17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ईश्वर र मानिस

कविता गोपालसिंह विश्व July 14, 2023, 11:53 pm
गोपालसिंह विश्व
गोपालसिंह विश्व

कति निरिह थियो
प्रकृतिको आदिम सृजनामा मानिस भनिने
दुई खुट्टे प्राणी।
यस धरतिका असङ्ख्य पशु-प्राणी सरह
हाड़, मासु र रगतले बनिएको उसको शरीर
उसका अङ्ग-प्रत्यङ्ग र सारा अवयवहरू
मुटुको धड्कन,
फोक्सोको श्वास – प्रश्वास
भोक निद्रा यौनक्रिड़ा
सम्पूर्ण क्रिया-प्रतिक्रियामा
कति फरक थियो र !
जीव विकासको इतिहासमा
नरवानरदेखि मानवसम्म
प्रकृतिको स्वछन्द उपभोग गर्दै हिँड़ेको
लाखौं वर्षको सहयात्रा थियो त्यो।
ए विवेकशील प्राणी !
तिम्रो विवेककै कारण त हो
विकासको यस खुड्किलोमा माथि उक्लिनु
र अन्य प्राणीभन्दा फरक हुनुको
वास्तविकता।
तर कति सहजै भुलिदियौ तिमीले
त्यो भोग्दै आएको मानव इतिहासको आदिम कथा।
नव सभ्यताको सुर्योदय हुन अघि
त्यो मिर्मिरे उज्यालोमा
प्रकृतिका घटना परिघटनाहरू देखेर अचम्भित
आफ्नो कौतुहलता र जिज्ञाशाको उत्तर खोज्दै
प्रतिस्थापना गरेका थियौ तिमीले
आफ्नै मनलाई बुझाउन
कल्पना परिकल्पनाभित्र
एउटा आस्था र विश्वासको प्रतिमूर्ति
र भन्यौ त्यसैलाई ईश्वर, अल्लाह, गड ।
अर्धचेतन मन र अज्ञानताको अन्धकारमा गढ़िएको
त्यस ईश्वरलाई नै
युगौंदेखि
मानिसले अनेक रुप अनेक स्वरुपहरूमा
हेर्दै आए
कसैले सम्पूर्ण ब्रह्माण्ड र सृष्टिका सर्जक
निराकार अदृश्य कुनै महाशक्तिको
त्यो अलौकिक रुपलाई नमन गरे
संसारका प्रत्येक जीवात्माहरूका सृजन स्रोत
दिव्य शक्तिस्वरूप परमात्मालाई प्रणाम गरे।
कति सत्कर्म, प्रेम र भक्तिको बाटोमा हिँड़े।
मानव मानव माझ परोपकार
र समानताको सन्देश फैलाए
धन्य छन् ती महापुरुषहरू
जसले हामीलाई सत् मार्ग देखाए।
बुद्धले अहिंसा परमोधर्मको पाठ सिकाए
ख्रीष्ट मानव प्रेम र सेवाको निम्ति क्रुसिफाइड भए
महावीर र गुरुनानकले पनि
यहाँ सत्य र मानवताकै पाठ पढ़ाए
रामकृष्ण परमहंस, स्वामी विवेकानन्द
कति सद्गुरु, साई, आचार्य महापुरुषहरू आए
नि;स्वार्थ सेवा, मानव कल्याण र सत्यको मार्ग देखाए
धन्य छन् ती महामानव, महापुरुषहरू।
तर -
कति धुर्त अमानवीय दुराचारी बने
असत्यको कुमार्गमा पनि हिँड़े।
अति-चातुर्य र कुटिलता सहित धर्मलाई
आफ्नो अहङ्कार, आडम्बर र स्वार्थको साधन बनाए,
थरी थरीका काल्पनिक मिथकहरू गढ़े
भाग्य-दुर्भाग्य, पाप र पुण्यका कथाहरू जोडे
अनि घोषणा गरे स्वयंलाई
सर्वज्ञानी ईश्वरको दूत।
अनि युगौं युग
सत्य र असत्यको भ्रम
अन्धकारको साम्राज्य छाई रह्यो।
सत्ताको छहारीमा पत्ता तिनको खुब चल्यो
बनाए मुर्ख विवश
लाटा, सोझा, खटीखाने निमुखाहरूलाई।
बनाए थरी थरीका विधि-विधान,
लगाए निषेध र प्रतिबन्धहरू अनेकौं
खुब चलाए आफ्नो हैकमबाद
तानाशाही सामन्तवादको छत्रछायाँमा
खुब गरे मौजमस्ती
लुटे गरिबको खुन-पसिना
खुब चलाए दीन-हीनमाथि आफ्नो दादागिरी।
ए कुटील आडम्बरी मानव !
के थाह थिएन तिमीलाई?
कर्मपथमा हिँडेका
ती निर्दोष निरिह जीवात्माहरूको
रगत र पसीनाको मोल
सर्वहारा मेहनतकश हातहरूले
संसारमा परिवर्तनको
सुनौलो बिहान ल्याएको इतिहास
थाह थिएन तिमीलाई ?
उनीहरू नै त थिए
यस धरतीमा मानव सभ्यताको जग बसाल्ने
विकास र प्रगतिका लौह स्तम्भहरू
समाज र सभ्यताका कर्णधार ।
मानव जीवनलाई सहज सरल बनाउन
कर्मपथमा लागिपरेका
ती शिल्पी उद्योगी हातहरूलाई
तिमीले कसरी अश्पृष्य ठहर गर्यौ ?
र तथाकथित अश्पृश्यताको आधारमा
युगौंदेखि तिमीले
पक्षपात र अन्यायको कहर वर्षाउँदै आयौ।
मानव समाजको यस्तो अमानवीय विकृतिलाई
अब संस्कृतिको आधार भन्ने गरिन्छ
जातीय अभिमानको संस्कार ठानिन्छ
मानिसलाई मानिससम्म नगन्ने
यस्तो अमानवीय कुकृत्य, कुसंस्कृति पालेर
षड्यन्त्र र पक्षपातको कुचक्र कुसंस्कारहरूलाई
आजसम्म जिउँदो राखेर
खोई ! कुन बाटोमा हिड़िरहेछ मानिस
के यही त्यो ईश्वरसम्म पुग्ने बाटो हो ?

डुवर्स

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।