दार्जिलिङमै छु अहिले म । तर दार्जिलिङमै बसेर पनि दार्जिलिङ पाइनँ....भेटिनँ कतै । अहिले म सुपर मार्केट अघिल्तिर दार्जिलिङ-सिलिगुड़ी पिजु स्ट्याण्डको टिकट काउण्टर भित्र बसेर दार्जिलिङ खोजिरहेछु एक तमासले । कहिले हस्पिटलमाथिबाट जुलूस बग्दै आएर थानातिर बग्छ...कहिले कचहरीबाट जूलूस बग्दै आएर हस्पिटल उकालो लाग्छ । जिन्दाबाद-जिन्दाबादका नारा मोटर स्ट्याण्डभरी रुमलिन्छ । म आफू कविता लेख्ने मान्छे । मेरा आँखाले दार्जिलिङ खोजिरहेछ....जुलूस भट्याउनेको आह्रिस र देखासिकी गरी सड़कबीचमै यसरी कविता फलाक्न थालेछु -
दार्जिलङ....ओ...दार्जिलिङ
मेरी हृदयेश्वरी दार्जिलिङ
गल्ली, गल्ली, कुना-काप्चामा खोजेँ
जूलूसको चेप चेपमा खोजेँ
बाटाघाटामा खोजेँ, उकाली-ओह्रालीमा खोजेँ
पोष्टर भित्तामा खोजेँ, गिताङ्गे डाँड़ामा खोजेँ
पहाड़-कन्दरामा खोजेँ, धारामा खोजेँ
खोल्सामा खोजेँ, झोड़मा खोजेँ
म्युनिसिपल्टीको डस्टबीनमा खोजेँ
ब्यूटी पार्लरहरूभित्र खोजेँ, रेष्टँरा-क्याफेमा खोजेँ
कलेटी परेका आँखाह्ररूमा खोजेँ
पैह्रो गएका ठाउँहरूतिर खोजी
घाइते मुटुभित्र खोजेँ दार्जिलिङ ।
तिमी हराएकी कुरा सबैलाई सोधेँ
जुलूस भट्याउनेहरूलाई सोधेँ
तिर्...तिर्.. सिटी फुक्ने ट्राफिक पुलिसलाई सोधेँ
तिमी हराएकी सूचना सबैलाई सुनाएँ
तिम्रो सुइँको कतै पाइऩँ
थाना-कचहरी-पुलिस पोष्ट-पोष्टमा- सोधेँ
निमुखा छलकपटविहीन मान्छेका अनुहारको
मानचित्रमा खोजेँ....उनीहरूको भूगोलमा खोजेँ
स्कूलेहरूका स्कूल ब्याग-ब्यागमा खोतलेर हेरेँ
कलेजियनहरूका खाता-कितापका चेपचेपमा खोजेँ
भारी भोक्ने भरिया दाइको दाइहरूको
पटुकामा खोतली खोतली खोजेँ
सीआरपीको बुटभित्र खोजेँ
खुकुरीको दापभित्र खोजेँ
बन्द कमानतिर धुइँपताल लाएर
हत्तु हैरान भएर खोजेँ
खबर तिम्रो कतै पाइनँ
कसैले तिमीबारे केही भन्ने मनै गरेनन्
दार्जिलिङभित्र दार्जिलिङ हराएकी पाएँ ।
दार्जिलिङभित्रै दार्जिलिङ हराएकी सूचना सार्वजनिक गर्नुपर्दा आफैलाई हुनसम्मको कुरीकुरी लाग्यो । दार्जिलिङमा बसेर दार्जिलिङ हराएकी कुरा गरेको सुन्नेले मलाई अर्द्धसिल्ली ठान्लान् वा भन्लान्...ठानुन् वा भनुन् । भन्नेको मुख कसले थुन्ने ? छातीमा दाहिने हातको मुठी बजारेरै दार्जिलिङभित्र दार्जिलिङ हराएकी सूचना म खुलेआम सार्वजनिक गर्न चाहन्छु । यो अपत्यारिलो सूचना सार्वजनिक भएपछि वा एक कान दुइ कान मैदान हुन थालेपछि यसबारे कैफियत मागिएला हो । दार्जिलिङलाई लाहुरे माया चाउरे प्रीति लाउनेहरूले मनगढ़न्ते सूचना दिने दिने यो अर्द्घसिल्ली 'कृष'-लाई हेनतेन प्रश्न गरेर केरकार पार्लान् हो । दार्जिलिङे भाषामा भन्नु हो भने, "यो हरिलट्ठकले हावा पिट्यो" भन्लान् हो वा दार्जिलिङ्कै भाषामा "यो मूलाले बीटी (बिग टक) दिएको पनि भन्लान् हो । पर्वाह छैन । लुतो कनाइ केही छैन । यहाँका नेताहरूले अपत्यारिला कुराहरू गर्दा, आफ्नै जनता-जनार्दनलाई ढुक्कैले हावा पिट्दा, बीटी (बिग टक) गर्दा ता आजसम्म कसैले ती ढट्टु नेताहरूलाई केरकार गर्न सकेका छैनन् भने, कसैले कैफियत माग्ने आँटै गरेका छैनन् भने म एकदिने पाहुनालाई के को केरकार, के को कैफियत होइन र ! बगम्फुसे सूचना सार्वजनिक गर्दा मलाई चेपारोमा पार्ने प्रयास पनि गर्लान् हो कत्ति-कत्तिले । खै ढाँटेको कुरो पनि पत्याउन लाउने नेताहरूलाई आजसम्म दार्जिलिङ वीर पुरूष वा वीराङ्गणाहरूले चेपारोमा पार्न सकेका छैनन् भने यो बाहिरबाट आएको मधिसेलाई किन के भनेर कुन मुखले, कुन आँटले चेपारोमा पार्लान् ? तर हजूर ! यो सत्य हो ; दार्जिलिङभित्रै दार्जिलिङ हराएकी छ....पक्कै हराएकी छ ।
म अहिले दार्जिलङ - सिलिगुड़ी पिजु स्ट्याण्डमा एउटा पिजुभित्र बसेर रमिता हेर्दैछु । गाड़ीमा सिलिगुड़ी जाने यात्री एकेकजना भरिँदैछन् । मेरो दाहिनेपट्टि र देब्रेपट्टिका पिजुमा यात्रुहरू भरिसकेको छन् । गाड़ी गुड़ेको छैन । क्षण-क्षणमै किसिम बेच्नेहरू आएर वाक्कै र दिक्कै पार्दारहेछन् । कोही तित्यौरा, कोही बदम, कोही नरिवल, कोही चना चटपटे का कोही मोजा आदि आदि बेच्न आउँदा रहेछन् । गाड़ीमा चढ़िसकेका तरुणीहरूले तित्यौरा किनेर जिब्रो पड़्काउँदै खाएका पनि देख्दैछु । यी तरुणीहरूलाई अमिलो भन्ने के साह्रो मनपरेको ? मेरो छेउमा बसेका दुइजना गाड़ीका क्लिनरहरू गफ गरेका पनि सुनिरहेछु । एकजना भन्दैथिए आफ्नो साथीलाई - "केटीहरूले अमिलो के साह्रो मनपराएकी होला हई ?" अर्कोले तुरुन्तै जवाब दिेएको पनि सुनेँ, "तलाई थाहा छैन ? केटीहरूले अहिल्यैदेखि नै अमिलो मनपराएको चाहिँ प्र्याक्टिस गरेको नि अमिलो खाने...पछि अमिलो खानु सजिलो पर्छ भनेर ।" उनीहरूको कुराको अर्थ आरम्भमा केही बुझिनँ । तर श्रीमती दुइ जीउकी हुँदा मलाई तित्तिरी ल्याइमागेको कुरा झट्ट स्मरण भयो अनि पो बुझे यी भाइको कुरा । तर ती युवतीहरूले मुख मिठाउँदै तित्यौरा खाएका देख्दा मेरो मुखभरी थुक आयो । मैले घुटक्-घुटुक् थुक निलेको ती क्लिनर भाइले देखेछन्, हतार हतार तित्यौरा बेच्नेलाई बोलाएर मलाई दुइ पाकिट तित्यौरा किनिदिए ।
तित्यौरा खाँदै तित्यौरा बेच्नेसित गफ गरेँ । तित्यौरा बेच्ने ठिटोको नाम रामलखन रहेछ । ठिटो रामलखनले सिजनमा खाई-खर्च सबै काटकुट पारी, महाजनको तिरोतारो गरेर पनि प्रतिदिन सयदेखि डेढ़ सय रुपियाँ जोहो गर्दोरहेछ । दार्जिलिङ मोटर स्ट्याण्डले प्रतिदिन बग्रेल्तै बेरोजगार रामलखनहरूका निमित्त रोजगारको व्यवस्था गरेको देख्दा यी ठिटाहरू प्रति सहानुभूति पलाए पनि हाम्रो बेरोजगार ठिटाहरू हिङ नभए पनि हिङको टालैका रुपमा पनि नदेख्दा सामान्य मन कुँड़ियो । अचम्म ता केमा लाग्यो भने, दार्जिलिङ बजारभरि किसिम चिजबिज, खानेकुरा, अण्डा, चिया बिक्री गरेर बेरोजगार समस्यादेखि मुक्त हुन चाहने रामलखन, पङ्कज, दिनेश, चन्दन, कुश्वेश्वर, महादेवहरू गाउँ-गाउँ गई सब्जी, माछा, फल-फूल, दही. कपड़ा आदि बिक्री गर्नेहरूमध्ये एकैजना पनि रेथाने वा भूमिपुत्रहरू देखिनँ । यसको अर्थ दार्जिलिङका रैथाने वा भूमिपुत्रहरू जत्ति सबै हाइली क्वालिफाइडका साथै बेरोजगारमुक्त रहेछन् भन्ने कुरामा मलाई सामान्य सञ्चो भयो । तर असम्भव । आज दार्जिलिङ साँच्चै बेरोजगारमुक्त हुँदो हो ता यहाँका रैथाने वा भूमिपुत्र युवा-युवतीहरूले दार्जिलिङलाई हङकङ, मलाया, सिङ्गापुर, दुबई बनाइसक्थे । मधेशबाट यहाँ आएर यी ठिटाहरूले तित्यौरा, चना चटपटे, अण्डा, पिरो-मुरी, आइसक्रिम, बदम, माछा बेचे जस्तै हाम्रा भूमिपुत्रहरूले यिनै कुराहरू बिक्री गर्दा हुन्न र ? हाम्रो यी रैथाने बेरोजगार युवाहरूले यी मधिसे युवाहरूले झैं चिजबिज बिक्री गरे दार्जिलिङ सामान्य भए पनि बेरोजगारको गह्रौ भारले थिचिएर उकुसमुकुस हुने थिएन अवश्यै पनि । तित्यौरा आदि बेच्नेहरूले दार्जिलिङमा बिल्डिङ ठहराइसकेका छन् भने चना चटपटे बेच्नेहरू भटभटेमा हिँड़्न थालेका छन् । बदम बेच्नेहरू, कफी बेच्नेहरू ठाँटबाटले हिँड्ने भइसकेका छन् । सुदूर गाउँबाट आफ्ना मामा-काकासित आई सामान्य व्यापार गर्न थाल्छन् तर हाम्रा रैथाने वा भूमिपुत्र बेरोजगार युवाहरूलाई बजारबीचमा अण्डा, फकुण्डो आदि बेच्न कस्तो लाज लाग्दोरहेछ । तर ड्रग्स खाएर बजारबीचमा धरफरिँदै हिँड़्न भने किन लाज नलागेको भन्ने प्रश्नले मलाई कोपरिरह्यो । परैहरू सियो बनी पसी फाली बनी निस्कनछन् भने हाम्राहरू बञ्चरो काटी सियोको व्यापार गर्छन् अनि अन्त्यमा धोती न टोपी हुन्छन् । धोती र बाँदरे टोपी लाएर दार्जिलङ पस्नेहरू टाई सुटमा हुन्छन् । धोती न टोपी हुनेहरूलाई भूमिपुत्र भन्न मिल्दैन । जन्तु जनावरले धोती लाउँदैनन् न टोपी नै । भूमिपुत्र र जनावरमाझ फरक नै के रह्यो र ! निकट भविष्यमा यसरी अन्य ठाउँबाट आउनेहरूले हाम्रो दार्जिलिङ ढाक्लान् (अहिले नै ढाकिसकेका छन्) , ढलीमली पनि उनीहरूकै भए पछि(व्यापारमा गरिसकेका छन्) हाम्रा भूमिपुत्रहरू दार्जिलिङदेखि हराउँदै जाने ? सबै विदेशै ताक्ने ? हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, बन साङ्लोले घर साङ्लोलाई उठीवास लाउँदैन भन्न सकिन्न ।
दार्जिलिङे भूमिपुत्रहरू लाजको भुँवरीमा परेर जीवनदेखि हराउनु खोजेका देख्दा दार्जिलिङभित्र दार्जिलिङ क्रमशः क्रमशः हराइरहेकी देखिरहेछु । पत्याउनुहोस् वा नपत्याउनुहोस्...दार्जिलिङभित्र दार्जिलिङ साँच्चै हराएकी छ । पत्याउनुहुन्न भने खै कहाँ छे दार्जिलिङभित्र दार्जिलिङ ? पत्याउनुहुन्छ भने खै कहाँ छे दार्जिलिङभित्र दार्जिलिङ ? लु देखाउनुहोस् ता .....
उहिले....
"नेप्टी चेप्टी दार्जीलिङ कस्तो छ
आऊ हाम्री नेप्टी आऊ हाम्री चेप्टी
दार्जीलिङ घुम्न जाऔँ
जान त जाउँला पहिले यो भन दार्जलिङ कस्तो छ ?
झिलि र मिलि बिजुली बत्ती इन्द्रासन जस्तो छ । (दलसिंह गहतराज)
अहिले.....
नेप्टी चेप्टी दार्जिलिङ कस्तो छ
राजनीतिको खानी, बन्दकी रानी
स्वीजरल्याण्डजस्तो छ ।
नेप्टे चेप्टे दार्जिलिङ कस्तो छ
नेताहरूको जयजयकार छ
सौन्दर्यका खानी पानीको हाहाकार छ ।
ढाँटेको कुरा पनि पत्याउने शहर
बातैपिच्छे झण्डी साट्ने रहर
दार्जिलिङभित्र दार्जिलिङै हराएजस्तो छ ।
भारत