भारतीय नेपाली साहित्यमा लगभग साठ्ठीको दशकदेखि कथा, कविता, खण्ड काव्य, उपन्यास, नाटक, एकाङ्की, लेख-निबन्ध, संस्मरण, जीवनी, इतिहास आदि विधामा जीवनको अन्तिम चरणसम्म निरन्तर कलम चलाउँदै आएका एक प्रतिष्ठित एवं सुपरिचित व्यक्तित्वको नाम हों - असित राई। करिब बाइसवटा जति उपन्यास, चारवटा कथा सङ्ग्रह, दुईटा कविता सङ्ग्रह, एउटा खण्डकाव्य, एउटा नाटक, एउटा जीवनी, भारतीय नेपाली साहित्यको इतिहास र सहस्रौं लेख-रचनाहरूका सर्जक, हामीले गर्व गर्नु पर्ने हाम्रा गौरव, जीवन सङ्घर्षका एक दृष्टान्त, उनी हाम्रा प्रेरणाका स्रोत हुन्। साँच्चै आफ्नो जीवनको प्रारम्भिक कालमा उनले भोग्नु परेका सङ्घर्षमय पीड़ा र तीता-मिठा अनुभवहरूको संस्मरण पढ्दा त्यसबाट हामी पनि निकै उत्प्रेरित हुँदछौं।
एउटा साधारण जीवन स्तरबाट उठेर भारतीय नेपाली साहित्य जगतकै एक प्रतिभाशाली लेखक बन्न पुगेका यस्ता महान विभूतिको जन्म दार्जीलिङ पहाडको खरसाङ निकट महानदी रेलवे स्टेशनदेखि 6/7 किमी दूरीमा रहेको एउटा अभेक ठाउँ जङ्गपना चियाकमानमा 24 नोभेम्बर 1940 मा एउटा निम्न मध्यवर्ती अर्थात् खटिखाने परिवारमा भएको थियो। उनका पिता गाउँमा विन्दे राई नामले चिनिए तापनि उनको असल नाम ओमप्रकाश राई थियो अनि माताको नाम उदिमाया, पछि परिवर्तन गरी मनमाया राई राखिएको थियो। बाल्यकालमा बाबा-आमाले आफ्नो छोराको नाम रामप्यारी राखिदिएका थिए तर पछि स्कुल पढ्दा केही बुझ्न सक्ने युवा अवस्थामा पुगेपछि सम्भवत: केही असहज लागेर स्वयंले नाम परिवर्तन गरे अनि उनी असित राई नामले नै परिचित भए। त्यसबेला जङ्गपना चियाकमान जस्तो अभेक स्थानमा यातायातको धेरै असुविधा र राम्रो विद्यालयहरूको अभाव रहेको थियो। त्यस्तै कतिपय असुविधाहरूलाई ध्यानमा राखेर पिताको दूरदर्शिताको कारणले सन् 1947 मा जङ्गपनादेखि सपरिवार घुम्ती चियाकमानमा बसाँई सरे। यसर्थ उनको प्रारम्भिक शिक्षा घुम्ती चियाकमानको सरकारी प्राथमिक पाठशालामा भयो। त्यसपछि खरसाङको पुष्परानी रोय स्मृति हाई स्कुलबाट उनले म्याट्रिक उतिर्ण गरेका थिए। तर परिवारको आर्थिक अवस्था त्यति राम्रो नभएको कारण उनले कलेज पढ्न सकेनन्। पछि शिक्षण पेशामा लागेपश्चात् उनले आफ्नो शैक्षिक योग्यतालाई अघि बढाउँदै लगे। उनले स्व-अध्ययनबाटै उत्तरबंग विश्वविद्यालयबाट नेपाली साहित्यमा बी.ए. अनर्स अनि एम.ए. गरे। यसबाहेक उनले शिक्षक प्रशिक्षण बी.टी. अनि हिन्दी भाषामा ‘विशारद’ परिक्षा पनि उतिर्ण गरेका थिए। नेपाली बाहेक अंग्रेजी, हिन्दी र बङ्गला भाषामा पनि उनको राम्रो पकड़ थियो। उनी नेपाली साहित्यका एक गम्भीर अध्येता पनि थिए।
आफ्नो संस्मरणात्मक लेख ‘मेरो जीवनयात्राका मोड़हरूलाई पछि फर्केर हेर्दा’ (स्वर्णभूमि 6 फरवरी 2014)-मा उनी लेख्छन् – ‘घुम्ती बगानले मलाई नयाँ जीवन दियो। बाबु अस्थिर प्रवृतिका व्यक्ति, आमाले चियाबारीमा रुझेर-भिजेर जीवन र शरीरलाई जीर्ण-शीर्ण बनाएर पनि छोरालाई पढाउनैपर्छ भन्ने कठोर तपस्याले राइटर बाबु, शिक्षक बनाएर जीवनको निर्माण गराएर छाडिन्। चियाबारीले मेरो व्यक्तित्वको अपहरण गरेर नामेट पार्न सकेन। अझ म जीवन्त, सक्रिय र सङ्घर्षरत छु।‘ उनका पिताले चियाकमानमा कहिले स्थायीरुपले नोकरी गरेनन्। केही वर्ष अस्थायी रुपमा चियाकमानका साहेबका बेहरा काम गरे। तर पछि त्यो काम छोडेर अन्य विभिन्न साना-तीना कामहरू गर्न थाले। बस्तीमा जमीन किनेर खेतीपाती गरे, त्यसले भएन अनि त्यो छोडेर घरमै दोकान खोलेर सानातिनो व्यवसाय गरे अनि गाउँमा उधारो दिएर आफु चुर्लुम्म ॠणमा डुबे। उनी साहित्य अनुरागी पनि थिए। उनी कविताहरू लेख्थे, गाउँमा नाटकहरू लेखेर मञ्चन गराउँथे। उनी पार्टी-बाजीमा पनि हिँड़े। पहिले कम्युनिस्ट दलका समर्थक भए, पछि त्यसबाट मोहभङ्ग भएर शिवकुमार राईसँगको सङ्गतमा नेशनल प्लान्टेशन वर्कर्स युनियनका कार्यकर्ता बनी कांग्रेसका समर्थक भएर पनि हिँड़े। यसरी उनी कुनै एउटा कुरामा दिगो भएर रहन सकेनन्। अन्तत; सन् 1958 तिर उनी दुई छोरा, एक छोरी र परिवारलाई पत्निको भरोसामा घुम्ती चियाकमानमै छोडेर नेपाल पसे। नेपाल पुगेको केही दिनमा उनी औले ज्वरोले थलिए अनि गाउँकै परिचित स्व, काँईला गुरुङ र बिजनबारीका स्व. गणेश राईको सहयोगले उपचारको निम्ति धरान पुगे अनि रोग मुक्त भई धरानको ब्रिटिश क्यान्टोन्मेन्टमा मेस बबर्ची बनेर केही वर्ष काम गरे। उनको जीवनको अन्त्य पनि सन् 1970 मा धरानमै भयो। उनको मृत्युको समाचार सुनेर आमा-छोरा र काका-मामाहरू तीन दिनपछि धरान पुगेर आइस बक्समा राखिएको उनको पार्थिव शरीर धरानकै क्यान्टोन्मेन्ट क्षेत्रमा रहेको श्मसान स्थलमा अन्तिम संस्कार गरेर फर्किएका थिए।
सन् 1961 मा म्याट्रिकको परिक्षा दिएपश्चात् युवा असित राई घुम्ती चियाकमानको अफिसमा किरानी (क्लर्क) बनेर जीवनको कर्मक्षेत्रमा उत्रिसकेका थिए। लगभग दुई-तीन वर्षसम्म चियाकमानको अफिसका बाबु बनेर त्यहाँको जनजीवन तथा श्रमिकवर्गका विभिन्न समस्याहरूलाई उनले नजिकबाट हेर्ने अवसर पाए। त्यसपछि कमानको नोकरी छोड़े अनि सन् 1963-64 तिर उनी तीनधारेको प्राथमिक पाठशालामा शिक्षकको नियुक्ति पाएर स्थायीरुपले शिक्षण कार्यमा नै संलग्न रहे।
विद्यार्थी जीवनकालमा सातौँ श्रेणीमा पढ्दादेखि नै उनले कविताहरू लेख्ने अभ्यास गर्न थालेका थिए। एकदिन स्कुलमा उनको कक्षामा पढ्ने सबै छात्राहरूलाई शिक्षकले ‘दशैं’ बारे एउटा निबन्ध लेख्ने आदेश दिए। सबैले निबन्ध लेखे तर उनले निबन्ध नलेखेर ‘दशैं’-लाई ‘दशा’-को रुपमा कविता लेखेर सुनाएका थिए। यसबारे आफ्नो संस्मरणमा उनी लेख्छन् – ‘आज्ञाको पालन गर्दै सबै छात्रवर्ग निबन्ध लेखनमा एकाग्र भए। कुन्नि कस्तो अन्तरप्रेरणाले अज्ञात भावनाले अभिप्रेरित भएर अनायसै निबन्ध होइन, कविता स्फूरणमा म ‘डाँफेचरी’ कविताको लय र शैलीमा एकावार भएर ‘दशैँ’ –लाई ‘दशा’ –को रुपमा अभिव्यक्ति दिन पुगेछु। सरको आदेशको उल्लङ्घन गर्दै कविता लेख्न पुग्नु मेरो कुन मानसिक स्थिति थियो, आज म सम्झिन सक्तिन। मनको आन्तरिक उद्वेलन र स्फूरणलाई, आदेश, निर्देश, स्थिति-परिस्थितिले पनि छेक्न सक्तैन रहेछ आज यो क्षण म सम्झन्छु। कविता लेखेको खाता टेबलमा राखेर म उभिँदै सरको प्रतिक्रिया पर्खन्छु। -----आफ्नो अघि निबन्ध होइन कविता देखेर सरले छक्क पर्दै मेरो अनुहार हेर्दै भन्नुभयो, ‘अरे मैले त तिमीलाई निबन्ध पो लेख भनेको थिएँ, कविता पो लेखेर ल्याएछौ।‘ -------- मसँग जवाफ थिएन। सरले कवितालाई सरसर्ती हेरेर मलाई आदेश दिनुभयो, ‘पढ़ेर सुनाऊ।’ -------- अनि मैले सम्पूर्ण श्रेणीलाई लय नहाली पढेर सुनाएँ। यसरी सन् 1957 –को अक्टुबर कुनै दिनको त्यो अविस्मरणीय घटना एक ऐतिहासिक क्षण थियो, साहित्य संसारमा पदार्पणको प्रथम पाइलो थियो, जसले मेरो जीवनको प्रवाहमा एउटा परिवर्तन निश्चित गर्यो, लक्ष्यको निर्देश दियो अनि भावी जीवन साहित्यमय बनाएर बाँच्नुको अर्थ नै साहित्य सृजना भयो।‘
यसरी सातौँ श्रेणीमा पढ़्दा कविता विधाबाट उनको लेखनको शुरूआत भएर आठौँ श्रेणीमा पुग्दा उनले कथा पनि लेख्न थाले अनि नवौं श्रेणी पढ्दा सन् 1959 मा कलकत्ताबाट निस्किने ‘पश्चिम बङ्गाल’ पत्रिकामा उनको प्रथम कविता ‘इच्छा थियो सखे’ प्रकाशित भएको थियो भने सोही वर्ष उक्त पत्रिकाको फेब्रुअरीको अङ्कमा उनको प्रथम कथा ‘त्यो आँधीको रात’ प्रकाशित भएको थियो। त्यसपछि उनका कथाहरू दियालो, धुवाँ, दीपक, जनदूत, अस्तित्व, चौबन्दी, नवज्योति आदि पत्र-पत्रिकाहरूमा प्रकाशित भइरहे। सन् 1959-60 मा लेखिएका 13 वटा कथाहरूको सङ्कलन ‘वशन्त राग’ उनको प्रथम कृतिको रुपमा सन् 1963 मा नवयुग पुस्तक मन्दिर, गोरुबथानबाट प्रकाशित भएको थियो। त्यसपछि सन् 1967 मा उनको दोस्रो कथा कृति ‘अमूल्य पुरस्कार’ पनि नवयुग पुस्तक मन्दिरको पक्षमा हायमनदास राई किरातले प्रकाशित गरिदिएका थिए। तर प्रेस मालिक मेवालाल गुप्त र उनको भाई माझ अंशबण्डाको झगडाको कारण वाराणसी प्रेसमै पुस्तक सड़ेर गयो। कुनै प्रकारले एकप्रति मात्र लेखकको हातमा पर्न सक्यो। तर त्यही वर्ष उनको तेस्रो कथा सङ्ग्रह ‘अरूले नचिनेको म’ नेपाली साहित्य प्रकाशन, वाराणसीबाट प्रकाशित भएर आयो। त्यसपछि उनी उपन्यास विधामा एकाग्र भए। सन् 1967 मा उनको प्रथम उपन्यास ‘त्यो हिमाल : यो जीवन’ प्रकाशित भयो। यसरी थोरै अवधिमा उनका धेरै उपन्यासहरू प्रकाशित भए। सन् 1980 सम्म उनले 14 वटा उपन्यास लेखेर प्रकाशित गरिसकेका थिए। तीमध्ये सन् 1980 मा प्रकाशित उनको ‘नयाँ क्षितिजको खोज’ ऐतिहासिक उपन्यासलाई उत्कृष्ट मानिएको छ। यस उपन्यासमा दार्जीलिङ पहाडको इतिहासलाई आख्यानको रुप दिएर पिढ़ी-दर-पिढ़ी यहाँको जनजीवनको चित्रण गरिएको छ। यस उपन्यासको निम्ति उनलाई सन् 1981 को साहित्य अकादमी पुरस्कारले सम्मानित गरिएको थियो। त्यसपछि पनि उपन्यास तथा अन्य विविध विधामा उनको कलम अविरल चलिरह्यो। साहित्य लेखनको निम्ति सम्मानित हुने क्रममा सन् 1964 मा भारत-नेपाल व्यापी कथा प्रतियोगितामा उनको कथा ‘एक्ली साइँली आँधी र बेह्रीसँग’ लाई उत्कृष्ट कथा घोषित गरी प्रमाण-पत्र प्रदान गरिएको थियो। सन् 1965 मा दार्जीलिंङ गोर्खा दु:ख निवारक सम्मेलनमा राखिएको साहित्य गोष्ठी प्रतियोगितामा उनले कविता ‘यहाँ सँधै यस्तै हो’ को निम्ति प्रथम पुरस्कार प्राप्त गरेका थिए। सन् 1974 मा नेपालको रत्नश्री पत्रिका प्रकाशनबाट उनको ‘आत्म – नियन्त्रण’-कथाको निम्ति उनलाई रत्नश्री स्वर्ण पदक प्रदान गरिएको थियो। सन् 1999 मा शिक्षण क्षेत्रमा उनको निष्ठावान सेवाको निम्ति राष्ट्रपतिको बाहुलीबाट ‘राष्ट्रिय शिक्षक पुरस्कार’ प्रदान गरियो। यसरी नै सन् 2001 मा दार्जीलिङ गोर्खा पार्वत्य परिषदबाट उनलाई Life-time Teachers Award ले सम्मानित गरियो।
उनका प्रकाशित प्रमुख कृतिहरूको सूची यसप्रकार रहेको छ :-
1. वशन्त राग (कथा सङ्ग्रह) – 1963
2. अमूल्य पुरस्कार ( “ ) - 1967
3. अरूले नचिनेको म ( ‘’ ) - 1967
4. त्यो हिमाल : यो जीवन (उपन्यास) – 1967
5. दृष्टिहीन दृष्टि ( ‘’ ) - 1968
6. समाप्ति : एउटा युग एउटा संसार ( ‘’ ) - 1969
7. सिगरेट र धुँवा ( ‘’ ) - 1969
8. ढुंगा : एउटा जीवन ( ‘’ ) - 1969
9. जिन्दगीको सङ्घर्ष ( ‘’ ) - 1970
10. अक्टोपस (खण्ड काव्य) - 1971
11. विचार पात जस्तो झर्ने जीवन (उपन्यास) – 1971
12. विश्रृङ्खला ( ‘’ ) - 1973
13. प्रेमको अर्को रुप ( ‘’ ) - 1976
14. विसङ्गति ( ‘’ ) - 1977
15. भोक र भोग ( ‘’ ) - 1977
16. पहिरो जाने पहाड़ ( ‘’ ) - 1977
17. यन्त्रणा ( ‘’ ) - 1980
18. नयाँ क्षितिजको खोज ( ‘’ ) - 1980
19. आफुलाई केही पर उभाएर हेर्दा (कविता सङ्ग्रह) – 1983
20. चिन्हारीको खोज (उपन्यास) - 1997
21. भारतीय नेपाली साहित्यको विकासक्रम (इतिहास) – 1986
22. सन्त्रस्त जिजीविषा (कथा सङ्ग्रह) - 2004
23. शताब्दी सम्बोधन (कविता सङ्ग्रह) - 2004
24. भारतीय नेपाली साहित्यको इतिहास (इतिहास) – 2004
25. नेपाली साहित्यको इतिहास परिचय ( ‘’ ) - 2007
26. मेरो भारत महान (नाटक) - 2007
27. चक्रव्युहका अभिमन्युहरू (उपन्यास) - 2009
28. समय पीडा (उपन्यास) -2013
29. जीवन प्रतिरुप -2013
30. सुरेश राई (जीवनी) - 2018
31. भारतीय नेपाली साहित्यको सर्वेक्षण अनि अध्ययन (स. जीवन नामदुंग) – 2023
उनले धेरै अमूल्य कृतिहरू नेपाली साहित्यलाई दिए तर पनि उनी साहित्यमै डुबेर घरको परिधिभित्रै सिमित रहने व्यक्ति भने थिएनन्। सन् 1977 देखि उनी मार्क्सवादी कम्युनिष्ट पार्टीका सदस्य बनेर चियाकमानको मजदूर युनियन, शिक्षक संगठन, किसान सभा एवं प्रगतिवादी साहित्य संगठन ‘विकल्प’ - सित संलग्न रहेर व्यवहारिक रुपमा समाजसेवाको अनेकौं कार्य गर्दै उनी आम जनजीवन र विभिन्न सङ्घ-संस्थासित पनि जोड़िएका थिए। सन् 1980 तिर उनी नेपाली अकादमी, दार्जीलिङका सदस्य रहेका थिए। यसबाहेक उनी आकाशवाणी, खरसाङका शिक्षा प्रसारणमा सल्लाहकार सदस्य, दार्जीलिङ गोर्खा पार्वत्य परिषदका पाठ्यक्रम समितिमा सदस्य, पश्चिम बङ्गाल एस.सी.ई.आर.टी. (State Council of Educational Research & Training)-का पाठ्य-पुस्तक लेखक, शिवकुमार राई स्मृति अकादमीको आजीवन सदस्य, गोर्खा जनपुस्तकालय, खरसाङका आजीवन सदस्य र साहित्य अकादमी, दिल्लीमा नेपाली भाषा सल्लाहकार समितिका सदस्य रहेका थिए।
सन् 2012 मा उनलाई साहित्य अकादमी, दिल्लीको फेलोसिप (महत्तर सदस्यको पद) सम्मानार्थ दिइएको थियो। यो सम्मान पाउने उनी प्रथम भारतीय नेपाली साहित्यकार थिए। यही अवधिमा उनले साहित्य अकादमी, न्यु दिल्लीको अनुबन्धमा Writers in residence scheme अन्तर्गत ‘भारतीय नेपाली साहित्यको सर्वेक्षण अनि अध्ययन’ नामक साहित्यको इतिहास लेख्न शुरु गरेका थिए तर अभाग्यवश उनको जीवनकालमा त्यो पुरा भएर प्रकाशमा आऊन सकेन। लगभग 2000 पृष्ठको यो पुस्तकको लेखन अन्तिम चरणमा रहेको बेला उनलाई पक्षघात भएपछि लेखन कार्य स्थगित रहेको थियो। सन् 2023 मा उनको यो बृहत कार्यकृति डा. जीवन नामदुंगको सम्पादनमा साहित्य अकादेमी दिल्लीले प्रकाशित गरेको छ। साहित्य अकादमी, दिल्लीको तर्फबाट उनको उपन्यास ‘नयाँ क्षितिजको खोज’ माथि आधारित एउटा वृतचित्र पनि बनाइएको छ। उनलाई केही वर्षदेखि डायबेटिज र मृगौलाको रोगले सताइरहेको थियो। सन् 2018 देखि उनी पक्षघातले थला परेका थिए। अन्तत: 29 मार्च 2019 को दिन पत्नि शान्ति राई, छोरी-ज्वाँई र नाता-नातिनाहरूलाई छोडेर उनले यस संसारबाट बिदा लिए। उनी आज हामी माझ सशरीर नरहेता पनि उनका कालजयी कर्म-कृतिहरूमा सदैव उनको स्मरण गर्दर्छौं। यसरी हाम्रो हृदयको अन्तस्करणमा उनी सदैव बाँचि रहनेछन्, सदैव अमर रहने छन्।
बाग्राकोट