18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बतास वाणी

लघुकथा डा. विदुर चालिसे June 13, 2023, 11:36 pm
डा. विदुर चालिसे
डा. विदुर चालिसे

––“दुई हजार छयहत्तर सालमा पाँचलाख मान्छेको मृत्यु !”
सन्सनीपूर्ण समाचारले आतङ्कित बनेको तुयुचाको मन पटक्क भाँचियो र निरास बन्यो ।
––“कतै पाँच लाखभित्र म र मेरो परिवारहरू त पर्ने हैन ?”
तुयुचा त्यसै चिन्तित हुन्थ्यो । उसको मनमा उठेको शङ्काले आफ्नै छत्रभङ्ग भएको ठान्दथ्यो । यो वर्ष त्राहीमामको समय थियो । सहरको चोकमा बतासको खेती गर्ने नगरकोटीहरू पहरा दिइरहेका थिए ।
––“धरोधर्म पक्का हो ! ज्योतिस फल त्यसै भन्छ ।”
यूटुव, फेसबुक वाल तथा टेलिभिजनका पर्दाहरूमा जबरजस्त फलाकिरहेका ज्योतिसहरूको भ्रमको सद्बी छर्ने योग्यता दर्शिरहेथ्यो । असल भाकामा उन्नत भाकलहरू भाकिरहेका तिनका वाणीहरूले बजारको मौसम तताइरहेथ्यो । ग्राहकहरू आफ्नो तालमा लम्किरहेका थिए ।
––“क्या ! अद्भूत शक्ति ?”
अल्लारेहरूका जोसिला समर्थनमा उठेका हल्लाका बीचमा पहाडिया भरिया आयो । उसको काम खाली भएकोले एकजोर नाम्लो र केही डोरी लिएर उभेको थियो । हल्ला गर्ने अल्लारेहरू भीडमा भाकाहरू हालिरहेका थिए । देशमा पर्लयको हल्लाको बुटिले खुब काम गरे झैं देखिन्थ्यो ।
––“अब चैं भिसाको फाराम खुब बिक्ने भो भाइ !”
देश मै रोजगारीको फाइँफुइँ सुनेपछि साइवरवाला आशावादी थियो । अहिले निकै हौसिएको पनि देखिन्थ्यो ।
––“अचेल फुटपाथको व्यापार पनि खत्तम छ !”
नगरपालिकाको चेपोमा परेका खुद्रा पसलेहरू पनि हैरान थिए ।
––“खै ! ग्राहकहरू पनि कता मरेका हुन् ! आजकल त सब पकेट रित्ता मात्रै आउँछन् असत्तीहरू ।”
जीवन धान्न निराश बनेकी पगली पनि आफ्नो दुख खप्नै नसक्ने गरी बर्बराई ! व्यापारीका साथमा झरेका एकहुल भेडाहरू खुल्ला सडकमा ‘ठिं ठिं’ गरेर ‘लुखुर लुखुर’ गरेर हिंडिरहेका थिए । उनीहरू आपसमा कानेखुसी गर्थे ।
––“तँ नुन कति बोक्छस् ?”
––“म त पाँच माना बोक्छु !”
––“ह्या ! छ माना बोक न !”
––“मेरो त ढाड दुखेको छ म त अब पहाड जान्न !”
––“मेरो नि खुट्टामा काम्रो बाँध्या छ, बीचार गर्दैछु !”
पर्लयको निश्चित भएको बतास वाणीका बीचमा सहर तातेको थियो । सबैले आफ्नो स्वार्थमा मानसिक रोग पालिरहेका थिए । मोवाइल वालमा आएका यस्तै हल्ला सुनेर स्कुलका भुराहरू भविश्यमा ‘ज्योतिस’ बन्ने इच्छा जगाइरहेका थिए । दुई हजार छयहत्तर साल सकिएपछि अल्लारेहरूले ज्योतिसलाई भेटे ।
––“पर्लय खै त !”
––“शास्त्रमा लेखेको भनिदिएको हो, अरू थाहा छैन ।”
अल्लारेहरू फेरि एकआपसमा आ–आफ्ना साथी बीच कराइरहेका थिए ।
––“ज्योतिस वाणी त बतास वाणी पो रेछ है ? बेकारमा मान्छेका बीच आतङ्क खेती !”
सहरको वातावरण फेरि एकछिन सुनसान थियो । अल्लारेहरूले आफ्ना हातमा रहेका झण्डाहरू त्यसपछि हतार हतारमा गोजीमा लुकाए । परिवेशको समय त्यसै अमिलियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।