18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डेटिङमा च्याटिङ

लघुकथा विजयराज आचार्य July 16, 2023, 12:04 am
विजयराज आचार्य
विजयराज आचार्य

कलेजको पहिलो दिनमै पार्वती र लक्ष्मणका आँखा जुधे । केही दिनपछि उनीहरू कलेजको क्यन्टिनमा सँगै बसेर गफिँदै चिया खाजा खान थाले ।
“आइ एम भेरी इम्प्रेस्ड विथ यू पार्वती !” क्यान्टिनमा चिया घुट्क्याउँदै एक दिन लक्ष्मणले भन्यो ।
पार्वतीका गोरा गाला राता भए । ऊ जाले भुतुक्क भई ।
संकोच मान्दै उसले सोधी, “के छ र म मा त्यस्तो ?”
“तिम्रो हक्की स्वभाव र खुलेर बोल्ने बानी मलाई मन पर्छ । तिमी धेरै स्मार्ट छ्यौ । आज मलाई मनपर्ने अर्को बानी थपियो,” लक्ष्मणमले मुस्कुराउँदै भन्यो ।
“त्यो के नी ?” पार्वतीले सोधी ।
“लजाएर घोप्टो परेर छड्के आँखाले मलाई हेरेको !” पार्वतीका गाला झन राता भए । पार्वतीले लक्ष्मणको
मुखमा हेरेर बिस्तारै भनी, “मलाई तिम्रो मेहनती र सहयोगी बानी मन पर्छ ।”
एकले अर्काको प्रशंसा गर्दागर्दै उनीहरूका हात दह्रोसँग

जेलिए । कक्षाको घण्टी सुनेर उनीहरू झस्के । भोलि शनिवार फर्पिङ पावर हाउस घुम्न जाने सल्लाह गरे अनि “आइ लभु यू !” भन्दै कक्षाकोठातिर लागे ।
भोलिपल्ट उनीहरू अँगालो मार्दै बस चढे । बस भञ्ज्याङ्ग पुग्यो । उनीहरू ओर्ले र पावर हाउसको पोखरी नजिक एकान्त ठाउँ रोजेर बसे ।
“क्या थाकियो !” भन्दै लक्ष्मण पार्वतीसँग टाँस्सिएर बस्यो ।
दुबै जनाले एक अर्काको न्यानो महसुस गर्न नपाएँदै लक्ष्मणको फोनको घन्टी बज्यो । फोनमा नाम देखेपछि ऊ अचानक उठ्यो र केही पर गएर फोनमा गफिन थाल्यो ।
पार्वतीले पनि मोबाइलफोनमा च्याट गर्न थाली ।
लक्ष्मण फर्कँदा ऊ खित्का छाडेर हाँस्दै च्याटिङ गर्दै थिई ।
“कोसँग च्याट गरेको ?” लक्ष्मणले सोध्यो । “पहिले तिमीले कोसँग कुरा गरेको भन न ।”
लक्ष्मणले पार्वतीको हातको फोन खोसेर हेर्न खोज्यो । पार्वतीले उसलाई धकेलेर पंछाई ।
“डेटिङमा पनि च्याटिङ ? म भ्रममा रहेछु,” लक्ष्मणले

रिसले ओठ कमाउँदै भन्यो ।
“तिमी के गर्दै थियौ नि ?” पार्वतीले आँखा तर्दै भनी । त्यसपछि उनीहरू एक अर्कासँग अपरिचित जस्तै भएर
घर फर्के ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।