धर्मप्रति आकर्षित गराएर धर्मप्रति झुक्ने अधिसूचना जारी गर्न वाध्य गराउँछु ।

-वाह ! अति उत्तम विचार वत्स । राजनीतिले मान्छेले कुकुर र बिरालाजस्तै बनाउँछ तर धर्मले मानिस अनुशासनबद्ध हुन्छ । राजनीतिमा सोर्स र फोर्स दुवै चाहिन्छ तर धर्ममा त्यसको कुनै आवश्यक प्रदैन। अचेल तिम्रा सोर्स र फोर्समा पनि गतिलै ह्रास आएको देख्दैछु है वत्स । धर्मको आड़मा राजनीति खेल्ने तिम्रो योजना वा रणनीति सिजनल मात्रै हुन्छ ।

-प्रभो यसलाई स्थायी बनाउन मैले कुन कस्तो रणनीति अप्नाउनुपर्ने हो ?

सामान्टय झोक्किएर भोलेबाबा बोले – अरे ! तिमी ता आफ्नै दुनो सोझ्याउने दाउमा मात्रै रहेछौ मोरा । पहिले पूजा-अर्चना गरी मलाई प्रसन्न गराऊ ।

भोलेबाबा बिच्केका थाहा पाए हाम्रा महामहिमले । हत्त न पत्त घूँड़ा टेकी सिन्केधूप बाले । फलफूल चढ़ाए । यो देखेर भोलेबाबा अचम्म मान्दै बोले – अरे ? वत्स ! तिमीले के गरेको यो ?

प्रभो नैवेद्य चढ़ाएको ।

हा....हा...हा...नो सृष्टिकर्तालाई नैवेद्य होइन गाँजा, भाङ,धतुरो चढ़ाऊ....यार ।

प्रभो अचेल हाम्रो यता गाँजा, भाङ, धतुरोको सिजन छैन । हाम्रा यहाँका युवा-युवतीहरू ड्रग्स-गोटी सेवन, इञ्जेक्सन पुस गर्नपट्टि पो लागेका छन् ।

निक्कै उऩ्नति गरेछन् तिम्रा युवा-युवतीहरूले । जेसुकै होस्, मलाई गाँजा चाहिन्छ ।

एक चिलिम भए पुग्छ प्रभो ?

एक चिलिम ? यसले ता मेरो तिते आन्द्रा पनि छुँदैन । एक ट्रक मगाऊ...एक ट्र्क ।

महामहिमले फोन गरी एक ट्रक गाँजा मगाए । गाँजा देखेर भोलेबाबा सामान्य मुस्कुराए अऩि बोले – अब मलाई स्नान गराऊ ।

एक लोहोटो पानी महामहिमले भोलेबाबाको शिरमा तरररर तुर्क्याए । एक लोहोटा पानी माथिबाट तुर्क्याएको देखेर भोलेबाबा अग्निशर्म भए – अरे ! वत्स के गरेको यो ? नाथे एक लोहोटा पानीले मेरो स्नान कसरी सम्भव हुन्छ ? तिमी आफू भने बाथरुमभित्र पसेर हट वाटरले सावरबाट झर्नाजस्तो आएको पानीले घण्टौंसम्म नुहाउँछौ मोरा । कम्तिको पनि तिमीले एकपल्ट नुहाउँदा बीस पच्चीस लिटर पानी मास्छौ । मलाई चाहिँ एकै लोहोटोमा टारेको ? लठुवा जनतालाई ता ठग्यौ ठग्यौ मलाई पनि चिटिङ...त्यसो ता नगरन हौ । कि तिम्रा यतातिर पानीको अभाव छ ?

पानीको अभाव ता यहाँको परम्परा नै भएको छ प्रभो ।

तिमी यति ठूलो ओहोदामा गजघम्म भएर बसेका छौ र पनि अहिलेसम्म पनि पानीकै व्यवस्था गर्न सकेका छैनौ ? कति तड़पाएको तिमीले यहाँका लाटा-मूर्ख जनतालाई । तिमी कस्ता महामहिम ?

यो मरो ठूलो ट्रिक्स हो महाप्रभो । जनतालाई लट्याउनु हामी सबै राजनीतिक नेताहरूको ट्याक्टिक्स हो । रणनीति हो । नेताहरूले चाहेका खण्डमा जनताको हरेक समस्याहरू मिलिक मिलिकमै समाधान गरिदिन सक्छन् अनि यी समस्याहरू समाधान भइसकेपछि यिनै जनताहरूले हामी नेताहरूलाई खायो भाँड़ो मिल्कायो तेरो ठाँड़ो गर्छन् । यस्ता जनताहरूलाई तपाई सोझा-सिधा भन्नुहुन्छ महाप्रभो ? अचेलका जनताहरू साह्रै बाठा र चनाखा भइसकेको छन् । एउटा न एउटा समस्या रहिरह्यो भने पो जनताहरू नेताहरूका मुठीमा बस्छन् । यिनै समस्यालाई विषयवस्तु बनाएर भाषण दिँदा जनता तम्सिन्छन्, जोशिन्छन् अऩि मक्ख पर्छन् । यसैकारण पानीको समस्या जीवन्त राख्ने हाम्रो कमिटीको नीति नै बनाएका छौं र प्रभोले आज एक लोहोटा पानीसे स्नान गर्नुभो भन्ने कुरो म मेरा जनतासम्म पुऱ्य़ाउँछु र उनीहरूलाई तताउँछु पनि ।

भोलेबाबाको चरणस्पर्श गरेर बोले महामहिम – हो प्रभो, हो... यो कुरा ता म पनि मान्न राजी छु । जनता समति बेच्केका छन् भन्ने कुरा मलाई ऐनाजस्तै छर्लङ्ङै भएको छ । तरै पनि जनतालाई धर्मपट्टि फर्काएर राजनीति गर्ने लाष्ट ट्राइ मात्रै गरेको प्रभो ।

तर पछि त्यै धर्म बुमेराङ हुने सम्भावना प्रशस्तै देख्दैछु है म । खै मलाई पानी मगाऊ । तिम्रो ठाउँमा आएर आज म सय बाल्टी चिसो पानीले स्नान गर्न चाहन्छु ।

भोलेबाबाको निम्ति समस्त गाउँबाट पानि ओसारियो । भारीमाथि सुपारी भनेजस्तो पानीको अभावग्रस्त गाउमा पनि पानीको हाहाकार दोबर-तेबर मच्चियो ।

प्रसन्न भए भोलेबाबा अनि दूध मागे ।

एक डबका दूध ल्याएको छु प्रभो ।

यति नाथे दूधले ता मेरो तिते आन्द्रा पनि भिज्गदैन ।

पचास ढुङ्गो दूध ल्याउने आदेश महामहिमको । ढुङ्ग्रोका ढुङ्ग्रो दूध आयो । भोलेबाबा प्रसन्न भए ।

त्यसपछि भेटी चढ़ाउने पालो । १,००१ रुपियाँ भेटी चढ़ाइयो ।

भोलेबाबा प्रचण्ड रिसाए । महामहिमलाई नराम्रो घतले आँखा तरे, अनुहारको भूगोल काचाककुचुक पारे । भोलेबाबाको हाउभाउ बुझेर महामहिम बोले – हो प्रभो । अहिले मेरो दशा ग्रह बिग्रेको छ । प्रभो नाराज हुनुभो कि ?

अफकोर्स...यो १,००१ रुपियाँ ले के हुन्छ १,००१ रुपियाँ तिमीले थुपारेका जति जम्मै घूसमनि भेटीस्वरुप चढ़ाऊ । यो भेटी चढ़ाएनौ भने अडिटप्रलय हुनसक्छ । त्यसपछि तिमी धोती न टोपी हुनेछौं ।

महामहिमले पूजा कोठाको भित्र कतै लुकाएर राखेका ब्रिफकेश टक्राए । भोलेबाबा प्रसन्न । भोलेबाबा अविराम बोल्दै गए अनि विभिन्न सामग्रीहरूको माग गर्दै गए । महामहिमले ती सामग्रीहरू चढ़ाउँदै गए । अब अरु पनि के के माग्ने हून भन्ने डर र त्रासले महामहिमको मुटुमा ढ्याङ्ग्रो बज्न थालिसकेको थियो । मनमनै सोंच्न थाले – एउटै देवता बोल्दा ता यस्तो हड़्याङ् मस्काउँदा रहेछन् भने झन् तेत्तीस कोटि देवी-देवता एक खेपमा आएर बोले मेरो गति र मति के होला ? भोलेबाबाको चित्त बुझाउँदा म नै चित् परेँ भने गाउँलेहरूको कमिटी ‘डीजीएचसी’ नै चित् हुनु बेर छैन ।

प्रसन्न मुद्रामा गम्भीर स्वरमा भोले बाबा – वत्स ! तिमीले तिम्रा जनतालाई प्रसन्न गर्न नसके पनि मलाई प्रसन्न गरेकोमा म अति नै प्रसन्न भएको छु । तर एउटा कुरा याद राखेस् वत्स ! टाढ़ाको देउताभन्दा नजिकैको भूत नै धेर काम लाग्छ नि ! जे होस्, तिमीले कुनै एउटा वर माग ।

प्रभो मलाई केही चाहिँदैन तर एउटै वर चाहिन्छ, तपाई देवताहरू कृपया नबोलिदिनुहोस् । तपाईहरू बोलेर किसिम किसिम डिमाण्ड गर्नुहुन्छ । यस्तो पारा हो भने ता, हामी खलिकपुर मात्रै होइन सर्वनाश पनि हुन्छौं नि । बोल्ने भगवानभन्दा हामीलाई ता नबोल्ने भगवान नै ठिक छ । मलाई पनि यस्तै नबोल्ने वर दिनोस् ।

तिम्रो आई क्यू राम्रो रहेछ । हामी अब भक्त अघि कहिल्यै पनि बोल्नेछैनौं अनि तिमीलाई पनि कहिल्यै कतै मुख खोल्ने अनि नबोल्ने वरदान दिँदछु...तथास्तु ।

मुख नखोल्ने अऩि नबोल्ने वरदान पाएर हाम्रा महामहिम चक्रपाणई साहेब अचेल साँच्चै बोल्नै छाड़िसकेको छन् ।

सिलगड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।