17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पदसेवा

हास्यव्यङ्ग्य कृष्ण प्रधान July 29, 2023, 1:53 pm
कृष्ण प्रधान
कृष्ण प्रधान

पौराणिक युगमा चरणस्पर्श’ परम्परा सुपर हिट थियो । प्राचीन हिन्दू विवाहिता नारीहरूले पति वा ससुराका चरणसेवा गर्थे वा खुट्टा थिचेर आनन्द उपभोग गर्थे । फेरि धेरैले स्वामी अनि गुरुजनको चरणामृता पनि पान गर्थे ।

अचेल पनि हामी धेर पदसेवा हासिल गर्छौं । हाम्रो जुत्ताले नै पदसेवा गर्ने गर्दछ । सर्वदा पदाघात खाएर पनि पदसेवा गर्न वाध्य हुन्छौं हामी । अचेल पदाघात गर्नुभन्दा जुत्तापिटाइ गर्नु नै उत्तम हुन्छ । प्राचीनकालका मानिसहरू यस्ता जुत्ताको सुखदेखि वञ्चित थिए । ब्रह्मा, विष्णु, महेश वा श्रीकृष्णले जुत्ता लगाएका नक्सा कहिल्यै देख्नुभएको छ ? देवी-देवताका पादुका भनेको खराउ (खुट्टाका औँलाको कापले माथि उठेको सानो काठ च्याप्ने गरी वा खुट्टाका पञ्जालाई टायर आदिका फिताले अड़्याउने गरी बनाइएको काठका फ्ल्याकको तलुवा मात्र भएको पट्टी जस्तो जुत्ता) हो । तर औंली खराउमा घुसारेर दगुर्नु सकिँदैन न कि युद्ध नै गर्न सकिन्छ । प्लाष्टिक, नाइलन वा रबरका जुत्ता तयार गर्ने बुद्धि पनि देवताहरूमा थिएन कि ? पौरणिक युग मात्र होइन सप्तदश शताब्दीसम्म भारतका सबै मानिसहरू खालीखुट्टै हिँड़्थे । यसैले तिनीहरूको पद धूलो पर्याप्त परिमाणमै पाइन्थ्यो । यसैले भनिन्थ्यो - ‘दया गरेर एकदिन यो अधमको घरमा चरणय़को धूलो झारिदिनुहोला वा टक्टकाइ दिनुहोला ।’

अचेल पदसेवाका विभिन्न अङ्गहरू छन् । सोझो अर्थमा पदसेवाको अर्थ प्रणाम गर्नु हो । अचेल ठूला-बड़ा पदाधिकारीगणलाई मात्र पदसेवा गर्ने प्रथा देखिन्छ । जो जति उच्च अधिकारी हुन्छन् तिनी नै तत्यति नै धेर मानिसहरूका टाउको आफ्नो पदमा राख्ने अनि तिनीहरूद्वारा पदसेवा पाउने अधिकारी हुन्छन् । यस्ता उच्च अधिकारीगणलाई पदसेवा गर्दा तिनीहरूको खुट्टामै निहुरेर आफ्नो टाउको राख्नु पर्दैन न कि तिनीहरूको पाउ नै मोल्नुपर्छ । सोझै भनुँ भने, अचेल पदसेवा गर्ने प्रथा वा स्टाइल बदलेको छ ।

पदाधिकारीणको पदसेवा गर्ने प्रणाली वा प्रथा अचेल साह्रै सजिलो भएको छ । छुट्टीको समयमा गएको समयमा बस्तीको खाँटी घिउ, छालैसरीको गाउँमा छिनाएको खसीको मासु, पशुपति वा धुलाबारीमा बेचिने फरेन गुड्स हाकिमलाई प्रदान गरेर पनि पदसेवा गर्न सकिन्छ । एकदिन मेरा पिउन दुइ दिनको छुट्टी लिएकर गएका पन्ध्र दिनपछि भुकभुकै उज्यालोमा मेरो डेरामा आए । उनी कार्यालयमा यसरी अऩुपस्थित भएकालो म प्रचण्ड अग्निशर्मा भएको थिएँ । ढोका अघि ठिङ्ग उभिएर उनले मलाई सलाम गरे । रिसले आँखा केही देखिनँ । अति नम्र भएर उनले एउटा सेतो भोटे कुकुरको छाउरो मेरो हातमा दिँदै भने –सर ! गुरुआमाले भोटे कुकुरको छाउरो साह्रै मनपराउनुपर्छ भनेर यो बुहारीले पठाइदिएकी ।

श्रीमतीलाई मात्र होइन नानी केटकेटी बाहेक पनि मलाई कुकुर पाल्ने सोख । साह्रै राम्रो, मज्जाको भोटे कुकुरको छाउरो देखेर मेरो रिस कता गयो को’नि मलाई केही थाहा भएन । कुकुरको छाउरो मात्र होइन मेरो यी पिउनले घर गएका समयमा मलाई फरेनको छाता इत्यादि ल्याइदिएर पदसेवा गर्न गर्छन् ।

नून खाएपछि गुण गाउऩैपऱ्यो, उनको छुट्टी मिलाउनु ता मेरो देब्रे हातको कमाल हो । मलाई राम्ररी थाहा छ । जीवनभरि ता म मेरो यस्तो उच्च ओहोदामा बसिरहन सक्दिनँ । उमेर भइसक्यो । तै यसपालि सरकारले अवसर ग्रहण (रिटायर) गर्ने समय अरु दुइ वर्ष बढ़ाइदिएर साह्रै ठूलो गुण लाएको छ मलाई । त्यसैले यस्तो उच्च पदमा रहँदै जति पनि पदसेवा ग्रहण गर्न सकिन्छ वा पदसेवा ग्रहण गर्ने मौका जुर्छ टार्नु हुँदैन भन्ने निर्णयमा पुगेको छ म । पूञ्जीबिनै धरमा बसी बसी खाँटी घिउ, गाउँमा छिनाएको छालै अनि बोसैसरिको खसीको मासु हप्तैपछि खान पाउँदा अब ता यस्तै पदसेवा ग्रहण गर्ने बानी लागेको छ । किनभने, मलाई राम्ररी थाहा छ, यस्तो पदसेवा पनि आफू पदमा होइञ्जेल मात्रै हो । पदलोप भएपछि ता मेरो मूल्य केहीरहने छैन । सबैले बलेको आगो न ताप्छन् । मेरो कार्यलयमा मलाई पदसेवा गर्ने सेवकको सङ्ख्या बेला बखत ह्रास भए तापनि लोप भने अहिलेसम्म भएको छैन । बरु त्यो सङ्ख्या बढ़ेको छ । म ढाँट्नु जान्दिनँ, तर सत्य पनि बोल्न सक्दिनँ । तपाईहरूलाई किन ढाँटुँ (?) मेरो कार्यालयमा पहाड़पुर कमानका एकजना कर्मचारीले जोइन गरेदेखि सत्ते होला मैले आजसम्म चियापत्ती ता ठ्याम्मै किन्न परेको छैन । सिजनको बेला सुन्तला, अदुवा, इस्कुस, इस्कुसको मुण्टा, गट्टाको भकुण्डो खेल्छन् मेरा लालाबालाहरू । यी सबै मेरो उच्च पदको करामति हो । यसैकारण मेरो कार्यालयमा कुनै कुनै पद रिक्त हुँदा यस्ता पदसेवकहरूलाई मात्र एपोइण्टमेण्ट दिने रणनीति अप्नाएको कुरो हजूरलाई किन ढाँटुँ ! भन्नु उसो होइन, डाड़ु-पन्यू मेरै हातमा छ, जसोजसो बाहुन उसै उसै स्वाहा । मलाई कसले के गर्न सक्छ ? मेरो गोरुको बाह्रै टक्का ।

स्वाभाविकै रुपले हाम्रो देश मात्र होइन छिमेकी देशतिर पनि सबैभन्दा धेर पदसेवा पाउँछन् मन्त्री तथा नेताहरूले । कोटा, परमिट, नो अब्जेक्शन सर्टिफिकेट सबै नै मन्त्री वा नेताको ब्रिफकेशमा बन्दी रहेको हुन्छ । बस पदसेवाको अत्यन्त खाँचो छ । तर यो पदसेवा खाम मार्फत नै साङ्गे हुन्छ ।

पदसेवाभोगी .यी ब्यूरोक्रेटसहरूको अवसर ग्रहणपछि अवस्था अत्यन्तै करुणामय हुन्छ । पद गुमाएपछि पदसेवा लाभबाट वञ्चित हुने दुःख यिनीहरूले गम्भीर रुपमा लिन गर्दछन् । कारण यिनीहरूलाई पुनःपद प्राप्तिको अरु सम्भावना ठ्याम्मै रहँदैन । हुने कुरो पनि आएन । मन्त्री वा सांसद अथवा विधानसभाका सदस्य आदिको क्षेत्रमा पनि एकपल्टको कुनै झ्याउला नै छैन । त्यसैले यिनीहरूले पद गुमाए पनि आउँदो चुनावको निम्ति आशामा बसिरहेका हुन्छन् । अन्यथा दल फेरेर वा कुनै उपयुक्त पदसेवा गरेर पुनः कुनै पदका अधिकारी हुन्छन् ।

छक्का पञ्जा नजान्ने निर्बोध, निमुखा मानिस वा जसले कसैको पदसेवा गर्न जानेका हुँदैनन् तिनीहरूले भने जीवनमा के पाउँछन् ? तिनीहरूले कसरी जीवन धारण गर्छन् । तिनीहरूले सदैव नै जुता पिटाइ खान्छन् । सरकारी बजेको जुत्ता पिटाइ, विविध अर्डिन्यान्सको जुत्ता पिटाइ, कार्यालयमा बोसको जुत्ता पिटाइ, पुलिस-दादाहरूको जुलूमको जुत्ता पिटाइ, आदि विभिन्न प्रकारको जुत्ता पिटाइ खाँदा-खाँदै तिनीहरू स्वयम् नै जुत्ता हुने गर्दछन् र सबैका पदाघात खाएर जीवन विसर्जन गर्दछन् ।

नढाँटी भनुँ भने, मेरो कार्यलयका एकाध स्टाफके पदसेवाले मलाई एडिक्ट बनाएको छ । रिटायर भएपछि यो पदसेवाबाट म मुक्त हुनेछु । यसैले यसपालिको चुनावमा नोमिनेशन फाइल दर्ता गरुँ कि भन्दैछु । सांसद वा एमएलए हुने भाग्य मेरो छैन तर कम्तिको पनि यसपालिको काउन्सिलर मात्र हुन पाए पनि पदसेवकहरूको पदसेवाबाट म पट्क्कै वञ्चित हुने छैन भन्ने जल्पना-कल्पनामा म हुटहुटि रहेको छु । कारण यस्तो पद ओगटेर बस्न सकियो भने मात्र पद सेवकहरूको लस्कर लाग्छ मेरो डेरामा नत्र ता मरेको बाघको जुङ्गा सबैले उखाल्छन् कि ता खायो भाँड़ो मिल्कायो भाँड़ो अफाल तेरो ठाँड़ो गर्छन् । यो संसारको नियमै हो ।

सिलगड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।