चौवन्न वर्ष मात्रै आयु [ विं.सं. १८७१ - विं.सं १९२५ (सन् १८१४ - सन् १८६८)] पाएका कवि भानुभक्त आचार्यले तेह्र्-चौध वर्षको ठिटौले उमेरमा उमेर [ (विं.सं. १८८४ (सन् १८२७) देखि ४१ वर्ष (विं.सं. १९२५ / सन् १८६८)]-को उमेरससम्मै कविता साधनामा आफ्नो समय फुर्मास गरेको पाइऩ्छ । यसरी भानुभक्तको कविता यात्राको उपलब्धि हेर्दा उनले ठिटौले उमेरदेखि स्वर्गारोहण हुने समय (विं.सं १८८४ / सन् १८२७ देखि (विं.सं. १९२५ / सन् १८६८) सम्म ४१ वर्षसम्मै २६ वटा एक श्लोके मुक्तक, १४ वटा फुटकर कविता, ३ वटा लघुखण्डकाव्यर एउटा महाकाव्य लेखेको पाइन्छ ।
रामायण : पूर्वपीठिका -
संस्कृत ग्रन्थ 'अध्यात्म रामायण'-लाई स्रोत मानिई उल्था गरिएको 'रामायण' महाकाव्यलाई भानुभक्त आचार्यको अन्यान्य काव्य सिर्जनाहरूमध्ये सर्वोपरि वृहत् एवम् विस्तृत रचना मानिन्छ । भानुभक्तले रामायणलाई सातकाण्डमा विभाजन गरी सिङ्गो रामायण तयार पारेका छन् । यस सातकाण्ड (बालकाण्ड, अयोध्याकाण़्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड र उत्तरकाण्ड) तयार पार्न भानुभक्तलाई २७ वर्षको समय खर्चिनु परेको देखिन्छ । यी सातकाण्ड रामायणमध्ये बालकाण्ड आफ्नै घर चुँदी रम्घामा वि.सं १८९८ / सन् १८४१ मा पूरा गरे भने वि.सं १९११ / सन् १८५४ मा अयोध्यकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्ड चाहिँ काठमाण़्डौंको कुमारीचोक अड्डामा पाँच महिनाजतिको थुनामा परेको बेलामा अनि अन्य दुइ काण्ड युद्धकाण्ड र उत्तरकाण़्ड वि.सं. १९१९ /सन् १८६२ तिर उल्था गरेको पाइन्छ ।
चित्तदुख्दो कुरो, शिष्ट नेपाली महाकाव्यको रुपमा सर्वाधिक लोकप्रियको पगरी गँथेको यो नेपाली रामायणको प्रकाशित अनुहार हेर्ने भाग्य भने कवि भानुभक्तलाई जुरेन । उनी बितेका सोह्र वर्षपछि मात्र वि.सं. १९४१ / सन् १८८४ मा बालकाण्ड अऩि त्यसपछि वि.सं. १९४४ / सन् १८८७ मा सातकाण्ड रामायण प्रकाशित भएको पाइन्छ । यस महाकाव्यको खोज गरी प्रकाशितसम्म गरेर नेपाली संसारलाई बिर्सिनै नसकिने गुण लाउऩे काम मोतीराम भट्टले गरेका छन् । भानुभक्तको जीवनकालमा पनि अप्रकाशित भएर कुना कुनामा थन्किई बसेको नेपाली जातिको सञ्जीवनी रुपमा देखा परेको नेपाली रामायणलाई धुइँपताल गरी प्रकाशमा ल्याउने मोतीराम भट्टलाई नेपाली रामायणका कोलम्बस नाउँले सुशोभित गर्नु कुनै पूर्वाग्रह वा बठ्याइँ नहोला भन्ने मेरो दावी छ । हामी समस्त नेपाली जातिको अशेष श्रद्धा नेपाली रामायणका कोलम्बस मोतीराम भट्टलाई ।
भानुभक्तीय रामायणलाई विद्वानहरूले मौलिकता र अनुवादको दोसाँधको रुपन्तर साथसाथै स्वत्न्त्र भावानुवाद रुपमा हृदयभित्रबाट स्वीकार्नुमा कुनै कञ्जुस्याइँ वा कपट्याइँ गरेको देखिँदैन । यस विराट महाकाव्यमा कवि भानुभक्तले प्रयोग गरेको नेपाली भाषा-शैली यान्त्रिक अनुवादजस्तो ठ्याम्मै लाग्दैन । शब्दचयन, वाक्यांश, उखान-टुक्का, उक्तिविन्यास र छन्द योजना आदिमा मौलिकताको छहरा छचल्किएको पाइऩ्छ ।
आफ्नो मौलिक अनुवादृकलाको सीपमा कुँदिएको भानुभक्तीय रामायणका श्लोकहरू सङ्क्षिप्त रुपमा प्रस्तु गर्ने कवि भानुभक्तको अऩुवादेली सीप एवम् कल टड़्कारो देखिन्छ । मूल अध्यात्म रामायणमा मोठ ४,३५० श्लोक सङ्ख्या छन् । ती ४,३५० श्लोक सङ्ख्याबाट ३,०३१ श्लोक घटाएर नेपाली रामायणमा कवि भानुभक्तले (४,३५० - ३,०३१ = १,३१९) १,३१९ श्लोकमा यत्रो विशाल सातकाण्ड रामायण पूरा गरेका छन् । प्रतिशतको हिसाब हेर्दा यिनले मूल रामायणबाट ६९.३९ प्रतिशत घटाएर ३०.३१ प्रतिशत श्लोक राशिमा नेपाली रामायण तयार पारेका छन् ।
ठेट /झर्रा शब्द -
कवि भानुभक्त आचार्यद्वारा रचित यो नेपाली रामायण महाकाव्यमा संस्कृतका तत्सम् शब्द लगायत अरबी (खुशी) - फारसी (मर्जी) शब्दहरू धेर-थोर प्रयोग भएको पाइए तापनि विशुद्ध नेपाली भाषाको तद्भव शब्दहरूको छेलोखेलो देखिन्छ । विशुद्ध नेपाली भाषाका यी तद्भव शब्दहरूको भरमार प्रयोगका साथै ठेट एवम् झर्रा शब्दको प्रयोगले यस महाकाव्य सरल र सरस हुनाका साथै लोकप्रिय समेत हुनमा छिनु र मार्तोलको काम गरेको छ ।
हुन पनि हो, भानुभक्तीय रामायण वाचन गर्दा वा सुन्दा दाँतमा ढुङ्गो लागे झैं नभएर नौनी घिउमा छुरी चलाएको जस्तो लाग्छ । जति पढ़े पनि जति सुने पनि धितै नमर्ने । पढ़िरहुँ लाग्ने..,सुनिरहुँ लाग्ने ।
भानुभक्तका बाजे श्रीकृष्ण आचार्य पोख्त् विद्वान् थिए भन्ने कुरो भानुभक्त स्वयमले नै आफ्ना बादे हजूरलाई 'विद्यामा धुरन्धर' भनिदिएका कुरा नै मनग्गे छ । यसबारेमा हेनतेन बखान्ने कामै छैन । सानो उमेरमै संस्कृतका स्तोत्रहरू खर्लप्पै छिचोलिसकेका भानुभक्त १५/१६ वर्षको ठिटौले उमेरमा 'विद्या खोज्न' काशी पुगेका थिए भन्ने तथ्य पाइन्छ । भनिएको पनि छ नि ( !) "बुढ़ेसकालमा काशीवास जानु र विद्या हराए काशी जानु ।" बनारस (काशी)मा बाजे श्रीकृष्णसँगको विद्याभ्यास अऩि अर्कोतिर काशी पाठशालामा संस्कृत घोकाइँले भानुभक्तजस्ता उद्यमी अनि मेधावी विद्यार्थीलाई संस्कृतका जण्डा विद्यार्थी नबनाएर कसलाई बनावोस् ता ? बनारस (काशी) विद्याभ्यास गरेर संस्कृत खर्लप्पै पारेका भानुभक्तले रामायण भावानुवादकलामा संस्कृतको घुर्की कहिल्यै देखाएनन् न ता उनले रामायणभरी संस्कृतै-संस्कृत शब्दहरू ओकलेर त्यस्ता फ्वाँक नै देखाएको पाइन्छ । संस्कृत भाषामा लेखिएको अध्यात्म रामायणलाई सरल सहज पाराले उल्था गर्नु मात्र होइन झर्रा र ठेट शब्दका प्रवर्त्तककै रुपमा आफ्नो ऩाउँ अग्रिम पङ्क्तिमा सुरक्षित राख्न पनि सफल देखिन्छ भानुभक्तलाई ।
हुन ता झर्रोवादी आन्दोलन वि.सं २०१३ (सन् १९५६) देखि मात्र आरम्भ भएको हो भन्ने विद्वानहरू पनि नदेखिएका होइनन् । यो कुरा स्वीकार्य भए पनि झर्रा शब्दको घड़ेरी खन्ने काम चाहिँ भानुभक्तद्वारा नै भएको हो भन्दा कुनै टुटा नपर्ला कि !
भानुभक्तीय रामायणमा झर्रा शब्दहरूको प्रयोग भक्कुचूर भएको पाइऩ्छ । खासै कुरा भन्नु हो भने, निम्नवर्गहरूका जिब्रामा यी झर्रा शब्दहरू सजिलै पाराले भिज्छन् (टाँसिन्छन् ?) । कारण, बिहान ओछ्यान छोड़ेदेखि बेलुकी ओछ्यान परुञ्जेल बोलिरहनु पर्ने, सुनिरहनु पर्ने यी झर्रा / ठेट शब्दहरू । सजिलैसित जिब्रामा भिज्ने शब्द झर्रा शब्द । यसैकारण, भानुभक्तीय रामायणमा प्रयोग गरिएका झर्रा शब्दहरूले रामायणलाई लोकप्रिय बनाउनुमा पनि छिनु र मार्तोलको काम गरेको कुरा निर्विवाद सत्य साबित भएको छ ।
भानुभक्ती रामायणभित्रका श्लोकहरूका आङ्भरि झर्रै-झर्रा / ठेटै-ठेट शब्दहरू वालछ्याल पाइऩ्छ । ती सबैलाई यहाँ समेट्नु हो भने यस लेखौटले विशालकाय रुप लिने डर छँदैछ । यसकारण भानुभक्तीय रामायणका सातैकाण्डबाट यस्ता शब्दहरू भएका श्लोकहरू उदाहरणको रुपमा मात्र यहाँ राखिन्छ -
आफ्नो रामायणको आरम्भमै भानुभक्तले लोकमङ्गलभावनाको मन्त्रोच्चारणबाटै झर्रा शब्दको प्रयोगद्वारा चिरशाश्वत सन्देश प्रदान गर्ने काम गरेका छन् । लोकको हित गर्ने बारेमा नारद् आफ्ना मानसिपता ब्रह्मजीसँग उपदेश लिन सत्यलोक पुगेका छन् भन्ने कुरा भानुभक्तले सहज सरल भाषामा प्रस्तुत गरेको पाइऩ्छ ।
ठेट / झर्रा शब्दहरू प्रयोग गरिएका केही श्लोकहरू -
१। "एक् दिन् नारद् सत्यलोक् पुगिगया लोकको गरूँ हित् भनी ।
ब्रह्मा ताहिं थिया पऱ्या चरणमा खुसी गराया पनी ।। (बालकाण्ड : १)
२। "भ्याग् तो खाँ भनि खोज्छ डाँस मुख विषे साँप् ले धऱ्याको पनी ।
त्यस्तै भोग् गरुंला भनेर मनले भन्छन् दुनीयाँ पनि ।।
क्याको रस् छ यहाँ विचार मनले काल़सर्प् को मुख धरी ।
क्या होला वन जाउँला इ सबलाइ आनन्द राखुन् हरी ।।" (अयोध्याकाण्ड : ३१)
३। "रावण् झन् वीर थियो अति झपट् गरी हातमा खड़्ग लीयो ।
काट्यो दुवै पखेटा रिस सित र तहाँ भूमिमा पारि दीयो ।।
बाधा पाई जटायु पृथिवीतल गिऱ्या फेरि रथ् को तयारी ।
जल्दी पाऱ्यो र सीता लिइ कन पुगि गो दुष्ट ता सिन्धु पारी ।।" (अरण्यकाण्ड : ८९)
४। "चार् कोस् का हनुमान देखि सुरसा बिस् कोस् को मुख् गरिन् ।
चालिस कोस् हनुमान् भया र असि कोस् मुख् फेरि जल्दी धरिन् ।।
जल्दी फेर् हनुमानले छबिस कोस् को रुप् गराई बस्या ।।
फेर् दुई सय कोस् मुखै जब गरिन् अँगुष्ठ झैं भै पऱ्या ।।" (सुन्दरकाण्ड : ८)
६ । "हान्या वज्र समानको र मुठिले बज् ऱ्यो मुठी त्यो जसै ।
रावण् हो बलवान् तथापि रगतै छाद्दै गिऱ्यो पो तसै ।।
लक्ष्मण् श्रीहनुमान देखि खुसि भै साह्रै हलुका भया ।।" (युद्धकाण्ड :११९)
७ । "मेरै पुत्र त हुन् दुवै इ कुशलव् जम् ल्याह पैदा भयो ।
सीताजी पनि शुद्ध छन् सब बुझ्याँ भयो ता पनी ।
सीताजी त तयार् भइन् तस बखत् पस्छु म नीया भनी ।।" (उत्तरकाण्ड : १८८)
उपरोक्त श्लोकहरूमा बाहेक पनि सातैवटा काण्डका श्लोकहरूमा यस्ता झर्रा शब्दहरू कति पाइन्छन् कति ! भानुभक्तीय रामायणमा देखा परेका केही झर्रा शब्दहरू ः महतारी, बूढ़ी, बैन्ही, फुस्रा, खस्कि, फारी, थिच्दै, छाद्दै, मिच्तै, रोक्ता,चेप्ताजस्ता शब्दहरू साउँ-अक्षर मात्र प़ढ़्न जान्नेका निम्ति अत्यन्तै उपयोगी साबित हुन्छ । त्यस्री नै झर्रा शब्दहरू जिब्रामै भिज्ने खालका छन्च । जस्तो - तारो, पोली, गिँड़्, भेल, पोको, निको, गोड़ा, जुद्दा, टहल, घुस्सा, मुड़्की, कछाड़्, उर्दी, डोरी, हाँगा, चुल्ठो, च्यापु, डोको, चोटा र कोठा, साँघु, बुच्चि, रिङ्टा, भँगेरा, मुर्दा, भुसुना, जम्ल्याहा आदि ।
यसबाहेक पनि, भानुभक्तीय रामायणका सातैवटा काण़्डमा भानुभक्तले ठेट असमापिका क्रिया, झर्रा नेपाली क्रियापदहरूको प्रयोग गरेर रामायण सरल, सहज बनाउनु मात्र होइन तर त्यस्ता शब्दह्ररूका सम्मान पनि गरेका छन् । रामायणले विश्वभरिका तमाम् नेपालीलाई एक सूत्रमा बाँध्ने काम मात्र गरेको छैन तर यसले ता हाम्रो शब्द ढुकुटीमा रहेका प्रशस्तै ठेट झर्रा शब्दलाई जोगाइ राखेको छ ।
हिजोआज झर्रा शब्द र ठेट शब्दहरू स्मृतिका गर्भमा बिलाउन थालिसकेका छन् । हामीले प्वाकल (ढिकी, ओखली आदिको खोबिल्टो), डाइनु (मकै आदिको ठेट्नु), डाँस (गाईवस्तुलाई लाग्ने एक जातको ठूलो जङ्गली झिङ्गो), कुसाकाठी (चिउराको धान लगाउने दाबिलो), साँबी (ढिकीको मुसलमा ठोक्ने), गबुवा (गाई-भैंसीको दूध दुहुने काठ वा घाँसबाट बनेको भाँड़ो, ढुङ्ग्रो, दुधेरो), पस्यौटो (टाँक वा घुँड़ी छिराएर अड्काउन बनाइएको प्वाल), जुरेलो (झुण्ड्याउनका लागि घुमका पीठमा लगाइएको उझिण्डो, जुरेली चरी), सुकुलगुण्डो (घरमा धनसम्पत्ति केही नभएर पनि बाहिर धनी झैं ठाँट-बाट गरेर हिँड़्ने व्यक्ति), गगेरो (दही जमाउने), भने (मही बोक्ने), कुँडुलो (नाङ्लोको बिट), कुँड़े (दूध बनाउऩे भाँड़ो), तोक्मा [ङ] (खास गरी पहाड़ी खण्डमा भरियाहरू मालसमान बोक्ने बोझबाट उभिएको तेर्सो हातो हुने बलियो लट्ठी), चुल्हौटो (चुल्हो पोत्ने लुँड़ो), कठौतो (पढ़्दा पुस्तक राख्ने चेपुवा ढङ्गको काठको नेपाली टेबिल), कठालो (कमिज, मयलपोश आदिको घाँटी वरिपरिको घेरो), थिग्रो (पानी, तेल आदिको पीँधमा जमेका कसर वा छोक्रा), खैमल (डोकाको तल्ला अड़्याउने ताल्चा) आदि झर्रा वा ठेट शब्दहरूलाई हामीले माया मारिसकेका छौं ।
हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, कपाट (दैलोका पल्ला). खुरो (दैलो, झ्याल अड़्याउने तल माथि निस्किएको डण्डा), गरालो (बलो), गराली (तगारोको तेर्सो काठ) दलिन (काठको घरमा माथिल्लो टाँड़् छाप्न विछ्याइएका बिम, बटम), धुरी (छानाको सिरानभाग), पँधेलो (छानाको पानी डोऱ्याउने नाली), मर्सेली (चुला वरपरको सम्म भाग), गरियो (तेल हाल्ने काठको बट्टा), गम्बु (घिउ राख्ने काठको ठेकी), चिर्पट (पानीको गाग्रो राख्ने ठाउँ), चौंठी / चौंठो (तेल हाल्ने काठको भाँड़ो), जुइनु (नबाटिएको एक किसिमको डोरी) आदि ठेट वा झर्रा शब्दहरू हामीले हाम्रो शब्दभँड़ारबाट मिल्काइसक्यौं । यस्ता ठेट र झर्रा शब्दहरू आफ्ना रचना वा लेखौटमा प्रयोग गर्ने हाम्रा साहित्यकारहरू कति पो छन् र ! हिजोआज। यी ठेट / झर्रा शब्दहरूको सुरक्षा गर्नु अनिवार्य देखिन्छ ।
अब हाम्रो भाषामा भत्केसो लागिसकेको छ । भानुभक्तै रामायण दिनहुँ दोहोऱ्याइ-तेहेऱ्याइ सरसरी पढ़्यौ भने पनि भक्कुचूर ठेट / झर्रा शब्दहरू यिनै रामायणबाट सिक्न सकिन्छ । साथसाथै हाम्रो शब्द ढुकुटीमा यी झर्रा / ठेट शब्दहरू कहिल्यै फुर्मास हुनेछैन न कि स्मृतिको गर्भमा बिलाउने मौका नै पाउँनेछ ।
जय ठेट शब्द ! जय झर्रा शब्द !!
सिलगड़ी, भारत